अन्तर्राष्ट्रिय विद्यार्थीहरू का लागि कोभिड –१९ र गन्तब्य अष्ट्रेलिया

-- सुजित सिग्देल, आवरण अगष्ट अंक २०२०, द नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, साउन २५, २०७७

क्यालेन्डरबाट २०१९ का अन्तिम दिनहरू घट्दै जाँदा बिश्वमा नसोचेको भयाबह रोगको संक्रमण बढ्दै थियो । चीनको बुहानमा पहिलो पटक देखिएको कोरनाको भाइरस हजारौं किलोमिटर पर पुग्न समय लागेन । अन्ततः २०२० को फेब्रुअरी सम्म पुग्दा नपुग्दै कोभिड–१९ को रुपमा यो २१ औं शताब्दीको बिज्ञान प्रबिधि र स्वास्थ्य क्षेत्रलाई एकदमै ठूलो चुनौती बन्यो । यसबाट सिर्जित मानबीय क्षति संगै मानिसले हठात् घर बन्द गरेर बस्नु भन्दा अरु उपाय केहि देखेन त्यसैको निरन्तरता आज आठौं महिनासम्म आइपुग्दा पनि बिश्व कतै घोषित त कतै अघोषित लकडाउन मै छ ।

बिश्वका धेरै देशहरू को तुलना गर्दा अष्ट्रेलियाले यो महामारीबाट आफूलाई निकै संयमताका साथ यहाँसम्म आइपुगेको देखिन्छ । त्यसो त यी शब्दहरू लेख्दै गर्दा अष्ट्रेलियाको मेलबर्न (भिक्टोरिया राज्य) कोरनाको दोश्रो चरणको संक्रमणमा छ । धेरैले अड्कल गरे जस्तै यदि यो कोरनाको दोश्रो वेभ हो भने पक्कै अरु केहि समय अष्ट्रेलियाको लागि सहज देखिदैन । नत्र केहि हप्ता अगाडिको तथ्याङ्क हेर्दै गर्दा अष्ट्रेलियाले कोरानालाई धेरै हदसम्म नियन्त्रणमा लिएको छ भन्ने कुरामा सबै बिश्वस्त थिए । जनजीवन धेरै हदसम्म सहज बन्दै थियो यहाँको स्कुल कलेज अनि व्यापारिक क्षेत्र सामान्यकरण तिर उन्मुख हुँदै थियो । एकाएक फेरि संक्रमित संख्या बढे संगै फेरि थोरै अन्यौलता छाएको छ आशा गराैं सम्भाबित अहिलेको यो दोश्रो चरणको संक्रमणलाई पनि अष्ट्रेलियाले छिट्टै नियन्त्रण गर्नेछ ।

संयमित अष्ट्रेलियन सरकार

गार्हो अफ्ठ्यारो कसलाई कहिले कति बेला पर्छ थाहा हुँदैन । कोभिड–१९ ले मनाव सभ्यतालाई नै हल्लाएको बेलामा बिश्व शक्तिशाली राष्ट्रहरू अमेरिका, बेलायत र युरोपका धेरै देशहरू ले अन्य गरिब र अल्पबिकशित मुलुकहरू लाई पनि सहयोग गर्लान भन्ने धेरैको सोच बिपरित यी देशहरू लाई यो महामारी संग आफै प्रतिकार गर्न समेत हम्मे हम्मे परिरहेको छ । हिजो आजको कोरना संक्रमणको संख्या हेर्दा युरोप र बेलायतमा अलिकति नियन्त्रित देखिए पनि अमेरिकाको स्थिति भयाबह नै देखिन्छ । यस्तो विषम परिस्थितिमा पनि अष्ट्रेलियन सरकारले एकदम सुझबुझ सहित यो स्थितिको सामना गर्दै परिस्थितिलाई काबुमा राखेको देखिन्छ ।

सरसर्ति हेर्दा कोभिड –१९ को असरलाई हामीले स्वास्थ र मानबिय क्षति संग जोडेर हेर्छौं, पक्कै यसले स्वास्थ र मानवीय क्षति त गर्छ नै त्यो संगै यसले तत्काल र दीर्घकालीन रुपमा गर्ने सामाजिक र आर्थिक असर झन् डर लाग्दो देखिन्छ । कोभिड –१९ को संक्रमण संगै अष्ट्रेलियन सरकारले यहाँको स्वास्थ क्षेत्र संगै आर्थिक र सामाजिक पाटोलाई पनि उत्तिकै महत्व दिएको देखियो । जसले गर्दा सरकार कै निर्देशन अनुसार र संक्रमणको डरले बन्द गर्नु परेका व्यापारिक संघ संस्थाहरू बाट असर गरेका ब्यापारी वा रोजगारदाता र त्यहाँ काम गर्ने सबैलाई यो अप्ठ्यारो बेलामा सरकारले आर्थिक सहायताको ठूला-ठूला प्याकेजहरू ल्यायो जुन अहिलेसम्म पनि निरन्तर छ । यहाँ नागरिकहरू ले यो अप्ठ्यारो बेलामा जब किपर, जब सिकर र स्टुमुलेसन प्याकेज आदिबाट सरकारको सहयोग पाई रहेका छन् जसले जीबन यापन मात्रै होइन मनोबल उच्च राख्न पनि सहयोग गरेको छ ।

