गुडे माइट ! 

-- प्रतीक सिग्देल  / प्रकाशित मिति : मङ्लबार, मंसिर १६, २०७७
म चढेको जहाज सिड्नीको एयरपोर्टबाट तास्मानियाको लन्चेस्टन एयरपोर्टमा ‘ल्याण्ड’ गर्न करिब २ घण्टा लाग्यो । आकाशमा गुजुमुल्टो परेका बादलसँग लुकामारी खेल्दै समुद्रै समुद्रले घेरिएको टापुमा टेक्दा कस्तो हुने होला भन्ने मनमा उत्सुकता लागिरहेको थियो । भर्खरै साँझ पर्न आँटेको थियो ।
जहाजबाट झर्ने बित्तिकै निद्राले लठ्ठ परेका मेरा आँखा एउटा कफी पसलमा गएर ठोक्कियो । सर्लक्क परेको शरीर, गोरो अनुहार र हँसिलो मुहार भएकी राम्री नानीले अन्य ग्राहकहरुलाई समेत आफ्नो मुस्कानले लठ्याउँदै थिई ।
ठाडो कपाल, आँखामा कालो चस्मा, काँधमा गिटार सहितको झोला र हातमा नेपाली मसलाले भरिपूर्ण जेब्रा झोलाको पोको सकिनसकि झुण्ड्याउँदै म उनकै नजिक पुगेँ ।
निद्रा भगाउन कडा कफी खाने मनसाय सहित हेल्लो भन्न मुख आँ गर्दै थिएँ, उनको मुखबाट एउटा शब्द निस्कियो, ‘गुडे ।’ पल्यापुलुक हेरें, दाँयाबाँया कोही देखिन । मलाई नै भनेको हो भन्ने निक्र्यौल गर्न समय लागेन । म सुनेको नसुनेझैं गरेर मुसुक्क हाँसिदिएँ ।
‘गुड डे भनी कि के पो भनी । अँग्रेजी शब्द भए त बुझ्नु पर्ने,’ मनमा कुरा खेल्न थाल्यो । ‘ह्या मलाई के को मतलब,’ बिर्सन प्रयास गरें । बिडम्बना, बिर्सन चाहदैमा केही कुरा सजिलै कहाँ बिर्सन सकिदो रैछ र !
कफी पिउने मुडमा हिँडेको मान्छे म, गोरी युवतीले भनेको एउटा शब्दले कसो गरौं र के गरौं बनाइदियो । ‘के भनेकी थिई मैले बुझिन,’ यस्तै यस्तै पीडाले मलाई छटपटी हुन थाल्यो ।
‘ह्या जे सुकै होस,’ मनमनै सोंचें । जबर्जस्तीको हाँसो देखाउँदै उसँग आफ्नो अर्डर माँगे, ‘केन आई गेट अ कप अफ कफी प्लिज ।’
करिब पाँच मिनेटको पर्खाइपछि उसले मलाई कफी दिई ।
दिन रात पसिना बगाएर कमाएको केही डलरसँग साटेको कालो तितो कफीले भन्दा उसले बोलेको शब्दले मेरो निदहराम गराएको थियो ।
तातो कफीको चुस्स एक चुस्की लिए ।
कफी भन्दा त्यो कफीवालीले बोलेको शब्द कडा थियो मेरो लागि । जे होस, म त्यो कुरालाई बिर्सने प्रयास गर्दै आफ्नो गन्तव्यतर्फ जाने बाटो खोज्दै थिएँ । यत्तिकैमा एउटा ट्याक्सी देखें र रोक्ने प्रयास गरें ।
लखतरान म, निद्राले झुम्म मेरो आँखा, ट्याक्सी नजिकै पुगेपछि म पुनः झसँग भएँ ।
‘गुडे माइट’
ट्याक्सी ड्राइभरको मुखबाट निस्केको यो अँग्रेजी वाक्यांशले मेरो कानमा फेरी प्रहार गर्यो ।
यताउता हेरें, अहँ यस पटक पनि म बाहेक अरु कोही देखिन । ती वाक्यांश मै तिर तेर्सिएका थिए फेरी, दोश्रो पटक ।
