उत्पादित बस्तुले बजार नपाउँदा नै हाे किसान हताेत्साही हुने

यस्तो मसिनो त के पो गर्नु र छोरी व्यापारीले लिन मान्दैनन् ठूलीआमा फेरी बोल्नुभो । ठूला ब्यापारीले नलगे सानालार्ई दिनुनित या लैजा गरिखा भनेर दुखिलार्ई दिंदा त बेचेर थोरै भएनि गुजारा हुन्थ्यो यसै मिल्काउनु भन्दा, मैले थपें ।
-- यात्रा सम्झना : सन्ध्या साँझ / प्रकाशित मिति : शुक्रबार, असार २२, २०७५

चैत्र महीनाको १७ गते २०७३ साल शुक्रबार म छोरो र दुई वर्षे काखे छोरी लिएर दिउँसो १२:३२ मा त्रिभुुवन बिमानस्थलमा ओर्लिएँ । बाहिर मामा प्रतिक्षामा हुनुहुन्छ पक्का थियो । केही समयपछि मामाको चार पाङग्रे बिमानस्थलको प्रमुख गेटबाट दाहिने मोडियो र गौशाला हुँदै चाबहिल तिर हुँइकियो । छोरी तोते बोलिमा बु कलल, लेलो कलल, फिङ कलल, वेद कलल भन्दै झ्यालबाट दायाँ बायाँ गुडिरहेका गाडिहरुका रङ्ग हेरेर रमाइ । एकै छिनमा चुच्चेपाटी तिर लाग्नेबित्तिकै दाहिने मोडिएर गाडि रोकियो । छोरी र नाति नातिनीको पर्खाइमा मेरा आमा बाबाका आँखा गेटैमा थिए, छोरीले देख्ने बित्तिकै बुबा शब्द भनि नसक्काइ बाबाका अँगालामा कसिइ । भित्र पसेर मैले आमा बाबालाई ढोगें र छोरा छोरीले पनि निधार आमा बाबाका हातमा पुर्याए । हजुरआमा, मामा माइजु र भाइबहिना हरुसँगको ६ बर्षपछिको भेटमा हामी आमा छोरा गदगद भयौं भने छोरीको पहिलो, भुइँमा खुट्टा थिएन सबैले पालैपालो बोकेर ।
भोलिको शनिवार भेटघाटमै बित्यो । छोरी नेपालमै छोड्ने विचार थियो त्यसैले भिसा थप्नुपर्ने भएकोले आइतबार अध्यागमन समयमै पुग्नु थियो, बिहान खानाखाने बानि थिएन, दुई वटा उसिनेको अण्डा नूनमा चोबेर प्याक, प्याक, गर्दै चबाएर लागें अध्यागमन तर्फ । घरबाट १०:१५ मा निस्केको दिन उतै बित्यो, नबितोस पनि कसरी ? आफूलार्ई पालो पर्खेर काम गर्ने गराउने बानि परेकोले गर्दा कसैलार्ई उछिन्ने इच्छा भएन, तर म पछाडिकाले भने मेरो काँधमाथिबाट टाउको अगाडि बढायो र झ्यालमा तेस्र्याएरै सोध्न बुझ्नपर्ने सबै गर्यो । आफूलार्ई अलि असहज लाग्न त लाग्यो तर मनैमनमा आफूलार्ई सम्झाएँ, हामीलेनि पहिला यस्तै गर्ने गर्या हो, अझैपनि यस्तै चल्दैछ । मनमनै हाँसो उठ्यो, कता कता दुख्यो पनि । माथि तल—तल माथि गर्दै भएपनि अलिकति इन्र्फमेसन लिएर फर्कें । यसै सिलसिलामा बिराटनगर जानुपर्ने भयो मंगलबार जाने निधो गरेर सोमबार आफ्ना आफन्त साथीभाइ लार्ई भेटें ।
