नेकपाको विवाद उत्कर्षमा, ओली र प्रचण्डबीच नै भनाभनको अवस्था

-- कृष्ण भट्टराइ, नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, कार्तिक २७, २०७७

काठमाडौं– नेपालको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको किचलो बालुवाटार, खुमलटार र कोटेश्वरहुँदै उत्कर्षमा पुगेको छ ।

नेकपा भित्रको शक्ति संघर्ष र अन्तद्र्वन्द उत्कर्षमा पुगेकै बेला पार्टीको नियमित बैठक तथा छलफल समेत अनिश्चित बनेको छ ।

फलस्वरुप देशको राष्ट्रिय राजनीतिबाट सहमति भन्ने शब्द नै लोप हुने अवस्थामा पुगेको छ ।

खासगरि देशका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग पार्टीको सचिवालय बैठक बस्न अर्का अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका पाँच नेताले गरेको लिखित आग्रहपछि पनि उनीहरुबीच सहमति जुट्न नसक्दा पार्टी बैठक नै अनिश्चित बनेको हो ।

केही दिनअघि अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम तथा सचिवालय सदस्य एवं पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सामूहिक रूपमा अध्यक्ष ओलीसंग पार्टीको बैठकका लागि लिखित रूपमै आग्रह गरेका थिए ।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको उक्त भेटका क्रममा नेताबीच ‘घोचपेच’ शैलीमै छलफल सुरु भएपछि बैठक बस्ने विषयमा सहमति जुट्न नसकेको नेकपा स्रोतको भनाइ छ ।

नोभेम्बर ७ का दिन अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेर लिखित रूपमै बैठकका लागि आग्रह गरेका थिए ।

उनीहरुले नोभेम्बर ६ तथा ७ का दिन पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अनौपचारिक छलफल गरेर अध्यक्ष दाहालसहितका नेताले अर्का अध्यक्ष ओलीसमक्ष सामूहिक रूपमै बैठक बस्न आग्रह गर्ने निष्कर्ष निकालेका थिए ।

नेकपा प्रवक्ता श्रेष्ठका अनुसार पार्टी एकताको रक्षा तथा समग्र विषयमा छलफलका लागि सचिवालय बैठक बस्नुपर्ने बताएका छन् ।

प्रवक्ता श्रेष्ठले अध्यक्ष दाहालसहित सचिवालयका पाँचै जना नेताले सामूहिक रूपमै अर्का अध्यक्ष ओलीसंग भेटेरै बैठकका लागि आग्रह गरिएको जानकारी दिएका हुन् ।

भनिन्छ, करिव दुई महिनाअघि सम्पन्न भएको पार्टीको स्थायी कमिटीको निर्णय कार्यान्वयनमा समस्या देखिएपछि अध्यक्ष दाहालसहितका नेताले प्रधानमन्त्री ओलीलाई सचिवालय बैठकका लागि दवाव दिएका हुन् ।

अर्का पार्टी अध्यक्ष ओलीलाई भने पाँच जना नेताहरुले धुम्बाराहीमा अनौपचारिक छलफल गरेको नै मन परेको छैन । ओलीले त्यसलाई आफूविरुद्ध गुटबन्दीको रुपमा बुझेका छन् । आफूविरुद्ध गुटबन्दी भएको भन्दै अध्यक्ष ओलीले बैठक नै बोलाउन नचाहेको बताइन्छ ।

नोभेम्बर ७ का दिन वालुवाटारमा भएको भेटमा अध्यक्ष दाहालले अर्को अध्यक्ष ओलीसंग बैठकको आवश्यकताबारे स्पष्ट गर्दै विगतका सहमतिका बारेमा समेत आफ्नो धारणा राखेका थिए ।

अध्यक्ष दाहालले ओलीसमक्ष दुई महिनाअघि सम्पन्न स्थायी कमिटीको निर्णय कार्यान्वयन नभएको भन्दै यसबीच थप समस्यासमेत भएकाले बैठक बसेर छलफल गर्नुपर्ने मत राखेको बताइन्छ ।

‘पार्टीका निर्णय कार्यान्वयनसहित यसबीचमा देखिएका समस्यालगायतका विषयमा छलफल गरौं । बैठक बसौं भनेर आफूले आग्रह गर्दा तपाईं (ओली) ले मान्नु भएन,’ दाहालको भनाइ उद्धृत गर्दै नेकपाका एक प्रभावशाली नेताले भनेका छन्—‘मैले बैठक राख्छु भन्दा तपाईं पार्टी फुटेको मान्छु र अर्को बैठक राख्छु भन्नुहुन्छ । त्यसैले अनौपचारिक बैठक राखें र सबै साथीको सुझावसहित यहाँ आएको छु । म फेरि पनि आग्रह गर्छु, बैठक राखौं र छलफल गरौं ।’

