अज्ञानी अज्ञानीबीचको संवाद अर्थहिन हुन्छ स्व–ज्ञानी, स्व–ज्ञानीबीच बोधपूर्ण मौनको अवस्था जन्मन्छ स्व–ज्ञानी र अज्ञानीबीचको संवाद अर्थपूर्ण हुन पुग्दछ

-- उत्तम राज पण्डित - प्राणायाम एवं ध्यानका रहस्यबादी मित्र / प्रकाशित मिति : बिहिबार, बैशाख ३०, २०७८

अज्ञानी अज्ञानीबीचको संवाद अर्थहिन हुन्छ । अज्ञानी अज्ञानीबीच केवल बाद–विबादहरु मात्र हुन्छ । अज्ञानी अज्ञानीबीच केवल बादविवादबाट पार हुन सक्दैनन् । अज्ञानी अज्ञानी एक अर्कामा अंहकारको संघर्ष हुन्छ । यही अंहकारको कारण उनीहरु बीचको संबाद संघर्षमा बदलिन पुग्दछ । स्व–ज्ञानी एवं स्व–ज्ञानीबीच कुनै संबाद नै हुँदैन केवल त्यहाँ बोधपूर्ण मौनको घटना घट्दछ । एउटाले अर्कोलाई जान्दछन् । दुवै स्वयं भित्रको चौतन्यमा लिन हुन पुग्दछन् । त्यसैले स्व–ज्ञानी एवं स्व ज्ञानीबीच शब्दको होइन निशब्दको आदान प्रदान हुन्छ । स्व–ज्ञानी र अज्ञानीबीचको संवाद नै अर्थपूर्ण हुन पुग्दछ । स्व–ज्ञानीले नै अज्ञानीलाई धार्मिक यात्रातिर लाग्नको लागि व्यास जागृत गराइदिन्छ । यात्राको लागि इसाराहरु दिन्छ । व्यास एवं इसाराको साहाराद्धारा नै अज्ञानी स्व–ज्ञान तर्फको यात्रा सुरु गर्दछ र निरन्तरको अभ्यास एवं अनन्त प्रतिक्षाबाट ढोका खुल्न पुग्दछ र सारा अन्धकार समाप्त हुन पुग्दछ ।

विधि बिनाको विधि :-
विधिहरुलाई प्रयोग गर्दै विधिहरुबाट पनि मुक्त हुनुलाई नै विधिबिनाको विधि भनिन्छ । सारा विधिहरु धार्मिक यात्राका साधनहरु हुन् । धार्मिक यात्राको लागि विधि चाहिन्छ तर बोधपूर्ण मौनको अवस्था प्रकट हुनको लागि सबै विधिहरुबाट पार हुनु पर्दछ । त्यही अवस्थामा नै शून्यताको बोध हुन पुग्दछ जहाँ पूर्ण समाविष्ट भएको हुन्छ । विधि विनाको विधिलाई जान्नु सही धर्मलाई जानेको अवस्था हो । धर्म प्रकटको अवस्था विधि बिनाको विधि भएको हुनाले यसको कुनै शिक्षा हुँदैन । सारा शिक्षाहरुबाट मुक्त भएपछि नै बोधपूर्ण मौनको जन्म हुन्छ । आत्मज्ञान विना स्थायी उत्सब असम्भब छ । धनबाट, पदबाट, परिवारबाट उत्पन्न उत्सवहरु अस्थायी उत्सब हुन् जहाँ दुःख छालाको रुपमा लुकेर बसेको हुन्छ र मौका पाउनासाथ प्रकट हुन पुग्दछन् ।

संसार लिला होइन :-
संसार लिला होइन, संसार त परमात्माको खोजप्रति प्यास जगाइदिने एक साधन हो । संसारमा घटिरहेका आश्चर्यहरुलाई सही ढङ्गमा देख्न जानेमा परमात्मालाई देख्न पुगिन्छ । ब्रह्म एवं ब्रह्माण्डको सारा खेल विपरिततामा निर्भर छ । जस्तै अशान्तिबाट गुज्रिएपछि नै शान्तिको खोज सुरु हुन्छ । मौन हुन पो शब्द चाहिन्छ र शब्दबाट थाकेपछि नै मौन हुन पुगिन्छ । मृत्युको यादविना जीवनलाई जान्न सकिदैन । यदि संसार छैन भने परमात्माको स्वादलाई सकिदैन । यदि संसार माया हो भने तृष्णा एवं मोक्ष पनि माया नै हो । संसार परमात्मालाई जान्ने एक अनिवार्य साधन हो । संसार र मोक्ष विपरित यात्रा हो । संसारबाट यात्रा सुरु हुन्छ मोक्षमा पुगेर यात्रा रोकिन्छ तर यात्रा जारि नै हुन्छ । यही नै धर्मको खतरनाक अवस्था हो ।