मंलबार झिसमिसेमै गाडिले पिइइइइ गर्यो बाहिर, म छोरा छोरी सहित बुहारी (भाइकी अर्धाङ्गीनी) सबै गाडिमा बस्यौं जहाँ पहिलेनै मामा, माइजु र बहिनी (मामाकी छोरी) हुनुहुन्थ्यो । बिहान ४ बजे फिलिली भएका हामीलेनी सेल्फी डाँडामा सबैले झैं हामीले पनि सेल्फी खिच्यौं । बाटाभरिका प्राकृतिक सौन्दर्यलाई कहिले अचेल भरिका आधुनिक भनाउँदा प्वाङ्गराले त कहिले आँखाले समेट्दै, यात्राबीचमा परेजती आफ्ना आफन्त भेट्दै बेलुका ८ बजेपछि मात्र पुग्यौं बिराटनगर, मेरी ठूलीआमा(आमाको दिदी) को घर । मावलकी हजुरआमाले साहृै गर्व गर्दै भन्नुहुन्छ ‘मेरी ठूली छोरीका घरमा ६ जनाको परिवार छ, छोरी बाहेक पाँचै जना डाग्डर छन् ।’ हो, त्यही घरमा गएका थियौं हामी । उच्च शिक्षा, असल ब्यवहार, सम्मान, शिष्टाचार, धार्मीक विश्वास र मेरो बाल्यकालको सम्झनाले भरिएको त्यो घर हामीेसबै मिलेर राति अबेलासम्म हा हो गरेर थर्काइराख्यौं छर छिमेकको वास्तै नगरी ।
भोलिपल्ट सरकारी बिदा परेछ रामनवमीको । बिदाले गर्दा बुधवार अड्डाको काम हुनपाएन, डुलेर बित्यो । बिहिवार र शुक्रवार वडा कार्यालयमा बित्यो । अब सोमवार मात्र अड्डामा उपस्थित हुनुपर्ने भएकोले गर्दा योजना बन्यो इलाम मंगलबारेदेखि गजुरमूखी यात्राको । ६ बर्ष अघि आउँदा पनि गजुरमूखी आएकी थिएँ, त्यस अघि त कैयौं पटक, गन्ती याद भएन । किनहो किन कतै न कतै गजुरमूखी संग मेरो सम्बन्ध छ जस्तो लाग्छ । मेरो भावना गजुरमूखी माता मार्फत कसैसंग र कसैको भावना उनै मार्फत मसंग जोडिएको अनुभूति हुन्छ । बारम्बार यस ठाउँले मलाई तान्छ, तानिरहन्छ । २०६७ को मंसिर महिनादेखि माघ पूरै नेपाल बसेकी थिएँ । यो तिनै महिना मेरो निम्ती अपुरो रहयो । मन बेखुशी थियो । केही छुटेझैं भो, केही फुटेझैं भो । जे हुनु थियो सायद त्यही ठिक भो । हो, यही समय थियो ६ बर्ष अघिको ।
एउटा रिजर्भ गाडिमा अर्जुनधाराको दर्शन संगै ठूलीआमा सहित हामीसबै शनिवारको दिन दिउँसो बेलैमा मंगलबारे पुग्यौं । मंगलबारे ठूलीआमाको मूल घर हो र मेरो सबैसंग एकै परिवार जस्तो सम्बन्ध रहेको छ , असहजताको छायाँ पनि थिएन । २०५२ सालमा एस एल सी सकेर म यहाँ पहिलो पटक आउँदा काका (त्यस घरका मूली, बुबा)ले आफ्नी आमाले ढिकी जाँतो गरेको घर देखाउन तल जितपुरसम्म लैजानु भएको सम्झना ताजै थियो । अहिले पनि जाने साहृै इच्छा भो तर समय मसँग पर्याप्त थिएन । २०५२ पछि धेरै पटक आउँदा पनि त्यो ठाउँ जाने मौका मिलेको थिएन यसपालि झैं । आइतवारको बिहानी