नेपाली विद्यार्थीहरुका लागि अष्ट्रेलिया पहिलो रोजाइमा परिरहेको छ : महेश दाहाल, नेपाली राजदूत, अष्ट्रेलिया

-- कृष्ण भट्टराई, नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, मंसिर ५, २०७६

अष्ट्रेलियाका लागि नवनियुक्त नेपाली राजदूत महेश दाहाल नोभेम्बर ९ का दिन अष्ट्रेलियाको राजधानी क्यानबेरा पुग्नु भएको छ । राजदूत दाहालले यही नोभेम्बर १३ का दिन क्यानबेरामा गभर्नरसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्दै हुनुहुन्छ । त्यसपछि मात्र दाहालले आधिकारिक रुपमा अष्ट्रेलियाका लागि नेपाली राजदूतको कार्यभार सम्हाल्नु हुनेछ । अष्ट्रेलियाका लागि नेपाली राजदुतावासले अष्ट्रेलियालगायत न्युजिल्यान्ड, पपुवा न्युगिनी र फिजी पनि हेर्दै आइरहेको छ ।

यसैबीच राजदूतको रुपमा कार्यभार सम्हाल्नका लागि अष्ट्रेलियातर्फ प्रस्थान गर्नुअघि महामहिम दाहालले द नेपाली टाइम्स अष्ट्रेलियाका नेपाल डेस्क प्रमुख कृष्ण भट्टराईसंग  गर्नु भएको कुराकानीका प्रमुख अंशहरु :

अष्ट्रेलियाको नेपाली समुदायका बारेमा के–कस्तो अध्ययन गर्नु भएको छ ?

अष्ट्रेलियाको नेपाली समुदायका बारेमा मैले त्यहीं पुगेपछि धेरै भन्दा धेरै जानकारी हासिल गर्ने योजना बनाएको छु । यद्यपि, मैले नेपालमै रहँदा के कुरा चाहिं राम्ररी बुझेको छु भने अष्ट्रेलियाको नेपाल समुदायका सम्पूर्ण सदस्यहरु अष्ट्रेलियामा धेरै जसो अध्ययनका शिलशिलामा पुग्नु भएको छ । उहाँहरुले उच्च शिक्षा हासिल गर्नका लागि मेहनत गरिरहनु भएको छ । उहाँले विभिन्न प्रकारका सपनाहरु बोकेर त्यहाँ पुग्नु भएको छ । त्यहाँ बसोबास गर्ने नेपालीहरु विभिन्न क्षेत्रमा कार्यहरु गरिरहनु भएको छ । त्यो बाहेक पनि नेपालको लागि चिन्ता र चिन्तन उहाँहरुले गरिरहनु भएको छ । व्यवसायिक क्षेत्रहरु देखि लिएर आफ्ना कार्यहरु देखि लिएर आफ्ना अध्ययनहरु देखि लिएर त्यहाँ बसोबास गर्ने नेपालीहरुको अवस्थालाई चाहिं हेर्नु पर्ने छ । अब सबैको अवस्था एकै नाशको हुने कुरा नै रहेन, अब त्यहाँ भएका नेपालीहरुको अवस्था राम्रो भएको भन्ने सुनेको छु । अधिकांश नेपालीहरु राम्ररी बस्नु भएको छ भन्ने सुनेको छु । म विगतमा दुई पटक अष्ट्रेलिया पुगेको थिएँ । एक पटक २०१५ मा अष्ट्रेलिया पुगेको थिएँ भने अर्को पटक २०१७ मा गएको थिएँ । त्यो बेला पनि मैले प्राय: सबैको अवस्था राम्रै पाएको थिएँ । कहिं कतैबाट नेपालीहरुले दु:ख पाएको अवस्था छ भने ती कुराहरुलाई चाहिं हामीले त्यहीं गएर हेर्नुपर्छ, संवाद गर्नु पर्छ, वार्ता गर्नु पर्छ । नेपालीहरुका समस्याहरुलाई समाधान गर्नु पर्छ । पक्कै पनि अष्ट्रेलियामा बस्ने नेपालीहरुले नेपाललाई असाध्य माया गर्नु हुन्छ । नेपाललाई कसरी चिनाउँ, नेपाललाई कसरी प्रमोट गरौं, नेपाललाई कसरी माथि उठाऔं भन्ने कुरालाई नै नेपालीहरुले सोचिरहनु भएको छ र चिन्तन गरिरहनु भएको छ । त्यसलाई कलेक्टिभ फण्डको रुपमा, कलेक्टिभ इफोर्टको रुपमा, कलेक्टिभ टिमवर्कको रुपमा, कलेक्टिभ मोभिलाइजेसनको रुपमा त्यसलाई रुपान्तरण गर्न सकियो भने समग्रमा हामी सबैले गरेको कामको इफोर्ट देखिनेछ भन्ने मलाई लागेको छ ।

अष्ट्रेलियाको नेपाली समुदायबाट कस्ता समस्या आउलान् भन्ने अपेक्षा गर्नु भएको छ ?