दाहालको आग्रह सुनेपछि ओली आक्रमक रूपमा प्रस्तुत भएको बताइन्छ ।

‘तपाईंको कुरा पनि यस्तै हो । सधैं गुटबन्दी गर्ने र गुटका कुरा सुनेर जालझेल गर्नुहुन्छ । यसरी कसरी हुन्छ ? मैले बैठक नराख्ने कहिले भनेको छु र ? छलफल गरौं । सहमति गरेरै बैठक बसौं,’ ओलीको भनाइ यस्तो थियो ।

त्यही क्रममा अन्य नेताहरूले ‘नोभेम्बर ८ अथवा ९ (आइतबार अथवा सोमबार) मै बैठक बसौं’ भनेका थिए ।

तर, ओलीले भोलि अथवा पर्सि नै नभई छलफल गरेर बस्नुपर्ने जवाफ दिएका थिए ।

गुटबन्दी गरेको ओलीको भनाइप्रति प्रतिवाद गर्दै अन्य नेताले एकै स्वरमा भनेका थिए— ‘तपाईंले भेला गर्दा हुने, जुम बैठक गर्दा हुने तर अरूले छलफल गर्दा गुटबन्दी हुने ?’

त्यसअघि दाहालसंगको छलफलमा ओलीले औपचारिक बैठक बोलाए त्यही नै पार्टी विभाजनको बिन्दु हुने चेतावनी दिएपछि सचिवालयका पाँच नेताले सामूहिक रूपमा भेटेका हुन् ।

छलफलका क्रममा वरिष्ठ नेता नेपालले समेत ओलीको कार्यशैलीको विरोध गरेको बताइन्छ ।

‘तपाईंकै कार्यशैलीका कारण यति धेरै साथीले विरोध गर्ने ठाउँमा पुगेको हो, तर तपाईंले गल्ती स्वीकार गरेर आत्मालोचना नै गर्नु नपर्ने ? तपाईंमा भ्रम छ, सबै राम्रै गरेको छु । आफू ठीक अरू गलत भन्ने भ्रम छ तपाईंमा । अब बैठक राखेर खुला रूपमा छलफल गर्नुपर्छ,’ अध्यक्ष ओलीसमक्ष नेपालले व्यक्त गरेको भनाइ यस्तो थियो ।

पार्टीका अर्का वरिष्ठ नेता झलनाथ खनालले पार्टी निर्णय, विधि र प्रक्रियाअनुसार चल्नु पर्ने बताएका थिए ।

पार्टी बैठकका निर्णय नै कार्यान्वयन नहुने, आफूखुसी हिंड्न खोजेकाले समस्या भएको खनालले बताएका थिए । पार्टी बैठकका निर्णय सबैले कार्यान्वयन गर्नुपर्ने बताउँदै खनालले बैठक बस्नमा ढिलाइ नगर्न आग्रह गरे ।

उपाध्यक्ष बामदेव गौतमले समेत ओलीमाथि आरोप लगाउँदै बैठकमा छलफल र भएका निर्णय मानेर अगाडी बढनुको विकल्प नभएको बताएका थिए । विगतका निर्णय कार्यान्वयन नभएको बताउँदै गौतमले छिटोभन्दा छिटो बैठक बस्नुपर्ने बताए ।

विगतमा सहयोग गर्दै आएको भए पनि कार्यशैलीमा सुधार आउन नसकिएकाले अब सहयोग गर्न नसकिने गौतमले बताए ।

नेकपाभित्र स्थायी र सचिवालय कमिटीको निर्णय कार्यान्वयन, मन्त्रिपरिषद् पुनर्गठन, राजदूत नियुक्ति, कर्णाली प्रदेश, पर्साका नेता महेश चौरसिया हत्याकाण्ड, प्रधानमन्त्री ओली र भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयलसंगको गोप्य भेटघाटलगायतका विषयमा अध्यक्षद्वय ओली र दाहालको मतभेद हुँदा विवाद झन् चर्किएको हो ।

