अष्ट्रेलिया आकर्षक गन्तब्य एक्काको शैक्षिक मेला सम्पन्न

-- कृष्ण भट्टराई, नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, भदौ २८, २०७५

पछिल्ला वर्षहरूमा अष्ट्रेलिया नेपाली युवाहरू, खासगरी विद्यार्थीका लागि विश्वकै सबैभन्दा आकर्षक गन्तब्य बन्न थालेको हामी कसैबाट लुकेको छैन । नेपालमा प्लस टु अर्थात कक्षा ११ र १२ को परीक्षापछि अधिकांश नेपाली विद्यार्थीले उच्च शिक्षाका लागि छनोट गर्ने गन्तब्य नै अष्ट्रेलिया हुन थालेको काठमाडौंका चोक–चोकमा खुलेका शैक्षिक कन्सल्टेन्सिमा लागेको भीडबाटै आंकलन गर्न सकिन्छ । अझ बेला–बेलामा काठमाडौंमै आयोजना हुने अष्ट्रेलिया विशेष शैक्षिक मेलामा देखिने युवा अनुहारको भिडले समेत अष्ट्रेलिया नेपाली विद्यार्थीको पहिलो गन्तब्य बन्न थालेको प्रमाणित हुने गरेको छ ।

जसरी एकातिर काठमाडौंका एजुकेसन कन्सल्टेन्सिहरूमा नेपाली विद्यार्थीको भीड देखिन्छ, त्यसरी अष्ट्रेलियाका मुख्य शहरका सडकहरूमा समेत टिनएजको अन्तिम चरणमा पुगेका नेपाली युवा–युवतीहरूको बाक्लो भीड देखिन थालेको छ । खासगरी उच्च शिक्षा हासिल गर्न तथा अध्ययनपछि अष्ट्रेलियामै सेटल हुने उद्देश्यले अधिकांश युवा–युवतीहरू यतिबेला अष्ट्रेलियालाई नै पहिलो गन्तब्य बनाउन थालेका छन् ।

त्यसै पनि अष्ट्रेलियालाई अवसरको भण्डार नै मानिन्छ । उत्कृष्ट अध्ययन–अध्यापनका लागि नाम चलेका विश्वविद्यालयहरू अष्ट्रेलियामै छन् । यसबाहेक अष्ट्रेलिया सरकारले नेपालीसहित विदेशी विद्यार्थीहरूलाई हप्ताको २० घण्टा काम गर्न दिने अनुमतिले पनि नेपाली विद्यार्थीहरूले अष्ट्रेलियामा काम गर्दै आफ्नो अध्ययन पूरा गर्ने राम्रो अवसर पाइरहेका छन् ।

 

यस्तो छ अष्ट्रेलियाको आकर्षण

हरेक वर्ष अष्ट्रेलियामा नेपाली विद्यार्थीहरूको संख्या बढ्नु पक्कै पनि सुखद पक्ष हो । नेपाली विद्यार्थीहरूले अष्ट्रेलियालाई अध्ययनको गन्तब्य बनाउनुका पछाडि धेरै कारणहरू छन् । वास्तवमा नेपाली बिद्यार्थीहरूका लागि अष्ट्रेलिया अध्ययनका लागि आकर्षक गन्तब्य बन्नुमा अमेरिकासहितका पश्चिमा देशहरूमा पछिल्लो समयमा भइरहेको कडाईलाई पनि कारण मानिएको छ भने अर्को कारण अष्ट्रेलियामा पाइने सेवा, सुविधा र अवसरले पनि विद्यार्थीहरूलाई अष्ट्रेलियातर्फ आकर्षित गरिरहेको हो ।

अष्ट्रेलिया सरकारले विगतका वर्षको तुलनामा अहिले अष्ट्रेलियामा अध्ययन गर्न आउने विदेशी बिद्यार्थी संख्या बढिरहेको तथ्यांक सार्वजनिक गरिरहेको छ । पछिल्लो तथ्यांक अनुसार अहिले अष्ट्रेलियमा करिव ३० हजार नेपाली विद्यार्थीहरू विद्यार्थी भिषामा अध्ययन गरिरहेको तथ्यांक छ । यो संख्या हरेक वर्ष बढिरहेको छ ।

अघिल्लो वर्ष अष्ट्रेलियाको विदेश मन्त्रालयले सार्वजनिक गरेको एउटा विज्ञप्तीका अनुसार विश्वभरीबाट अध्ययन गर्न आउने विद्यार्थीको संख्यामा नेपाली विद्यार्थीले आठौं स्थान ओगटेका थिए । नेपाल जस्तो सानो मुलुकबाट अष्ट्रेलियामा अध्ययन भिषा पाउने विद्यार्थीको प्रतिशत उत्कृष्ट १० भित्र पर्नु आफैंमा आश्चर्यजनक विषय हो ।