कोभिडको मारमा शैक्षिक संस्था

कोभिडका कारण कुनै त्यस्तो क्षेत्र छैन होला जुन अछुतो भएको होस् । आयात निर्यातका व्यापारहरू लगभग शून्य छन्, अष्ट्रेलियाका गहुँ र मासु निर्यातले ब्यापार घाटा पुरै बढेको छ, कृषि उत्पादन जस्तै अष्ट्रेलियाको अर्को ठूलो आम्दानीको श्रोत यहाँको शैक्षिक संस्थाका आम्दानी पनि हुन् । उच्च शिक्षा र व्यवसायिक शिक्षाको लागि अष्ट्रेलिया बिश्वभरका विद्यार्थीहरू को आकर्षणको देश हो । बिशेष गरि आर्थिक सम्पन्नता, लोक कल्याणकारी राज्य, अनुकुल हावापानी, कुशल सरकारी व्यस्थापन, गुणस्तरीय शिक्षा, अंग्रेजी भाषा अध्ययन अध्यापनको माध्यम, बहुसांस्कृतिक समाज जस्ता थुप्रै राम्रा बिशेषताहरूले गर्दा पनि धेरै बिद्यार्थीहरू अष्ट्रेलियन शैक्षिक संस्थाहरूमा अध्ययन गर्न मन पराउँछन् । यसका अतिरिक्त अधिकांश विद्यार्थीहरू आफ्नो अध्ययन समाप्त गरेपश्चात स्थाई बसोबासको ढोका खुल्ने हुनाले पनि अन्य मूलुकको तुलनामा अष्ट्रेलियन युनिभर्सिटीमा बिदेशी विद्यार्थीहरूको भर्ना संख्या उल्लेख्य मात्रामा बढेको हो । यसैको शसक्त उदाहरण हो कोभिड प्रारम्भिक असर देखिदा देखिदै पनि गत आर्थिक वर्ष मात्र अष्ट्रेलियाको कुल गृहस्थ आम्दानीमा अन्तराष्ट्रिय विद्यार्थीहरूले ३४ बिलियन अष्ट्रेलियन डलरको योगदान । जुन आफैमा ठूलो रकम हो त्यस बाहेक यो संग जोडिएका अन्य अप्रत्यक्ष आम्दानीहरू जोड्ने हो भने यसले आधा ट्रिलियन नाघ्ने अर्थशास्त्रीहरू बताउँछन् ।

यति ठूलो आम्दानीको श्रोत कोभिड –१९ को कारण धराशायी हुनेमा सबै चिन्तित हुँदै गर्दा यहाँका युनिभर्सिटी सहित यस क्षेत्रका स्टेक होल्डरहरू ले बिगत केहि समयदेखि अष्ट्रेलियन सरकार संग लबिङ्ग गरिरहे । जस अनुसार केहि महिना अगाडि सम्म पहिलो जिम्मेवारी आफ्ना नागरिक, तिनको स्वास्थ र रोजगार एवं अन्य व्यवस्थापन भएकाले अन्य भिषामा रहेकाले आफ्नो गार्हो साह्रो हेरेर यतै रहने वा देश फर्कन सक्ने सम्मको भनाइ व्यक्त गरेका प्रधानमन्त्रिले छिट्टै अन्तराष्ट्रिय विद्यार्थीहरू लाई अष्ट्रेलिया स्वागत गर्न आतुर रहेको अभिव्यक्ति दिइसकेका छन् । यस संगै अष्ट्रेलियन दूताबासहरू ले भिसाका आबेदन लिने र भिसा दिएर उचित समयमा अष्ट्रेलिया जान मिल्ने गरि विद्यार्थीहरू लाई तयार रहन सुझाएको छ ।

नेपाली विद्यार्थी – गन्तब्य अष्ट्रेलिया 

राष्ट्रिय आम्दानीको तेस्रो ठूलो हिस्साको रुपमा रहेको अन्तराष्ट्रिय विद्यार्थीहरू र ती बिद्यार्थीहरू मा चीन र भारत पछाडि तेश्रो नम्बरमा आउने नेपाली विद्यार्थीहरू ले पक्कै पनि अष्ट्रेलियाको शैक्षिक बजारमा ठूलो भूमिका खेलेका छन् । कोभिड–१९ को सुरुवात संगै यहाँका धेरै संघ संस्थाहरू ले उच्च शिक्षाको लागि अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरू लाई राहत वितरण सहित ठूलो सहयोग गरे । यस मानेमा नेपाली समुदायमा कोभिडका कारण सबैभन्दा धेरै असर हाम्रा भाइ बैनीहरू लाई गर्यो । यहाँ पहिलेदेखि नै रहेका विद्यार्थीले भोगेका ती समस्याहरू हेर्दा अब आउने नयाँ विद्यार्थीहरू लाई अष्ट्रेलिया आगमन, यहाँको बसाई र पढाइ पक्कै पनि सहज हुने देखिदैन । अबका दिनमा नेपाली संघ संस्थाहरू, नेपाली दूताबास र बाणिज्य एवं महाबाणिज्यदूतका कार्यलयहरू ले यस बिषयमा गम्भीर भएर सोच्नु पर्ने देखिन्छ । तथ्याङ्कहरू ले अष्ट्रेलियामा बिगत ५ महिनामा बेरोजगारीको दर ह्वात्त बढेको देखाएको छ, आफ्ना नागरिकहरूलाई अष्ट्रेलियन सरकारले जसो तसो बिभिन्न सुबिधाहरू दिएर अफ्ठ्यारोहरू टार्दैछ तर विद्यार्थी हकमा त्यो हुदैन ।