विशेषगरी हामीले पढेका, सुनेका कुराहरु नै मुख्य समस्या हुन् जस्तो लाग्छ । यद्यपि, म त्यहाँ गएर कार्यभार नसम्हालेसम्म, नेपाली समुदायमा नभिजेसम्म मैले काठमाडौंमै रहेर अष्ट्रेलियाको नेपाली समुदायको समस्याका बारेमा बोल्न मिल्दैन जस्तो लाग्छ । पहिलो कुरा त मैले त्यहाँ गएर काम थाल्नु पर्यो, त्यसपछि बल्ल समस्याहरु पहिचान गर्नु पर्‍यो । त्यसपछि ती समस्याहरुलाई कसरी समाधान गर्न सकिन्छ भन्नेतर्फ लाग्नु पर्छ । तर सबैभन्दा पहिला अर्थात राजदूतको कुर्सीमा बस्नु भन्दा पहिला यो समस्या रहेछ भनेर भन्नु भन्दा पनि विद्यमान वस्तुस्थितीलाई पहिला अध्ययन गर्नेछु । त्यसले के देखाउँछ भन्दा खासगरी त्यहाँ  भएका सामान्य समस्याहरु पनि थाहा हुन्छ, हामीले गर्नु पर्ने काम तथा क्रियाकलापहरुका बारेमा पनि थाहा हुन्छ । त्यसपछि मात्र कसरी अगाडि बढ्न सकिन्छ भन्ने कुराका बारेमा बताउन सकिन्छ । किनभने अहिले तत्काल यो समस्या रहेछ, म समाधान गर्न सक्छु भनेर कसरी भनौं ? यद्यपि, विद्यमान तपाई–हामीले सुन्दै आएका कुराहरुलाई के हो भन्ने कुराका वास्तविकता के हो भन्ने कुरा अध्ययन नगरी अहिले नै बोल्न अलि हतार गरे जस्तो हुन्छ ।

अष्ट्रेलियामा नेपालीहरुको आकर्षण किन बढेको होला ?

अष्ट्रेलिया नेपालीहरुको मात्र होइन संसारकै मान्छेहरुको गन्तब्य अथवा आकर्षणको केन्द्र बनेको छ । नेपालबाट पनि धेरै व्यक्तिहरु अष्ट्रेलिया पुग्नु भएको छ । त्यसमा पनि नेपाली विद्यार्थीहरुका लागि अष्ट्रेलिया अहिले पहिलो रोजाइमा परिरहेको छ । नेपाली विद्यार्थीहरुमाझ उच्च शिक्षाका लागि अष्ट्रेलिया नै जाने भन्ने एउटा लहर आएको छ । शिक्षासंग–संगै अष्ट्रेलियामा उपलब्ध नयाँ–नयाँ प्रविधिहरु, अवधारणहरुलाई लिउँ भन्ने चाहना हरेकको हुन सक्छ । यसबाहेक मोबिलिटी भन्ने कुरा अहिले विश्वव्यापी रुपमै चलेको छ । २१ औं शताब्दिको मुख्य लक्ष्य नै मोबिलिटी हो कि भन्ने परेको छ । शिक्षाका लागि, ज्ञानका लागि युवापुस्ताहरु आकर्षित हुने भएकाले पनि उच्च शिक्षाका लागि अष्ट्रेलिया नेपाली विद्यार्थीहरुको पनि आकर्षणको केन्द्र बनेको हुनुपर्छ ।

मोटिभेसनल स्पिकरको रुपमा आफ्नो करियरलाई कसरी विश्लेषण गर्नु हुन्छ ?

