राजनीतिमा नैतिकता

-- सम्पादकीय सेप्टेम्बर अंक २०१८ / प्रकाशित मिति : बिहिबार, भदौ २१, २०७५

राजनीति आँफैमा नराम्रो हुँदै होइन, त्यसमा पनि कुनै पनि देशको नीति निर्माण होस् या प्रबिधि बिकास त्यो नितान्त त्यो देशको राजनीति वा त्यहाँका राजनीतिज्ञमा भर पर्छ । त्यति हुँदा हुँदै पनि राजनीतिबाट वाक्क र दिक्क हुने कुनै देशको कुनै पुस्ताको उदाहरण दिनु परेमा निर्धक्क हाम्रो पुस्ताको उदाहरण दिँदा हुन्छ । नेपालको अस्थिर राजनीति बाहेक अरु कहिल्यै केहि नदेखेको यो पुस्ताले संधै बन्द, हड्ताल, आन्दोलन र फेरि पनि आन्दोलन भन्दा अरु केहि देख्न पाएन । आजको दिनमा विदेशिनेमा यहि पुस्ताको बाहुल्यता छ, देश विदेश देखेको होस् या प्रबिधिले संसार छिचोलेको यो पुस्तामा देशका राजनीतिज्ञ प्रति देखिने एक किसिमको तिक्तता भनेको तिनमा हुने नैतिकताको कमी नै हो ।
राजनीतिज्ञहरू भनेका राज्य सत्ता चलाउने बाहेक युवा पुस्ताका लागि मार्गदर्शक पनि हुन सक्नु पर्दछ, तब न उनीहरू माथि युवाहरूको बिश्वास चुलिन्छ । बिडम्बना हाम्रो जन्मभूमिमा त्यस्तो अनुभब बिरलै गर्न पाएको र अष्ट्रेलियालाई कर्मभूमि रोजेका हामी नेपालीहरूले यहाँ भने बिल्कुलै फरक खालका अनुभब बटुल्न पाएका छौं । राजनीतिमा आँफू माथि पर्न हुने जोड घटाउ यहाँ पनि नभएका होइनन् तै पनि यहाँ सबै आ–आफ्नो नैतिकतामा अडेका छन् । त्यसैले पनि नेतृत्व तहमा आउने फरक अनुहारले न त यहाँको प्रशासन संयन्त्र न त अरु कुनै राष्ट्रिय नीतिमा नै कुनै बदलाव आउंँछ ।
गएको केहि हप्ता अष्ट्रेलियन राजनीति यस्तै सत्ता केन्द्रित भयो, त्यो पनि सत्तासिन पार्टी भित्रैको खिचातानीमा । पहिलो पटकको आफूमाथिको नेतृत्वको चुनौतीलाई पार लगाएका पार्टीका नेता र देश कै प्रधानमन्त्री रहेका माल्कम टर्नबुलले पुनः केहि दिन मै आएको दोश्रो राजनीतिक चुनौतीबाट भने आँफै छेउ लागे या गणितीय हिसाबले आँफू पार्टी भित्रै बहुमतमा नरहेको अड्कल पहिल्यै निकाले । यी प्रकृयाहरू यति सहज, सरल र छरितो तरिकाले भए कि यसले हामी जस्तो राजनीतिक दलदलबाट आएकाहरूलाई अचम्म मात्र लागेन यसरी पनि राजनीतिको टा«नजिसनले निकास निस्किदो रहेछ भनेर आवाक बनायो ।