सामान्य समयमा पनि अष्ट्रेलिया आउने धेरै विद्यार्थीहरू ले भोगेका दुःख र ठक्करहरू का बारेमा हामी अनभिज्ञ छैनौं । त्यो सम्झने हो भने त अबको परिस्थिति कहाली लाग्दो हुनेछ भनेर अनुमान गर्न हामी सबैलाई गार्हो छैन । यस्तो स्थितिमा ती कलिला भाइ बैनीहरू लाई बास्तबिक्ता संग परिचित गराएर, तिनका अभिभाबकहरू लाई यहाँको स्थितिको बारेमा सत्य तथ्य जानकारी गराउन सके सम्भावित दूर्घटना टर्न सक्थ्यो, यस तर्फ सबैले सोच्नु जरुरि छ ।

बिगतमा (२००७ देखि २००९ तिर) अष्ट्रेलियन सरकारले नेपाली विद्यार्थी भिसा आबेदनमा प्रदान गरेको सहजताले ठूलो संख्यामा नेपाली विद्यार्थीहरू अष्ट्रेलिया आएका थिए । त्यति बेलाको अष्ट्रेलियाको आर्थिक र सामाजिक स्थित सामान्य नै थियो । तैपनि ठूलो संख्यामा आएका नेपाली विद्यार्थीहरू को उचित व्यवस्थापन, उचित परामर्शको अभाबका कारण बिभिन्न खाले समस्याको शिकार बनेका थिए । त्यो यथार्थता यहाँ फेरि किन पनि सम्झनु पर्ने भएको छ भने अहिलेको परिस्थिति झन् अफ्ठ्यारो खालको छ । भोलि कोभिड पछि अष्ट्रेलिया आगमन सहज बनेछ भने पनि सबैले एकदम ध्यान दिनु पर्ने कुरा आर्थिक सहजता हो । हिजोको दिनमा जस्तो पार्ट टाइम काम पाइएला, गर्छु भन्ने समय अब नहुन सक्छ किनकि विद्यार्थीहरू ले पार्ट टाईमका गर्ने अधिकांश क्षेत्र जस्तै होटेल, रेस्टुरेन्टहरू अब कहिले नियमित अवस्थामा फर्कने हुन् केहि थाहा छैन । त्यसैले अब अष्ट्रेलिया आउने विद्यार्थीका अभिभाबकहरू ले स्थिति सहज नहुदाँसम्म कलेज युनिको फि मात्र होइन यताको बस्न खानको सम्पूर्ण व्यवस्था म गर्न सक्छु भन्ने स्थति भएमा मात्र आफ्ना छोरा–छोरीलाई अष्ट्रेलिया पठाउन श्रेयकर देखिन्छ ।

सहि इन्फर्मेसनको खाँचो

फेरी पनि प्रसंग नेपाली विद्यार्थी कै, अष्ट्रेलिया आउने विद्यार्थीहरू लाई सहि सल्लाह सुझाब र जानकारी अबको हकमा सबै भन्दा ठूलो कुरा हो । आज भोलिका विद्यार्थीहरू आफै पनि धेरै कुराहरू सोध खोज गर्छन्, त्यति हुँदा हुँदै पनि सहि जानकारी दिन र विद्यार्थीलाई सहि बाटो छनोटमा शैक्षिक परामर्शदाताहरू महत्वपूर्ण भूमिका हुन्छ । अर्को तर्फ आफ्नो उचित करियर समात्न र समग्रमा अष्ट्रेलियामा नेपालीहरूको गुणात्मक वृद्धि हुनुमा परामर्श दाताहरूको महत्वपूर्ण भूमिकालार्ई नकार्न सकिदैन । विद्यार्थीहरूलाई अष्ट्रेलियामा प्रवेश गराउन चाहिने आवश्यक सूचना तथा सुबिधाको श्रोत तथा मुहान शैक्षिक परामर्शदाताहरू नै हुन् । त्यसो त यहाँनेर सबैलाई एउटै बास्केटमा राख्न मिल्दैन तै पनि कतिपय परामर्शदाताहरू संग सम्बन्धित बिषयमा हुनु पर्ने ज्ञानको अभाव, आर्थिक प्रलोभन तथा अस्वस्थ प्रतिष्प्रर्धाका कारणले विद्यार्थीहरू मारमा परेका धेरै गुनासाहरू बिगतमा हामीले सुनेकै हौं । जसले गर्दा अष्ट्रेलिया सरकारले निर्दिष्ट गरेको मापदण्ड अनुसार काम गर्ने परामर्श दाताहरूको समेत छबि धमिलिएको देखिन्छ ।

बिगतमा नेपालदेखि अष्ट्रेलियासम्म गैर जिम्मेवार ढंगबाट सिड्नी ओपेरा हाउस, हार्बर ब्रिज, मनमोहक गगन चुम्बी भवन तथा समुन्द्री तटहरूको फोटो देखाएर, ठूला ठूला होर्डिंग बोर्ड र आकर्षक रंगिन पोस्टर संगै अथाह सपना बाँड्ने परामर्शदाताहरू का कारण सहि सूचना र जनाकारी दिदै यसलाई व्यापार भन्दा पनि सेवामूलक व्यवसायको रुपमा लिनेहरू ओझेल परेका पनि हामीले बिगतमा देखेकै हो । अबको समयमा त झन् सबै परामर्शदाताहरू ले एकदमै व्यवहारिक धरातलमा उभिएर परामर्श दिनु पर्ने देखिन्छ, बिगतका गल्ति कमजोरीहरू लाई नियम्बन गर्नका लागि स्वयं विद्यार्थीहरू, अभिभावकहरू, अष्ट्रेलियामा रहेका परामर्श दाताहरू, एनआरएनए, अष्ट्रेलिया स्थित समग्र नागरिक समाज, संचार माध्यम, नेपाली दूताबास, नेपाल स्थित शिक्षा मन्त्रालय लगायत सबैले निर्धारित मापदण्ड खडा गरि अबलम्बन गर्नु जरुरि छ । कोभिड –१९ पछिका दिनहरू मा यता आउन तयारी गरेका जो सुकैले पनि आफूलाई आर्थिक तथा मानसिक रुपमा पूर्वतयारी गरि आउँदा मात्र तिनले भोलिका दिनमा हुन सक्ने नैराश्यता, बिकृति तथा विसंगतिहरू लाई सहज किनारा लाउँदै आफ्नो अध्ययनमा केन्द्रित हुन् सक्छन् ।

