नेपाली युवा व्यवसायीको ग्लोबल ब्रान्डीङ अभियान बैजनी माया

-- महेन्द्र कुमार लम्साल, आवरण नाेभेम्बर/डिसेम्बर अंक २०२०, नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, मंसिर ४, २०७७

अष्ट्रेलियामा बिगत करिब १० वर्षदेखि होमलोन सेवा प्रदान गर्दै आएका नेपाली युवा ब्यवसायी किरण थापा यतिबेला “पर्पल लभ” यानेकि “बैजनी माया” व्यवसायिक ब्राण्ड निर्माण गर्न जुटेका छन् । हामीले तिहारमा अति अवाश्यक मान्ने मखमली फूललाई यो ब्राण्डको प्रमुख आधार मानेका छन् । थुप्रै महत्व बोकेको बैजनी रंगको सुन्दर मखमली फूल संगै मखमली मायामा संसारका मानिसहरुलार्ई आकर्षण गर्ने एउटा युनिक परियोजना हो पर्पल लभ । यसबाट अन्य थुप्रै व्यवसायहरुको ढोका खोल्दै ब्राण्ड साम्राज्य निर्माण गर्ने उनको महत्वाकांक्षा छ ।

होबार्टको ओरियेल्टन निर्माण गर्न लागिएको मखमली फार्म
पाइलट प्रोजेक्टको रुपमा उनले हालै अष्ट्रेलियाको टास्मेनिया राज्यको राजधानी होबार्टदेखि करिब ३५ किलोमिटर र एरपोर्टबाट १९ किलोमिटर दुरीमा रहेको Orielton भन्ने ठाउँमा करिब ४० हेक्टर जग्गा खरिद गरिसकेका छन् । कूल क्षेत्रफलको करिब १० हेक्टरमा पूरै मखमलीको फूल फुलाउने उनको योजना अनुरुप बिरुवाहरु उमारी सकेका छन् । प्रस्तावित १० हेक्टर जग्गामा फूल रोप्नकालागि ४६ वटा सर्कल बन्ने छन् जसको कूल लम्बाई करिब २८ किलोमिटर हुने छ । २८ किलोमिटरको लम्बाइमा करिब ८४ हजार मखमली फूलका बिरुवाहरु लगाइने छन् । अब केहि समयमा होबार्टको ओरिएल्टन फार्ममा मखमली फूल ढकमक्कै फूल्ने अपेक्षा गरिएको छ । यति ठूलो मखमली फार्म संसारमा यो नै होला । त्यसमा पनि एउटा नेपाली युवाको यो नयाँ परिकल्पनालाई समग्र समुदायले बिशेष महत्व, कौतुहल र गौरवका साथ हेरेको छ ।

के हो पर्पल लव ?
“पर्पल लभ” मखमली फूल र यसको बैजनी रंगलाई जोडेर आकर्षण थपिएको एउटा बहुउद्देश्यीय व्यवसायिक ब्राण्डको परिकल्पना भएको किरणले बताए । पर्पल लभको प्रत्यक्ष देखिन सकिने आकर्षण भनेको सुन्दर मखमली फूलको बगैचा र यसबाट प्राप्त हुन सक्ने सामग्रीहरु नै हुन । तर अप्रत्यक्ष रुपमा पर्पल लभको व्यवसयिक एजेन्डाहरु सोचेभन्दा फराकलो रहेको अन्तर्य किरणले खुलाएका छन् ।
ओरियल्टन फारममा उम्रिदै गरेका मखमली फूलका बिरुवाहरु
तपाइँ इन्जिनियर मान्छे, फाइनान्समा डिग्री हासिल गरि मोर्गेज साम्राज्य निर्माणमा अगाडि बढ्दै गर्दा फेरी यो मखमली फूलको चक्कर मै किन लाग्नु भयो त ? भन्ने प्रश्नमा किरण बताउँछन्, समय र परिस्थितिको अध्ययन गरि अगाडि बढ्ने क्रममा मानिसहरुको लगाव कतातिर मोडिन्छ भन्ने निश्चित हुँदैन । इन्जीनियरिङ्ग र फाइनान्समा करियरको दायरा र सिमितता दुवै मैले बुझें । यसबाट मैले सोचेजस्तो साम्राज्य निर्माण गर्न पनि नसकिने र कुनै नयाँपन प्राप्त गर्न पनि नसकिने कुराममा कन्भिन्स थिए । कुनै नयाँ काम गर्ने सोच मनमा आइ रह्यो अन्ततः पर्पल लभ तिर मेरो ध्यान मोडियो ।
एकातिर हाम्रो जीवनमा मखमलीको फूल धेरै अर्थमा प्रयोग हुन सक्छ भने अरु बिरुवाको तुलनामा मखमलीको उत्पादन सजिलो र कम जोखिमपूर्ण पनि छ । उनको अध्ययन अनुसार मखमली फूलको चिया अहिले करिब प्रतिकिलो १२० अष्ट्रेलियन डलरमा बिक्दो रहेछ । मखमलीको पात सलाद बनाउन मिल्नेदेखि पिजाको टपिंग समेतमा प्रयोग हुन सक्ने बताए । औषधिजन्य महत्व रहेको एन्टीअक्सिडेन्टयुक्त तत्व पाइने मखमलीको जरा कुटेर खाँदा रुघाखोकी आराम हुने, ब्लड सुगर तथा कोलेष्ट्रलको औषधि समेत हुने अध्ययनले बताएको जिकिर गरे ।

