नेपाल समूह आजको अधिवेशनमा अनुपस्थित हुने

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, बैशाख २७, २०७८

काठमाडौं– नेकपा एमाले माधवकुमार नेपाल समूहका सांसद आजको प्रतिनिधिसभा बैठकमा अनुपस्थित हुने भएका छन् ।

सिंहदरबारस्थित संसद् भवनमा बसेको सो समूहको बैठकले प्रधानमन्त्री ओलीले संविधान मिचेर प्रतिनिधिसभाको विघटन गरेको, राजनीतिक दललाई विभाजन गराउन खोजेको र भ्रष्टाचारलाई बढावा दिएको आरोप लगाउँदै विश्वासको मत नदिने निर्णय गरेको हो ।

विश्वासको मत लिने एक दिन अगाडि अध्यादेशबाट संवैधानिक अङ्गमा नियुक्ति गरेको तथा लोकतन्त्रलाई कमजोर तुल्याएको आरोप लगाउँदै आफूहरुले उहाँलाई विश्वासको मत दिनुहुन्न भन्ने निर्णय गरेको र उहाँ प्रधानमन्त्रीबाट हट्नुपर्छ भन्ने माग गरेको नेता भीमबहादुर रावलले जानकारी दिनुभयो ।

उक्त समूहमा २२ जना प्रतिनिधिसभा सदस्य रहेको जनाइएको छ ।

उता, नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा प्रधानमन्त्रीका पक्षमा मतदान गर्न दलका तर्फबाट पुनः आग्रह गर्नु भएको छ ।

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज अपराह्न १ बजेदेखि प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दै छ ।

उहाँले आज बिहान ट्वीट गर्दै यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने भएकाले हतारोमा कुनै अनुचित निर्णयमा जान वाञ्छनीय नहुनेमा सबै सांसदको ध्यानाकर्षण गराउनुभएको छ ।

‘आउनुस्, केही समस्या भए सँगै बसौंँ, छलफल गरौं र समाधान गरौं’, प्रधानमन्त्री ओलीको ट्वीटमा भनिएको छ ।