अन्त्यमा,

ज्यान रहे भोलि केहि गरौला भनेर तंग्रिदै गरेको आहिलेको बिश्व परिस्थितिमा देश छोडेर हिड्दा धेरै कुरा सोच्नु पर्ने देखिन्छ । नेपालबाट आफ्ना बाबु-नानीहरू लाई अष्ट्रेलिया जानको लागि पहिले-पहिले जस्तो शुरुको खर्च जोह गरेर तिनलाई परामर्शदाताहरू को जिम्मा लाएर मात्र अबको दिनमा अभिभावकको जिम्मेवारी पूरा भएको कदाचित हुदैन । बिगतमा अष्ट्रेलिया उत्रेका अर्को हप्ता तिर नै काम पाइस ? ऋण गरि पठाएको हो घरको समस्या नभुल है भनि सोध्ने अभिभाबकका कारण विद्यार्थीहरूमा चौतर्फी मनाबैज्ञानिक असरको चपेटामा परेको थुप्रै उदाहरणहरू छन् । यस्ता कुराहरू ले तिनमा नकारात्मक असर पर्ने र शैक्षिक करियर नै धरापमा पर्ने कुरामा अभिभाबकहरू झन् सजग हुनु पर्छ । अबको कोभिड–१९ पछिको समयमा त झन् बाबु नानीले पार्ट टाईम काम पाउन महिनौं लाग्न सक्छ । यस्तो असहज परिस्थितिमा पनि उच्च शिक्षाको महत्वकांक्षा बोकेर अष्ट्रेलिया आउन लागेका कलिला विद्यार्थीहरू लार्ई परामर्शदाताहरू ले आफ्नो व्यापारिक स्वार्थ भन्दा माथि उठेर उचित, बास्तविक र व्यबहारिक सुझाव र सल्लाह दिनु अपरिहार्य छ । अभिभावकहरूले अध्ययन अबधिभरको ट्युशन फी को व्यवस्था र कम्तिमा पनि एक वर्षको लागि उनीहरूको बसोबासको सबै व्ययभारको प्रतिबद्दता गर्न नसक्ने स्थिति छ भने कम्तिमा पनि यहाँको स्थित एकदमै पहिला जस्तै सामान्य नहुदाँसम्म आफ्ना छोरा–छोरीलाई विदेश पढ्न नपठाउनुस भनेर परामर्श दाताहरू ले भन्न सक्नु पर्छ । यसै गरि बिगतमा शैक्षिक परामर्शदाताहरू लाई मात्र दोष दिने संघ संस्था र समुहहरू ले बेलैमा यस बारे आबाज उठाउन । त्यसको लागि नेपालमा नेपाल सरकार, शिक्षा मन्त्रालयले र अष्ट्रेलियाको हकमा एनआरएनए अष्ट्रेलिया अन्य सामुदायिक संघ संस्था, नेपाली दूताबास बाण्जियदूत र महाबाणिज्यदूतका कार्यलयहरू ले शैक्षिक परामर्शदाताहरू र ती आबद्द संघ संस्थाहरू संगै बेलैमा छलफल र सहकार्य गर्नु जरुरि छ । अर्को महत्वपूर्ण कुरा भनेको हामी सबै मानव इतिहास कै कठिन घडीमा छौं, यो घडीमा हामी जँहा छौ सुरक्षित रहौं । यो स्थिति केहि समय पछि सहज हुनेछ नै, त्यति बेला अध्ययन, अध्यापन, रोजगार र व्यापार गर्ने सबैलाई पक्कै पनि सहज हुनेछ ।

                                                 ~~~~~~~~~~~~~~~~~~~~~~~

कोभिड–१९ केहि मत्थर भए संगै अष्ट्रेलियन सरकारले फेरि अन्तराष्ट्रिय विद्यार्थीहरू लाई अष्ट्रेलिया अध्ययनको लागि आह्वान गरिसकेको छ ? जस अनुसार कलेज र युनिभर्सिटीले भर्नाको आबेदन लिन थालेका छन् भने, अष्ट्रेलियन दूताबास र हाइकमिसनहरू ले भिसा आबेदन लिने र स्थिति सामान्य भए संगै भिसा इशु गर्ने भनाइ बाहिर आएको छ । कोभिड पछिको यो भिन्न परिस्थितिमा नेपालबाट अष्ट्रेलिया आउन चाहने विद्यार्थीलाई तपाईको सल्लाह वा सुझाब के हुन्छ ?

