अमेरिकी राष्ट्रपति निर्वाचनमा क्लिन्टन र ट्रम्पमध्ये को ?

-- होमप्रसाद लम्साल / प्रकाशित मिति : बिहिबार, असार २३, २०७३

HIllary-Trump

पूर्व अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कनले संसारकै इतिहासमा शायद सबभन्दा प्रसिद्ध पदावलीमा लोकतन्त्रको जोडदार परिभाषा दिएका थिए । “जनताको, जनताद्वारा र जनताका लागि बनेको सरकार” भन्ने आफ्नो भनाइबाट उनले लोकतान्त्रिक सरकारको स्वरूपलाई यति राम्ररी परिभाषित गरिदिए कि यी सारा कुरा एउटा लोकतान्त्रिक समाजको आकाङ्क्षा राख्ने सम्पूर्ण राष्ट्रहरूका लागि सान्दर्भिक ठहरिन्छन् । सरकारका सम्पूर्ण स्वरूपहरू मध्ये लोकतन्त्र कठिन, संभवत: सबभन्दा जटिल र चुनौतीपूर्ण हुन्छ । यो अनेकौं किसिमका तनाव र विरोधाभासहरूले भरिएको हुन्छ र यसमा लागेकाहरूले यसलाई कार्यरूप दिन निरन्तर खटिइरहनु पर्दछ । लोकतन्त्रको परिकल्पना फटाफट चाहे जस्तो गरी काम हुन सकोस् भन्नाका लागि नभई जवाफदेही रूपमा काम होस् भन्ने हो । कुनै पनि लोकतान्त्रिक सरकारले एउटा तानाशाही सत्ताले जत्तिकै छिटो गरी काम गर्न सक्षम नहुन सक्छ, तर जब एउटा कार्यविधि तय गरिन्छ त्यसले आम जनसमर्थनको गहिरो तलाउबाट शक्तिस्रोत प्राप्त गर्दछ । लोकतन्त्रले र अवश्य पनि अमेरिकामा देखिने यसको स्वरूपले कहिल्यै पनि आफ्नो अन्तिम चित्र बनाइसकेको हुँदैन, यो निरन्तर विकसित भइरहन्छ । अमेरिकी प्रसिद्ध लेखक मेल्भिन आई उरोफिकले भनेका छन गत दुई सय वर्षमा अमेरिकी सरकारको बाहिरी रूपमा कमै मात्र परिवर्तन भएको देखिन्छ, तर यदि हामीले सतहभन्दा अलि गहिरिएर हेर्‍यौं भने यसमा प्रशस्त फेरबदलहरू भएको फेला पार्नेछौं । तैपनि, अधिकांश अमेरिकीहरूले जायज रूपमै के विश्वास गर्दछन् भने उनीहरूको सरकारको बारेमा अन्तर्निहित सिद्धान्तहरू सन् १७८७ मा संविधानका निर्माताहरूले पहिलोपल्ट अभिव्यक्त गरेका सिद्धान्तहरूबाटै अनुप्रेरित छ ।

हो त्यहि लोकतन्त्रको उच्चतम प्रयोग भएको देश अमेरिकामा आगामी नोभेम्बर ८ तारिकका दिन राष्ट्रपति निर्वाचन हुँदैछ । अमेरिकी राष्ट्रपति निर्वाचन सन् १८४५ देखि नोभेम्बर पहिलो हप्ताको सोमबार नै मतदान हुन्छ । लामो समयदेखिको प्रयासपछि अमेरिकामा एकअर्काका प्रत्यासी देखिएका डेमोक्र्याटिक र रिपव्लिकन दुवैको राष्ट्रपतिका लागि उम्मेदवार तय भएको छ । डेमोक्रेटिक उम्मेदवारतर्फ हिलारी क्लिन्टन र रिपव्लिकनका तर्फबाट डोनाल्ड ट्रम्प छानिएका छन् ।

