सन्तुलित बैदेशिक नीति अबको हाम्रो आवश्यकता

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, असार २१, २०७५

‘तिमी साथी रोज्न सक्छौ तर छिमेकी रोज्न सक्दैनौ’ यो प्रसिद्द चिनिया युक्ति हो यो, यसको मतलब साथीसँग मन मुटाब भए अर्को साथी बनाऊँला तर छिमेकी हामीले नफेर्न सक्छौं न छान्न सक्छौं । जुन धेरै मानेमा हामी संग मिल्छ, त्यसो त पहिला आफ्नो थैलोको मुख बलियो पार्नु अनि मात्र अरुलाई दोष लगाउनु भन्ने हाम्रो पुरानो उखान पनि छ । त्यसैले पनि आफ्नो घर शान्त हुँदै जाँदा र आँफू प्रष्ट दृष्टिकोणमा उभिने हो भने छिमेकीको रबैया पनि पक्कै सहज हुदै जानेछ । पक्कै पनि देश विकास, शान्ति र दिगो पूर्वाधारहरुका लागि असल छिमेकीको ठूलो भूमिका हुन्छ । उत्तरतिरको भौगोलिक विषमता र भारत वर्षका अनेकौ धर्म युद्द र साम्राज्य विस्तारका युद्दहरुबाट खारिएर सदियौंदेखि स्वतन्त्र राष्ट्रको पहिचान बनाएर बसेको देश हो नेपाल । इतिहासकारहरु ले हुन या धूर्त राजनीतिज्ञहरु र सामाजिक अभियान्ताहरुले समय सुहाउदो यसलाई विविध परिभाषा दिए कसैले दुई ढुंगाबीचको तरुल भने, कसैले दुइ देश बीचको सम्भाव्यताको सूचक माने । जसले जे भने पनि प्रष्ट छ नेपालका छिमेकी यी दुवै राष्ट्रहरु एसियामा मात्रै होइन पुरै ग्लोबमा प्रबिधि र बिकासका दृष्टिकोणले शसक्त र जबरजस्त पहिचान भएका महाराष्ट्रहरु हुन् । त्यसैले जसरी हाम्रो लागि यो सम्बन्ध बिशेष छ त्यसै गरि शान्ति, सुरक्षा र सम्मुन्नत कुटटनीतिकको लागि दुवै देशलाई हामी संगको सम्बन्ध उत्तिकै महत्वपूर्ण छ ।

