टेरेसालाई सन्तको उपाधि

-- / प्रकाशित मिति : शुक्रबार, चैत्र २६, २०७२

भारतको कलकत्तालाई मुख्य स्थान बनाइ दु:खी गरिवको सेवामा संलग्न रोमन क्याथोलिक नन मदर टेरेसालाई रोमका पोप फ्रान्सिसले सन्त घोषित गर्ने भएका छन् । उनले स्थापना गरेको च्यारिटीअन्तर्गत १९ वटा बाल तथा वृद्धाश्रम सञ्चालन भइरहेका छन् । उनले १९७९ मा नोबेल शान्ति पुरस्कार पाएकी थिइन् । सन् १९१० मा अल्बानियामा जन्मिएकी उनको १९९७ मा ८७ वर्षको उमेरमा देहान्त भएको थियो । उनलाई सन् २००३ मा सन्तत्वको पहिलो सिंढीमा अभिषेक गरिएको थियो । १९ वर्षको उमेरमा उनी सेवा गर्न भनी १९२९ मा भारत छिरेकी थिइन् । उनले त्यो बेला थेरेस नाउँबाट दार्जि्लिङको एउटा स्कुलमा पढाउन थालेकी थिइन् । १९४६ मा कोलकाता सरेपछि उनले अनाथ बालबालिकाको सेवाका लागि सेवाश्रम खोलेकी थिइन् । सन् १९५० मा आफ्नो संस्थालाई मिसिनरिज अफ च्यारिटीका रुपमा दर्ता गर्दै समाजसेवालाई गति दिएकी थिइन् । कसैलाई सन्त घोषणा गर्न ‘एउटा लामो पद्धति हुने गरेको छ तर मदर टेरेसालाई भने चाँडै सन्त घोषणा गर्ने क्रममा रोम रहेको छ । आगामी सेप्टेम्बर महिनामा ‘चर्चको अनुकम्पापूर्ण पवित्र वर्ष’ परेको हुनाले त्यही अवसरमा उनलाई सन्त घोषणा गर्न लागिएको हो ।