यस्तो छ ओलीको भनाइ

यसैबीच, नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले काल्पनिक र गलत कुरा गरेर पार्टीलाई भ्रममा पार्ने प्रयास गर्न नहुने बताएका छन् । पार्टी बैठक बोलाउन आग्रहसहित अध्यक्ष ओलीलाई भेट्न बालुवाटार पुगेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सचिवालयका केही सदस्य नेतासंग उनले त्यस्तो धारणा व्यक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

त्यस अवसरमा अध्यक्ष प्रचण्ड सहितका नेताहरूले बैठक बोलाउन दुई पृष्ठको लिखित आग्रह पत्र प्रधानमन्त्रीलाई बुझाएका थिए  । अध्यक्ष ओलीले सल्लाह गरेर बैठक बोलाउने बताएको समेत सल्लाहकार थापाले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले बैठक चाहियो भने काल्पनिक, झुठा कुरा बोल्न, लेख्न छाड्नुस्, पार्टी विभाजन गर्ने खालका गतिविधि नगर्न नेताहरूलाई ध्यानाकर्षण गराउँदै गुटगत राजनीतिले समस्याको समाधान नहुने धारणा व्यक्त गर्नु भएको बताएको छ । नेताहरूसंगको छलफलमा प्रधानमन्त्री ओलीले भनेका थिए– ‘बैठक बस्नु हुँदैन भनेर मैले भनेको छैन, बैठक भोलि बसौंला, पर्सी बसौंला, सल्लाह गरेर बसौंला तर त्यसअघि तपाईंहरू पनि सच्चिनु पर्छ ।’

प्रधानमन्त्री ओलीलाई भेटेर सचिवालय बैठक बसाउन लिखित रूपमै आग्रह गरिएको पार्टी प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) महामारीले देशमा सिर्जना गरेको अवस्था, स्थायी कमिटीले गरेका निर्णयको कार्यान्वयन, पार्टीमा उत्पन्न संकट, राष्ट्रियता लगायतको सम्बन्धमा छलफल गर्न सचिवालयको बैठक बस्न लिखित आग्रह गरिएको बताइएको छ ।

नेताहरूका अनुसार प्रधानमन्त्री ओली अध्यक्ष प्रचण्ड र प्रवक्ता श्रेष्ठको गतिविधिप्रति आक्रोशित भएका छन् ।

श्रेष्ठले पार्टी प्रवक्ताको मर्यादा नाघेको र अध्यक्ष प्रचण्डले ठाउँ–ठाउँमा गुटगत भेला गर्दै गरेकोमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको असन्तुष्टि छ ।

नेताहरूका अनुसार कोभिड–१९ को महामारीलाई नियन्त्रण गर्न सरकार र पार्टीले सोचेजस्तो कार्य नभएको, भदौ २६ गते सम्पन्न स्थायी कमिटीको बैठकले गरेका निर्णय कार्यान्वयनमा ढिलासुस्ती भएको, पार्टीसंग सल्लाह नै नगरी मन्त्रिपरिषद् हेरफेर तथा अन्य संवैधानिक नियुक्ति गरिएको, भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयलसागको भेट तथा कर्णाली विवाद लगायतका विषय पत्रमा उल्लेख गरिएको छ ।

विवादको जड

गत अक्टोबर ३१ का दिन दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच वालुवाटार भेटवार्तामा सरकार संचालनमा वारम्वार अवरोध गरेपछि घिसिपिटीभन्दा ‘आफ्नो बाटो लागौं’ भन्ने खालको धारणा प्रधानमन्त्रीबाट व्यक्त भएको थियो । प्रचण्डसंग संवाद गर्न खुमलटार पुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दुई अध्यक्षबीच सहमतिको विकल्प नभएको बताएका थिए । सरकारलाई पार्टीबाट असहयोग भइरहँदा त्यसको प्रभाव सरकारको कार्य सम्पादनमा परिरहेको भन्दै यस्तो अवस्थाभन्दा बरु आफ्नो बाटो लाग्दा उपयुक्त हुने चिन्तासहितको विचार त्यहाँ व्यक्त भएका थिए । उक्त बिचारको सन्दर्भ प्रचण्डले कोट्याउँदा सरकारलाई काम गर्न नदिने, अवरोध र असहयोगमात्र गर्ने हो भने आफ्नो बाटो लाग्नुपर्ने आशयको धारणा प्रधानमन्त्री राख्नुभएको हो । दुई पार्टी अध्यक्षबीचको विवादको जड नै प्रधानमन्त्रीको त्यही अभिव्यक्तिलाई मानिएको छ ।