यसैगरि प्रवासमा रहेका करिब आधा करोड नेपालीका लागि पर्व बिशेषमा मखमली माला आपूर्ति गर्नेदेखि लिएर मखमली बिउ तथा बिरुवा उत्पादन तथा वितरणमा पनि पर्पल लभ प्रोजेक्ट सफल हुने उनको दावी छ ।
फूलकै सौन्दर्य हेर्नका लागि वर्षमा लाखौं पर्यटकहरु क्यानबेराको टुलिप गार्डेन भ्रमण गर्दछन् जुन वर्षमा जम्मा ४ हप्ता मात्र खुला रहन्छ । तर मखमली गार्डेन वर्षको करिब ६ महिना फुलिरहन्छ । अझै महत्वपूर्ण कुरा त के छ भने यति ठूलो स्केलमा मखमली फार्म संसारमा कसैले गरेको छैन र यो नै एउटा यस्तो खालको युनिक परियोजना हो ।
पर्पल लभ गार्डेन भित्र भित्र प्रवेश गर्ने पर्यटकहरु करिब एक दिन विविध मनोरन्जनात्मक कार्यक्रम गरि बिताउन सकुन भन्ने उद्देश्यले बाल उद्धान, फोटो स्पटहरु, क्याफेहरु, मखमली खेति तथा चित्रकला सिकाइ र अनुभव जस्ता कृयाकालाप साथै पर्पल लभ बगैचा भित्र एग्री टुरिजमको पनि परिकल्पना गरिएको बताए ।
यहि रंगिन आकर्षक फूलजन्य बातावरणलाई केन्द्र बिन्दुमा राखेर मखमली परियोजना कम्पाउण्ड भित्रै पर्पल लभ क्याफे, थ्री स्टार लिभिंग सुविधा सहितको हनिमून प्लेस, क्यम्पिंगरग्ल्याम्पिंग सहितको एउटा युनिक भिजिटर एक्स्पेरियन्स प्रदान गर्ने रोमान्टिक गेटवे निर्माण पाइपलाईनमा रहेको बताइएको छ । त्यसैगरी मखमली फूल मौरी र पुतलीले मन पराउने फूल हो । मखमली जन्य मौरि फार्म र बटरफ्लार्ई गार्डेनको रुपमापनि पर्पल लभले व्यवसाय विस्तार गर्न सक्ने बताईएको छ ।

मखमली सोभिनेर प्याक
होबार्टमा अहिले लिएको यो समथर भूमि हामीले सिग्नीफिकेन्ट एग्रीकल्चरल ल्याण्डको रुपमा लिएका छौ । त्यहाँ आवश्यक परेमा सिजन अनुसारको खेति पनि गर्न मिल्छ । पहिलो चरणमा हामी त्यहाँ मखमली नै फुलाउने छौं र त्यसपछि अरु अवसर पनि खोजि गरिने छ । तास्मेनिया राज्यमा बर्षेनी करिब १३ लाख टुरिष्टहरु भ्रमण गर्दछन् भने हाम्रो मखमली बारीमा करिब १ लाख पर्यटक भित्र्याउन असम्भव छैन । अवको १० वर्षसम्म पर्पल लभ परियोजनामा आवश्यक काम, अध्ययन, अनुसन्धान, परामर्श तथा व्यवसायीकरण निरन्तर चल्नेछ, किरणले थपे ।
यति धेरै महत्व र विविधता रहेको मखमली फार्मको बिकास परियोजनाको अवधारणाले मलार्ई अवस्य पनि आफ्नो मिशनमा सफल बनाउने छ, सफल हुन नसके पनि जोगी चै बनाउदैन, किरण ले आत्मविश्वास ब्यक्त गरे ।
कृषि र पर्यटन र सौन्दर्य मेरो चाहनाका बिषय हुन्, यस अभियानमा मखमली फूल मेरो सहयात्री हुने छ र व्यवसायको मार्गमा अरु थुप्रै आइटमहरु जोडिदै जानेछन् । होबार्ट प्रोजेक्ट पाइलट प्रोजेक्ट हो र यसको अनुमानित लागत करिब २ मिलियन जति छ । अर्को प्रोजेक्ट साउथ अष्ट्रेलियाको एडिलेडमा निर्माण हुनेछ । त्यसको लागि १४० हेक्टर कृषिजन्य जग्गा खरिद गरि योजना तयार भैरहेको छ । होबार्ट प्रोजेक्टबाट रिटर्न करिब १ वर्ष भित्र आउने अपेक्षा गरेका छन् । रिटर्न जस्तो सुकै आओस तर संसारमा यति ठूलो स्केलमा मखमली बारीको सुरुवात गर्ने मानिस नेपाली किरण थापा नै हुनेमा उनि गर्व गर्दछन् ।