हरि पोख्रेल

निर्देशक सनराइज एजुकेशन

विद्यार्थीहरू लाई अरु केहि समय धैर्य भएर बस्न आग्रह गर्दछु । अष्ट्रेलियाको सरकारले विद्यार्थी भिसा दिने भन्ने कुरा आएक पनि नेपाल सरकारले नयाँ विद्यार्थीको लागि NOC खोलेको छैन । PTE र IELTS का टेस्टका लागि बुकिंग भर्खर मात्र खुल्न थालेका छन्  । अनि अर्को कुरा नेपालमा प्लस २ को फाइनल एक्जाम अझै भएको छैन र सबैभन्दा महत्वपूर्ण कुरा अष्ट्रेलियाको बोर्डर पनि अझै कहिले बाट खुल्ने हो भन्ने थाहा छैन । त्यसैले अष्ट्रेलिया आउन चाहने विद्यार्थीहरू ले अरु केही महिना पर्खनु पर्ने देखिन्छ ।

अहिलेको स्थिति बिल्कुलै भिन्न स्थित हो, हाम्रो पुस्ताले नदेखेको र नभोगेको अवस्था हो यो । अष्ट्रेलियामा कोरनाको सक्रमणमा रोकथाम आएपनि नेपालमा अझै केही समय लाग्ने देखिन्छ । विद्यार्थीहरूले भिसा पाइहाले पनि यहाँ आउन केही समय लाग्ने देखिन्छ । युवा बिधार्थीहरू धेरै उत्साहित र जाँगर भएका छन्, आफ्नो भविष्य थलो अष्ट्रेलिया बनाउन निकै उत्सुक छन् तर उनीहरू ले के बुझ्नु पर्ने भएको छ भने यस्तो स्थिति कहिल्यै आएको थिएन र हामी सबैले केही धैर्य धारण गर्नु पर्ने देखिन्छ ।

यो भाइरसले नेपालको अर्थतन्त्रलाई नराम्रो असर पारेको छ । कयौंको जागिर गएको छ । सानो र मझौला व्यवसाय  गर्नेहरू व्यापार रहित भएका छन् । यो कारणले गर्दा आफ्ना छोरा-छोरीलाई चाहेर पनि विदेश पठाउन नसक्ने स्थिति छ । नेपालमा जस्तै अष्ट्रेलियालाई पनि यो भाइरसले नराम्रो असर पारेको छ । झण्डै ४० लाख अष्ट्रेलियनहरू Job keeper र Job seeker जस्ता सरकारी सुविधामा निर्भर छन् । यी मध्ये अधिकाँसले आफ्नो जागिर गुमाउने स्थिति आएको छ । यस्तो अवस्थामा नेपाली विद्यार्थीले यहाँ आइसकेपछि पार्ट टाइम काम पाइहाल्ने स्थिति छैन अनि यो समस्याले दोश्रो सेमिस्टरकाे tuition fee तिर्न नेपालबाट मगाउनु पर्ने स्थिति हुन सक्छ ।

शैक्षिक क्षेत्र अष्ट्रेलियाको लागि महत्वपूर्ण क्षेत्र हो । अष्ट्रेलियन सरकार यस कुरालाई ध्यानमा राखेर बेलाबेलामा  विद्यार्थीको हितका लागि नियमहरू निकाली रहन्छ । यही विषयमा सरकारले भनेको छ कि यदि कोही विद्यार्थीले भिसा पायो तर यहाँ आउन पाएको छैन र Online मा पढिरहेको छ भने त्यस पढाइलाई Classroom को पढाई सरह मानेर PSW (TR) apply गर्न छुट दिएको छ ।

गत महिना सरकारले भिसा पाइसकेका विश्वविद्यालयका विद्यार्थीहरू लाई ल्याउन शुरु गर्न लागिसकेको थियो । तर एक्कासी मेलबर्न (भिक्टोरिया) मा सेकेण्ड वेभ आउन शुरु भयो जुन अहिलेसम्म कन्ट्रोलमा आइसकेको छैन । यही कुरा सिड्नी र अरु शहरहरू मा पनि देखिइरहेका छ । भनिन्छ सेकेण्ड वेभ, फस्र्ट वेभ भन्दा कन्ट्रोल गर्न गाह्रो हुने कुरा आएको छ, यस्तो घटनाले निश्चित रुपमा विद्यार्थीहरू आउने कुरा अझ पनि धकेलिने पक्का छ ।

अहिलेसम्मको स्थिति हेर्दा, विद्यार्थीहरू ले फेब्रोअरी 2021 सम्म पर्खनु पर्ने देखिन्छ  । दोश्रो वेभको रोकथाम, भ्याक्सिनको सफल परिक्षण र प्रयोग, आएकाहरूलाई उचित क्वराइन्टाइनको व्यवस्था र त्यसको खर्च, यी सबै हेर्दा बोर्डर कहिले खुल्छ भन्ने कुरा यकिनका साथ भन्न गाह्रो छ ।