कुनै सिकारीले सिकार मार्नका लागि धनुष तन्काएर बाँण मतिर तेस्र्याएर छोडे जस्तो महसुस भयो मलाई । ट्वाल्ल परें, केही जवाफ फर्काउनै सकिन ।
‘आर यू ओके माइट, ह्वेर डु यु वान्ट टु गो’ ? अक्क न बक्क भएको देखेर उसले मलाई सोध्यो । हत्त न पत्त उसलाई म ठिकै भएको झुटो जवाफ फर्काए र आफू जानुपर्ने ठेगाना दिएँ ।
उसले गाडी स्टार्ट गर्यो र गन्तव्य तर्फ अगाडि बढायो ।
ट्याक्सी चढेपछि नै मनमा अनेक कुराहरु खेल्न थाले । जिन्दगीमा पहिलोपटक अँग्रेजी शब्द नबुझेर म आँफैलाई लज्जाबोध भएको महसुस भयो ।
चाइनामा मास्टरी गर्नेबेला टुटेफुटेको अँग्रेजी बोल्दा चिनियाँहरुको वाहवाही सहितको ताली खाने म, अष्ट्रेलियाको ताज्मानियामा आएर सुनेको यो वाक्यांशको अर्थ नबुझ्दा मलाई भित्रैभित्रै काउकुती लागिरहेको थियो, हीनताबोध भइरहेको थियो ।
दुइ बर्ष सिड्नी बस्दा समेत मैले अँग्रेजी नबुझेको महसुस कहिल्यै भएको थिएन ।
अब त अत्ति भयो, मनलाई सम्हाल्नै सकिन र ट्याक्सी ड्राइभरलाई विनम्र भएर सोधे, ‘ह्वाट डज गुडे मिन ?’
मलाई त्यसको अर्थ थाह नभएको थाहा पाएर उसले जवाफ फर्कायो, ‘इट्स अ ग्रिटिंग लाईक हेल्लो, इट्ज ताजि स्ल्यांग’ (ताजि स्ल्यांगको अर्थ ताज्मानियाको बोलिचालिको भाषा हो ।)
‘गुडे’ अर्थात नमस्ते, ‘माइट’ माने साथी !
‘धत्तेरी, नमस्ते साथी पो भनेको रैछ ।’
एयरपोर्टबाट झरेदेखि मनमा दबिइरहेको उकुसमुकुस बल्ल शान्त भयो । आनन्दको लामो सास फेरे । त्यति वाक्यांशको अर्थ सुनेपछि कुनै कुरामा दक्षता हासिल गरेजस्तो अनुभूति भयो ।
अँग्रेजी नबुझेर आफैलाई भित्रभित्रै महसुस भएको लज्जाबोध हरायो ।
मनमा गुुम्सिएको आगो निभेपछि उसँग कुरा गर्न मलाई सजिलो भयो । अनि सुरु भयो हाम्रो संवाद ।
उसँगको संवादपछि ताज्मानियाको बोलिचालिको भाषा अन्य शहरहरु को भन्दा निकै नै भिन्न रहेको कुरा थाहा भयो ।
‘ताज्मानियाको स्ल्याांग बुझिएन भने गाह्रो हुन्छ है,’ मलाई सचेत बनाउँदै सिक्न उत्प्रेरित बनायो । केही वाक्यांशहरु सिकायो पनि, मैले कपीमा टिपेर राखेंको थिएँ ।
गुडे अर्थात हेल्लो ।
ब्रेकी अर्थात ब्रेकफास्ट ।
टि अर्थात डिनर ।
चक्कीविक्की अर्थात चकलेट विस्कुट ।
आदि इत्यादि ।
उसँग कुरा गर्दागर्दै आधा घण्टाको यात्रा पाँच मिनेटमै पूरा भए जस्तो भान भयो । कतिबेला गन्तव्यमा पुगिएछ पत्तै भएन ।
म सिड्नीबाट लन्चेस्टन आएको एक बर्षभन्दा बढि भइसक्यो । अझैसम्म ताजि स्ल्यांगहरु सिक्ने प्रयास गर्दैछु । कति त सिकें, धेरै सिक्न बाँकी छ ।
आजकाल यदि कसैलाई बाटोमा देंखे र उ मतिर हेरेर मुस्कुरायो भने, सबैभन्दा पहिला मैले नै भन्ने गर्छु, ‘गुडे माइट ।’