अमेरिकाको राष्ट्रपति निर्वाचनमा नयाँ इतिहास रच्दै हिलारी क्लिन्टन मुख्य राजनीतिक पार्टीबाट महिला उम्मेद्वार हुने निश्चित भएपछि उनले एक तहमा अमेरिकामा ईतिहास बनाईसकेकी छिन् । त्यसमा पनि उनले राष्ट्रपति चुनाव जितेमा अरु थुप्रै ईतिहास रचिने छ ।

पूर्वप्रथम महिला हिलारीले आठ वर्ष अघि राष्ट्रपति निर्वाचनमा पनि पार्टीभित्र प्रतिस्पर्धा गरेकी थिईन् । तर, उनले आवश्यक डेलिगेट प्राप्त गर्न नसकेपछि यसका लागि आठ वर्ष कुर्नु पऱ्यो । उनी बाराक ओवामासँग पराजित भएकी थिईन् । त्यसपछि उनि ओवामाको प्रथम राष्ट्रपति कार्यकालमा विदेशमन्त्रीको जिम्मेवारी पुरा गरेकी हिलारीलाई अमेरिकी मतदाताहरूले ओबामा कार्यकालको निरन्तरताको रुपमा पनि लिईएका छन् ।

प्रथम महिला हुँदा आफ्नी छोरीसँग नेपाल भ्रमण गरेकी हिलारी आप्रवासी प्रति उदार मानिन्छिन् । स्वास्थ्य बिमा, शिक्षा जस्ता क्षेत्रलाई सर्वसुलभ बनाउनुपर्ने नीति राख्ने हिलारी अल्पसंख्यकमा बढी लोकप्रिय छिन् ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले हिलारी क्लिन्टनलाई डेमोक्रेटिक पार्टीको राष्ट्रपति उम्मेदवारमा औपचिारिक समर्थन गरेका छन् । हिलारीले ट्वीट गरेको एउटा भिडियोमा ओबामाले राष्ट्रपति पदका उनी हालसम्मैको सबैभन्दा योग्य व्यक्ति हुन सक्ने धारणा राखेका छन् । ‘म उनीसँग छु’ भन्ने जानकारी दिन चाहन्छु, म निक्कै उत्साहित छु र हिलारीको पक्षमा अभियान चलाउन आतुर छु ।

दुई सय ४० बर्षे अमेरिकी इतिहासमै ठूला पार्टीबाट आधिकारिक उम्मेदवार बन्ने क्लिन्टन पहिलो अमेरिकी महिला हुन् ।

यसअघि अमेरिकी राजनीतिमा सबैभन्दा उच्च पद अन्र्तगत उपराष्ट्रपति पदमा दुई ठूला पार्टीको तर्फबाट महिलाको रुपमा सन १९८४ मा जेराल्डिन फेरेरो डेमोक्रयाट् पार्टी एवं सेरा पेलिन सन २०१२ मा रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदवार थिए । सन् १९२० मा जारी अमेरिकी संविधानको १९ धाराले महिलालाई मतदानको अधिकार प्रदान गरेको थियो ।

क्लिन्टनले राष्ट्रपति ओबामाको अधिकांश नीति र कार्यक्रममा सर्मथन देखाउदैं आए पनि ‘ट्रेड डिल’ एवम ईस्लामिक अतिवादीबिरुद्व ओबामा नीतिको आलोचना गर्दै आएकी छिन् । बिश्लेषकहरूले हिलारीले आगामी नोभेम्बरमा विजय हासिल गरे त्यो ओबामा प्रशासनको तेस्रो कार्यकाल हुने टिप्पणी गर्दै आएका छन् ।

पुरानो सत्तारूढ पार्टी (जीओपी) भनिने रिपव्लिकन पार्टीका तर्फबाट धनाढ्य व्यवसायी डोनाल्ड ट्रम्प भारी मतले पार्टीको आन्तरिक प्रतिष्पर्धाबाट राष्ट्रपति पदका उम्मेदवार बनेका छन् ।