त्यसो त अष्ट्रेलियामा नागरिकले निर्वाचन प्रकृया भाग लिनै पर्छ नलिएमा जरिबाना हुने कानुनी व्यबस्था छ । त्यसैले पनि धेरै अष्ट्रेलियनहरू निर्वाचन प्रकृयामा सहभागी हुनु या कुनै राजनीतिक दल र नेताको समर्थन या बिरोध गर्न भन्दा पनि जरिबानाबाट उम्कन या भोटर लिस्टबाट आफ्नो नाम काट्न निर्बाचनमा भोट हाल्न पुग्छन । त्यसो भन्दै गर्दा उनीहरूले कुनै एक पार्टी त्यसले बोकेको एजेन्डा र कसले ति एजेन्डालाई नीतिगत रुपमा नेतृत्व गर्दैछ भन्ने कुरा पनि धेरैले हेक्का राखेका हुन्छन् । त्यसैले पनि पार्टी र एजेन्डा बाहेक कसको नेतृत्व वा नेताको हो भन्ने कुराले पनि धेरै अष्ट्रेलियनलाई तानेको हुन्छ । गत निर्बाचनमा हालको सत्तासिन पार्टीले निबर्तमान प्रधानमन्त्री माल्कम टर्नबुललाई भाबी प्रधानमन्त्रीको रुपमा अगाडि सरेको थियो, सरकार पनि बनायो । संसदीय प्रणालीमा संसदीय दलभित्र बहुमतको प्राक्टिस हुनु स्वाभाविक भए पनि अहिलेको सत्तासीन पार्टीलाई जनताले भोट दिएको देशको प्रधानमन्त्री माल्कम टर्नबुललाई रोजेर हो । त्यस हिसाबले पनि आहिलेको प्रधानमन्त्री परिबर्तनलाई धेरै अष्ट्रेलियनहरूले असहज नै लिए । अर्कोतिर यो बीचमा सहजताबीच असहज देखिने प्रयोग भए जस्तो कि निबर्तमान प्रधानमन्त्रीलाई चुनौती दिने नेता पिटर डट्टनको चुनौती पहिलो पटक स्वीकार गरे केहि दिनको अन्तरमा फेरि दोश्रो पटक चुनौतीको लागि तयारी हुनुपर्ने भयो तर यस पटक भने उनी रेशबाट नै बाहिरिए र देशले बिल्कुलै नयाँ प्रधानमन्त्री अझ भनौं मुख्य दाबेदारभन्दा फरक तेश्रो व्यक्ति स्कट मरिसनलाई प्रधानमन्त्रीको रुपमा पायो ।
सहज पद छोडेका निबर्तमान प्रधानमन्त्री टर्नबुलले प्रधानमन्त्री र पार्टी नेताको पद मात्रै छोडेनन् केहि दिनमै राजनीतिकबाट पूर्ण रुपमा बिश्राम लिने घोषणा पनि गरे । राजनीतिलाई जागिर सम्झने र मृत्यु शैयामा पुग्दासम्म पनि पद ओगट्ने हाम्रो देशका नेताहरू लाई हेर्दा यी कुराहरू अचम्म लागे पनि अष्ट्रेलियाको हकमा सामान्य जस्तै देखिन्छ । यस अगाडि पनि यस्तै खाले घटनाबाट लेबर पार्टीका नेता तथा तत्कालिन प्रधानमन्त्री केभिन रड राजनीतिबाटै हराए, त्यसै गरि अन्य धेरै नेताहरू छन् जो सानो–सानो तर नैतिकताका प्रश्न आउने कुरामा राष्ट्रिय राजनीति होस् वा प्रान्तिय राजनीति होस् चटक्क छोडेर आँफू पछिका लाई अवसर दिएका छन् । राजनीति भनेको जागिर होइन यो समाज सेवा र राष्ट्र भक्तिको उपज हो त्यसैले राजनीतिमा उतार चढाव हुनु सवाभाबिक नै हो, यस्ता उतार चढावमा नैतिकवान भएर राजनीतिक दूरदर्शिता देखाउने कुनै पनि राजनीतिज्ञहरू केहि समयका लागि गुमनाम जस्तो देखिए पनि कालन्तरमा सत्पात्रको रुपमा सबैले सम्झी रहनेछन् र धेरैका लागि मार्ग दर्शक बनि रहनेछन् ।