देखा पर्दैछ सरकार परिवर्तनको लक्षण

-- कृष्ण भट्टराई / प्रकाशित मिति : बुधबार, असार २२, २०७३

नेपालमा असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाउन थालिएको छ । यो वर्ष पनि गत असार १५ गते (जुलाई २९) एकातिर धान दिवस मनाउँदै रोपाईं गरिएको छ भने अर्कोतिर दहि–चिउरा खाएर यो पर्व मनाइएको छ । रमाइलो कुरा के रह्यो भने असार १५ को मितिलाई राजनीति क्षेत्रले भने सरकार परिवर्तनको समयसिमाको रुपमा निर्धारण गरेको रहस्योदघाटन भएको छ । नेकपा माओवादी केन्द्रका एक प्रभावशाली नेता वर्षमान पुन अनन्तले एउटा सार्वजनिक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली तथा आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच असार १५ गतेसम्म मात्र वर्तमान गठबन्धनलाई कायम राख्ने, त्यसपछि यो सरकार परिवर्तन गरि नयाँ सहमतीय सरकार गठन गर्ने गोप्य सहमति भएको दावी गरेको छन् ।

त्यसो त केही महिनाअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारतभ्रमणबाट फर्किए लगत्तै ओली सरकारलाई ढाल्ने चर्चा चलेको थियो । प्रचण्ड र देउवा मिलेर वर्तमान सरकारको समिकरणलाई भंग गर्दै नयाँ सरकार गठन गर्ने गृहकार्य नै थालेका थिए । तर, प्रधानमन्त्री ओली तथा माओवादी अध्यक्ष प्रचण्डबीच के–कस्तो सहमति भयो कुन्नी, त्यतिबेला सरकार परिवर्तनको चर्चा अचानक सेलायो । अहिले आएर माओवादी नेता वर्षमान पुन मात्र होइन नेकपा माओवादी केन्द्रका अधिकांश प्रभावशाली नेता तथा नेपाली कांगेसका नेताहरूले समेत अचानक नयाँ सरकारको कसरत प्रारम्भ गरेको देख्दा केपी शर्मा ओली नेतृत्वको सरकार वास्तवमै संकटमा पर्न लागेको हो कि भन्ने अनुमान गर्न थालिएको छ ।

वास्तवमा विगत केही महिनादेखि सेलाएको सरकार परिवर्तनको हल्ला जुन २९ का दिनदेखि अचानक चर्चामा छ । जुन ३० का दिन त बिहानैदेखि सरकार परिवर्तनको हल्ला साँझसम्म आईपुग्ना राष्ट्रिय चासोको विषय नै बन्न पुगेको छ । उक्त दिन सरकार गठबन्धनका तीन नेताले सरकार परिवर्तनबारे सार्वजनिक अभिव्यक्ति दिन भ्याएका छन् भने भित्रभित्रै ‘केही पाकिरहेको’ संकेत समेत गरेका छन् । यो भन्दा पनि रोचक कुरा के छ भने वर्तमान सरकार विगठन तथा नयाँ सरकार गठनको यो पछिल्लो वहसका बीच पनि सरकारको नेतृत्व गरिरहेको नेकपा एमालले भने यो सामग्री तयार पारुञ्जेलसम्म कुनै प्रतिक्रिया तथा टिप्पणी गरेको छैन, कुनै पनि एमाले नेताको यो विषयमा सार्वजनिक टिप्पणी आइसकेको छैन ।

