भारतमा भिषण खडेरी

-- NTA REP. / प्रकाशित मिति : शनिबार, जेष्ठ १, २०७३

भारतको ठूलो हिस्सामा तापक्रम ४० डिग्री सेल्सियस नाघिसकेका विवरणमाझ देशैभर सुख्खा र खडेरीको समस्या बढिरहेको छ । अहिले पानीको संकट भोगिरहेका केही राज्यले आफ्ना प्रतिवेदनहरू दिई नसकेकोले यो संख्या अझै बढ्न सक्छ । पश्चिमी राज्य महाराष्ट्रको एक गाउँमा इनारबाट पानी तान्ने क्रममा प्रचण्ड गर्मीका कारण एक ११ वर्षीया बालिकाको मृत्यु भएको छ । भारत पानीका लागि मनसुनी वर्षामा निर्भर रहने गर्दछ तर विगत दुई वर्षदेखि मनसुन कमजोर भएर पानी कम परेको छ । अहिले भारतका २ सय ५६ जिल्लामा देशको करिव एक चौथाइ जनसंख्या सुख्खा र खडेरीबाट ग्रस्त छ । पूर्वी राज्य उडिसामा विद्यालयहरू बन्द गरिएका छन् । तेलांगाना र आन्द्र प्रदेश राज्यमा गएको गर्मी याममा २ हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो । अहिले भारतभर प्रचण्ड गर्मीका कारण यो वर्ष एक सय जनाभन्दा बढीको ज्यान गइसकेको छ । इन्डियन प्रिमियर लिग क्रिकेट खेलको तयारी गरिरहेको महाराष्ट्रले पानी अभावका कारण १३ वटा म्याच अन्तै सारिसकेको छ ।