विदेशमा दुई सातामा १३ नेपालीको निधन

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, जेष्ठ २४, २०७८

लण्डन– विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरसका कारण गत दुई सातमा विदेशमा थप १३ जना नेपालीको निधन भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाका अनुसार अनुसार साउदी अरबमा ७ जना, भारतमा ५, कतारमा १ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो ।

संघले संकलन गरेको तथ्यांक अनुसार भारत सहित विश्वभर २८ मुलुकमा रहेका ४ सय ३५ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा १ लाख १० हजार १ सय ९६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

ती मध्ये १ लाख ६ हजार ८ सय २३ हजार नेपाली कोरोनामुक्त भएका छन् ।

हालसम्म विदेशमा कोरोना संक्रमणबाट ९३ प्रतिशत नेपाली मुक्त भएका छन् ।

संघका अनुसार विगत दुई सातामा भारत, माल्दिभ्स्, साउदी अबर, कतार लगायतका देशमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ ।

गैरआवासीय नेपाली संघले विगत कोरोना भाइरसको महामारी सुरु भएदेखि विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, संघसंस्था र संघका शाखाद्धारा प्राप्त सूचनाका आधारमा तथ्यांक संकलन गर्दै आएको छ ।

डा. सागर पौडेल (भारत), डा. नितेश शर्मा (मध्य पूर्व), डा. बोधराज सुवेदी (युरोप), डा. रुपक श्री (माल्दिभ्स) लगायत विश्वभर २ सय जना चिकित्सकहरुले तथ्यांक संकलनमा सहयोग गरिरहेका छन् ।

यसैबीच समितिले जारी गरेको स्वास्थ्य निर्देशिकालाई अनुशरण गर्न पनि अनुरोध गरिएको छ ।

यस्तै संक्रमणबाट बच्नका लागि खोप मात्रै अचुक उपाय साबित भइरहेको छ ।

तर सबैको पहुँचमा खोप पुगिरहेको अवस्था छैन ।

यस्तोमा एउटै कम्पनीबाट विभिन्न मुलुकमा विकास गरिएका खोपहरुको प्रयोग पनि गर्न सकिने तथ्य आइरहेका छन् ।

यसर्थ पनि तत्काल खोपको सुनिश्चितता गरी खोपको पहुँच स्थापित गर्नेतर्फ पनि लाग्नुपर्ने समितिले सुझाएको छ ।

अनुरोध

पछिल्लो समय बालबालिकामा कोरोना संक्रमणको जोखिम अत्याधिक देखिएको र स्वास्थ्य विज्ञहरुले पनि नेपालमा तेस्रो र चौथो लहरको चेतावनी दिइरहेका छन् ।

नेपालमा ८ दशमलव ८ प्रतिशत बालबालिकामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

यसर्थ पनि बालबालिकाको स्वास्थ्य संकट बढ्दो छ ।

त्यसैले सम्पूर्ण अभिभावकहरुलाई आफू संक्रमणबाट बच्न हरसम्भव स्वास्थ्य सावधानी अपनाउन अनुरोध गर्दछौँ ।

हालसम्म अमेरिकामा (फाइजरको खोप, १२ देखि १५ वर्षसम्मका लागि) मात्रै बालबालिकाका लागि खोपको आकस्मिक प्रयोगको अनुमति दिइएको छ ।

र बालबालिकाको लागि खोपको प्रभावकारिताको विषय अध्ययनकै क्रममा छ ।

त्यसैले उच्च स्वास्थ्य सावधानी अपनाउनुको विकल्प छैन ।

अभिभावक आफू बच्ने र आफ्ना सन्तानलाई जोगाउन सचेत हुन समिति अनुरोध गर्दछ ।