पूर्व अर्थमन्त्री लन्डनमा सम्मानित

-- / प्रकाशित मिति : बिहिबार, फाल्गुन ६, २०७२

लन्डन— वेलायतबाट प्रकाशित हुने फाइनान्सियल टाइम्सको सहप्रकाशन द बैङकर पत्रिकाले पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा.रामशरण महतलाई सम्मानित गरेको छ । टेम्स नदी किनारमा रहेको फाइनान्सियल टाइम्सको कार्यालयमा आयोजित एक समारोहमा द बैङ्कर पत्रिकाका सम्पादक ब्रायन क्याप्लेनले महतलाई सम्मानपत्रका साथै नब्बे वर्ष पहिले स्थापित उक्त पत्रिकाका संस्थापक सम्पादक ब्रेण्डन ब्रयाकनको मूर्ति पनि प्रदान गरेका छन् ।

सम्मान समारोहमा बोल्दै पत्रिकाका सम्पादक क्याप्लेनले अर्थमन्त्रीको नेपालमा गत वर्षको भूकम्पपछि मानवीय तथा वैदेशिक सहायता जुटाउन तत्कालीन अर्थमन्त्रीको रुपमा महतले खेलेको भूमिकाको सम्मान गर्दै उक्त पुरस्कार दिइएको स्पष्ट पारे । उनले प्राय: अर्थमन्त्रीहरु अलोकप्रिय हुनेगरे तापनि राम्रा अर्थमन्त्रीहरुले देशको दीर्घकालीन हितलाई ध्यान दिँदै कडा निर्णयहरु लिने गर्दछन् ।

उक्त अवसरमा बोल्दै पूर्व मन्त्री डा.महतले भूकम्पपछिको अस्तव्यस्त स्थितिमा पनि दुई महिनाभित्रै नेपालले सफलतापूर्वक अन्तर्राष्ट्रिय दातृ सम्मेलन आयोजना गरेको स्मरण गरेका छन् । महतले टोक्यो, पेरिस र दिल्लीमा त्यस्तो सम्मेलन आयोजना गर्न प्रस्ताव आएको भए तापनि नेपाल पर्यटकहरुका लागि सुरक्षित छ भन्ने सन्देश दिन र लगानीकर्ताहरुलाई आश्वस्त पार्न पनि काठमाडौंमै सम्मेलन आयोजना गरिएको बताएका छन् ।

भूकम्पले पुर्‍याएको क्षति तथा पुनर्निर्माणमा लाग्ने खर्चको विवरण (पोस्ट डिजास्टर नीड्स एसेसमेन्ट) तयार गर्न नेपाली तथा विदेशी विशेषज्ञहरु गरी झण्डै तीनसय जनाले हप्तौंसम्म रात–दिन काम गरेको महतले सम्झिए । सफलतापूर्वक दातृ सम्मेलन आयोजना गर्न सघाउने अर्थ मन्त्रालयका कर्मचारी, राष्ट्रिय योजना आयोग र अन्य मन्त्रालयका सहकर्मीहरुलाई पनि महतले धन्यवाद दिए ।

बेलायतको एउटा प्रतिष्ठित पत्रिकाले पूर्व अर्थमन्त्री डा. रामशरण महतलाई एसिया प्रशान्त क्षेत्र तथा विश्वभरिकै अर्थमन्त्रीहरुमध्येबाट सन् २०१६ का लागि ‘वर्ष अर्थमन्त्री’ को रुपमा छनोट गरेको हो ।