कसरी सामना गर्दै छ अष्ट्रेलियाले कोभिड-१९ विपद ?

नयाँ संक्रमणको संख्या निरन्तर घट्दो !
-- महेन्द्र कुमार लम्साल / प्रकाशित मिति : बिहिबार, चैत्र २७, २०७६

अप्रत्यासित फैलिएको कोरोनाभाइरस संक्रमणको सामना गर्न अष्ट्रेलियाले आफ्ना श्रोत र साधनहरु  जतिसक्दो बिस्तृत र व्यापक रुपमा परिचालन गरेको छ । आज, ९ अप्रिलसम्मको स्थिति हेर्दा करिब ६ हजार ६३ अष्ट्रेलियनहरु कोरोनाभाइरस संक्रमित छन् जसमा २५४७ बिरामीहरु लाई निको भैसकेको छ ।  २९५ जना अस्पतालमा उपचाररत छन् भने ९२ जना आइसियुमा राखिएको छ, ३६ जनालाई भेन्टिलेटर प्रयोग गर्नु परेको छ भने ५१ जनाको कोरोना भाइरसका कारण मृत्यु  भैसकेको छ । नया संक्रमणको संख्या निरन्तर घट्दो छ ।

कोरोनभाइरस महामारीलाई व्यवस्थापन तथा नियन्त्रण गर्ने सवालमा अष्ट्रेलियाले उल्लेखनीय प्रगति गर्दै गर्दा प्रधानमन्त्री स्कट मोरिशनले यो बिपदको सामना गर्न सघाउने सबैलाई धन्यवाद दिंदै आउँदा दिनहरु पनि त्यति सहज नहुने बताएका छन् । करिब २ हप्ता पश्चात हिजो अप्रिल ८ का दिन बसेको संघीय संसदलाई सम्बोधन गर्दै “राष्ट्र र राष्ट्रिय स्वाधिनता र सार्बभौमसत्ता माथि नै चुनौती दिने खालको यो विपदमा जसरी हाम्रा पूर्खाले हाम्रा लागि आफ्नो कर्तब्य निभाएका थिए त्यसरी नै हामीले पनि कुनै कसर बाँकी नराखेको बताए । यो संकटको घडीमा हामीले आत्मासमर्पण गर्ने छैनौ, सरकार, संसद र समग्र जनता मिलेर हामी यसको सामना गर्ने छौं र जित्ने छौं ।” प्रधानमन्त्रीले जनतालाई आश्वस्त पारे ।

कोरोना भाइरस एउटा महामारी रोग भएपनि यसले संसारको स्वास्थ्य सेवा र अर्थतन्त्र दुवैलाई तहस-नहस पारेको छ । एकातिर रोगको रोकथाम र उपचारमा थुप्रै श्रोत र साधन खर्चिनु परेको छ भने अर्कोतिर महामारीको कारण बिग्रदो व्यापार, व्यवसाय, अर्थतन्त्र र बेरोजगारी समस्याबाट प्रभावित जनताहरु लाई राहत प्याकेजको व्यवस्था गर्नु परेको छ । यस्तो चुनौतिपूर्ण संकटको सामना गर्न अष्ट्रेलिया सरकार दुवै फ्रन्टमा आफ्नो कदम प्रभाबकारी ढंगले अगाडि बढाएको छ ।

अर्थतन्त्रलाई बचाउनका लागि महामारीको चपेटामा परेका न्यून आय भएका मानिसहरु का लागि  दुई चरणमा अष्ट्रेलियन डलर ७५० का दर भुक्तानी गरिने सामाजिक सुरक्षा “स्टिमुलस” प्याकेज  घोषणा सरकारले पहिलो चरण मै गरेको हो । समय बित्दै जाँदा महामारीका कारण थुप्रै व्यापार व्यवसायहरु जोखिममा परेकोले मानिसहरुले रोजगारीमा असर नपरोस् भन्ने उद्देश्यले तेश्रो चरणमा १३० बिलियन डलर बराबरको “जब सिकर” (Job Seeker) र “जब किपर” (Job Keeper) प्याकेज घोषणा गर्यो । जब कीपर प्याकेज अन्तर्गत प्रत्येक २ हप्तामा प्रदान गरिने १५०० डलरले  करिब ६० लाख मानिसहरु लाभान्वित हुने सरकारले जनाएको छ । यो संकटको सामना गर्न सरकारले जनताको नाममा  करिब ३३० बिलियन डलरको प्याकेज सहयता घोषणा गरिसकेको छ । यसै गरि आर्थिक समस्या भोगेका अष्ट्रेलियनहरु ले दुई पटक गरि कुल अष्ट्रेलियन डलर २०,००० सम्म संचय कोष (Superannuation) को पैसा झिक्न पाउने, ६ महिनासम्म घरभाडा तथा मोर्गेज स्थगन गर्न पाउने कानुनी व्यवस्थाको घोषणा लगायत समाजका विभिन्न क्षेत्रहरु मा थुप्रै आर्थिक राहत प्रदान गर्ने निर्णय गर्दै आएको छ ।

