छङ्तुमा महावाणिज्य दूतावासस्थलको खोजी

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, माघ १३, २०७७

बेइजिङस्थित नेपाली दूतावासले चीनको सिचुवानमा रहने नयाँ नेपाली महावाणिज्य दूतावासस्थलको खोजी थालेको छ । बेइजिङबाट राजदूत महेन्द्रबहादुर पाण्डे र काउन्सिलर कौशल किशोर रायसहितको टोलीले ३ दिनसम्म सिचुवान प्रान्तको छङ्तुमा रहने नेपाली महावाणिज्य दूतावासका लागि सम्भावित स्थलहरूको अवलोकन गरेको हो । नेपाल सरकारले छङ्तु महावाणिज्यदूतका लागि सहसचिव दिनेशकुमार घिमिरेको नाम प्रस्ताव गरिसकेको छ भने चीनबाट अग्रिमो स्वीकृत गर्न मात्रै बाँकी छ । ‘कुन स्थानमा रहँदा उपयुक्त होला भनेर प्रारम्भिक अध्ययन गरियो, तर नेपालबाट महावाणिज्यदूत आउनुअघि फेरि एकपटक छलफल गरेर टुंगो लगाउनु पर्नेछ,’ बेइजिङ फर्किएपछि राजदूत पाण्डेको भनाइ । पछिल्लो समय आर्थिक केन्द्रको रुपमा विकसित भइरहेको छङ्तुमा विभिन्न डेढ दर्जन मुलुकका कन्सुलेट कार्यालयहरू स्थापना भइसकेका छन् । युरोप, दक्षिण अमेरिका, अफ्रिका लगायत देशतर्फ जाने मालबाहक रेलका लागि लजिस्टिक सेन्टर पनि छङ्तुमा बनेकाले यो क्षेत्र तीव्र गतिले अगाडि बढिरहेको राजदूत पाण्डेले बताए । त्यहााबाट एयर चाइना, सिचुवान एयर र तिब्बत एयरले काठमाडौंमा उडान भर्दै आएका छन् । करिब ३५ वर्षमा अकल्पनीय परिवर्तन गरेको छङ्तुमा महावाणिज्य दूतावास बसेपछि नेपाललाई धेरै फाइदा पुग्ने पाण्डेले बताए ।  यसैबीच चीनको सिचुवान प्रान्तका कार्यवाहक गभर्नर ह्वाङ छियाङले नेपाल चीनका लागि उच्च रणनीतिक प्राथमिकतामा पर्दै गएको बताएका छन् ।