महेश राज दाहाल

मा.राजदुत अष्ट्रेलिया

कोरनाको महामारीबाट आफ्ना नागरिकलाई उद्दार गर्न यति बेला नेपाल सरकारले आफ्नो पहिलो प्रथामिकतामा राखेको छ । यो अप्ठयारो बेलामा नेपाल सरकारलाई बिभिन्न देशमा रहेका दूताबासहरू, त्यहाँ रहेका बिभिन्न संघ संस्थाहरू ले ठूलो सहयोग गरिरेहका छन् । यहि सिलसिलामा अष्ट्रेलियाबाट ४ वटा (३ चाटर्ड र १ सेमी चाटर्ड) फ्लाइटले अष्ट्रेलियामा रोकिनु भएका धेरै अभिभाबकहरू, पर्यटकहरू र विद्यार्थीहरू लाई नेपाल पुराइ सकेको छ. बिशेष रुपमा पछिल्लो २ फ्लाइटका लागि एनआरएनए अष्ट्रेलियाको संयोजकत्वमा गठित समितिका साथिहरू र यस क्रम दिनरात खट्नु हुने सबै साथिहरू को मेहनत र सहयोग म यति बेला सम्झन चाहन्छु, यसै गरि आम्डा, फेन्का, एन्जा, एक्का र बाणिज्यदूत, महाबाणिज्यदूतका कार्यालय र अन्य सामुदायिक संघ संस्थाहरू बाट प्राप्त सहयोगको पनि म स्मरण गर्न चाहन्छु । जँहासम्म उच्च शिक्षाको लागि विद्यार्थीहरू पुनः अष्ट्रेलियामा आउने कुरा छ, कोभिड –१९ को नियन्त्रण संगै अष्ट्रेलियन सरकारले आफ्नो ढोका खोल्ने आशयको जुन कुराहरू आएका छन् ती स्वागत योग्य छन्. अघि मैले माथि भने जस्तै यति बेला नेपाल सरकार र मातहतका निकायको ध्यान कोभिड–१९ नियन्त्रण र यसबाट पिडित भएकाहरू को उद्दार र सहयोगमा केन्द्रित छ. त्यसैले पनि आहिले सम्म नेपाल सरकारले विदेश पढ्न जाने सोच बनाएका बिद्यार्थीहरू लाई नो अब्जेक्सन लेटर (No objection letter) अहिले दिएको छैन र यो कहिलेबाट दिने भन्ने बारेमा पनि नेपाल सरकारले अहिलेसम्म कुनै निर्णय लिएको मेरो जानकारीमा छैन । अर्कोतिर नेपालमा यति बेला प्लस २ को परीक्षा पनि हुन सकिरहेको छैन । त्यसैले पनि अहिलेको परिस्थितिमा यो बिषयमा दूताबासको र मेरो आफ्नो व्यक्तिगत विचार राख्न पनि अलिकति छिट्टै हो कि जस्तो लाग्छ. तर यसो भन्दै गर्दा दूताबासले पक्कै पनि यो बिषयमा सहि समयमा नेपाल सरकारलाई अष्ट्रेलियाको परिस्थिति र बस्तुस्थितिको बारेमा जानकारी गराउनेछ. यो विषम परिस्थितिको अन्त्य संगै भोलिका दिनमा विद्यार्थी संग सम्बद्ध अष्ट्रेलियाका सबै संघ संस्थाहरू संग दूताबास सम्पर्कमा रहनेछ र समन्वय गर्नेछ । यस बाहेक नेपाल गएको बेलामा उतै रोकिन परेका विद्यार्थीहरू र भिसा प्राप्त गरेर पनि आउन नपाएर रोकिएका विद्यार्थीहरूलाई कसरि अष्ट्रेलिया ल्याउन सकिन्छ भन्ने बिषयमा पनि दूताबासले सबै निकाय संग छलफल अगाडि बढाएर सहि निकास दिनु पर्नेछ, जसको लागि परिस्थित सामान्य भए संगै दूताबासले आफ्नो तर्फबाट पहल गर्नेछ ।

रबिन्द्र शर्मा

 निर्देशक बाबा एजुकेसन अष्ट्रेलिया

अष्ट्रेलियन सरकारको सबै भन्दा ठूलो मार्केट नै एजुकेशन सेक्टर हो र कोरोनाका कारण यस क्षेत्रमा पनि ठूलो असर देखिएको छ । अझै पनि संसारभर कोरोनाको प्रकोप रहेको हुँदा सर्बप्रथम त विद्यार्थीहरूले आफ्नो स्वस्थको पूर्ण रुपमा ख्याल राख्नु आबश्यक छ । यो बिसम परिस्थितिमा अष्ट्रेलियामा रहेका धेरै अन्तराष्ट्रिय विद्यार्थीहरूले काम बन्द भएका कारण आर्थिक तनाब भोग्न पर्यो त्यो सबैलाई थाहा भएकै कुरा हो त्यसैले अष्ट्रेलिया आइसकेपछि पर्ने आर्थिक भारलाई कम गर्न चर्को ब्याजमा ऋण लिएर अष्ट्रेलिया नआउनका लागि विद्यार्थीहरूलाई आग्रह गर्दछु भने अष्ट्रेलिया आइसकेपछि पनि परि आउने यस्ता प्रतिकूल समयमा संयमित हुन सक्ने गरि नेपालमा आर्थिक अवस्था मिलाएर मात्रै अष्ट्रेलिया आउन सल्लाह दिन्छु, साथै अष्ट्रेलिया आउन हतार गर्न भन्दा पनि विद्यार्थीहरू ले पूर्ण रुपमा विभिन्न क्षेत्रको सिप सिकेर मात्रै आउन आबश्यक छ जसले गर्दा उनीहरू लाई यहाँ आइसके पछि पार्ट टाइम काम पाउन सहज होस् । पुरुषहरूले जस्तै ड्राइभिङ्ग, बार ट्रेनिंग, किलिनिंग, बरिस्ठ, कुक–सेफ, हेयेर ड्रेसिङ्ग आदि इत्यादी र महिलाहरूले वासिाङ्ग, बिउटि पार्लर, नेल, रिमेडियल मसाज, हेयरकट, कस्टुमर सर्विस ट्रेनिंग आदि इत्यादि काम सिकेर आउँदा यहाँ विद्यार्थीहरूले काम पाउन सक्छन् ।