अमेरिकामा झण्डै ३० वर्ष यता रिपव्लिकन र डेमोक्र्याटीक पार्टीले आठ बर्षभन्दा बढी शासन गरेका छैनन् । यस आधारमा भन्दा पनि अहिले रिपव्लिकनले जित्ने पालो जस्तो देखिन्छ । रोनाल्ड रेगनको (सन् १९८१ वाट १९८९ सम्म) कार्यकालपछि उनकै पार्टी रिपव्लिकनबाट जर्ज वुस (सन् १९८९ बाट १९९३ सम्म ) राष्ट्रपति निर्वाचित भए ।

उनले दोस्रो कार्यकालका लागि जित्न सकेनन् । डेमोक्र्याटीक पार्टीका विल क्लिन्टनसँग पराजित भए । क्लिन्टनले आठ वर्ष राष्ट्रपति चलाए । यसपछि रिपव्लिकन पार्टीका जर्ज डब्लु बुस राष्ट्रपति भए । उनको दुई कार्यकालपछि डेमोक्र्याटीक पार्टीका तर्फबाट वाराक ओबामा निर्वाचित भए । यस हिसावले अहिले रिपव्लिकन पार्टीको पालो हो । तर, चुनाव हो यो इतिहास संधै दोहोरिन्छ भन्ने छैन र त्यस्तो नहुने लक्ष्यणहरू देखा परेका छन । कारण डोनाल्डको विवादास्पद अभिव्यिक्तिले अमेरिकी प्रभुत्व व्यक्तिहरू यिनको विपक्षमा छन् ।

अमेरिकामा सञ्चारमाध्यमका अनुसार डोनाल्डलाई विशेष गरी कलेज डिग्री नभएका र जथाभावी विदेशीहरू आएर आफ्नो रोजगार खोसि दिएको ठान्नेको बढी समर्थन छ । तर, उदार सोचका न्यूयोर्क टाइम्स जस्ता संचार माध्यम डोनाल्डको पक्षमा देखिदैनन् । डोनाल्डका विवादस्पद अभिव्यक्तिले रिपव्लिकन पार्टीका कतिपय समर्थकले पनि डेमोक्र्याट पार्टीलाई भोट दिने अनुमान गरिएको छ । विशेष गरी बढ्दो संख्यामा रहेका अफ्रिकन अमेरिकन, मेक्सिकन अमेरिकीन र आप्रवासी मतदाता डोनाल्डको पक्षमा निकै कम छन् । यो डोनाल्डको जितका लागि चुनौती हो ।

डोनाल्ड बलियो हुने क्रमसँगै अमेरिकामा बस्ने आप्रवासीको चिन्ता पनि बढेको छ । ओबामा आप्रवासी कानुनमा सुधारका लागि प्रयासरत थिए । केही कार्यक्रम पनि ल्याए । अहिले कयौं राज्यमा अवैध बसोवास गर्नेले पनि ड्राईभिङ लाइसेन्स पाउँछन् । डोनाल्डको अभिव्यक्तिले गैरकानुनी मात्र होइन स्थायी बसोवास अनुमति भएका पनि केही असर गरिहाल्छ की भन्ने शंकामा छन् । त्यसैले अहिले अमेरिकी बन्न योग्य भएकाले धमाधम नागरिकताका लागि आवेदन दिएका छन् ।

अमेरिकामा अहिले झण्डै १ करोड १० लाख गैरकानुनी आप्रवासी छन् । यसमा केही हजार नेपाली पनि पर्छन् । यस्ता अवैध बसोवास गर्नेबाट कयौं क्षेत्रमा सस्तोमा कामदार उपलव्ध भईरहेको छ । डोनाल्डले यी सवै गैरकानुनी अप्रवासीलाई समातेर २ वर्ष भित्र सम्वन्धित देश पठाउने घोषणा गरेका छन् । तर, यो सजिलो काम नभएको सम्वद्ध विज्ञहरूको दावी छ ।