गजुरमूखी झरियो । अहो ! अहिले त मन्दिर सम्मै चार चक्के बहान गुड्न थालेछन् पछिल्लो पल्ट खोलो वारीसम्म आउँथ्यो त्यै पनि हिउँदमा मात्रै । धेरै प्रगती भएछ, मन तेसै तेसै फुरुङ्ग भो, ताइको फुरौलो जस्तै नाच्यो । दोस्रो पल्ट म मंगलबारे आउँदा रक्से डाँडाबाट ओरालो लागेकी थिएँ र फर्कँदा फुदुक हुँदै इलामसम्म उकालो उक्लेकी थिएँ । यही बेलामा गजुरमूखी पनी हिंडेरै जाउआउ गरेकी थिएँ । त्यस बेलाको यात्रा अहिलेको भन्दा भिन्न थियो, बिल्कुलै फरक । थकाइका सुस्केराहरु मेटिसकेका छन् तर त्यो उकाली ओराली, गोरेटा, पाटी, चिया पसल, बाटामा भेटिएका पैदल यात्रुहरु, तिनीहरुका सुसेली र लोक भाका, सलक्क परेका डाँडाहरुले हरिया रुखहरुको चोली, राता लालिगुराँसको लाली र गाली लगाएकी, पुवा खोलाका बडे बडे चट्टानलाई नाग्दै अघि बढेका छालहरुलाई फनफनी बेरेर बाँकिलाई आँचल बनाएर सजिएकी सुन्दरी जस्तो देखिन्थ्यो । प्रकृतीपनि महिला र पुरुष हुनेभए म पुरुष बनेर ती सुन्दरीलाई अँगालोमा बाँध्ने लोभ गरिरहेकी थिएँ । अनि ती आँचलरुपी छालहरुमा आँफुले घुँडा माथिसम्म लुगा सुर्किएर दुबै गोडाहरु चोबलेको र ठाउँ ठाउँमा कालो पोलोथिनको ढुङग्रो घुसारेर त कतै केराका थाँवा ताछेर कुलोझैं बनाएर ल्याइएको पानी पिएर मैले तिर्खा मेटाएको अहिले पनि सम्झनाका पानाहरुमा ताजैछन् भर्खरै कोरिएजस्तै गरी । अदुवा र अम्लिसोका झ्याङबीचमा खुरुरु कुद्दा कसैले परबाट भर्खरै पानी परेर आँखा उघारेको छ, जुका पो लाग्लान् है भन्दा म तीन हातमाथि ऊफ्रिएर भागेको, बाँसका मसिना झुसहरु बिझेर निकैबेर दाहिने हत्केलामा रातो भएर डाबर निस्किएको । त्यसैगरि इलाम र कन्यामको चिया बगानमा सिनेमामा जस्तै गरि जानि नजानि ‘चिया बारिमा हो SSS  चिया बारिमा’ भन्दै नाचेको सम्झँदा अहिले पनि हाँसोका फोहोराहरु छुट्ने गरेका छन् । समयले जतिसुकै कोल्टो फेरेपनि पुराना समय र सम्झनाहरुनै प्यारा हुनेरहेछन् । प्रगति र परिवर्तन अत्यन्तै आवश्यक छ रपनि पुराना दिनहरुमा प्रेम बस्दोरहेछ, तिनै दिनहरु आत्मिय लाग्दारहेछन् त्यसैगरी जसरी बैवाहिक जीवनलाई अँगालेपनि छुटिएका प्रेमी प्रेमीकाले एकअर्कालाई सधैं मनको एक कुनामा अगाध प्रेम गरिरहन्छन् ।

