विभिन्न फिल्मका लागि अडिसन हुँदै

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, चैत्र ९, २०७७

नेपालमा कोरोनाको संक्रमणको दर घटेसंगै नेपाली फिल्म क्षेत्र चलायमान हुन थालेको छ । बिस्तारै नेपाली फिल्मको निर्माणले गति लिन थालेको छ । झण्डै १० महिना सुस्त रहेको फिल्म क्षेत्र सक्रिय हुने प्रयासमा छ । फिल्मको निर्माणले गति लिन थालेसंगै नयाँ–नयाँ फिल्मका लागि कलाकारको खोजि समेत हुन थालेको छ । त्यसका लागि फिल्म निर्माण गर्ने संस्थाले धमाधम अडिसन सञ्चालन गर्दैछन् । नयाँ नेपाली फिल्म ‘सत्यम’ को निर्माण समुहले झण्डै एक दर्जन कलाकारका लागि देशव्यापी अडिसन गर्‍यो । दक्षिण भारतीय फिल्म ‘अर्जुन रेड्डी’ को नेपाली रिमेकका लागि मुख्य भूमिकादेखि सहायक भूमिकासम्ममा अडिसन आह्वान गरिएको छ । यो फिल्ममार्फत नयाँ अभिनेता–अभिनेत्रीले आफ्नो अभिनय यात्रा प्रारम्भ गर्ने निश्चित छ । निर्देशक दिनेश राउतको फिल्म ‘प्रकाश’ का लागि पनि अडिसनको आह्वान गरिएको थियो । अडिसनबाटै छनोट भएकी रेनु योगीले अभिनेता प्रदीप खड्कासंग अभिनय गर्ने पक्का भैसकेको छ । प्रवेश पौडेलको निर्देशनमा बन्न लागेको नयाँ नेपाली फिल्म ‘बिहे पास’ का लागि पनि कलाकारको खोजी भएको छ । फिल्मका मुख्य भूमिकामा दयाहाङ राई र प्रकृती श्रेष्ठ भए पनि अन्य कलाकारका लागि अडिसन आह्वान गरिएको हो ।