मानिसहरु आफ्नो ब्राण्ड भनु वा किर्ति राख्न बिभिन्न क्षेत्रमा मरिमेटेर लागेका हुन्छन् । म पनि जीवनमा केहि नयाँ काम गरूँ भनि अगाडि आएको छु हेरुँ निरन्तर प्रयासले मलार्ई सफलतामा पुर्याउने छ, उनले आफ्नो दृढ बिश्वास प्रकट गरे ।
एडीलेड प्रोजेक्टको १४० हेक्टर मध्ये करिब ४० हेक्टरमा मखमली बगैचा र बाँकि १०० हेक्टरमा सिजनल फलफुलहरु लगाई दीर्घकालीन रुपमा आम्दानी जुटाउने योजना रहेको बताएका छन् । हावापानी र भौगोलिक अवस्थितिका कारण होबार्टको मखमली बगैचा वर्षमा ३ महिना फूल्ने छ भने एडीलेडको फारम वर्षको करिब ६ महिना मखमली फूल फुलिरहने अवस्था छ । दिनमा मखमली फूल र रातमा हजारौ लाईटहरु जडान गरि मखमली लाईट फेस्टिभलको आयोजना गरिने योजना रहेको बताईएको छ ।
एउटा सुन्दर पर्यटक सहर, सस्तो जग्गा र न्यून प्रतिष्पर्धाका कारण पर्पल लभ परियोजना अष्ट्रेलियाको होबार्टबाट सुरु भएपनि १० वर्ष भित्रमा अष्ट्रेलियाका अन्य शहरहरु, यूरोप तथा अमेरिका गरि करिब ३० ओटा मखमली बँगैचा बनाइने तयारीमा रहेको किरण थापाले नेपाली टाइम्सलाई बताए ।

प्रारम्भिक खर्च करिब २ मिलियन जति लागे पनि यसले आफ्नो ५ वर्षको चक्र पूरा गर्दा प्रत्येक बगैचाले करिब ६ मिलियन भन्दा बढी आम्दानी जेनेरेट गर्ने उनको अपेक्षा छ । निर्माण पूरा भैसकेपछि प्रत्येक फार्मले वर्षमा १ लाख भन्दा बढी पर्यटकहरु भित्र्याउने, ग्लोबल सदस्यता तथा डिस्काउन्ट प्रणालीको सुरुवात गर्ने, प्रोमोटेड बाइ प्रपल लभ ब्रान्ड सहितका मखमली सम्बन्धि शोभिनियरहरु उत्पादन तथा बिक्रि गर्ने, बगैचालाई प्रमुख इभेन्ट सेलेब्रेट गर्ने केन्द्रको रुपमा निर्माण गर्दै जाने, फ्लावर क्याफे निर्माण गर्ने जस्ता बहुआयामिक योजनाहरु पाइपलाईन रहेको बताइएको छ ।

पर्पल लभ साम्राज्य निर्माण गर्ने अभियानको सुरुवातमा हाल क्यप्कनमा रहेको श्रोत र साधनलाई पूर्ण परिचालन गरिने छ । परियोजना एउटा ट्रयाकमा आइसकेपछि मात्र यसको फ्रान्चाइज र शेयर वितरण गर्ने योजना रहेको बताइएको छ ।

नेपालको नुवाकोट जिल्ला ढुंगे बजारमा जन्मे–हुर्केका किरण हाइ स्कूलसम्मको अध्ययन स्थानीय त्रिभुवन मा वि बाट गरि २०५९ सालमा त्रिभुवन बिश्वबिद्यालय पुल्चोक क्याम्पसबाट सिभिल इन्जीनियरिंग गरेका हुन् । अष्ट्रेलियामा उनको अवतरण पनि इन्जीनियरिंग सम्बन्धि अध्ययन सकेर नेपाल फर्कने नै थियो । तदनुसार सुरुमा उनले यूनिभर्सिटी अफ मेलबर्नबाट मास्टर अफ इन्जीनियरिंग डेभलपमेन्ट अध्ययन पूरा गरेका हुन् ।