स्वयं भित्रको गुरु :-
स्वयं भित्रको गुरु नै पंरम गुरु हो । बाहिरका गुरुहरुले स्वयं भित्रको गुरुसम्म जाने ईसाराहरु देखाइदिन्छन् । जवसम्म स्वयं भित्रको गुरुलाई जानिदैन तवसम्म भड्कन जारी नै रहन्छ । स्वयं भित्रको गुरुलाई जान्नासाथ कामना र हितको भोगको जन्म हुन्छ यही कारण स्वयंभित्रको गुरुलाई पंरम गुरु भनिएको हो । यही अवस्थामा नै संसार डिस्कनेक्ट परमात्मा कनेक्ट हुन पुग्दछ । यो अवस्था एक स्वदको अवस्था हो जुन स्वाद भित्रको गुरुलाई जानेपछि थाहा हुन्छ । जवसम्म मनमा विचारहरु हुन्छन् । तवसम्म भित्रको प्रकट हुन सक्दैनन् । मनबाट विचारहरु हटेपछि नै भित्रको गुरु प्रकट हुन पुग्दछ । मनबाट पनि मुक्त भएपछि स्वयं परमात्मामय हुन पुगिन्छ । मन एवं विचार जरुरी पनि हो र बाधक पनि । मन एवं विचारबाट यात्रा सुरु हुन्छ । विचार र मनबाट मुक्त भएपछि भित्रि गुरु प्रकट हुन्छ । भित्रको गुरुलाई जान्नासाथ वा देख्नासाथ सम्पूर्ण मानसिक समस्याहरुबाट अप्रभावित हुन पुगिन्छ र यही नै भित्रको गुरुलाई जानेको प्रमाण हो ।

विना लडाईको मुक्ति :-
धार्मिक यात्रा स्वयं भित्रको यात्रा अर्थात विचार र मनबाट मुक्त हुने यात्रा भएको हुनाले यो यात्रा अरुसंग सम्बन्धित छैन । धार्मिक यात्रा स्वयं सँग सम्बन्धित भएको हुनाले यो स्वयं सँगको लडाइ हो । स्वयं सँगको लडाइलाई नै विना लडाइको मुक्त भनिन्छ । स्वयंसँगको लडाइमा स्वयं भित्र एक यस्तो ढाउ खोज्नु छ जो सबैबाट अलग छ । यस विन्दुलाई जान्नु नै ब्रह्म एवं ब्रह्माण्ड दुवैलाई जान्नु हो । विचारको लडाइबाट अलग हुँदै उसैले विचारले उसैलाई निर्विचार बनाइदिनु लाई नै विना लडाइको मुक्ति भनिन्छ । विचारहरु त आइरहन्छन् तर आफू विचारहरुबाट अलग हुन थालेपछि विना लडाइको जित हुन थाल्दछ । द्धन्दतिरको अवस्था अर्थात चुनावरहित अवस्था मा नै विना लडाइ मुक्त हुन पुगिन्छ । संसारलाई योद्धा बनेर जित्न सकिन्छ भने स्वयंलाई जित्न सबैबाट पार हुन सक्नु पर्दछ । सबैको भित्र त्यो शक्ति छ जसलाई जान्नसाथ हर परिस्थिति बाट अप्रभावित हुन पुगिन्छ । यही नै बिना लडाइको मुक्ति हो ।