संक्रमणको मूल श्रोत बाहिर बाट आउने यात्रुहरु भएकोले उनीहरुलार्ई सरकारको पूर्ण खर्चमा दुई हप्तासम्म होटलमा राख्ने व्यवस्था सरकारले गरेको छ । सेल्फ क्वारेन्टाइनलाई व्यवस्थित र पूर्ण रुपमा लागु गर्न, गराउन सरकारले  अष्ट्रेलियन आर्मी र बोर्डर फोर्सलाई परिचालन गरेको छ ।

मानिसहरुको आन्तरिक मुभमेन्टमा पनि सरकारले पूर्णत निगरानी राखेको छ । कडा सोसियल डीस्टेन्सीङ् नियम, स्टेटहरुको भ्रमणमा रोक, अत्याबश्यक कारण बाहेक दुई जनाभन्दा बढी मानिसहरु बाहिर निस्कनमा रोक, जन्ती तथा मलामी जान अधिकतम संख्या निर्धारण, कलेज, व्यायमशाला, सामुहिक पार्टी, पूजा, प्रार्थना जस्ता थुप्रै सामाजिक जमघटहरुलार्ई निषेधाज्ञा जारी गरेको छ । बाहिरबाट आमन्त्रित यो संक्रमण समुदायमा फैलनबाट रोक्न समयमै अपनाएका थुप्रै उपायहरुका कारण कोरोना भाइरस नियन्त्रणमा अष्ट्रेलियाले उदाहरणीय सफलता हासिल गरेको छ ।

भाइरस टेस्टमा जनसंख्याको हिसाबले अष्ट्रेलिया संसार कै अग्रपंक्तिमा पर्दछ । हालसम्म करिब ३ लाख १३ हजार भन्दा बढी टेस्टहरु सम्पन्न भैसकेको छ भने टेस्ट गर्ने मापदण्डको दायरा अरु फरक गराउँदै आगामी दिनहरु मा सम्भावित क्लस्टरहरु मा टेस्ट र रोकथामको उचित कदम चाल्ने र आइसियुको क्षमतामा तिन गुणा बृद्धि गर्ने सरकारले जनाएको छ ।

२० हजार नर्सहरुलाई तालिम पुनर्ताजगी, अत्याबस्यक बाहेक सबै सर्जरीहरु लाई स्थगित गर्दै प्राइभेट हस्पिटलका ३० हजार बेडहरु सहित र १ लाख ५ हजार कर्मचारीहरु लाई सरकारी संरक्षण प्रदान गर्दै भविष्यमा हुने सम्भावित संक्रमणसंग जुध्न सरकार तयारी अवस्थामा सरकार रहेको छ

त्यसै गरि आदिवासी समुदायको सहयोगका लागि १२३ मिलियन डलर छुट्याएको छ । असहाय र अपांगहरुका लागि मेडिकेयर मार्फत फण्डिंग गरिएको एनडीआइएसले सहयोग पुर्याईरहेको छ । बेरोजगारि र आर्थिक चपेटाले गर्दा निम्त्याउने घरेलु हिंशा र मानसिक रोग पिडितहरुलार्ई  सहयोगका लागि पनि सरकारले कुल २२४ मिलियन डलर छुट्याएको छ भने राज्य सरकारहरु ले पनि सहायता प्याकेज हरुको घोषणा गर्ने क्रम जारी छ  ।

औषधि तथा उपकरणहरुको व्यवस्थापन, संचिति तथा भण्डारणका लागि पनि सरकारले बिशेष व्यवस्था गरेको छ । करिब ३० मिलियन मास्कहरु आयात गरिएको छ भने ५०० मिलियन मास्कहरु अष्ट्रेलिया मै उत्पादन गरिने काम सुरु भैसकेको छ ।

