सामुहिक प्रयासको खाँचो

-- प्रकाशकीय जनवरी अंक २०१९, नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, पुस ३०, २०७५

२०१८ लाई बिदाइ गर्दै गर्दा नेपाली चेली स्मृति आले मगर र अर्का युवा निश्चल घिमिरेले हामीलाई छाडेर गएका छन् । यी दुवै घटना सामान्य होइनन् । गत वर्ष मात्रै दर्जनौ यस्ता घटनाहरू घटे जुन यसका पछाडि धेरै कारण होलान्, त्यसको खोज तलास र निराकरणको बारेमा बहस हाम्रो समाज र यहाँका आधिकारिक सरकारी र गैर सरकारी निकायहरूमा चलिरहला । तर हाम्रो सानो समुदाय र त्यसमा पनि यौटा उज्यालो भविष्यको परिकल्पना गरि बाबु आमाको काख छोडेर हजारौं उकाली ओरालीसंग जुवारी खेल्दै यो अवसरको भूमिमा ओर्लेका हाम्रा नवजवानहरू अनयास यस्ता भवितब्यहरू संग हारेर यो बिरानो मुलुकबाट कहिल्यै मातृभूमि नफर्कने गरि बिलिन हुनु परेको नियतिले हरेक नेपालीको मन दुखेको छ ।

“मर्ने कसैको रहर हुँदैन तर मान्छे नमरेको प्रहर हुँदैन”, हो हामी संग दैवी प्रकोपलाई रोक्ने कुनै सामथ्र्य छैन । माथि घटेका दुई घटनाहरू बिल्कुल फरक प्रकृतिका छन् र दैबी प्रकोप संग सम्बन्धित पनि छैनन् ।

सानो र छुट्टै भौगोलिक सामाजिक आर्थिक परिवेस भएको नेपालबाट ठूलो संख्यामा अष्ट्रेलिया झरेका नेपालीहरूको समूह बिशेष गरि तीन प्रकारका समस्याहरू बाट आक्रमित र संक्रमित छ । ती हुन् नयाँ ठाउँमा आँफुलार्ई आर्थिक र सामाजिक समायोजन गर्न नसकी उत्पन्न मानसिक समस्या, दोश्रो अपरिपक्व उमेरमा प्राप्त चाहिने भन्दा बढी स्वतन्त्रता जसले उनीहरू लाई सजिलै दूव्र्यसनी जस्ता कुलततिर आकर्षण र तेश्रो भू–परिबेष्ठित मुलुकबाट सिधै चारैतिर समुन्द्रले घेरिएको समुन्द्र–संस्कार भएको मुलुकमा गृष्म ऋतु, अष्ट्रेलियन जीवनशैली र समुन्द्र यहाँका मानिसहरूको सम्बन्ध ।

माथिका तीनै कारणहरूलाई सम्बोधन गर्दै नयाँ वातावरण संग समायोजन गर्ने उचित संयन्त्रको अभावमा सुनौलो भबिष्यको सपना बोकेर झरेका थुप्रै किशोर किशोरीहरू भगवान भरोसा दिन काट्न बाध्य भएका हुन् अष्ट्रेलियामा । अष्ट्रेलियन अर्थतन्त्रको तेश्रो ठूलो हिस्सा बोकेको अन्तराष्ट्रिय विद्यार्थी भएकाले सम्बन्धित सरकारी निकाय पनि यस्ता घटनाहरू बाट चिन्तित र न्यूनीकरणका लागि क्रियाशील देखिन्छ । यस्ता घटनाहरूमा कहिँ न कहिँ कसै न कसैबाट संबेदनहिनता, उदासिनता, लापरवाही र हेलचेक्र्याईंले काम गरेको हुन सक्छ । नयाँ विद्यार्थीहरू नै बढी यस्ता घटनाका शिकार बन्ने गरेका छन् । विद्यार्थीहरू अष्ट्रेलिया आउने पहिलो सम्पर्क भनेको शैक्षिक परामर्शदाताहरू हुन् अष्ट्रेलियामा बसेर बिशेष गरि नेपाललाई नै केन्द्रबिन्दु बनाइ संचालित परामर्शदाताहरू ले यस्ता दूर्घटनाहरू न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सक्छन् । त्यसै गरि यहाँ आइसकेपछि आफ्ना पुराना साथीभाइहरू र आफन्त तथा सम्बन्धित शैक्षिक संस्थाहरूले नयाँ वातावरणमा अपनाउनु पर्ने होशियारी बारे बुझाउन सके माथि उल्लेखित समस्याबाट केहि हदसम्म बच्न सकिन्छ । प्रवासमा हाम्रा नव आगन्तुक विद्यार्थी भाइबहिनीहरू लाई अकालमा ज्यान जानबाट बचाउन एनआरएनए अष्ट्रेलिया, सामुदायिक संघ संस्थाहरू, व्यवसायिक प्रतिष्ठानहरू, सरकारी तथा गैर सरकारी संघ संस्थाहरू, नेपाली कुटनीतिक नियोगहरू तथा संचार मध्यमहरू सबै मिलेर सामुहिक प्रयास गरौं । आगामी वर्ष २०१९ हामी सबैका लागि सुखद होस् ।

धन्यवाद

प्रकाशक