बैदेशिक रोजगारीका लागि बेग्लै सञ्चय कोष बनाउन एनआरएनएको सुझाव

-- The NTA / प्रकाशित मिति : बिहिबार, असार ९, २०७३
NRNA EPF meeting ()काठमाण्डौ । गैरआवासीय नेपाली संघ र कर्मचारी सञ्चय कोष बिच हालै ललितपुरमा सम्पन्न छलफलमा गैरआवासीय नेपाली संघले बैदेशिक रोजगारीमा गएका नेपाली कामदारको आम्दानीलाई उच्च प्रतिफल दिनेगरी बेग्लै सञ्चय कोष स्थापना गर्न सुझाव दिएको छ । बैदेशिक रोजगारीबाट आर्जित रेमिट्यान्स उत्पादनमूलक क्षेत्रमा खर्च नभइ दैनिक उपभोगमा सिमिति रहेको भन्दै संघले सञ्चय कोष स्थापना गरी उनीहरुको बचतलाई एकीकृतरुपमा उत्पादनमूलक क्षेत्रमा लगाउन सुझाव दिएको छ । गैरआवासीय नेपाली संघकी केन्द्रिय प्रबक्ता रञ्जु थापाले एक प्रेस बक्तब्य जारी गरि उक्त कुराको जनाकारी गराउनु भएको छ ।   प्रेस बक्तब्यका अनुसार छलफलमा संघका अध्यक्ष शेष घलेले बैदेशिक रोजगारीका बैग्लै कोष स्थापना प्रभावकारी हुने बताउदै कर्मचारी सञ्चय कोषले लामो समयदेखि जुन बिश्वसनीयतालाई सावित गर्दै आएको छ, कोषले नै बैदेशिक रोजगारीका लागि बेग्लै कोष संचालन गर्न सके ठूलो लगानी भित्रिने सम्भावना रहने बताउनु भेयो उहाँले यसरि कोष बनाउदा साविकका कर्मचारी बचतकर्ताकै कोषमा मिसाउनु भन्दा बचतकर्ताको रुची र उदेश्य अनुसार फरक फरक कोष भएमा अझ ब्यबहारिक हुने सुझाउनु भयो । बैदेशिक रोजगारीमा आर्जित रेमिट्यान्स बचत गर्ने कार्यक्रम ल्याउने रुची देखाएकोमा कोषलाई धन्यबाद दिँदै अध्यक्ष घलेले त्यसको प्रभावकारी कार्यन्वयनका लागि एनआरएनएले हातेमालो गर्ने बताउनुभयो । त्यसका लागि एनआरएनएका राष्ट्रिय समन्वय परिषद्हरुलाई परिचालन गर्न आफ्नो संस्था तयार रहेको बताउदै अब बन्ने ऐन तथा नियमावलीमा स्पष्ट प्राबधानको ब्यबस्था हुनुपर्ने सुझाव दिनु भयो ।
सो अबसरमा कोषका मुख्य प्रशासक कृष्ण आचार्यले कोषको हालको अबस्था र सामर्थ्यबारे जानकारी दिदै बैदेशिक रोजगारीमा आर्जित रेमिट्यान्सलाई प्रतिफलयुक्त लगानीमा रुपान्तर गर्न कोष अग्रसर रहेको बताउनुभयो । हाल साढे ५ लाख कर्मचारी बचतकर्ताको २ सय २५ अर्ब रुपैयाँ कोषमा रहेको जानकारी दिंदै उहाँले त्यसको ६० प्रतिशत रकम बचतकर्तालाई ऋण तथा सापटी दिएको जानकारी दिनुभयो । बचत रकमबाट कोषले चारवटा जलविद्युत परियोजनामा लागानी गरेको बताउंदै  वचत कर्ताहरुलाई घर बनाउनको लागि ऋण सुविधा, बाल शिक्षा, घर मर्मत ऋण, र परिवारलाई कुनै व्यवसाय गर्नको लागि धितो राखेर ऋण दिने सुविधा रहेको पनि जानकारी गराउनु भयो । लाखौं नेपालीहरु बैदेशिक रोजगारीमा रहेको र त्यहाँ आर्जित रकम हाल उत्पादनमूलक क्षेत्रमा लगाउन सकिने प्रवल सम्भावना रहेको भन्दै आचार्यले कोषले त्यसको तयारी गरिरहेको जानकारी दिनुभयो । संघसंग सहकार्य गरेर कोष निर्माण र त्यसलाई उच्च प्रतिफलयुक्त क्षेत्रमा लगानी गर्ने कोषको चाहना रहेको भन्दै त्यसका लागि तत्कालै दुवै संस्थावीच समझदारीपत्रमा हस्ताक्षर गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।
कोषका अन्य उच्च अधिकारीसमेत सम्मिलित सो छलफलमा बैदेशिक रोजगारीमा रहेका नेपालीहरुको बचत संकलन र लगानीका प्रकृया तथा कार्यबिधिबारे बिस्तृतमा छलफल भएको थियो । संघ र कोषवीच हुन लागेको समझदारी र त्यसमा समावेश गरिने बुँदाका बिषयमा समेत बिस्तृत छलफल भएको थियो ।
छलफलमा संघका तर्फबाट अध्यक्ष घले, अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक सोनाम लामा, युवा उपसंयोजक लोकराज शर्मा, सल्लाहकारहरु गणेश गुरुङ र नवराज गुरुङ, एनसीसी बहराईन पूर्व अध्यक्ष श्याम तामाङ, एनसिसि मलेशियाका महासचिव सुन्दर आले र सचिव सुभद्रा लिङदेन र सचिवालयका कार्यकारी निर्देशकको सहभागीता रहेको थियो । कार्यक्रमको अन्त्यमा, प्रस्तावित सम्झौतापत्रका प्राविधिक तथा कानूनी पक्षहरुको बिशलेषण गरी छिट्टै सम्झौता पत्रमा हस्ताक्षर गर्ने सहमति सहित छलफल कार्यक्रम टुङ्गिएको थियो ।