यसपाली केही भएन, खेति सारा नाश भो, फलफूल पनि भनेन । प्रश्न गरें अदुवा ? अदुवानी भएन सबै चिसाले कुहे, माटामै कुहे, ठूली आमाको जवाफ । कौतुहलता पलायो र फेरी सोधें, अनि यो आँगन देखिनको तल पुवाखोलो सम्मन रहेको हजुरहरुको जग्गामा अदुवा र अम्लिसो खेति हुन्छ हैन, के ति पनि सबै…. प्रश्न नसक्दै उहाँले बुझ्नु भएछ क्यार, उत्तर आयो, हो बा जम्मै आफ्नै हुन अनि सबैमा अदुवा अम्लिसो हुन्छन् । यसपालि त अम्लिसो पनि आशलाग्दा भएनन् अदुवा आधा बढी कुहेर नास भयो भन्दै बारिमा राखिएको एक थुप्रो र घरभित्र राखिएको अदुवाको अर्को थुप्रो देखाउनु भो ।

बिहान तल झर्दै गर्दा प्रगतिको फन्को देखेर आँखा तिरिरी भएका थिए त्यसैले बाटो काटेको पत्तै पाइएन । ढिला नगरी गजुरमुखी माताको दर्शन सकेर लागियो मंगलबारेको उकालो । उकालो लाग्ने क्रममा कहिले कम्मरदेखि मुनिको भाग बेस्सरी बजारिन्थ्यो त घरी कुम दाहिने देब्रे गर्दै नाच्थ्यो । सबैका टाउकाहरु कुनैबेला एकअर्काका टाउकाहरुसंग जोरिखोज्न पुग्थ्यो भने घरिघरि गाडिको छाना छेड्ला जस्तो पनि पो गथ्र्यो । यत्तिकैमा मंगलबारे बजारको आँगनमा कुँइक्क गर्दै चार पाङग्राहरु अडिए । खाना सकेर फेरी बिसाएका पाङग्रालार्ई घचघच्याइयो र गुडाइयो इलाम त्यसैदिन । एक तमासले गुडिरहेको गाडिले घरिघरी कुँइक्क—कुँइक्क फिस्स—फिस्स गरेको आवाज छोड्दैथ्यो, सोचें यी चारवटै चक्काहरु कति थाके होलान् ? राम्ररी बिसाउननी पाएका छैनन् । सारै मायालाग्दो गरी कराइरहेछन् । भन्नचैं कसैलार्ई केही भनिन फेरी हाँसो उडाउने हुन् की ?
२ बजेको हाराहारीमा इलाम पुुगियो । इलामको टुाडिखेलहुँदै अगाडी बढेर ५/६ फन्को काट्दै फराकिलो ठाउँछ भन्दै गुरुले अलि वरै गाडी रोके । सबैले आफ्ना झिटी झ्याम्टा बोकेर अगाडि बढ्नुभो म पनी सबैका पछि लागें । मेरी ठूली आमाको देवर देवरानी मूल घर मंगलबारेमा हुनुहुन्थ्यो भने इलाममा जेठाजु जेठानी, हामी त्यहीं आएका थियौं । मैले अझै यतासम्म गाडी ल्याएर रोक्न मिल्छ भनेर गुरुलार्ई इसारा गरें । यतिकैमा तलबाट आवाज आयो “ल आओ आओ बस बस, अनि हाम्री उज्याली खै त ? ऊ पनि आएकी हैन ? कि छोरा छोरी मात्र पठाएकी ?” सबैजना पुगिसक्नु भएको मैले अड्कल काटें । मलार्ई देख्ने बित्तिकै ठूला बा (त्यस घरको मूल, बुबा)को आवाज झन ठूलो भो “ल उज्याली यता आएर मेरा छेउमा बस्” मैले दर्शन भनेर शिर निहुर्याएँ । वाइफाइको सिग्नलझैं देखिने निधार तन्काउँदै आशिक दिनु भो “सानै देखुनको तँ सारै उज्याली होस्, सधैं यस्तै रहनु ।” “होत है यसलाई अँध्यारी भएको कहिल्यै देखिएन पो, हक्की कुरोनी गर्छे अनि हँसिली पनि उस्तै” ठूली आमा (त्यस घरकी मूली, आमा)को