आज पत्रकार महासंघको निर्वाचन

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, चैत्र २५, २०७७

काठमाडौं – नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ ।

२६औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि देशैभरका पत्रकार चुनावी सरगर्मी बढेको छ भने उम्मेदवार अन्तिम रस्साकस्सीमा लागेका छन् ।

पछिल्ला केही दिनदेखि जिल्लादेखि प्रदेश र केन्द्र तथा प्रतिष्ठानका उम्मेदवारहरूले भेटघाट, फोन, म्यासेज र सामाजिक सञ्जालमार्फत भोट मागिरहेका छन् ।

सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इन्स्टाग्राममा यतिबेला महासंघको नेतृत्वका लागि उम्मेद्वार बनेकाहरूका भोटको अपिलले भरिएका छन् ।

महासंघमा उम्मेदवार बनेकाहरूको फोटो, भिडियो र अपिल भाइरल छन् ।

आज हुन गइरहेको निर्वाचनबाट महासंघको नयाँ नेतृत्वका लागि विपुल पोखरेल र निर्मला शर्मा प्यानलसहित चुनावी मैदानमा उत्रनुभएको छ भने अध्यक्ष पदका लागि गजेन्द्र बुढाथोकी पनि चुनावी मैदानमा हुनुहुन्छ ।

पोखरेल महासंघमा वर्तमान उपाध्यक्ष हुनुहुन्छ ।

उहाँले दाङबाट पत्रकारिता सुरु गर्नुभएको हो ।

यस्तै, शर्मा सञ्चारिका समूहकी पूर्व–अध्यक्ष हुनुहुन्छ ।

उहाँले पोखराबाट पत्रकारिता सुरु गर्नुभएको हो । त्यसैगरी, बुढाथोकीले उदयपुरबाट पत्रकारिता सुरु गर्नुभएको हो ।

उहाँ अपाङ्ग क्षेत्रबाट महासंघको अध्यक्षमा उम्मेदवारी दिने पहिलो व्यक्ति हुनुहुन्छ ।

पत्रकार महासंघलाई पत्रकारको संस्था बनाउने र दलीय सिण्डिकेट तोड्ने उहाँको मूल मुद्दा छ ।

श्रमजीवी पत्रकारको पेशागत सुरक्षा र पत्रकार महासंघको शुद्धीकरणलाई यसपालिको चुनावमा उम्मेदवारहरूले मुख्य मुद्दा बनाएर आफूलाई मतदान गर्न आग्रह गरिरहेका छन् ।

यसपल्टको महासंघको चुनावमा प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (माधव नेपाल समूह) सहित ११ वटा संगठनको साझा उम्मेदवारको रूपमा पोखरेल, प्रेस चौतारी (ओली समूह) सहितको गठबन्धनको उम्मेदवारको रूपमा निर्मला शर्मा र स्वतन्त्र रूपमा अध्यक्ष पदका लागि बुढाथोकीले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा माधव नेपाल र रमेश विष्ट प्रतिस्पर्धामा हुनुहुन्छ भने समावेशी उपाध्यक्षमा उदय जिएम, अवधेश झा र मोहनकुमार सिंह प्रतिस्पर्धामा हुनुहुन्छ ।

त्यसैगरी, महिला उपाध्यक्षमा दाना केसी र बाला अधिकारी प्रतिस्पर्धामा हुनुहुन्छ भने महासचिवमा रोशन पुरी, बालकृष्ण बस्नेत र सुबोध गौतम हुनुहुन्छ ।

यस्तै, पोखरेल समूहबाट खुला सचिवमा गोविन्द चौलागाईं, महिला सचिवमा सिर्जना अर्याल, आदिवासी, जनजाति सचिवमा नारायण किलम्बु, मधेसी सचिवमा दीपेन्द्र चौहान, दलित सचिवमा हेमकर्ण विक, कोषाध्यक्षमा कलेन्द्र सेजुवाल, लेखा समितिको संयोजकमा लेखनाथ न्यौपाने हुनुहुन्छ ।

यता, निर्मला समूहमा सचिव खुल्लामा रामकृष्ण ज्ञवाली, सचिव महिलामा निमा काफ्ले, सचिव आदिवासी जनजातिमा शाहीमान राई, सचिव मधेसीमा श्वेता सिन्हा, सचिव दलितमा मधु शाही, सचिव एशोसियटमा रामेश्वर कार्की, कोषाध्यक्षमा कृष्ण गिरी र लेखा समिति संयोजकमा द्वारिका काफ्ले हुनुहुन्छ ।

आज नै प्रदेश, जिल्ला तथा प्रतिष्ठानका समितिहरूको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ ।

प्रदेश, जिल्ला तथा प्रतिष्ठानका केही पदहरूमा भने सर्वसम्मत चयन गरिएको छ । यसपालि प्रत्यक्ष निर्वाचन प्रक्रियाले गर्दा पनि पत्रकार महासंघमा उम्मेद्वार र मतदाताको आकर्षण बढेको देखिन्छ । निर्वाचनमा देशभरबाट १३ हजार १२२ पत्रकारले भोट हाल्दैछन् ।

केन्द्रीय समितिमा ४९ पदाधिकारीका लागि १५२ जनाको उम्मेदवारी परेको छ ।

महासंघको केन्द्रीय निर्वाचनका लागि वरिष्ठ पत्रकार कपिल काफ्लेको संयोजकत्वमा सात सदस्यीय निर्वाचन मण्डल गठन गरिएको छ ।

निर्वाचन मण्डलले सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ ।

मतपत्र प्रकाशन गरी प्रदेश तथा जिल्ला शाखामा पठाइसकिएको र सम्पूर्ण तयारी पूरा भएको संयोजक काफ्लेले जानकारी दिनुभयो ।

प्रदेश संरचनामा महासंघमा १० प्रदेश मानेर निर्वाचन क्षेत्र छुट्याइएको छ ।

सातवटा प्रदेशमा बेग्लाबेग्लै उम्मेदवारहरूको भोटिङ हुनेछ ।

सात प्रदेशबाहेक काठमाडौं, ललितपुर र भक्तपुरमा ‘उपत्यका प्रदेश’को संरचना बनाइएको छ ।

उपत्यकाका तीन जिल्लाबाहेक बागमती प्रदेशका अन्य जिल्लालाई समेटेर बागमती प्रदेश बनाइएको छ ।

एसोसिएटलाई पनि प्रदेशस्तरकै मान्यता दिइएको छ ।

एसोसिएटमा अनलाइन पत्रकार संघ, चलचित्र पत्रकार संघ, खेलकुद पत्रकार संघ र वातावरण पत्रकार समूहको सहभागिता छ । त्यस्तै, प्रतिष्ठानहरूबाट बेग्लै प्रदेशस्तरको मतदान हुनेछ ।