फ्रन्टलाईन सेवामा कामगर्ने कर्मचारीहरु जस्तै डाक्टर, नर्स, प्यारामेडिकहरु को आपूर्ति सजह होस् भन्ने उद्देश्यले सरकारले चाइल्ड केयरलाई आगामी ६ महिनाका लागि निःशुल्क बनाएको छ । त्यसै गरि बिद्यालयहरु खुला छन् र विद्यार्थीहरु लाई घरमै बसेर अनलाईन क्लास लिने वा स्कुल हाजिर हुने दुवै सुबिधा उपलब्ध गराइएको छ ।

अन्तराष्ट्रिय विद्यार्थीहरु लगाएत अस्थाई भिसा बाहकहरुका लागि भिषा थप सहज गरिएको छ भने हेल्थ सेक्टर र सुपर मार्केटहरुमा बैधानिक रुपमा काम गर्न पाउने अनुमति आवर बढाइएको छ ।

स्वास्थ्य र आर्थिक संकटमा परेका परिवारहरु लाई घरायसी सामान खाना, लत्ता कपडा, पेट्रोल बिल जस्ता अति आवस्यक सामानहरु को आपूर्ति गरिदिनका लागि अतिरिक्त २६० मिलियन छुट्याएको छ । सरकारले विपदसंग सामना गर्नका लागि कोभिड-१९ को-अर्डिनेशन आयोग पनि गठन गरेको ।

कठिन मिहिनेत, श्रोत र साधनको समुचित परिचालन र नियम कानूनहरुको कडा पालनाका कारण आजका मितिसम्म आइपुग्दा अष्ट्रेलियाले कोरोना भाइरस माथि नियन्त्रण राख्न सफल भएको देखिन्छ । पहिलो चरणमै कोरोनभाइरसको संक्रमण समुदायमा अनियन्त्रित हुनबाट रोकिएको छ । जसले यहाँको स्वास्थ्य व्यवस्था, र अर्थतन्त्र केहि हदसम्म बिनास हुनबाट बचेको छ ।

अष्ट्रेलियनहरु को महान पर्व इष्टर यहि हप्ता परेको छ । यसपटकको चाडमा सरकारले सबैलाई घरमै बसेर मनाउन अनुरोध गरेको छ। भाईरससंग विजय हासिल गर्नका लागि यसको औषधि पत्ता नलाग्दासम्म मानिसहरु को मुभमेन्ट, सोसियल डिस्टेन्सीङ्ग र टेस्टीङ्ग गर्ने दायरालाई बढाउदै लैजाने सरकारी नीति छ ।

प्रधानमन्त्रीको प्रेस मिटमा संधैजसो संगै उभिने अष्ट्रेलियाका चिफ मेडिकल अफिसर प्रोफेसर ब्रेन्डन मर्फी, स्वास्थ्य सेवामा अग्रपंतिमा खट्ने स्वास्थ्यकर्मीहरु देखि सांसदहरु, सबै राज्यका प्रमुखहरु तथा सर्वसाधारण जनता सबैको सहयोगले नै आज अष्ट्रेलिया कोरोना भाइरसको आक्रमणबाट धनजन जोगाउन अन्य देशको तुलनामा अधिक सफल देखिएकोमा उनले सबैप्रति आभार प्रकट गरेका छन् । अप्रत्यासित रुपमा फैलिएको नयाँ रोग कोरोना भाइरस महामारीसंग लड्न सहयोग गर्ने देशका सबै तह र तप्काका मानिसहरुलार्ई धन्यवाद दिंदै प्रधानमन्त्री मोरिशनले आगामी दिनहरु सजिलो नहुने तर अष्ट्रेलियनहरु मिलेरै यसको सामना गर्ने बताए ।

“हुलचालमा ज्यान जोगाउनु” भन्ने नेपाली उखान जस्तै हामि पनि सरकारको निर्देशन पालना गरौ, अत्याबश्यक कामका लागि बाहेक घरबाट बाहिर ननिस्कौ, आफ्नो ज्यान बचाऔ, सरकारलाई काम गर्न दिउँ र अरुको पनि ज्यान बचाउनमा मद्दत गरौ ।

(लेखक द नेपाली टाईम्स अष्ट्रेलियाका प्रकाशक हुनुहुन्छ, सल्लाहा सुझाबका लागि lamsalmk@gmail.com मा सम्पर्क गर्न सकिनेछ ।)