छिमेकीको बैगुनी व्यवहार

-- सम्पादकीय नाेभेम्बर अंक २०१९, नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, मंसिर १, २०७६

खुल्ला नाका लगभग मिल्दो जुल्दो भेष–भुषा, संस्कृति, पहिरन र खान–पान धेरै दृष्टिकोणले हाम्रो देशलाई तीन तिरबाट घेरेको छिमेकीको हामीप्रतिको व्यवहार निक्कै मित्रबत हुनु पर्ने हो । तर इतिहासदेखि वर्तमानसम्म हामीले कहिल्यै त्यस्तो महसुस गर्न पाएनौ । धेरै पटक हामीले हाम्रो छिमेकीबाट मिचाहा व्यवहार कै सामना गर्दै र भोग्दै आएका छौं । पछिल्लो पटक देश भूकम्पको त्रासदीलेआक्रान्त भएको बखत मानबीय सम्बेदनशिलताको लक्ष्मण रेखालाई समेत कुल्चेर छिमेकीले हामीलाई गरेको अघोषित नाकाबन्दीको तत्कालिन बर्बरता यति बेला शब्दमा व्यक्त गर्न पनि गार्हो खालको थियो ।
तै पनि नेपालीहरु स्वभाबैले सहनशील छन्, छिट्टै बिसिदिन्छन्, जुन स्वाभाविक पनि हो । संधै कुण्ठा पालेर बसेर पनि आखिर सम्बन्ध पनि त सुध्रिदैन । अर्कोतिर बिश्व अर्थतन्त्रमा आफ्नो छुट्टै उचाई बनाइ सकेको हाम्रो छिमेकी संग पैठेजोरी खेल्ने हैसियत हामीमा छँदा पनि त छैन । त्यसो भनेर संधै टाँग मुनि पुच्छर लुकाएर बस्ने हाम्रो न इतिहास हो न पहिचान । मेरा साना दुःखले आर्जेको मुलुक होइन सबैलाई चेतनाभया भनेर नेपाल एकीकरण गर्दाको बखत राष्ट्र निर्माता पृथ्वीनारायण शाहले भनेका भनाइ हुन् या नालापानीको किल्लामा खुकुरीको भरमा तत्कालिन भारतलाई कठपुतली बनाएका अंग्रेजहरुको बम बारुद संग लड्दै नाका कटाएका इतिहास हुन् । हामी कमजोर होइनौं तर “सर्बे भवन्तु सुखिनः सर्बे सन्तु निरामयाः” को सन्देशले बाँचेका हामीहरु पटक पटक छिमेकीको व्यवहारबाट आजित भएका भने पक्कै छाैं ।
नेपाल इतिहासमा कहिल्यै कसैको पराधिन हुनु परेन तर दूर्भाग्य हामीले लोकतान्त्रिक परिवर्तन पछि पनि असल राजनेता पाएनौं जसले गर्दा हाम्रा परराष्ट्र नीति संधै ढुलमुले रही रह्यो । हाम्रो यहि ढुलमुले नीति र कमजोरीको फाइदा उठाउँदै बिगतदेखि हाम्रो छिमेकीले सुस्ता, कालापानी र लिपुलेकमा सैनिक ब्यारेक राख्नेदेखि सिमास्तम्भ हटाउने गर्दै हामीलाई घुच्चाउँदै आयो । त्यसमा पनि हालै उत्तरी राज्य जम्मु–कश्मीरको विशेषाधिकार खोसेर औपचारिक रूपमा दुईवटा केन्द्र शासित राज्यमा विभाजित गरिए संगै नोभेम्बर २ का दिन भारतले आफ्नो नयाँ नक्सा सार्वजनिक गर्यो । यहि मेसोमा बिगतमा अटेरी गर्दै आइरहेको दार्चुलाको पश्चिम भेगको लिम्पियाधुरा, लिपुलेक तथा कालापानी सहितको भू–भाग भारतले आफ्नै हो भन्ने आधिकारिक दाबी पनि यहि नक्शाले गरेको छ ।
हामीलाई प्रष्टै थाहा छ छिमेकी फेर्न मिल्दैन, फेर्ने उसको व्यवहार हो । सामान्यत द्विदेशीय सिमाना देखाउने नक्सा बनाउँदा सरोकारवाला मुलुकहरू संगै बसेर निष्कर्षमा पुग्नु पर्ने बिश्वब्यापी मान्यता हो । तर भारतले एकलौटी रुपमा यो गर्दैछ सन् १८१६ को नेपाल र तत्कालीन इष्ट इन्डिया सँग सम्पन्न सुगौली सन्धिले नै काली नदीलाई सीमा मानेको छ । दस्ताबेज साक्षी छन, प्रकृति साक्षी छ लिम्पियाधुरा नै काली नदीको उद्गम बिन्दु हो । नेपाल संग धार्मिक नातादेखि रोटि र बेटीको सम्बन्ध भएको दाबि गर्ने मोदी सरकारको पालामै यस्तो कुरा बाहिर आउनु दुःखद हो । त्यसैले कत्ति पनि ढिलो नगरी आफ्ना यी कमजोरी हाम्रो छिमेकीले सच्चाओस । हामी मान्छौं नजिकै भए पछि घञ्चमञ्च हुनु स्वभाभिबक हो तर नेपालीको अस्मिता र भावना मै ठेस पुग्ने यो गतिबिधि कुनै पनि छिमेकीको लागि सुहाउने कुरै होइन, जुन हामीलाई पनि कदापि सहिय हुँदैन ।