आशाको किरण देखिदै नेपालको राजनीति

-- सम्पादकीय मार्च अंक २०१८ / प्रकाशित मिति : शनिबार, फाल्गुन २६, २०७४

देश बिकासको लागि सबै भन्दा ठूलो कुरा राजनीतिक स्थायित्व रहेछ भन्ने कुराको भुक्तभोगी हामी नेपाली भन्दा अरु को नै होला र ? ६/६ महिने कुर्चीको बाँड—फाँड र त्यसले निम्त्याएको अस्थितरता, त्यसैको आडमा चलेको चरम भ्रष्टचार र बिचौलियाको बिग बिगी मै हाम्रा कयौं बर्षहरु बिते । तैपनि यति ठूलो अस्थिरताको बाबजुद नेपाली जनताले एक किसिमको राजनीतिक स्थिरता भने पाएको आभास हुदैछ र संक्रमणकाल केहि हदसम्म छोट्टिएर देश अहिले अलिकति फरक ढंगको वाताबरणमा छ ।
१२ बर्षको माओबादी द्वन्दको देश, बिना रक्तपात राजतन्त्रको बिदाइ अनि विविध उतार चढावका बीच २/२ वटा संबिधान सभा पश्चात बनेको संबिधान र त्यही संबिधानमा टेकेर हालै सम्पन्न स्थानीय, राज्य र केन्द्रको निर्बाचन ठूलो उपलब्धि मान्नु पर्छ । यससंगै सधै अस्थिरता, सधै बन्द हडताल अब सदाको लागि समाप्त होस् देश बिकास निर्माण र समृद्दी तिर जाओस भन्ने जनताको चाहाना केहि हदसम्म पुरा हुन्छ कि भन्ने संकेत लामो समय पछि बन्दै गरेको बहुमतको बामपन्थी गठबन्धनको सरकारबाट सबैले अनुभूत गर्दैछन् ।
देश कसले चलाउँछ भन्ने भन्दा पनि कसरी चलाउँछ भन्ने कुरो ठुलो रहेछ । राजतन्त्र भएका देशहरु हुन् या कट्टर मुस्लिम या कट्टर कम्युनिष्ट जे बाद र जे विचारले प्रेरित भए पनि देश बिकासको लागि चाहिने भनेको देश हाक्नेहरुमा राष्ट्रिय भावना अनि देश प्रेम र देशको लागि केहि गर्ने अठोट नै हो । छिटो भन्दा छिटो बिकासको खुड्किलो चढेका देशहरु मलेशिया, सिंगापुर दक्षिण कोरियाको इतिहासले त्यहि नै भन्छ । त्यसैले देश बन्नको लागि चाहिने धेरै कुरा मध्ये राजनीतिक स्थिरता या स्थिर सरकारको नजिक यति बेला नेपाल छ, अन्य कुरा बिस्तारै मिल्दै जान्छन् भन्ने कुराको झिनो आशामा यति बेला नेपालीहरु छन् । हिजो कसका इतिहास कस्ता थिए को कसरि राजनीतिमा आए भन्ने कुरा पनि त्यति बेला गौण हुन्छन् जति बेला राष्ट्रिय भावना र राष्ट्रिय स्वार्थ अनुरुप देशको नेतृत्वले सबैलाई अभिभाबकत्वको आभास जनस्तरबाट सबैले गर्न सक्छन् । हिजोको दिनमा देशले भारतीय नाकाबन्दीको मार खेप्नु पर्दाको क्षण राष्ट्रियता जगमा अडिग रही नाकाबन्दीको सामाना गरेको तत्कालिन सरकारको नेतृत्व गरेका के पी वोलीले एक पटक फेरि देशको नेतृत्व लिएका छन् र जनस्तरमा ठूलो आशाको पहाड सरकार सामुन्ने देखिन्छ ।
राजनीतिक स्थिरता संगै राज्य र स्थानीय स्तरमा जब सुशासनको प्रत्याभूति हुन्छ तब स्थानीय साधन स्रोतको परिचालन गर्दै स्थानीय विकास सहज हुन्छ । स्थानीय तबरबाट हुदै गरेको विकास र साधन श्रोतको परिचालनबाट देश बिस्तारै आर्थिक समृद्धि तिर अबस्य उन्मुख हुनेछ । यो सहज परिस्थितिमा स्वदेश या बिदेशी लगानीकर्तालाई मरिहत्ते गरेर बोलाउन जरुरि पर्ने छैन किनकि चीन र भारत जस्ता सर्ब शक्तिमान देशको बीचमा रहेको नेपालमा आफ्नो लगानी बिस्तार गर्न जो सुकै स्वतःस्फूर्त तयार हुनेछन् । फेरि पनि राज्यले राजनीतिक स्थिरता र पुँजीगत एवं व्यक्तिगत सुरक्षाको प्रत्याभूति भने दिन सक्नु पर्दछ । यसरी स्वदेश मै उद्योग कलकारखाना खुल्दै गर्दा हाम्रा कच्चा पदार्थ मात्र होइन धेरै भन्दा धेरै स्थानीय उत्पादनले स्थानीय बजार पाउने छ र रोजगारीको अबसरहरु पनि सिर्जना हुनेछन् ।
अर्को तिर देशको लागि अहम सबाल भनेको राज्य नियन्त्रित शिक्षा र स्वस्थ पनि हो । राज्य नियन्त्रित भन्नाले निजि क्षेत्रलाई हतोत्साही गर्नु पर्छ भन्ने होइन तर मन परि छोड्नु भने पक्का हुदैन । अहिलेको नेपालको स्वास्थ्य र शिक्षाको ब्यापार मनपरि जस्तै छ । यी र यस्ता कुराहरु मा सरकार चनाखो भइ दिने हो भने खासै गर्नु पर्ने ठुलो कुरा छैन । सानो सानो कुराले नै देश र जनताको मुहारमा खुसि फर्काउन सकिन्छ । अब्यवस्थित सडक निर्माणमा सरोकारवालाले समन्वय मात्र गरिदिने हो भने आधा समस्या त्यसै समाधान हुन्छन् । नेपाली जनता रात भरि बत्ति बाल्न पाए, सजिलै खाने पानी पाए, पैसा तिररे पाइने सुबिधा सहज तरिकाले मात्र पाए पनि खुसि हुन्छन्, त्यसमा राज्य नै अलिकति जबाफदेही बनेर जनसरोकारको बिषयमा आफ्नो थप जिम्मेवारी महशुस मात्र गर्यो भने नेपालीको खुसीको आशामा पूर्ण चन्द्रमा उदाउने छ ।
आशा गरौं बिगत ७ दशक संधै युद्द, ब्यबस्था परिबर्तन र आन्दोलन मात्र देखेको सुनेको अहिलेको यो पुस्ताले आफ्नै जीबनकालमा समृद्द नेपाल देख्न पाओस् र यसको सुरुवात आजैबाट होस्, यहीँबाट होस्, नबगठित नेपाल सरकार र राज्य सरकारका सबै जनप्रतिनिधिहरु सबैलाई शुभेच्छा सहित शुभकामना !