इतिहास कै अप्ठ्यारो समय

-- सम्पादकीय सेप्टेम्बर अंक २०२०, द नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, भदौ १८, २०७७

मानव इतिहास कै अफ्ठ्यारो परिस्थितिको साक्षी बनेका हामी र हाम्रो पुस्ताका बितेका आठ महिना निकै अन्यौलपूर्ण भएर बिते । बिश्वले नयाँ वर्षलाई स्वागत गर्न तम्तयार हुँदै गर्दा चीनको एउटा शहर बुहानमा एक किसिमको भाइरस देखिएको कुरा त्यहाँका अधिकारीहरू ले बिश्व स्वास्थ्य संघलाई जानकारी दिए । देखिएको उक्त भाइरस कोरनाको रुपमा चिनियो । यहि कोरनाले सिर्जित रोग, कोभिड-१९ नपुगेको देश अब कतै रहेन । आज सम्मको आँकडा हेर्दा आठ लाख बहत्तर हजार मानिसहरू कोभिडका कारण ज्यान गुमाईसकेका छन् । यो त मर्नेको संख्या भयो, यसले बाँच्नेहरू लाई दिएको पीडा र त्यसबाट सिर्जित आर्थिक र सामाजिक असरको चित्र एकदमै कहाली लाग्दो छ ।
एक खाले प्राकृतिक प्रकोप नै भन्दा फरक नपर्ने यो मानव इतिहास र चिकित्सा बिज्ञान कै चुनौतीको सामाना गर्ने एउटै उपाय भनेको होसियारी हुने नै देखिन्छ । बिश्वका शक्ति सम्पन्न राष्ट्रहरू नै कोभिड -१९को ठूलो मारमा परेको यो बखत ती देशहरू बाट नेपाल लगायतका अल्प बिकसित देशहरू ले सहयोग पाउने सम्बभाना निकै कम छ । त्यसैले पनि सिमित साधन र श्रोत भएका देशहरू ले अझ बढी होसियारी पूर्वक यो परिस्थितिको सामना गर्नु पर्ने देखिन्छ । अझ यो अप्ठ्यारो परिस्थितिमा नेपाल जस्तो परनिर्भरमूखी अर्थतन्त्र भएको देशले त झन् एकदम सुझ-बुझका साथ अगाडि नबढ्ने हो भने यसले निम्ताउने खाध्य अभाब अनि हुन सक्ने भोकमरीको समस्या र त्यसको अन्य सामाजिक असरका बारेमा पनि सजग हुनु पर्ने देखिन्छ ।
बिश्व शक्ति सम्पन्न राष्ट्रहरू रसिया, बेलायत, अमेरिका लगायत युरोपियन देशहरू ले कोरनाको उपचारको लागि ठूलो धन राशि खर्च गरेर ठूला ठूला रिसर्च सहित यसको उपचार खोजि रहेका छन् । कति देशहरू ले यसको उपचारको नजिक पुगेको बताए पनि त्यसको स्वतन्त्र पुष्टि नभई सकेको आहिलेको स्थिति हो । उपचार या भ्याक्सिन नै पत्ता लागे पनि त्यो सर्बसाधारणको पहुँचसम्म आइपुग्न अरु धेरै समय पक्कै लाग्नेछ ।
यो बीचमा धेरै जना जहाँ छन् त्यहि रोकिन परेको छ, बैदेशिक रोजगारमा गएकाहरू धेरै नेपालीहरू ले रोजगारी गुमाएका छन्, उनीहरू घर मात्र पुग्न पाए भन्ने स्थिति छ । पर्यटक भिषामा केहि समयको लागि आफ्नाहरू लाई भेट्न आएकाहरू त्यहिं रोकिनु परेको छ, उनीहरू लाई पनि जति सक्दो छिटो घर पुग्न मन छ । अर्को तिर विदेशबाट नेपाल फर्केकाहरू लाई समुदायले गर्ने व्यवहार राम्रो नभएको सुनिदै आएको छ । त्यति मात्र होइन कोरना रोगीको उपचारमा संलग्न स्वास्थकर्मीहरू आफ्नो कर्तव्य निभाउँदै गर्दा सक्रमित भएका छन् । उनीहरूको निष्ठा र सेवाभावलाई वाह-वाहि पाउनु पर्नेमा उल्टो उनीहरू लाई पनि समाजका केहि व्यक्ति र समुदायले फरक दृष्टिले हेर्ने गरेका कुराहरू बाहिर आएका छन् । कति स्वस्थकर्मी त यो बीचमा दुर्ब्यबाहर कै शिकार बनेको सम्म घटनाहरू आउँदैछन् ।
अन्त्यमा, समस्या सिर्जित हुन्छ र समाधान पनि निस्कन्छ भने जस्तै पक्कै पनि यति बेलाको कोभिड संगको लडाई भनेको होसियारी हुने, भिडभाडमा नजाने नै हो । यदि कुनै कारणबाट आफूलाई कोभिडको असर देखियो भने वा शंका लाग्यो भने जचाउँने, रिपोर्ट नआउदै देखि नै आइसोलेसनमा रहने  । रिपोर्ट आए पछि पोजिटिभ आएमा बिज्ञको सल्लाहको पूरै पालना गर्ने गर्दा यो रोग निको हुन्छ । किनकि कोरना लाग्दैमा मरिदैन भन्ने कुरा सबैले बुझ्नु एकदम जरुरि छ । टेष्ट गर्ने, पोजिटिभ देखिएमा संक्रमितलाई अलग राख्ने उसका सम्पर्कमा रहेकाहरू को पहिचान गर्ने एवं सोहि प्रक्रिया अन्यको केशमा दोहोराउंदै जानु नै कोभिड-१९ को आहिलेको उपचार पद्दति हो ।

इतिहास कै अप्ठ्यारो परिस्थितिका हामी सबैले आफू जँहा छौं त्यहाँको प्रशासनले राखेका सबै नियमहरू शतप्रतिशत पालना गरौं । सरकार र प्रशासन संग समन्यवय गरौँ, एक सक्रंमितको आत्मबल बढाउन आफ्नो तर्फबाट सहयोग गरौँ । कोरना बिरुद्दको लडाई हामी सबैको साझा लडाई हो सामुहिक प्रयासले मात्र यो अप्ठ्यारोको परिस्थितिलाई पार लगाउन सकिन्छ । अर्को तिर सरकारले पनि देशको अर्थतन्त्रमा पूरै बेवास्ता गर्न मिल्दैन । यस्तो अवस्थाबाट जोगिएर कसरी अर्थतन्त्र चलायमान गराउन सकिन्छ त्यो विषयमा पनि बुद्धिजिवीहरूको सल्लाह सुझाव संगै अगाडि बढ्नु पर्ने हुन्छ । लकडाउन र निशेधाज्ञा मात्र गरेर रोगबाट त जोगिन सकिएला तर भोकबाट जोगिनको लागि अर्थतन्त्र पनि चलायमान राख्नु सरकारको कर्तव्य हो । तर कोभिड कै नाममा अन्य रोगका विरामीले समेत उपचार पाउन नसकेर मर्न परेका कुराहरू बाट पनि सरकार सचेत रहनु आवश्यक छ ।