कर्मभूमिमा राजनीति

-- जुलाइ अंक २०१६ / प्रकाशित मिति : बिहिबार, असार २३, २०७३

ntaराजनीतिले आक्रान्त या राजनीतिज्ञको रबैयाले पीडित संसारका मुलुकहरूको उदाहरण दिनु पर्दा हामी पनि आउँछौ । त्यसो त राजनीति आाफैमा खराब होइन यो त राजनीतिज्ञहरूको खराब रबैयाको कारण मात्र हो । नेपालमा हालको युवा पुस्ता राजनीति भन्ने बितिकै नाक खुम्च्याउँछन् तर सत्य कुरा के हो भने कसै न कसैले राजनीति गर्नै पर्छ । यसरी राजनीति गर्नेहरूलाई अंकुस लगाउने भनेका सचेत जनता नै हुन् र सम्बन्धित देशको नियम कानुन नै हो । जब देश सिस्टमले चल्छ तब धेरै कुराहरू आफै गौण बनेर आउँछन् सबै प्रक्रिया र सिस्टम भित्र आफै बाँधिन्छन् ।

हाम्रो कर्मभूमि यति बेला राजनीतिक रापमा छ, जन प्रतिनिधि छान्ने उत्कृष्ट प्रजातान्त्रिक प्रकृया चुनाब भर्खर सकिएको छ । यहाँको राजनीति हाम्रो जन्म भूमिको भन्दा धेरै मानेमा फरक छ । पहिलो कुरा त यहाँ सधै एकै पार्टीको अन्धभक्त बनेर सधै उसैलाई समर्थन गर्ने प्रचलनको कमी छ । धेरै भन्दा धेरै जनसंख्या जीवन भर कुनै पनि पार्टीको सदस्यता समेत नलिईकन साधारण भोटर मात्र रहने यो देशमा चुनाबको परिणाम पनि व्यक्ति र राजनीति पार्टीले लिने एजेन्डामा भर पर्छ । अघिल्लो साल भोट पाएको व्यक्ति या पार्टीले यो पटक भोट नपाउन पनि सक्छ किनकि उ राजनीतक झण्डाले भन्दा एजेन्डाले जाँचिन्छ ।

अष्ट्रेलियामा नागरिकले निर्वाचन प्रकृया भाग लिनु पर्छ नलिएमा जरिबाना हुने कानुनी ब्यबस्था छ । त्यसैले पनि कयौ अष्ट्रेलियनहरू त्यहि जरिबानाबाट उम्कन भोटर लिस्टबाट आफ्नो नाम काट्नलाई मात्र पनि चुनाबी बुथ पुग्छन । भने अरु धेरैले एजेन्डा अनुसार पार्टी र उम्मेदवारलाई मूल्यांकन गर्छन् । अष्ट्रेलियाको नागरिक बनेका नेपाली मुलका दाजुभाइ दिदीबैनीहरूलाई पनि यो पटकको निर्वाचन अलिक बढी नै लागेको यहाँका नेपाली मिडिया र सोसियल मिडिया मार्फत देखिएको छ । कर्मभूमिको राजनीतिमा सक्रिय हुन खोज्नु भनेको कुनै अमुक उम्मेदवारको टिशर्ट लगाएर या फोटो खिचेर सोसियल मिडियामा टाँस्नुमात्र होइन । यहाँको राजनीति प्रक्रियामा सरिक हुदै गर्दा यहाँका स्थानीय, प्रान्तीयदेखि केन्द्र सरकारसम्मले समुदायलाई गर्ने सक्ने सहयोग र नीतिगत निर्णयको बारेमा जानकार हुनु पनि हो ।

यसको मतलब कुनै एक नेपाली यहाँको राजनीतिमा जोडिनु भनेको हाम्रो समुदायको आवाज र हाम्रो उपस्थिती कुनै न कुनै रुपमा यहाँको सरकारी निकायसम्म पुग्नु हो । त्यसैले पनि कर्मभूमिको राजनीतिमा जोडिन पुगेका या जोडिन खोजेका सबै नेपालीलाई हामीले सराहना गर्नै पर्छ । अर्को तर्फ नेपाल छोडेको २० औं बर्ष पछाडिसम्म पनि उतैको कांग्रेस र कम्युनिष्टको राजनीतिमा एकले अर्कोलाई लेबल लगाउनु भन्दा यतैको राजनीतिमा सामेल हुन सके हाम्रो संस्कार र आचरण पक्कै समय र भूगोल सान्दर्भिक बन्नेछ । यसरी कर्मभूमिको राजनीतिमा पाइला चाल्दै गर्दा फेरि पनि नेपाली नेपालीबीच र हाम्रै समुदाय भित्र प्रतिस्पर्धा रहने हो भने उही आयातित राजनीतिको जालोले छोड्ने छैन । यहाँको हाम्रो राजनीति यहाँका बिभिन्न समुदाय र अष्ट्रेलियाको स्थानीयहरू सँग हातेमालो गर्दै आगाडि बढ्न सकेमा भोलि हाम्रो समुदायको र जन्मभूमिको परिचय दिदै सम्भावनाहरूको पहिचान गर्न सहज हुनेछ । अर्को तर्फ अष्ट्रेलियाको राजनीतिमा लाग्न खोजेका जो सुकैले पनि आफ्नो व्यक्तिगत अचरणहरू यहाँको नियम कानुन भित्र रहेर आफ्ना हर आर्थिक श्रोतदेखि करको दायरासम्म पारदर्शी बनाउनु जरुरि छ । जसले गर्दा भोलि कुनै सम्भावनाहरू नजिकिदै गर्दा आफु ति सम्भावनाहरूका लागि अयोग्य हुन नपरोस् । अन्त्यमा, स्थायित्व देश बिकासको सबै भन्दा प्रमुख कडी हो भन्ने हामीलाई भलिभाति थाहा छ त्यसैले भर्खरै सम्पन्न निर्वाचनले हाम्रो कर्मभूमिमा एउटा स्थायी सरकार बन्न मद्दत पुगोस् र जनसरोकारका धेरै भन्दा धेरै बिषयमा अबको सरकारले प्रगति उन्मुख परिणाम दिन सकोस् । शुभकामना !!!