आवाज आयो । मैले भनें, हो र ठूली आमा दर्शन गरें भनेर शिर निहुर्याएँ अनि बा र आमाका बीचमा बसें । मलार्ई यहाँका दुबै परिवार असाध्यै मनपर्छ । आफ्नो परिवारनै जस्तो लाग्छ । सबैजना चिनजान गर्ने र खुसी हुने । घरको आँगन खुला भएकाले गर्दा पारिको डाँडो प्रष्ट देखिन्थ्यो । आँगनमा बसेर इलामे चियाको चुस्की लिंदै एता उता आँखा कुदाउँदै गर्दा सुन्तलाका बोटमा गएर अडिएर छ बर्ष अघिको सम्झनामा पौडिंदै सोधें, अस्तिनै आउँदा त टन्नै सुन्तला फलेका थिए, छोरोले कत्ति टिपेर खाएको थियो, यस पालित एउटै रहेनछ ।
हो नानी यसपाली केही भएन, खेति सारा नाश भो, फलफूल पनि भनेन । प्रश्न गरें अदुवा ? अदुवानी भएन सबै चिसाले कुहे, माटामै कुहे, ठूली आमाको जवाफ । कौतुहलता पलायो र फेरी सोधें, अनि यो आँगन देखिनको तल पुवाखोलो सम्मन रहेको हजुरहरुको जग्गामा अदुवा र अम्लिसो खेति हुन्छ हैन, के ति पनि सबै…. प्रश्न नसक्दै उहाँले बुझ्नु भएछ क्यार, उत्तर आयो, हो बा जम्मै आफ्नै हुन अनि सबैमा अदुवा अम्लिसो हुन्छन् । यसपालि त अम्लिसो पनि आशलाग्दा भएनन् अदुवा आधा बढी कुहेर नास भयो भन्दै बारिमा राखिएको एक थुप्रो र घरभित्र राखिएको अदुवाको अर्को थुप्रो देखाउनु भो । नजिकै गएर बारिमा भएको थुप्रो हेरें । अब मेरो कौतुहलताले पराकाष्टा नाघिसकेको थियो । के यो बिग्रेको हो ? हातमा लिएर ओल्टाइ पल्टाइ हेरें, अलि किचिरे रहेछन् मज्जाका चक्लाचैं हैनन् तर बिग्रेका कहाँ हुन र ? मुटु भारि भो, फुलेर कान सम्मन आएजस्तो लाग्यो । मेरो अनुहारमा भरिएका भावलाई पढेर होला यस्तो मसिनो त के पो गर्नु र छोरी व्यापारीले लिन मान्दैनन् ठूलीआमा फेरी बोल्नुभो । ठूला ब्यापारीले नलगे सानालार्ई दिनुनित या लैजा गरिखा भनेर दुखिलार्ई दिंदा त बेचेर थोरै भएनि गुजारा हुन्थ्यो यसै मिल्काउनु भन्दा, मैले थपें । हुुनत हो, अब यो पनि बुढी भै, बिराम पनि लागो नानि, एसो धान्धान धुन्धुन गर्छे, म बुढो बस्तु भाउलार्ई घास हालो, तल माथी गर्यो बितिजान्छ । अब केटो खै के कसो गर्छ बाईक हुईंक्याएर हिन्छ, घर हुँदैन । नाती नातिना साना छन्, अब यो एउटी बुहारीले नि के के चैं गरोस् ? सबै यसैका टाउकामा हालेर पनि त हुन्ननी । अनि कसले गर्ने ? काहाँ पुर्याउने ? कसलार्ई दिने ? कोही लिनै आए मात्र हो । ठूलाबाको आवाज आयो । एकछिन गहिरिएर सोचें, कतै स्रोतको अभाव, कतै साधनको अनि कतै परिश्रमी हातहरुको अभाव । कस्तो बिडम्बना ?