नेपालमा मैले एज अ स्पिकर, एज अ मोटिभेटर मैले चाहिं धेरै क्षेत्रमा काम गरेको छु । कन्सल्ट्यान्टको रुपमा पनि काम गरेको छु । परामर्शदाताको रुपमा काम गरेको छु । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ–संस्थाहरुबाट मैले पहिला काम गरेको थिएँ । त्यसक्रममा मैले धेरै वटा सेमिनार, ट्रेनिङ्ग, वर्कशपहरुमा सक्रिय सहभागिता जनाइसकेको छु । म यो क्षेत्रमा आकर्षित भएको चाहिं नेपाल जेसिसका कारणले हो । नेपाल जेसिस वन अफ द लिडरशिप डेभ्लप्मेन्ट अर्गनाइजेसन अर्थात नेतृत्व विकास गर्ने संस्था हो, त्यसमा आवद्ध भएँ । अर्को चाहिं वल्र्डवाइड फेडेरेसन अफ योङ लिडरसिप इन्टरप्रेनर भन्छ, त्यहाँ यूथहरुको डेभ्लप्मेन्ट लिडरशिपबाट हुन्छ भन्ने हुन्छ । त्यहाँबाट मैले आफूलाई लिडरशीपमा आफूलाई ग्रुमिङ गर्ने अवसर पाएको थिएँ । त्यसपछि मैले ट्रेनिङ्ग फिल्ड अपनाएँ । ट्रेनिङ्ग फिल्डमा लाग्दा विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय सहकार्य, बैंकिङ क्षेत्रहरु, विश्वविद्यालयहरु आदि विभिन्न क्षेत्रहरुमा मोटिभेटर तथा स्पिकरको रुपमा सहकार्य गर्ने अवसर पाएँ । मेरो मोटिभेसनको विषय चाहिं म्यानेज्मेन्ट अर्थात व्यवस्थापन थियो । व्यवस्थापनमा कसरी प्रभावकारिता ल्याउन सकिन्छ भन्ने कुरा मुख्य विषय थियो भने अर्कोकुरा सकारात्मक सोच तथा सिर्जनशिलतालाई कसरी विकसित गराउन सकिन्छ, असल नेतृत्वको विकास कसरी गर्न सकिन्छ तथा लाइफ–स्किलका सफ्ट टुल्सहरु के–के हुन सक्छन् भन्ने कुरामा मेरो ध्यान बढि हुन्थ्यो ।

प्रसंग बदलौं, तपाईं कस्तो स्वभावको व्यक्ति हुनुहुन्छ ?

म वास्वतमा निकै सोझो मान्छे हो । मान्छेलाई एकदमै सहयोग गरौं भन्ने चरित्र छ मेरो । त्यसपछि कुनै नयाँ कुरा देखें भने अलिकति मलाई अध्ययन गरौं भन्ने भावना जागृत हुन्छ । म अलि सिर्जनशील पनि छु, नयाँ कुरा सिकिहालौं, जानि हालौं जस्तो लाग्छ । नयाँ–नयाँ किताब देखें भनें पढि हालौं भन्ने स्वभावको मान्छे हुँ म ।

फुर्सदमा के गर्न मनपर्छ ?

पहिलो कुरा त मैले त्यति फुर्सद नै पाउँदिन । एउटा कुरा के छ भने म बढि जसो कार्यक्रमहरुमा व्यस्त हुन्छु, अलि अन्तरक्रियात्मक हुन्छु । एकदमै फुर्सद भयो भने म किताव बढ्छु । अलि धेरै नै फुर्सद छ भने कुनै नयाँ ठाउँ घुम्न मन पराउँछु ।

मनोरञ्जन कसरी गर्नु हुन्छ ?

म कहिलेकाहिं फिल्म हेर्न सिनेमा हलमा जान्छु ।

परिवारमा को–को  हुनुहुन्छ  ?

मेरो परिवारमा मेरो वुवा हुनुहुन्छ, आमा डेढ वर्षअघि स्वर्गीय हुनु भयो । हामी चार जना दाजुभाइ र एक जना बहिनी छिन् । चार जना दाजु–भाइको आ–आफ्नो परिवार हुने भैगयो । म परिवारको जेठो छोरा हुँ । म बुवा, श्रीमती र एक जना छोरासंग बस्छु । दुई जना भाइहरु चितवनमै बस्छन्, एउटा भाइ बेलायतमा छ । अहिले अष्ट्रेलियामा म बुवा, श्रीमती र छोरासहित आइपुगेको छु ।