सोफियाको नेपाल यात्रा

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : आइतवार, बैशाख २३, २०७५

साउदी अरेबियाकी नागरिक रोबोट सोफिया मार्च २१ का दिन नेपाल पुगिन् । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले आयोजना गरेको एक कार्यक्रममा सहभागिताका लागि सोफिया नेपाल पुगेकी हुन् । विज्ञान तथा प्रविधिको विकासले देश विकासमा पु‍र्याउने भूमिकाबारे उक्त कार्यक्रम केन्द्रित रहेको थियो । हङकङको ह्यान्सन कम्पनीले बनाएको उक्त रोबोटलाई साउदी अरेबियाले नागरिकता प्रदान गरेको छ । रोबोट सोफियाले आमा बन्ने चाहना समेत व्यक्त गरिसकेकी छिन् । कुनै पनि देशको नागरिक बन्ने उनको चाहनालाई साउदी अरेबियाले केही समय अगाडिमात्रै पूरा गरेको थियो । काठमाडौंमा आयोजित कार्यक्रममा सहभागि सोफियाले थुप्रै नेपालीसंग अन्तरक्रिया गरेकी थिइन् । सोफियालाई विकास कार्यक्रमहरूमा चुस्त सेवा प्रदान गर्न प्रविधिको प्रयोगले महत्वपूर्ण योगदान दिने कुरा झल्काउन यूएनडीपीले नेपाल ल्याएको बताइन्छ । काठमाडौंको होटल याक एन्ड यतिमा आयोजित सम्मेलनलाई मुख्य वक्ताका रूपमा सोफियाले सम्बोधन गरेकी थिइन् । त्यसक्रममा सोफियाले त्यहाँ सोधिएका विभिन्न प्रश्नको उत्तरसमेत दिएकी थिइन् । सोफियाले नेपालले प्रविधिका क्षेत्रमा राम्रै प्रगति गरेकाले आगामी दिनमा प्रविधिलाई सही तरिकाले अवलम्बन गरे नेपालले विकासको क्षेत्रमा ठूलो फड्को मार्ने विश्वास आफूमा भएको कुरा बताएकी थिइन् ।