जूमको आम्दानी ४० प्रतिशतले बढ्ने

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शनिबार, चैत्र २८, २०७७

भिडियो कन्फ्रेन्सिङ सर्भिस जूमले यो वर्ष सन् २०२१ मा ३ अर्ब ७० करोड डलर आम्दानी गर्ने प्रक्षेपण गरेको छ । कम्पनीका प्रमुख इरिक युआनले यो वर्ष कम्पनीको व्यापारमा गत वर्षभन्दा ४० प्रतिशतले वृद्धि हुने बताएका हुन् । उत्साहप्रद प्रक्षेपण सार्वजनिक भएसँगै जूम कम्पनीको शेयर मूल्य मार्च १ का दिन न्युयोर्कमा ६ प्रतिशतले वृद्धि भयो । कम्पनीका अनुसार गत वर्ष जत्तिको वृद्धिदर हासिल नभएता पनि यो वर्षसमेत जूमको वृद्धिदर बलियो नै रहने छ । सन् २०२० को तेश्रो त्रैमासिकमा जूमको व्यापार सन् २०१९ को सोही त्रैमिासकको तुलनामा ३७० प्रतिशतले वृद्धि भएको थियो । अर्थात् उक्त त्रैमासिकमा जूमले ८८ करोड २५ लाख डलर आम्दानी गरेको थियो । कम्पनीका प्रमुख इरिक युआन भन्छन्–‘जूमका लागि गएको वर्ष असाधारण रह्यो र चौथो त्रैमासिकको सशक्त वृद्धिदरसंगै वर्षको अन्त्य भयो । विश्व महामारीबाट निस्किँदै गर्दा हाम्रो काम बल्ल सुरु भएको छ ।’ कोरोना भाइरस महामारीका कारण विश्वका सबैजसो कामकाजी मानिसहरुले घरबाटै कार्यालयका काम सञ्चालन गर्नुपर्दा भिडियो कन्फ्रेन्सिङ् सर्भिस जूम आम मानिसको दैनिकी नै बनेको छ । सन् २०२० मा कम्पनीको आम्दानीमा समग्रमा ३२६ प्रतिशतले वृद्धि भएर २ अर्ब ६० करोड पुग्यो । त्यसमा जूमले ६७ करोड १५ लाख मुनाफा कमाएको छ । खोपको विकास र महामारी मथ्थर भएसंगै धेरै कम्पनीहरुले घरबाटै काम गर्ने प्रचलन हटाएर कार्यालयबाटै कार्य सञ्चालन सुरु गरिरहेको अवस्थामा जूमका प्रयोगकर्ता आगामी दिनमा घट्ने अनुमान गरिएको छ । साथै माइक्रोसफ्ट र गुगल जस्ता कम्पनीहरुका भिडियो कन्फ्रेन्सिङ सर्भिसहरुसंग पनि जूमले प्रतिस्पर्धा गरिरहनु परेको छ ।