केशव कंडेल

अध्यक्ष एनआरएनए अष्ट्रेलिया

कोरानको महामारीबाट स्थित सहज हुन बिश्वलाई अरु केहि समय लाग्ने देखिन्छ, त्यति हुदाँ हुँदै पनि अष्ट्रेलिया उच्च शिक्षा अध्ययन गर्न चाहनेहरू को लागि संसार कै आकर्षक देश हो भन्दा हामीलाई खुसी लाग्छ । जसरि उच्च शिक्षा र उन्नत भबिष्य खोज्दै हामीहरू अष्ट्रेलिया आयौं त्यसरी नै अष्ट्रेलिया आउन चाहनेहरू सबैलाई पक्कै पनि हामी अष्ट्रेलियामा स्वागत गर्नेछौं । त्यसो भन्दै गर्दा अबको यो विषम परिस्थितिपछि नेपालबाट उच्च शिक्षाको लागि विदेश जाने सबै विद्यार्थी भाइबैनीहरू ले सबै भन्दा पहिला त बिश्व परिस्थिति र जान चाहेको देशको बारेमा आफूलाई अभ्यस्त बनाउने त्यहाँको परिस्थितिको बारेमा आफु बिज्ञ हुनु जरुरी छ. हिजोको दिनमा दुःख सुख गरेर अष्ट्रेलिया पढ्न सकिन्छ मेहनेतीलाई अवसर मिल्न सक्छ भन्ने भनाइ अब अलिक फरक हुन सक्छ किनकि अबका दिनमा अष्ट्रेलियामा अन्तराष्ट्रिय विद्यार्थीहरू लाई पार्ट टाइम काम पाउन गाह्रो हुन् सक्छ त्यसैले अबको दिनमा आफू र आफूलाई सपोर्ट गर्ने अभिभाबक, आफूलाई आर्थिक रुपमा कत्तिको थेग्न सक्ने खालको हुनुहुन्छ त्यो विचार गर्नु पर्ने देखिन्छ । अबका दिनमा युनिभर्सिटीको पढाइ अनलाईनबाट पनि हुन सक्छ त्यति बेला अरु केहि समय नेपालबाट नै पढ्न मिल्ने अबसर आउँछन् कि यदि त्यस्तो हो भने त्यो अबसरको फाइदा लिदै स्तिथि सामान्य भए पछि मात्र अष्ट्रेलिया आउने पनि एउटा बिकल्प हुन सक्छ. त्यसै गरि यो क्रममा नेपाल सरकारले अबको दिनमा सुरुदेखि नै पढ्न चाहनेहरू को बिस्तारमा विवरण राख्ने र दूताबास मार्फत अनुगमन गर्न सके जानकारी प्रबाह गर्न सहज हुनेछ । यसरि नै शैक्षिक उद्योगमा संग्लग्न सबैले अवको दिनमा विद्यार्थीहरू लाई दिने सल्लाहा सुझाब बिगतको भन्दा पक्कै फरक हुन्छ, व्यापार व्यवसाय गर्दै गर्दा सहि सल्लाह, सहि सुझाब दिनु हुन पनि म सबैमा अनुरोध गर्न चाहन्छु । यस क्रममा एनआरएनए अष्ट्रेलिया आफ्नो ठाउँबाट गर्नु पर्ने सहयोग र समन्वयको लागि संधै तयार रहेको पनि म जानकारी गराउन चाहन्छु ।

परशु राम अधिकारी

अध्यक्ष एक्का

कोभिड–१९ को असर हरेक वर्ग र क्षेत्रमा अल्पकालिन र दीर्घकालिन रुपमा परेको छ । शैक्षिक परामर्श क्षेत्र पनि यसमा बढी प्रभावित क्षेत्रमा पर्दछ । यस परिस्थिति लाई सहज बनाउन सम्बन्धित निकायहरूले सक्दो भूमिका निर्वाह गरेको देखिन्छ जुन आफैमा स्वागत योग्य छ । आजको Global village मा अन्तराष्ट्रिय शिक्षा आर्जनको परम्परा अत्यावश्यक भएको छ । एक देशबाट अर्को देशमा अध्ययनको लागि जाने र आउने सामान्य प्रकिया हो तर Covid-19 को प्रभावले यसलाई प्रत्यक्ष असर पार्नको साथै कति लामो समयसम्म असर पार्ने हो भन्ने विषयले चिन्तित बनाएको परिस्थितिमा सकरात्मक पक्षहरू देखिन थालेका छन् । अष्ट्रेलियन सरकार अन्तराष्ट्रिय विद्यार्थीहरूलाई अध्ययनको आह्वान गर्नु र आवश्यक नियम कानुनले सहजीकरण गराउनु र नेपाल सरकारले NOC उपलब्ध गराउने कुरामा सकरात्मक हुनु साथै अध्ययन संस्थाहरूले विशेष परिस्थितिलाई मध्यनजर गरी Online Study, Installment Payment, Visa Rejection हुदा Full Tuition fees refund मा थप सहजीकरण जस्तो प्रक्रियाले विद्यार्थीहरूमा उत्साह बढेको छ । विद्याथीहरू थप जानकारीको  लागि शैक्षिक परामर्श दाताहरूको सम्पर्क बढाउन थालेका छन् । जेहोस हरेक क्षेत्रको सकरात्मक भूमिकाले सबैलाई उत्साहित बनाएको छ । जति उत्साहित भएपनि विद्यार्थीहरूले अष्ट्रेलियामा पढ्न आउनु भन्दा अगाडि ध्यान दिनुपर्ने कुराहरू –

