अस्ट्रेलियामा बस्ने नेपालीद्वारा बाढी प्रभावितलाई सहयोग

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, साउन १९, २०७८

देवराज सुवेदी-
मेलम्ची– सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ स्थायी घर भई हाल अस्ट्रेलियामा रहेका देवराज दुलालको सक्रियतामा सङ्कलित रकम बाढी प्रभावितहरूलाई हस्तान्तरण गरिएको छ ।

एनआरएनए अस्ट्रेलिया सिड्नी, भिजन फर मोटिभेसन असपाली ग्रुप तथा नेपालीहरूबाट २ लाख ७५ हजार रुपैयाँ सङ्कलन गरी पठाइएको वितरणमा सहजीकरण गर्नुहुने चूडामणि दुलालले जानकारी दिनुभयो ।

एनआरएनएबाट नगरको राहत कोषमा यसअघि नै जम्मा गरिएको ८५ हजार र आज ५० हजार गरी १ लाख ३५ हजार रुपैयाँ प्रदान गरिएको छ भने बजार व्यवस्थापन समितिलाई ५० हजार र रेडियो मेलम्चीलाई २० हजार रुपैयाँ प्रदान गरिएको छ ।

मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याललाई चूडामणि दुलाल र योगप्रसाद दुलालले सहयोग राशिको चेक हस्तान्तरण गर्नुभयो ।

प्रमुख अर्यालले सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले सहयोग ग्रहण गर्दै रेडियोप्रति सद्भाव राख्ने सबैप्रति आभार प्रकट गर्नुभयो ।

बाँकी रकम घर पूर्ण क्षति भएकालाई प्रदान गरिने वितरण संयोजन गरिरहनुभएका चूडामणि दुलालले जानकारी दिनुभयो ।