दोहामा क्षेत्रीय भेला

-- NTA REP. / प्रकाशित मिति : आइतवार, भदौ ५, २०७३

NRNA DOHAगैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व क्षेत्रीय भेला १३ बुँदे निर्णय गर्दै कतारको राजधानी दोहामा सम्पन्न भएको छ । भेलाले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सम्बन्धित मुलुकमै पुन: श्रम स्वीकृति र बिमाको ब्यबस्था गर्न सरकारसंग माग गरेको छ । भेलाले  दुबई, लेबनान र इराकमा कुटनीति निकायको स्थापना गर्न तथा बहराइन, कुवेत र साउदी अरेबियामा सिधा हवाई सम्पर्क स्थापित गर्न पनि माग गरेको छ । वैदेशिक रोजगारीमा गएका कामदारले घरायसी प्रयोजनका लागि सुन ल्याउन पाउने नीतिमा सरकारले हालै गरेको परिवर्तनप्रति असन्तोष जनाउादै संघले पूर्ववत ब्यबस्थालाई कायमै राख्न पनि सरकारसंग माग गरेको छ । संघले मध्यपूर्वका नेपाली नियोगहरुमा जनशक्तिको अभाव देखिएको हुँदा त्यसलाई तत्काल समाधान गर्न पनि सरकारसंग माग गरेको छ । भेलामा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घले प्रमुख आतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो भने आईसीसी उपाध्यक्षहरु भवन भट्ट र कुमार पन्त, महासचिव बद्री केसी लगायतका गैरआवासीय नेपालीहरुका शीर्ष नेतृत्व र मध्यपूर्वका बिभिन्न देशका गैरआवासीय नेपाली अगुवाहरुको उपस्थीति थियो ।