आफ्नो इन्जीनियरिंग अध्ययन पूरा गरेपश्चात केहि समय काउन्सिलमा ट्राफिक इन्जीनियरको रुपमा काम गरेका किरण थापाको मन त्यहाँ रमाएन र उनी फाइनान्सको बिद्यार्थीको रुपमा यूनिभर्सिटी अध्ययन सुरु गरे । फाइनान्स र मोर्गेज व्यवसायका लागि २०११ मै क्याप्कन दर्ता गरे पनि २०१३ मा UTS  बाट फाइनान्समा पीएचडी सकेपछि पार्ट टाइम UTS र मक्वायारि यूनिभर्सिटीमा अध्यापन गर्दै फूल टाइम मोर्गेज ब्रोकिंगमा लागे । २०१३ देखि २०१७ सम्म आइपुग्दा क्यप्कनले करिब १६०० परिवारलाई अष्ट्रेलियामा घर किन्न फाइनान्स ब्रोकरको रुपमा सेवा प्रदान गरेको कुरा नेपाली टाइम्सलाई बताए ।

इन्जिनियरिंग पृष्ठभूमि भएको मानिस के ले तपाईँलाई फाइनान्स र मोर्गेज तिर आकर्षण भन्ने प्रसंगमा किरणको प्रतिक्रिया एस्तो थियो ।
“मेरो पृष्ठभूमि इन्जिनियरिंग भएता पनि मैले नेपालमै रहंदाखेरि नै इन्जिनियरिंग इकोनोमिक्स भन्ने बिषय करीब ३ वर्षजति अध्यापन गरेको थिएँ र त्यसै बिषयमा एउटा पुस्तक पनि लेख्न भ्याएको थिएँ। अष्ट्रेलिया आइपुगेपछि इन्जिनियरिंगमै काम गर्दा गर्दै पनि फाइनान्स सम्बन्धी बिषयमा मेरो रुचि थप बढ्न थाल्यो । सन् २००८/०९ तिरको ग्लोबल फाइनान्सियल क्राइसिसमा जतासुकै अर्थतन्त्र र फाइनान्सकै चर्चा चलेको देख्दा मलाई पनि यसै बिषयमा थप तिखार्ने चाहना तीब्र भयो । फलस्वरूप, मेलबर्नको बसाइलाई बीट मार्दै फाइनान्समै पी एच डी गर्ने उद्देश्यले स–परिवार २००९ मा सिड्नी आइयो । यहाँ आएर अध्ययन गर्दै गर्दा यसै बिषयसंग सम्बन्धित फाइनान्सियल सर्भिसेजको बिजिनेशमा हात हाल्ने निर्णय गरियो र नेपालीहरुको अष्ट्रेलियामा बसोबासको क्रमलाई हेर्दा घर किनबेच र त्यसको होम लोन मिलाउने बिषय टड्कारो आवश्यकता देखिएको र त्यसमा अवसर पनि देखिएको हुँदा क्याप्कन नामको कम्पनी दर्ता गराई मोर्टगेज ब्रोकिंग सेवा शुरु गरियो ।”

यसरी होमलोन साम्राज्य निर्माण गर्ने सपनादेखि फाइनान्समा बिद्याबारिधि गरि त्यता हाम फालेका एउटा युवा इन्जीनियर त्यहाँको नालीबेली र भविष्य बुझ्दा फाइनान्स साम्राज्यको सपना पूरा नहुने देखे । यसो हुनुमा फाइनान्स सेक्टरमा ठूलो सिन्डिकेट, कडा प्रतिष्पर्धा, कम्प्लाईन्स जस्ता थुप्रै लिमिटेशन रहेकोले उनी संधै कुनै यूनिक व्यवसाय गर्ने अवसरको खोजिमा निरन्तरता दिएका हुन् ।
फेसबुक, टिकटक जस्ता सामाजिक संजालदेखि प्रत्यक्ष भेटघाट, औपचारिक ट्रेनिङ, वर्कशप तथा प्रेरक बक्ताका रुपमा व्यवसाय सम्बन्धि थुप्रै नयाँ र सिर्जनशील विचारहरु पस्किने युवा व्यवसायी हुन् किरण थापा । नेपाल र अष्ट्रेलिया दुवै ठाउँ बाट इन्जिनियरिंग बिषयको अध्ययन सम्पन्न गरेको मानिस ले त्यसैमा करियर अवसर नखोजी छोटो समयमै ती दुवै डिग्री दराजमा थन्क्याएर फेरी फाइनान्समा पीएचडी तिर हाम फाल्नु सामान्य कुरा थिएन । छोटो समय मै फाइनान्सको विद्याबारिधिलाई पनि ओझेलमा पर्ने गरि फेरी मखमली माया ब्राण्ड तिर लागेका नेपाली किरण थापामा केहि नयाँ गरेर किर्ति राख्ने भोक अझै नमरेको देखिन्छ । उनका हरेका पाइलाहरुमा हाम्रो शुभकामना !