नेपालमाथि जोर्डनको ३–० को जित

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, जेष्ठ २५, २०७८

काठमाडौं- विश्वकप फुटबल २०२२ को छनोट खेलमा जोर्डनले नेपालमाथि सहज जित हात पारेको छ ।

कुवेतमा छनोट अन्तगर्तको आफ्नो सातौं खेलमा नेपालले जोर्डनसँग ३–० को अन्तरले हार बेहोरेको छ ।

जोर्डनले नेपालमाथि जितसँगै समूह बी को दोस्रो स्थानमा उक्लेको छ ।

उसले छ खेलबाट १३ अङ्क जोडेको छ ।

कुवेतले समान छ खेलबाट मात्र १० अङ्क जोडेको हो ।

जोर्डनको छनोट खेलमा लगातार यो चौथो जित हो ।

कुवेतस्थित अल जबार अन्तर्राष्ट्रिय रङशालामा सम्पन्न खेलमा जोर्डनले तीन वटै गोल फ्रि किक र पेनाल्टी मार्फत नै सम्भव बनायो ।

पहिलो हाफको सुरुदेखि नै जोर्डनले आक्रामक खेल पस्केको थियो ।

तर २३ औं मिनेटमा मात्रै उसले गोलको खाता खोल्न सक्यो ।

डिफेन्डर रोहित चन्दले पेनाल्टी क्षेत्रभित्र सुलेमानलाई लडाउन पुग्दा जोर्डनले पेनाल्टीको अवसर पायो ।

बाहा फैसल सेफले पेनाल्टीलाई गोलमा परिणत गरेर जोर्डनलाई १–० को अग्रता दिलाए ।

गोलकिपर किरण चेम्जोङले पेनाल्टी प्रहार रोक्न दायाँ तिर ‘डाइभ’ लगाउँदा बल गोलपोष्ट चुमिसकेको थियो ।

बाहा फैसलले जोर्डनका लागि आफ्नो २८ औं खेलमा ११ गोल पुरा गरे ।

खेलको २९ औं मिनेटमा डिफेन्डर बिकास खवास घाईते भएर मैदानबाट बाहिरिँदा सुनिल बल मैदानमा प्रवेश गरे ।

३५ औं मिनेटमा सुनिल बलले पेनाल्टी क्षेत्रभित्र दिएको बललाई अञ्जन विष्टले भेटन नसक्दा नेपालले गोल गर्ने अवसरबाट बञ्चित हुन पुग्यो ।

पहिलो हाफसम्म १–० को अग्रता बनाएको जोर्डनले दोस्रो हाफको सुरुवातमै गोल थप्दै २–० को अग्रता लियो ।

६७ औं मिनेटमा एजान अल अरबले गोल गर्दै जोर्डनको अग्रता ३–० पारे ।

उक्त गोल नै जोर्डनको नेपालमाथि जितका लागि पर्याप्त भयो ।

नेपालले छनोटको आफ्नो अन्तिम खेलमा अष्ट्रेलियाको सामना गर्नेछ ।

अष्ट्रेलिया र नेपालबीचको खेल जुन ११ मा हुनेछ ।

उक्त खेलपछि कुवेत र जोर्डनबीच स्पर्धा हुनेछ ।

कुवेत र जोर्डनबीचको उक्त खेल विश्वकपका लागि छनोट हुने टोलिको समीकरण पुरा गर्नेछ ।