नेपाल भ्रमण वर्ष २०२० शुरू

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, पुस १६, २०७६

 काठमाडौं– बहुप्रतिक्षित अभियान नेपाल भ्रमण वर्ष–२०२० आज जनवरी १ का दिनदेखि प्रारम्भ भएको छ । काठमाडौंको दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दिउँसो भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नुहुनेछ। सोही समयमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले पनि भ्रमण वर्षको शुभारम्भ गर्नुहुनेछ। राष्ट्रपतिबाट भ्रमण वर्षको औपचारिक शुभारम्भ भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्वागत मन्तव्य गर्ने कार्यक्रम रहेको छ। २० लाख बाह्य पर्यटक भित्याउने महत्वकांक्षी लक्ष्यसहित शुरू भएको यो अभियानको शुभारम्भ कार्यक्रममा सहभागी हुन विभिन्न मुलुकका पर्यटनमन्त्री तथा अन्य प्रतिनिधिहरू काठमाडौं आइपुग्दै हुनुहुन्छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले घर–घरमा दिपावली गरेर भ्रमण वर्षको शुभारम्भ गर्न आह्वान गर्नुभएको छ।