त्यसो त जुन ३० का दिन नेपालगञ्जमा आयोजित एक समारोहमा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विद्यमान संकटहरूको समाधानका लागि भए पनि राष्ट्रिय सहमतिको सरकार आवश्यक भइसकेको धारणा व्यक्त गरे । अध्यक्ष प्रचण्डले मुलुक अप्ठेरो अवस्थाबाट गुज्रेको उल्लेख गर्दै यसको निम्ति राष्ट्रिय एकताको खाँचो औंल्याए । मधेस, आदिवासी र जनजातिका चिन्तालाई सम्बोधन गर्न पनि राष्ट्रिय एकताको खाँचो रहेको उनको भनाइ थियो । राजनीतिक नेतृत्वमा देखापरेको अहंकारले गर्दा राष्ट्रिय एकता कायम गर्न समस्या देखापरेको उल्लेख गर्दै यो स्थितिले राष्ट्र निकै अप्ठेरोमा पर्ने खतरा देखिएकोउनको टिप्पणी थियो । विद्यमान राष्ट्रिय संकटको अन्त्यका लागि पनि राष्ट्रिय एकताकै खाँचो भएको बताउँदै प्रचण्डले राष्ट्रिय एकता कायम गरी राष्ट्रिय सहमतिको सरकारको अनिवार्य आवश्यकता भएको उल्लेख गरे । संविधान कार्यान्वयन र शान्ति प्रक्रियाको बाँकि काम पूरा गर्न र मधेस, जनजाति लगायतका जनताको मागको सम्बोधनका लागि राष्ट्रिय सहमति र त्यसैको जगमा निर्माण हुने सरकारको आवश्यकता रहेको प्रचण्डको भनाइ छ ।

उता, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सरकार परिवर्तनको आधार तयार भइ नसकेको स्पष्ट पारिसकेका छन् । रिमालले सरकार परिवर्तनको कुरामा गुदी नभएको उल्लेख गरेका छन् । ‘राष्ट्रिय सहमतिको सरकार बनाउने कुरा चलनचल्तीको फेसन जस्तै हुनपुगेको छ,’ रिमालले भनेका छन् —‘सरकार परिवर्तनका लागि आधार तयार भइसकेको छैन, ‘सब्सट्यान्स’ पनि छैन ।’

त्यसो त उपप्रधान तथा महिला बालबालिका तथा समाजकल्याणमन्त्री सिपी मैनालीले एउटा बहुमतीय सरकारको ठाउँमा अर्को बहुमतीय सरकार गठनमा लाग्नुको औचित्य नभएको बताएका छन् । मैनालीले अहिले नै सरकारको विकल्प खोज्ने बेला नभएको तर्क गरेका हुन् । ‘यही सरकारलाई सशक्त बनाउन प्रतिपक्ष र सत्तारूढ गठबन्धनबाट उठिरहेका आवाजलाई सम्बोधन गर्न ‘पर्छ,’ मैनालीको तर्क छ—‘ठूला दल मिलेर सरकार बनाउनु हुँदैन भनेर प्रतिपक्षमा बसेको नेपाली कांग्रेसले नमानेसम्म सहमतिको सरकार बन्न सक्दैन ।’ मैनालीले त माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने भए अहिलेकै गठबन्धनलाई क्रियाशील बनाएर जाँदा उपयुक्त हुने धारणा समेत राखेका छन् । मैनालीले सहमतिको सरकारको नेतृत्व गर्छ भनेर प्रचण्डले जति मुख मिठ्याएपनि सम्भव नहुने दाबी गरे । ‘प्रचण्डले अहिलेको गठबन्धन भत्काएपछि पक्डने ठाँउ पनि नभेट्ने मैनालीको भनाइ छ । ‘सहमतिको सरकार बनेपछि कांग्रेसकै नेतृत्वमा होला । त्यो नभए एमालेको नेतृत्वमा हुनसक्छ । प्रचण्डले मुख नमिठ्याए हुन्छ । प्रचण्ड प्रधानमन्त्री बन्ने हो भने यही गठबन्धनलाई क्रियाशील बनाएर जाँदा भइहाल्छ, मैनालीले माओवादी केन्द्रप्रति लक्षित गर्दै पार्टी भित्रको समस्या समाधानका लागि गठबन्धन भत्काउनु उचित नहुने तर्क गरे । ‘पार्टीका मन्त्रीहरूलाई लिएर असन्तुष्टि हो भने उनीहरूलाई फिर्ता बोलाएर अरू पठाए भइहाल्यो नि । पार्टीको समस्या थोपरेर गठबन्धन भत्काउनुको औचित्य छैन,’ मैनालीको भनाइ छ—‘माओवादीसंग कुनै सहमति भएको भए त्यो कार्यान्वयन गरेर गए हुन्छ तर सहमतिबाहेक बहुमतको अर्को सरकार बनाउने कुरा मुलुकमा अस्थिरता निम्त्याउने खेल मात्र हुन जान्छ ।’

सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले भने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई निरन्तरता दिन एमाले र तत्कालीन एओवादीबीच भएको नौ बुँदे सहमति कार्यान्वयन नभएसम्म बजेट पारित गर्न नदिने दावी नै गरेका छन् । शर्माले भनेका छन्— ‘नौ बुँदे सहमति कार्यान्वयन गर्न एमाले पार्टी इमान्दार भएन । संसदीय दलको बैठकमा मैले नौ बुँदे सहमति कार्यान्वयन नभई बजेटको पक्षमा मतदान गर्न नहुने प्रस्ताव पेश गरेको छु । त्यो पारित हुन्छ, हामी सहमति कार्यान्वयन नभई बजेट पारित हुन दिदैनौं । सहमति कार्यान्वयन गरेर मात्रै बजेट पारित गर्न‘पर्छ ।’

शर्माले भूकम्पपछिको पुनर्निर्माण, संविधानप्रति असन्तुष्टहरूको माग सम्बोधन गर्न, संविधान कार्यान्वयन र निर्वाचनका लागि राष्ट्रिय सहमति आवश्यक रहेको तर्क गर्दै त्यसका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिएका छन् । ‘कांग्रेसमा पनि सहमतिको सरकारमा आउने वातावरण बन्दैछ । हामीले कांग्रेस र एमालेसंग छलफल गरिरहेका छौं । प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा सहमतिको सरकार बनेपनि ठीक छ, कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेपनि ठिक छ, होइन भने हाम्रा अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउन पनि तयार छौं,’ शर्माले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुकको सबै समस्या हल गर्न नसक्ने दाबी गर्दै मुलुकको समस्या समाधान गर्न राष्ट्रिय सहमतिको सरकारको विकल्प नभएको बताएका हुन् । नौ बुँदे सहमति कार्यान्वयन नगरे नेकपा एमालेसंगको सम्बन्ध पनि टुट्ने चेतावनी दिंदै सरकारले एक्लै मुलुकको समस्या समाधान गर्छ‘ भनेर सोच्नु उचित नभएको उनको दावी छ ।

राजनीतिक विश्लेषकहरू त पछिल्लो समय पनि सरकार परिवर्तनको खेलमा नेकपा माओवादी केन्द्रका प्रचण्डनै सक्रिय देखिएको बताइरहेका छन् । नेपाली कांग्रेसंग सहकार्य गरेर अघि बढ्ने अथावा सत्ताको नेतृत्वकर्ता एमालेसंग सहमति गरेर बढ्ने दुई विकल्पमा प्रचण्डले भित्र भित्रै छलफल चलाइरहेको दावी उनीहरूको छ । पार्टीका उच्च नेताहरूबीच सरकार परिवर्तन गर्नेमा एकमत भएपनि कांग्रेस समात्ने या एमालेसगंै मिल्ने अन्योल नै रहेको एक नेताले बताएका छन् ।

माओवादी केन्द्रका नेता बर्षमान पुन, कृण्णबहादुर महरा, गोपाल किरांतीले माओवादी केन्द्रमा सरकारको विकल्पका नयाँ सरकार बनाउने निर्णय अनुसार कांग्रेस र एमालेका केहि नेतासंग भित्र भित्रै छलफल चलाएको पनि चर्चा छ । असार १५ कै दिनदेखि ओली नेतृत्वको सरकारको दिनगन्ती सुरु भएको ती माओवादी नेताहरूको दाबी छ ।

उता, नेपाली कांग्रेसका नेता गगन थापाले पनि कांग्रेस सरकार परिवर्तनको खेलमा रहेको बताए । ‘हिजो पनि थियो, अहिले पनि छ र भोलि पनि रहनेछ’ उनले भनेका छन्—‘हालै पनि कांग्रेसले सरकार परिवर्तन गर्न खोजेकै हो र भोलि संख्या पुगेमा परिवर्तन गर्छ पनि ।’