१. किन अष्ट्रेलिया नै अन्य देश अमेरिका, बेलायत, क्यानडा लगायत भन्ने विषयमा गहिरो अध्यायन गर्न अत्यन्तै जरुरी र आवश्यक छ । यहाँको पढाई र बसाइको विषयमा अवगत हुनु पर्ने हुन्छ । हतारमा निर्णय लिएर फुर्सदमा पश्चाताप गर्न नपरोस ।

२. बीचको समयमा विद्यार्थीहरू बुझ्ने र अवगत हुदै IELTS / PTE जस्तो परीक्षाको तयारी गर्दै कुन संस्थामा कुन विषय पढ्नको लागि कति अंक IELTS / PTE मा ल्याउनु पर्ने हो थाह पाउन पर्ने हुन्छ । यसले अष्ट्रेलिया पढ्न आउँदा समय र कम खर्च गर्न समेत मद्दत गर्दछ ।

३. अष्ट्रेलियामा कुन प्रान्तको कुन शहरमा पढ्ने हो छान्नु अर्को महत्वपूर्ण पाटो हो । विद्यार्थीहरूले Research गर्ने बानी बसाउन पर्छ । हल्लै हल्लामा संस्था र प्रान्त छान्नु हुँदैन । धेरै अध्ययन गरेर निर्णयमा पुग्नु पर्दछ ।

४. Vocational Education and Training Courses (VET) / Higher Education(HE) मध्ये कुन छान्ने हो बुझ्नु अर्को महत्वपूर्ण  पाटो छ । Australian Qualification Framework (AGF) जानकारी लिनु आवश्यक हुन्छ ।  यसले विद्यार्थीहरूलाई VET / HE को विषयमा फरक छुट्याउन मद्दत गर्दछ । आफैले अध्ययन गर्नुको साथै शैक्षिक परामर्श दाताहरूसँग थप जानकारी  लिनु उचित हुन्छ ।

५. पढ्ने संस्था कसरी छान्ने भन्ने विषयमा आफूले पढ्न चाहेको विषय, विषयको कोर्ष डेटलाइन र यस विषयको अन्तराष्ट्रिय महत्वलाई पनि ध्यान दिनु पर्ने साथै संस्थाको शुल्क Affordable छ कि छैन आफ्नो लागि र अभिभावकसँग सरसल्लाह समेत गर्नु पर्ने हुन्छ अन्तिम निर्णयको लागि ।

६. अन्तराष्ट्रिय विद्यार्थी हुँदा ठूलो धनरासी खर्च हुने हुँदा पढ्न इच्छा लागेको विषय पढेर भविष्यमा के बन्ने चाहना हो प्रष्ट हुनु आवश्यक छ । भविष्यको Career Enhancement कसरी तय हुन्छ पढ्नु भन्दा अगाडि बुझ्न पर्ने हुन्छ ।

७. अन्तराष्ट्रिय विद्यार्थी हुँदा र घरमा परिवारसँग बसेर पढ्नुमा आकाश जमिनको फरक छ । यसैले गर्दा परिवार र विद्यार्थीले बाहिर पढ्न जाने विषयमा निर्णय गर्नु भन्दा पहिला चारपटक सोच्नु पर्छ । अभिभावकले आफ्नो बच्चाको स्वभाव, जिम्मेबारीपन, पढाइको स्तर साथै कुन संस्थाको शुल्क कति थाह पाउनु आवश्यक छ । सामान्यतया साथीको लहैलहैमा निर्णय गरेको भन्नेहरू धेरै हुन्छन् जुन अत्यन्तै गैर जिम्मेवारी पन हो । अभिभावक र विद्यार्थीले  अष्ट्रेलियामा अन्तराष्ट्रिय विद्यार्थीले Fortnightly 40 घण्टा पढाई हुँदा र पढाई विदा हुन्छ Full time काम गर्न पाउँछन् । यसरी काम गर्दा बसोबासको  खर्च पुग्न सक्छ तर सामान्यतया भ्रम के छ भने एक पटक शुरुमा खर्च गरे पछि बाँकी कतै कमाएर पुर्याउँछन भन्ने छ जुन सत्य होइन । अध्ययनलाई सुचारु राख्न र समयमा पढाइ सिध्याउनको लागि सबैको कुराहरू अगाडि नै थाहा पाउनु आवश्यक हुन्छ यी यस्ता विषयहरू शैक्षिक परामर्श दाताहरूले विद्यार्थी र अभिभावकहरूलाई प्रष्टसँग बुझाउनु पर्ने दायित्व रहन्छ ।

यी यस्ता कुराहरूमा विद्यार्थी, अभिभावक, शैक्षिक सँस्था र शैक्षिक परामर्शदाताले आ–आफ्नो भूमिका जिम्मेबारीपूर्ण तरिकाले निर्वाह गर्नु पर्ने हुन्छ । यस्तो भयो भने भविष्यमा आउन सक्ने समस्यालाई न्युनिकरण गर्न महत्वपूर्ण सहयोग पुर्याउँछन् । Covid-19 को विशेष परिस्थितिमा झन थप सबै वर्ग सजग र होसियार हुन आवश्यक छ ।

                                           ———————————————-