त्यही थुप्रोबाट हामीसबैले २/३ किलो जति अदुवा पोका पार्यौ अनि मैले तोरीको गुन्द्रुक मागेरै पोक्याएँ अष्ट्रेलिया लैजान्छु भनेर । जोसुकैले दिएको गुन्द्रुक मलार्ई खान मन लाग्दैन, आँफुले चिने जानेको र सफा गरि बनाउछन् भन्ने पक्का भए मात्र । छुर्पिचैं इलाम बजारमै किनिसकेकी थिएँ नेपाल बसुन्जेल खानपुग्ने, दुधका परिकार अष्ट्रेलिया लान पाईंदैन मन परेर मात्र के गर्नु ? । सोमवार मैले अड्डामा उपस्थित हुनुपर्ने भएकाले गर्दा म इटहरिबाट छोरी र उसकि माइजु लिएर विराटनगर जाने र बाँकि सबकै धरान तर्फ लाग्ने सल्लाह गरेर सुत्यौं । मन मेरो अझै शान्त थिएन । त्यस अदुवाले मलार्ई कहाँ कहाँ पुर्यायो, दिमागमा ठूलै हुरी बतास चलाइरह्यो । मगज भित्र मडारिएको बतास रातैभरी खुइय खुइय गर्दै मेरा ओठहरुलार्ई धकेल्दै बाहिर निस्किरह्यो । इलामको बिहानी पखको चिसो सिरेटोलार्ई छिचोल्दै सोमवार कन्याम पुगेर चिया खाजा गरियो । कन्यामको चिया बगानसँग भलाकुसारी गर्न बाँकि नै थियो । अर्को पल्ट आउँदा अघाउँनी माया साट्ने बाचा गर्दै कन्यामसँग बिदा भएँ ।
फेरी बाटाभरी अनेक तर्कनाहरु तँछाड मछाड गर्नलागे । यहि अदुवालार्ई ३५ डलर किलोसम्म हालेर किन्नुपर्छ अष्ट्रेलियामा, यसलार्ई उता पुर्याउन पाए ? यसलार्ई ढुटो बनाएर नेपाली बजारमा पुर्याउन पाए ? अहिले शहरिकरणको युगमा यस ढुटोले ब्यस्त जीवनलार्ई कति सहज बनाउने थियो ? यस्तै यस्तै अनेक अनेक । एक्कासी गुरुको आवाजले सोच भंग गर्यो, लौ इटहरी आयो । ट्याक्सी चालकले १००० दिने भए जाने जनाए । मोल भाउ नगरी खुरुक्क बसें । बाटाभरी छोरी माईजुसंग रमाई । माइजु भान्जीको रमाइलोले मलार्ई तानेको थिएन बरु पहिलेकै भंग भएका सोचहरुलार्ई जोड्न थालेकी थिएँ । अहो ! कतै म आफ्नो देशलार्ई विदेश संग तुलना त गर्दै छैन ? बिदेशमा जे छ त्यो यहाँ पनि खोजिरहेकी त छैन ? आफैलार्ई प्रश्न गर्छु, अहँ होइन, दाँजेको होइन । बिदेशमा जस्तै यहाँपनि हुनुपर्छ भन्न खोजेको पनि होइन मैले । आफ्नो देशमा ल्याउन सकिने सही परिवर्तन र सम्भाब्यताका कुराहरुको खोजीगर्नु गलत कहाँ होर ? आफ्नै चित्त बुझाउँछु ।
विराटनगरको विजुली अफिस मास्तिर पुगेर ट्याक्सी रोकियो, बिचारको धागो मेरो फेरी चुँडियो । ५—७ गाडीहरु अगाडि एक हुल मानिसहरु देखिए । सबै गाडिहरु रोकिएका थिए । सोधें गुरु के भाको हो ? मोर्चा निकालेको रे, अब कतिबेला बाटो खुल्ने हो ? कतिबेर यहाँ पर्खिनु, बैकल्पिक बाटो खोज्नुपर्ला ।
मैले खुइइइइय गरें ।