विद्यार्थी भिषामा अष्ट्रेलिया आएपछि अध्ययन सकिने बित्तिकै स्थायी बसोबास (पीआर), त्यसपछि अष्ट्रेलियाकै नागरिकता लिन पाउने कानूनी प्रावधानले पनि विदेशी विद्यार्थीहरू अष्ट्रेलियातर्फ आकर्षित भएका हुन् । अर्कोतिर अष्ट्रेलियामा नेपाली समुदायलाई हेर्ने दृष्टिकोण पनि सकरात्मक छ । अष्ट्रेलियाको समुदायमा नेपालीहरू मिलनसार तथा मेहनती रुपमा चिनिन्छन् ।

अष्ट्रेलिया उच्च अध्ययनका लागि विश्वकै एक आकर्षक गन्तब्य हो भन्ने कुरामा दुई मत छैन । खासगरी, आर्थिक सम्पन्नता, लोक कल्याणकारी राज्य, अनुकुल हावापानी, कुशल सरकारी व्यस्थापन, कानूनी राज्य, सशक्त नागरिक समाज, गुणस्तरीय शिक्षा, अंग्रेजी भाषा अध्ययन अध्यापनको माध्यम, बहुसांस्कृतिक समाज जस्ता थुप्रै राम्रा बिशेषताहरूले गर्दा पनि धेरै विद्यार्थीहरू अष्ट्रेलियन शैक्षिक संस्थाहरूमा अध्ययन गर्न मन पराउँछन् । यसका साथै अधिकांश विद्यार्थीहरूले आफ्नो अध्ययन पूरा गरेपछि अष्ट्रेलियामै स्थाई बसोबासको ढोका खुल्ने हुनाले पनि अन्य मूलुकको तुलनामा अष्ट्रेलियाका विश्वविद्यालयमा विदेशी विद्यार्थीहरूको भर्ना संख्या उल्लेख्य मात्रामा बढेको हो । त्यसैले पनि नेपाली विद्यार्थीहरू यी सबै अवसरबाट बञ्चित नहुन जति नै गाह्रो तथा महंगो भए पनि अष्ट्रेलियालार्ई आफ्नो उच्च शिक्षाको लागि एउटा आकर्षक गन्तब्य बनेको हो ।

 

चुनौती पनि छन्

अवसर नै अवसरको देश भए पनि अष्ट्रेलियामा थुप्रै चुनौतीहरू पनि छन् । त्यसै पनि अष्ट्रेलिया नेपाली विद्यार्थीहरूका लागि भूगोलको एउटा फरक भाग र फरक परिवेशमा पर्दछ । अष्ट्रेलिया पुगेका अघिल्ला दिनहरूमा नेपालको भन्दा भिन्न परिवेशको देश अथवा शहरमा आफूलाई भिजाउन गाह्रो हुनु स्वभाविकै हो । विद्यार्थीको हकमा त यो झनै गाह्रो कुरा हो, किनभने उनीहरू १८–१९ वर्षका कलिला उमेरका हुन्छन् । एकातिर पढाइको दवाव, अर्कोतिर अष्ट्रेलिया पुग्ने बित्तिकै काम पाउन गाह्रो हुने समस्या, बसोबासको चटारोले प्रारम्भमा विद्यार्थीहरूलाई समस्या पर्नु स्वभाविकै हो । यसबाहेक शैक्षिक परामर्शदाताहरूसंग सम्बन्धित बिषयमा कम ज्ञान हुनु, आर्थिक प्रलोभन तथा अस्वस्थ प्रतिष्प्रर्धाका कारणले विद्यार्थीहरू समस्यामा परिरहेका छन् ।

 

एक्काको शैक्षिक मेला सम्पन्न

यसैबीच, उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरूलाई लक्षित गरेर गत अगष्ट २४ र २५ का दिन काठमाडौंको होटल अन्नपूर्णमा ‘अष्ट्रेलियन एजुकेशन फेयर २०१८’ सफलतापूर्वक सम्पन्न गरेको छ । अष्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्स अलायन्स (एक्का) को आयोजनामा सम्पन्न उक्त मेला दुई दिनसम्म सञ्चालन भएको थियो ।

उक्त मेलालाई नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर वडले एक औपचारीक समारोहबीच उदेघाटन गरेका थिए । मेलाको उद्घाटन समारोहमा काठमाडौं विश्व विद्यालयका पूर्व उप–कुलपति सुरेशराज शर्मा, नेपाल अष्ट्रलियन एल्मुनाइ एसोसिएसनका डा.दामोदर पोखरेल आदि सहभागि थिए ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत वडले अष्ट्रेलिया नेपाली विद्यार्थीहरूका लागि उच्च शिक्षा हासिल गर्ने उत्कृष्ट गन्तब्य रहेको बताउँदै अष्ट्रेलियन शहरहरूमा नेपाली विद्यार्थीहरू नेपाली बोल्दै हिड्दै गरेको देख्दा खुसी लाग्ने बताए । राजदूत बडले नेपाली विद्यार्थीहरूका लागि अष्ट्रेलिया एउटा राम्रो हब बन्दै गएकोमा खुसी व्यक्त गर्दै हप्ताको २० घण्टा मात्र काम गर्न पाउने नियमले नेपाली विद्यार्थीलाई केही मर्का परेको गुनासो सुन्नु परिरहेको उल्लेख गरे । ‘म नेपाली विद्यार्थीका अभिभावकलाई के आग्रह गर्न चाहान्छु भने, राजदूत बडले भने–‘तपाईंहरूले कम्तिमा दुई वर्षको पढाइ खर्च आफैंले व्यहोर्नु भयो भने उनीहरूले आफ्नो पढाइ सहजै पूरा गर्न सक्छन् ।’ ग्राजुएसनसम्मको पढाइका लागि अभिभावकले नै सहयोग गर्नु पर्ने धारणा व्यक्त गर्दै राजदूत बडले त्यसपछिको अध्ययनका लागि अष्ट्रेलियन सरकारले वर्किङ भिसाको समेत व्यवस्था गर्न सक्ने बताए । अष्ट्रेलियामा सञ्चालित नेपाली शैक्षिक प्रतिष्ठानहरूको कामको प्रसंसा गर्दै नेपाली विद्यार्थीहरूलाई नेपालमा नै राम्रो परामर्स दिनु पर्ने उनको भनाइ थियो ।

