आजदेखि नुवाकोट महोत्सव

-- / प्रकाशित मिति : बिहिबार, फाल्गुन ६, २०७२

विदुर-नुवाकोट मिनी महोत्सव आज बिहिबारदेखि प्रारम्भ भएको छ । थ्रीडी युवा क्लब कोलनी नुवाकोटको आयोजनामा प्रारम्भ भएको नुवाकोट मिनी महोत्सवको उद्घाटन नेपाल चेम्बर अफ कमर्स तथा नेपाल–चीन उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेशकाजी श्रेष्ठले गर्दैछन् ।

‘भूकम्पको पीडा बिर्सौं, समृद्ध नुवाकोट निर्माणमा जुटौं’ भन्ने नाराका साथ हुन लागेको महोत्सवमा नुवाकोटको रैथाने सीप, सिर्जना, कला–संस्कृति र कृषि उत्पादन प्रदर्शनी र बिक्रीका लागि राखिएको छ । महोत्सवमा भूकम्पले ध्वस्त बनाएको भौतिक संरचना हटाई नयाँ प्रविधिअनुसार भूकम्प प्रतिरोधी घर र अन्य संरचना निर्माणका लागि महोत्सव स्टलबाट भूकम्पप्रतिरोधी परामर्श र अन्य जानकारी दिनेसमेत व्यवस्था मिलाइएको छ ।

महोत्सवमा नुवाकोटलाई चिनाउने किम्ताङको रातो चामल, शिखरबेसीको समुन्द्राफिजी चामल, त्रिशूलीको कान्छी बदाम, भाल्चे र साल्मेको भुइास्याउ, विदुर नगरपालिकाको पीपलटार र इनारपाटीको ढाका कपडा, रानीपौवा र ओखरपौवाको मुला, स्ट्रेबरी, रेन्बोट्राउट माछा प्रदर्शनी र बिक्रीका लागि राखिएको छ ।

महोत्सवको प्रवेश टिकट शुल्क सर्वसाधारणका लागि पचास रुपैयाा र विद्यार्थीका लागि ३० रुपैयाा निर्धारण गरिएको छ । महोत्सवमा आउने कलाकारसाग सम्झौता गरी दैनिक आलोपालोमा ल्याउने व्यवस्था मिलाई नामसमेत तय भइसकेको प्रचारप्रसार उपसमितिका संयोजक श्रीराम तामाङले जानकारी दिएका छन् । उनका अनुसार प्रमोद खरेल, राजु लामा, रामजी खाण, ज्योति मगर, कमल खत्री, रोज मोक्तान, पशुपति शर्मा, सुनिता दुलाल, धमेश दुलाल, हेम वाइवा, रोशन फ्युवा, यूबी मग्रेसा, रमला पाख्रिन, मीना लामा, सागर एस वाइवा, कृष्ण रेउले, सम्झना लामिछाने मगर, विष्णु क्षेत्री, रमेशराज भट्टराई, शर्मिला श्रेष्ठ, दिनेश लामा, शर्मिला लामा, उद्धव कार्की, सुयुनिक जिम्बा र गीता सेन्चुरी रहेका छन् ।

यस्तै हास्य कलाकारहरूमा मनोज गजुरेल, किरण केसी, जितु नेपाल, भद्रगोल टेलिसिरियलका कलाकारहरू, धर्मुस र सुन्तलीलगायतका प्रहर्सन र प्रस्तुतिसमेत रहेको छ ।

महोत्सवको स्टल क्षेत्रमा सीसी क्यामेरा जडान गरी सुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको छ । महोत्सव आजदेखि माघ २९ गते शुक्रवारसम्म सञ्चालन हुनेछ । महोत्सवमा ३४ लाख खर्च गरी ४० लाख आम्दानी गर्ने लक्ष्य राखिएको छ ।