शरीर नपाएका आत्माहरु :-
शरीरको मृत्युपछि अति राम्रा र अति नराम्रा आत्माले तत्काल नयाँ शरीर प्राप्त गर्दैन यस्ता आत्मालाई नयाँ शरीर प्राप्त गर्नका लागि परीक्षा गर्नु पर्दछ । यिनै आत्माहरुलाई नै शरीर नपाएका आत्माहरु भनिन्छ । श्रेष्ठतम आत्मा र अश्रेष्ठतम आत्माले तत्काल गर्भ पाउन अति कठिन छ । यस्ता आत्माहरु विना शरीर ब्रह्माण्डमा घुमिरहन्छन् । नराम्रा आत्मालाई भूत भनिन्छ भने राम्रा आत्मालाई देवता भनिन्छ । बिचारहरुबाट अलग भएका राम्रा आत्मा प्रवेश गर्दछन् भने विचारहरुमा खेलिरहेका नराम्रा आत्माहरुले प्रभाव पार्दै जान्छन् । अशरीर आत्मा शक्तिशाली हुन्छन् जस्ले शरीर प्राप्त गरेका साधारण आत्माहरुलाई तत्काल प्रभाव पारिदिन्छन् । मन अरुमा जान थालेमा नराम्रा आत्माहरुले प्रभाव पार्दछन् भने मन स्वयंमा केन्द्रित हुन थालेमा राम्रा आत्माहरुले प्रभाव पार्दछन् । मनबाट मुक्त हुन सकेमा सारा बुद्धहरुका आत्मासँग सम्पर्क हुन्छ । मान्छेको विचार र मनको अवस्था अनुसार शरीर नपाएका आत्माहरु शरीर पाएका आत्मामा प्रवेश गर्दछन् । दृष्टिमा नराम्रा आत्माहरु स्व–दृष्टिमा राम्रा आत्माहरु र दृष्टिबाटै पार भएपछि परमात्मा शरीरमा प्रकट हुन्छ ।

हर परिस्थिति नै गुरु :-
जसले हर परिस्थितिबाट सिक्न जान्दछ अर्थात हर परिस्थितिलाई गुरु बनाउन जान्दछ उसले सहजै रुपमा सांसारिक एवं धार्मिक जगतमा सही रुपमा अगाडि बढ्न सक्दछ । सांसारिक एवं धार्मिक क्षेत्रमा अगाडि बढेका व्यक्तिले हर परिस्थितिबाट सिकेका हुन्छन् । हर परिस्थितिबाट सिक्ने व्यक्ति सदा वर्तमानमा हुन्छ । गलत परम्परा र रीतिरिवाजलाई उसले स्वीकार गर्दैन । वर्तमान रहनासाथ मनमा विचारहरु खेल्न पाउँदैन । मनमा विचार नखेल्नासाथ शक्तिको जन्म हुन्छ । यहाँ शत्रु एवं मित्र सबै समान रुपका शिक्षक हुन् र सबैबाट सिक्ने व्यक्तिले नै यात्रा सुरु गर्दछ । कुनैपनि सत्यलाई जान्नका लागि निष्पक्ष हुनु पर्दछ । हर परिस्थितिबाट सिक्ने व्यक्ति निष्पक्ष हुन सक्दछ । पहिल्यैबाट पक्ष तय भएको व्यक्ति अन्धो हुन पुग्दछ र अन्धो व्यक्ति अरुको गुलाम हुन पुग्दछ ।

स्वयं भित्रको सागर :-
स्वयं भित्रको असिम सागरलाई नजानिकन सन्तापबाट मुक्त हुन असम्भव छ । जव स्वयं भित्रको असिम सागरलाई जानिन्छ तव नै चिन्ताहरुबाट अप्रभावित हुन पुगिन्छ । स्वयं भित्रको सागरलाई जान्नको लागि स्वयंमा एक भइरहनु पर्दछ । यसको निरन्तर अभ्यास र अनन्त प्रतिक्षाबाट नै स्वयं भित्रको सागरलाई जान्न पुगिन्छ । स्वयं भित्रको सागरलाई जानेपछि सम्पूर्ण दृष्यहरु अदृष्यमा जोडिएको हुन्छ भन्ने थाह हुन्छ । यो थाहा हुनासाथ सारा दृष्यहरुबाट अलग हुन सकिन्छ । अलग हुन सक्नु नै संताप मुक्त अवस्था हो । दृष्य जति सबै परिधि हो भने अदृष्यलाई जान्नु केन्द्रित अवस्था हो । केन्द्र सदा उही अवस्थामा हुन्छ भने परिधिमा सदा परिवर्तन भइरहन्छ ।

pandituttan@hotmail.com