एएफसी कपमा थ्री स्टार छनोट

-- / प्रकाशित मिति : आइतवार, भदौ २६, २०७३

three-star_1नेपाली राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्री स्टार क्लब एएफसी कपको प्लेअफका लागि छनोट भएको छ । मंगोलियामा सम्पन्न समूह ‘बी’ को प्लेअफलाई भएको छनोटको अन्तिम खेलमा अगष्ट २५ मा घरेलु टोली इर्चिमले कम्बोडियाको नागावल्र्ड क्लबलाई १–० ले हराएपछि थ्री स्टार प्लेअफ खेल्ने मौका पाएको हो । इर्चिमका लागि दाबाजेभले गोल गरेका थिए । समूह चरणमा ४ अंकसहित थ्री स्टार शीर्ष स्थानमा छ । इर्चिमले ३ र नागावल्र्डले १ अंक बटुलेका थिए ।

अजायी मार्टिन्स कायोडे र कप्तान विक्रम लामाको गोलमा पहिलो खेलमा इर्चिमलाई २–० ले हराएको थ्री स्टारले नागावल्र्डसंग १–१ को बराबरी खेलेको थियो । दोस्रो खेलमा नाइजेरियाका मार्टिन्सले नै बराबरी गोल गरेका हुन् । अन्तिम खेलको नतिजापछि मात्र विजेता टोली टुंगो लाग्ने हुँदा अगष्ट २५ को अरुको खेल थ्री स्टारका लागि महत्त्वपूर्ण थियो । इर्चिम भने अन्तिम खेलअघि नै प्रतियोगिताबाट बाहिरिएको थियो । नागावल्र्डले भने छनोट हुन ३ गोल अन्तरले जित्नुपर्ने थियो । किर्गिस्तानको डोर्डोइ समूह ‘ए’ र चाइनिज ताइपेईको टाटुङ एफसी समूह ‘सी” को विजेता हुँदै प्लेअफका लागि छनोट भइसकेको छ ।

इर्चिम र नागावल्र्डको खेल थ्री स्टारका खेलाडी, प्रशिक्षक र अफिसियलले प्यारापिटमा बसेर हेरेका थिए । उनीहरूले इर्चिमले गोल हान्नेबित्तिकै खुसीयाली मनाएका थिए । छनोटपछि थ्री स्टारका प्रशिक्षक मेघराज केसीले ‘भाईहरूको मिहिनेतले नै हामीले यो सफलता पायौं’ भन्ने प्रतिक्रिया दिएका छन् ।

प्रतियोगिताबाट बाहिरिइसकेपछि इर्चिमले आफ्नो गौरवका लागि फुटबल खेलेको केसीले बताए । कप्तान विक्रम लामाले खेलाडी प्रशिक्षक, व्यवस्थापन र शुभचिन्तकको मायाले नै टोली अघि बढ्न सफल भएको बताए । टोलीले राम्रो खेल्नुका साथै भाग्यले पनि साथ दिएको उपकप्तान निराजन खड्काको भनाइ थियो ।

एसियाली फुटबल महासंघ (एएफसी) को क्यालेन्डरअनुसार एएफसी कपको प्लेअफ जनवरीमा हुनेछ । प्लेअफमा ८ टोलीको सहभागिता रहेनछ । नागावल्र्डका प्रमुख प्रशिक्षक मियास चानाले आफ्ना खेलाडीले खुलेर खेल्न नसकेको बताए । सन् २००५ मा पहिलोपल्ट प्रेसिडेन्ट्स कप फुटबल हुँदा नेपालको प्रतिनिधित्व गरेको थ्री स्टारले एएफसी कप पनि पहिलोपटक खेल्ने मौका पाएको छ । थ्री स्टार गतवर्षको राष्ट्रिय लिग च्याम्पियन हो ।

एएफसीको दोस्रो श्रेणीको क्लब फुटबल एएफसी कप हो । यसअघि एएफसीले सदस्य राष्ट्रलाई तीन श्रेणीमा विभाजन गरी ‘ग’ श्रेणीका राष्ट्रका लिग च्याम्पियनबीच एएफसी प्रेसिडेन्ट्स कपमा प्रतिस्पर्धा गराउँथ्यो । प्रेसिडेन्ट्स कप २०१४ मा अन्तिमपल्ट आयोजना भएको थियो ।

अर्को वर्ष हुने एएफसी कप चौधौं संस्करण हो । एएफसीका सदस्य राष्ट्र (एसोसिएट सदस्य नर्दन मारियना आइसल्यान्ड) सहित ४६ राष्ट्रलाई पछिल्लो चारवर्ष राष्ट्रिय टोलीको प्रदर्शन र क्लबको प्रदर्शनका आधारमा वरीयताक्रम निर्धारण गरेको थियो ।

एएफसीले सदस्य राष्ट्रलाई पूर्व र पश्चिम क्षेत्रमा विभाजन गरिएको थियो । दुवैमा समान २३ राष्ट्र छन् । पश्चिम क्षेत्रमा पश्चिम, मध्य र दक्षिण एसियाका राष्ट्र छन् । त्यसमा दक्षिण एसियाका भारत र माल्दिभ्स रहने छैनन् । एएफसी कपको प्लेअफमा पूर्व र पश्चिम क्षेत्रका ४–४ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

पूर्व क्षेत्रमा आसियान र पूर्वी एसियाका राष्ट्रसहित भारत र माल्दिभ्स समावेश गरिएको छ । शीर्ष १२ टोलीले स्वत: एसिया कपको समूह चरणमा प्रवेश पाउँछन् भने बाँकी ४ टोली छनोट चरण पार गर्दै अघि बढ्ने छन् ।