ओबामाको पछिल्लो कार्यकालको रेकर्डमा झण्डै ४ लाख गैरकानुनी रुपमा अमेरिका आउनेलाई फिर्ता पठाईएको थियो । यो भन्दा बढीलाई फिर्ता पठाउने पूर्वाधार नभएको सम्वद्ध विज्ञहरू वताउँछन् । आप्रवासीहरू हिलारीले जितेमा यो झन्झट नै नआउने हुँदा उनका पक्षमा बढी देखिन्छन् ।

भोलिका दिनमा राष्ट्रपति निर्वाचनमा कसले बाजी मार्ला भन्ने कुराको विश्लेशण गर्न यति नै बेला हतारो हुन्छ तर पनि सतहमा आएका अडकलबाजीहरू हेर्दा रिपव्लिकनका तर्फबाट डोनाल्ड ट्रम्प भन्दा र डेमोक्र्याटबाट हिलारी नै बलियो रहेको विभिन्न सर्भेक्षणहरूले देखाएको छ । आप्रवासीको बाहुल्यता बढ्दै गएको अमेरिकामा डोनाल्डको विरुद्धमा ठूलै समुह निर्माण भएका छन । अर्कोतिर अमेरिकन धनाढ्यहरूले जलबायुको सन्तुलनका लागि सफा उर्जामा जसले नयाँ, दीर्घकालिन र राम्रो एजेण्डा ल्याउन सक्छ उसैलाई आर्थिक सहयोग गर्ने घोषणाले हिलारीको पक्षमा अर्को माहोल बढेर गएको छ । पहिलो काला जातिका राष्ट्रपतिपछि पहिलो अमेरिकी महिला राष्ट्रपति हिलारी र लोग्ने स्वास्नी राष्ट्रपति भएको दुई वटै रेकर्ड एकै पटक तोडिने त होईन भन्ने संभावना पनि बढेर गएको छ । त्यससंगै अमेरिकी राष्ट्रपति ओवामाले खुलेर गरेको सहयोगका कारण पनि हिलारीलाई निकै सहयोग पुगी रहेको छ ।

यतिखेर चुनावी दौरानमा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनले फेडेरल सरकारको न्युनतम् ज्यालादर ७ डलर २५ पैसाबाट १२ डलर पुऱ्याउनु पर्ने तर्क दिएपछि यसको अर्थतन्त्रमा पर्ने सकारात्मक र नकारात्मक प्रभाबले अहिले बजार तातेको छ । त्यति नै बेला रिपब्लिकन उम्मेदवारहरू कसैले ९ डलर त कसैले १० डलर त कसैले बढाउनै हुदैन भन्ने तर्क सारिरहदा श्रमिकहरूको ध्यान चाहि हिलारीले खिचिदिएकी छिन । ५१ मिलियन जनता फुडस्टाम्प र सरकारी सामाजिक लाभ लिइरहेको अमेरिकामा करको दर सामान्य तलमाथि हुँदा त्यसले दीर्घकालिन असर पर्ने देखिन्छ । प्रसिद्ध अमेरिकी कवि वल्ट ह्विटमनको भनाइलाई खेलाउँदै हामीभन्न सक्छौं, लोकतन्त्रका अनेक रूप हुन्छन्, जुन आफैंमा बाझिने खालका देखिन्छन् । तर यदि हामीले हाम्रो दृष्टि ती आधारभूत, अपरिवर्तनीय सिद्धान्तहरूमा लगाइ राख्यौं भने—जसअनुसार आखिरी अधिकार जनतामै रहेको हुन्छ, सरकारका शक्तिहरू सीमाबद्ध हुनुपर्छ र नागरिक अधिकारहरूको संरक्षण हुनुपर्छ—यी लक्ष्यहरूलाई हासिल गर्ने अनेकौं उपायहरू हुन सक्छन् भन्ने कुरो आज पुष्टि भएको छ ।