बंगलादेशमा पुष्पालाई स्वर्ण

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, माघ १२, २०७७

बंगलादेशमा सम्पन्न बंगबन्धु शेख मुजिब म्याराथनमा नेपालकी पुष्पा भण्डारीले स्वर्ण पदक जितेकी छिन् । भण्डारीले भारतीय खेलाडीलाई उछिन्दै स्वर्ण पदक जित्न सफल भएकी हुन् । ढाकामा जनवरी १० मा भएको दक्षिण एशियाली क्षेत्रको म्याराथनमा पुष्पाले निर्धारित दूरी दुई घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक प्राप्त गरेकी हुन् । प्रतिस्पर्धामा भारतकी ज्योति गवातीले रजत पदक प्राप्त गरेकी छिन् । ज्योतीले तीन घण्टा ४६ सेकेण्डमा  निर्धारित दूरी पूरा गरेकी थिइन् । उक्त प्रतियोगितामा भारतकै गिगमत डोल्माले तीन घण्टा नौ मिनेटमा निर्धारित दूरी पूरा गर्दै तेस्रो भएकी छिन् । गत वर्ष नेपालमै सम्पन्न १३औं दक्षिण एशियाली खेलकूद (साग) मा भण्डारीले म्याराथनमा रजत पदक मात्र प्राप्त गरेकी थिइन् । भण्डारी विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा आवद्ध रहेकी छिन् । पुरुष म्याराथनमा नेपालका किरणसिंह बोगटी चौथो भए । बोगटीले निर्धारित दूरी दुई घण्टा २४ मिनेट १३ सेकेण्डमा पूरा गरे । उनले १३औं सागमा भने म्याराथनमा स्वर्ण जितेका थिए । उक्त स्पर्धामा भारतका बहादुर सिंहले निर्धारित दूरी दुई घण्टा २१ मिनेट ४० सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जिते । भारतकै राजपाल सिंह दुई घण्टा २१ मिनेट ४१ सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो तथा भारतकै रवि प्रकाश दुई घण्टा २५ मिनेट २३ सेकेण्डको समयमा दौड पूरा गर्दै तेस्रो भए ।