९ वर्षमा सबैभन्दा कम बिक्यो सामसुङको मोबाइल

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, माघ २२, २०७७

दक्षिण कोरियाली कम्पनी सामसुङले सन् २०२० मा ३० करोडभन्दा कम मोबाइल फोन बिक्री गरेको छ । रिपोर्टअनुसार यो संख्या पछिल्लो ९ वर्षमा सबैभन्दा कम हो । कोरोना भाइरस महामारीका कारण सामसुङको मोबाइल फोन बिक्री सन् २०११ यता पहिलोपटक ३० करोडभन्दा तल झरेको रिपोर्टमा उल्लेख छ । यद्यपि कम्पनीले यो अवस्थालाई आगामी वर्ष सन् २०२१ मा उल्टाउन चाहन्छ । सन् २०२१ मा सामसुङले ३० करोड ७० लाख मोबाइल फोन बिक्री गर्ने लक्ष्य बनाएको छ । त्यसमध्ये २८ करोड ७० लाख स्मार्टफोन हुनेछन् भने बाँकी फिचर फोन रहनेछन् । दक्षिण कोरियाको इटी न्यूजले प्रकाशित गरेको रिपोर्टअनुसार सन् २०२१ मा सामसुङले आफ्ना  मोबाइल फोनको बिक्रीमा २१ प्रतिशतले बढोत्तरी गर्ने लक्ष्य राखेको छ । तथ्यांकअनुसार सन् २०२० को तेश्रो त्रैमासिकसम्ममा १८ करोड ९४ लाख वटा मोबाइल फोन बिक्री गरेको थियो । र, वर्षको अन्त्यसम्ममा कुल २७ करोड मोबाइल फोन बेच्ने प्रक्षेपण गरेको छ । सामसुङले आगामी वर्षका लागि फाइभ जी स्मार्टफोनमा आफ्नो ध्यान केन्द्रित गर्दै मध्यम तथा न्यून मूल्यका मोबाइल फोनको बिक्री बढाउने उद्धेश्य राखेको छ । २०२१ मा कम्पनीले ४ करोड ९८ लाख वटा ग्यालेक्सी ए २१ तथा फोल्डेबल लगायतका फ्लागसीप स्मार्टफोन उत्पादन गर्ने योजना बनाएको छ ।