नेपालको संबिधान लागु भएर भएको पहिलो निर्बाचनमा अत्याधिक बहुमत सहित प्रधानमन्त्री बनेका के पी ओलीले कार्यभार सम्हाले पछाडि पुरानो परम्परालाई धान्दै यी दुवै देशको भ्रमण गरिसकेका छन् । भूकम्पको मार लगतै संबिधान घोषणा पछि भारतले गरेको अघोषित नाकाबन्दी, नेपालले भूपरिबेष्ठित हुनको कारणले चुकाउन परेको ठूलो मुल्य त्यसबेला यिनै मुद्दामा टेकेर निक्कै राष्ट्रबादी बनेका कम्युनिष्ट नेता दोश्रो पटक कार्यकारी हुँदै गर्दा फेरि बगे्रल्ती हल्लाहरु बजारमा छन् । यति बेलाको नेपालको बिकास भनेको साना साना खुसी टुक्रिएका खुसीहरुलाई बस जोडेर राख्ने हो । कम्तिमा हामी २४ घण्टा बिजुली बाल्न पाइरहूँ, प्रत्येक जिल्लामा कम्तिमा एउटा राम्रो सरकारी अस्पताल होस्, धुवाँ धुलोको कुरा गर्नु नपरोस्, खानेपानी र इन्धनका समस्याको कुरा गर्नु नपरोस् । बस यिनै हुन् जब यी कुराहरु बिस्तारै पूरा हुन्छन अनि फेरि रेल पानी जहाजका कुराहरु गरुँला ।
भौगोलिक रुपमा र सांस्कृतिक हिसाबले नेपालको सम्बन्ध भारतसँग संधै बिशेष रह्यो । यो सम्बन्ध फेरि पनि हजारौं बर्षदेखि स्थापित हुँदै यहाँसम्म आएको हो त्यसैले यो त्यति सहज धरमराउन सक्दैन । त्यसो भनेर हाम्रा सम्भाव्यतालाई नजर अन्दाज गरेर हामी यहि सम्बन्धका कारण संधै ‘यस म्यान’ हुन सक्दैनौ । हामीसँग भएका अथाह प्राकृतिक श्रोत यो वा त्यो विषम सन्धि र सम्झौताले संधै बाँधिनु पर्ने अनि सस्तोमा धान बेचेर महंगोमा चामल किन्नु पर्ने बिडम्बना हामीले नाकाबन्दी ताका भोग्यौं । अर्को तर्फ त्यसो भन्दैमा नेपालीले आफ्नो राष्ट्रवाद वा देशभक्तिको आधार भारतको विरोधलाई बनाउनु पर्छ भन्ने सोच नितान्त गलत हो ।
किनकि भारतको विकल्प चीन हुन सक्दैन भने नेपाललाई चीनबाट हासिल हुन सक्ने साथ, सहयोग र उपलब्धि भारतले चाहेर पनि प्रदान गर्न सक्दैन । नेपालका आफ्ना प्रमुख दुई छिमेकीसँगको सम्बन्धको मूल कडी यही नै भएकोले कुनै एक छिमेकीप्रति जबर्जस्ती नकारात्मक या अस्वाभाविक किसिमले सकारात्मक बनेर प्रकट हुन खोज्नुको कुनै अर्थ रहँदैन । अर्को तिर नेपाललाई सामरिक महत्वको अत्यन्त संवेदनशील देश ठान्ने चीन, जो आर्थिक प्रगतिको दबदबाका कारण विश्वभर छाइरहेको छ र विश्वकै नेतृत्व लिन अग्रसर रहेको छनक दिँदै छ, उसले चाहने हो भने नेपालमा धेरै हुन सक्छ भन्ने धारणा आँफैमा गलत होइन । हामीले त दुवै देशसँग राजनीतिक र आर्थिक सहकार्यका भिन्ना भिन्नै मापदण्ड तयार पार्न सक्नु पर्दछ । चीनसँग आर्थिक सहकार्यका जुन चरणहरु सिर्जना हुदैछन्, हाम्रो उन्नतिको लागि सुखद संकेत पनि हुन् । हाम्रा निम्ति दुवै मुलुक उत्तिकै महत्वपूर्ण छन् र हामी दुवै सँग मित्रताको हात बराबरी बढाउछाैं भन्ने भावनाको सञ्चार गर्न सक्नुपर्दछ यसको लागि हाम्रा परराष्ट्र नीति सन्तुलित हुनु एकदमै जरुरी छ र यिनीहरु कुनै सरकार बिशेष या पार्टी बिशेष भन्दा माथि उठ्नु जरुरि छ ।
आशा गरांै छिमेकी सहयात्री हुन् भन्ने बिश्वास हाम्रो छिमेकीले पनि लिइदियोस्, संगै यात्रा गर्दा गन्तब्यमा पुगिन्छ र बाटाका समस्या सहज हुन्छन् भन्ने उसले पनि बुझोस् । छिमेकी असल छन् भनेर दैलो खुल्लै छोडेर हिड्दा हामीलाई पनि संकोच नहोस् । अन्त्यमा हाम्रा विदेश नीतिहरु नेपाली मनले एकरुपताका साथ आँफै प्रतिरक्षात्मक हुदैनन् तबसम्म हामीमा प्रहार भइ रहन्छन्, आफ्नो अनुकुल थपडी बजाउन भन्ने दुवैको चाहना भइरहनेछ ।