अष्ट्रेलियाबाट सञ्चालित झण्डै ३२ वटा एजुकेशन कन्सल्टेन्सीहरूको छाता संगठन एक्काले दोस्रो संस्करणका रुपमा उक्त मेला आयोजना गरेको हो । एक्काका अध्यक्ष निरज श्रेष्ठले मेलामा अष्ट्रेलिया जान चाहने विद्यार्थीहरू र तिनका अभिभावकलाई अष्ट्रेलियाको शैक्षिक क्षेत्रबारे विस्तृत जानकारी दिने धारणा व्यक्त गरे ।

अष्ट्रेलियाका राम्रा विश्वविद्यालय तथा कलेजमा अध्ययन गर्न चाहने विद्यार्थीलाई त्यहँँको रहनसहन, संस्कृतिका बारेमा सम्बन्धित परामर्श व्यवसायी तथा शिक्षालयका प्रतिनिधीले मेलामा जानकारी उपलब्ध गराएका थिए ।

यसका साथै शैक्षिक छात्रवृत्ति हासिल गर्न सक्ने बिषय र शैक्षिक संस्थाको बारेमा पनि विद्यार्थीलाई उक्त मेलामा जानकारी उपलब्ध गराइएको थियो । त्यस क्रममा विद्यार्थीलाई अष्ट्रेलिया जानुपूर्व र गइसकेपछि गर्ने तयारीका विषयमा विषयगत विज्ञले विस्तृत जानकारी दिएका थिए । एक्काका अध्यक्ष निरज श्रेष्ठका अनुसार अष्ट्रेलियामै रहेर सञ्चालित परामर्श व्यवसायीहरूको मेला भएकाले पनि नेपाली विद्यार्थीले अष्ट्रेलिया पुगेर पनि निरन्तर तिनको आवश्यक सहयोग पाउने बताए ।

अध्यक्ष श्रेष्ठको भनाइ छ–‘अष्ट्रेलिया एजुकेसनको बारेमा एक्का सदस्य व्यवसायीहरू जत्तिको विश्वासिलो र भरपर्दो अन्य शैक्षिक परामर्श व्यवसायीहरू हुन सक्दैनन् । यो जानकारी दिनपनि नेपालमा मेला आयोजना आवश्यक ठानेका हौं ।’

एउटै छानामुनी विभिन्न विश्वविद्यालय, कलेजहरूको सहभागिता भएकाले मेलामा विस्तृत शैक्षिक कार्यक्रम र तिनका पाठ्यक्रमबारे विद्यार्थीलाई जानकारी प्रदान गरिएको थियो । मेलामा सहभागि विद्यार्थीहरूले समेत उक्त मेलामा आएर वास्तविक परामर्श पाएको बताए । यसै वर्ष प्लस टु उत्तिर्ण गरेकी बाफल, काठमाडौंकी वर्षा सापकोटाले मेलामा प्रदान गरिएको जानकारी आफ्ना लागि उपयोगी भएको धारणा व्यक्त गरिन् । उनी यही वर्ष बिएस्सी नर्सिङ अध्ययनका लागि अष्ट्रेलिया जाने तयारीमा छिन् ।

करिव ५ हजारभन्दा बढि विद्यार्थीहरू सहभागी उक्त मेलामा २२ वटा अष्ट्रेलियन एजुकेशन कन्सल्टेन्सी तथा सातवटा अष्ट्रेलियन कलेजले सहभागिता जनाएका थिए । त्यस्तै केही विश्वविद्यालयका प्रतिनिधीहरू पनि सहभागी भएका थिए । मेलामा विद्यार्थी तथा अभिभावकहरूले विश्वविद्यालय, कलेज र कन्सल्टेन्सिका प्रतिनिधीसँग सबै विषयमा खुलेर परामर्श लिएको देखिन्थ्यो ।

अध्यक्ष निरज श्रेष्ठका अनुसार विद्यार्थी र शैक्षिक परामर्श व्यवसायीबीच अष्ट्रेलियन शिक्षाका बारेमा जानकारी आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त मेला सफलतापूर्वक सम्पन्न भएको हो ।