चाडपर्वमय प्रबासी मन

-- सुजित सिग्देल / प्रकाशित मिति : बुधबार, कार्तिक ३, २०७३

रितीरिवाज र संस्कृतीले सम्पन्न हामी नेपालीहरू मनका पनि धनी छौं । बर्षायाम सकिएर रमणिय आकाशले सरद ऋतुको प्रवेशको संकेत गर्दछ यसै सँग हाम्रा चाडपर्वहरू नजिकिंदैछन् । कृषि प्रधान देश नेपालमा ऋतुको विचार गर्दै खेतीपाती लगाएर थन्काउनु भन्दा अगाडिको समयमा मनाइने हाम्रा चाडपर्वहरूले सबैलाई प्रशन्न वनाएका हुन्छन् । रोजगार र व्यवसायको सिलसिलामा देशभरी र अहिले त संसारभरी नै छरिएका नेपालीहरू यही चाडपर्वको मेसो मिलाएर आफनाहरू सँग सुख–दु:ख साट्न आफ्नै घर आँगनी पुग्छन् । कम्तिमा वर्षको एक पटक आफ्ना ईष्टभित्र र नाता गोताहरूलाई भेटछन् । गएको जुनबाट सुरु भएर एक महिनासम्म चलेको मुस्लिम समुदायको इद उल फिटर (पबित्र रामादान) गत महिना सकियो । हिन्दु धर्मालम्विहरूको दसैंभन्दा केहि अगाडि नै मुस्लिम धर्मालम्विहरूले अर्को महत्वपूर्ण चाड इद उल अजाह (कुर्बानी ) मनाई सकेका छन् । अबको दसैंं, त्यस पछाडिको तिहार अनि लगतै तराइवासीको ठूलो चाड छठले हामी सबैलाई छुनेछ । जनै पूर्णिमादेखि सुरु भएको यस पटकको चाडपर्बमय माहोल देशमा मात्र होइन परदेशमा समेत महिना दिन आगाडिदेखि रातो पहिरनले धपक्क बल्यो, तीजका गीतहरू भूगोलको सीमाहरू पार गर्दै गुञ्जिए र मिष्ठान भोजनका स्वदमा हाम्रा चेली बेटीहरू आफु मात्रै रमाएनन् आफु वरपरका वातावरण नै रमणीय बनाए । तीज सकिना साथ मुस्लिम समुदायको इद उल अजाह त्यस पछि हिन्दुहरूले सोह्र्र श्राद्धमा पितृहरू सम्झिसकेपछि दसैंं, तिहार र छठ पर्वसंगै सारा नेपाली मन एकचोटी फेरि चाडपर्वमय हुँदैछ । देशको परिस्थिति सहज र मन प्रफुल्लित हुने खालको नभएको बर्षौ भए पनि अस्थिरताका वावजुद उल्लास र विजयको प्रतीकको रुपमा मनाइने हाम्रा चाडपर्बहरूले एक चोटी फेरी हामी सबैलाई धार्मिक आस्थाभन्दा माथि उठेर सांस्कृतिक महत्व, सहिष्णुता र आपसी सद्भावको सन्देशले भातृत्वमा गाँस्ने छ ।

विदेशमा चाडपर्व

जसरी आमाको काखको महत्व नानीहरूले आमासँग एकै छिन् छुट्टिना साथ महशुस गर्दछन ठिक त्यसै गरि विदेशीभूमिमा चाडपर्वको महत्व झन् वढि हुने हाम्रै अनुभबले देखाएको छ तर कार्यव्यस्तता र समय मिलाउन नसक्दा चाडपर्वहरू निराशाजनक रहेका हाम्रा तीता अनुभवहरू छन् । अर्को तर्फ चाडपर्वमा बढ्दै गरेको भड्किलो संस्कृति र सांस्कृतिक ह्रास एवं संस्कृतिको नाममा देखिएको विकृति अर्को चिन्ताको विषय हो । वैशाखी, इद, ल्होछार, माघी, उभौली, उधौली, छठदेखि दसैंं र तिहारसम्म हामी सबैले मात्र “नेपाली” नाता, मन र भावनाले प्रसन्नताका साथ मनाउनु पर्नेमा विदेशमा समेत यो क्षेत्रको, यो सम्प्रदायको जस्ता विभाजित मानसिकताको विजारोपण हुनु झन् दु:खको कुरा हो । भर्खरै सकिएको तीजमा शीरदेखि पाउसम्म सजिएका नेपाली नारीहरूले तीज मात्र मनाएनन् हाम्रा संस्कृती, चालचलन र भेषभूषालाई विदेशीभूमिमा परिचित बनाए बाटो हिड्ने वटुवादेखि सरकारी ओहदासम्मकाले चासो लिए, जानकारी पाए त्यो भन्दा ठूलो उपलब्धी अरु के हुन सक्छ । त्यस्तै डम्फु नाच र धान नाच नाच्दै, सूर्यलाई अर्घ दिंदै, घाँघर–चोली र शिरवन्दीमा सजिएर हाम्रा चाडपर्व मनाउँदै गर्दा समेत हामी सबै फेरी मात्र नेपालीको नाता र मनले गोलवद्ध हुदै आफ्नो परिचय साट्न सक्यौं भने त्यो सन्देश विदेशी भूमिमा दर्जनौं सेमिनारहरू गरिएका भन्दा महत्वपूर्ण हुनेछन् । यसो भन्दै गर्दा हाम्रा चाडपर्व, रितिरिवाज र संस्कृतीले हामीलाई मनरञ्जनात्मक र उल्लासमय वातावरण त सृजना गरेका छन् नै त्यसको अलावा नैतिकता र स्वच्छ आचरणका पाठ पनि सिकाएका छन् ।

परम्परा हराउँदै–पर्व मनाउदै

हिन्दू, मुस्लिम, वौद्ध, किराती जस्ता विभिन्न धर्म र विभिन्न सम्प्रदायमा मनाइने हाम्रा चाडपर्वहरू विशिष्ट महत्वका छन् । ठूलाको आदर र सानालाई माया ममता, सहयोगी चराचुरु∙ी, घरपालुवा जनावर, आकाश, धर्ती, सूर्य, वन जंगल सबैलाई विशिष्ट सम्मान सहित सम्झने र पूजिने हाम्रा चाडपर्बले हामीलाई प्रकृतीसँग नजिक रहेर जीवन गुजार्ने मन्त्र पनि सिकाएका छन् । नाता–गोता, ईष्टमित्र, छरछिमेक र साथीभाइलाई आफ्नो घर वोलाउने श्रद्धाले आफुले जे सकिन्छ मीठो मसिनो खुवाउने शुभकामना र आशिर्वादको कवचले सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने हाम्रा चाडपर्व आजभोलिका दिनमा भने फरक तरिकाले आउने गरेका छन् । महिनौसम्म भोजभतेर र मदिरापानमा जमेर होटल, रेष्टुरेण्ट र पार्टी प्यालेसबौटै चाडपर्वहरू सकिने गरेका छन् । यो निश्चय नै दुखद कुरा हो । हाम्रा चाडपर्वहरू हामीले सधै सांस्कृतिक महत्व र धार्मिक सहिष्णुताको सेरोफेरोमा मनाउन सक्यौं भने मात्र तिनीहरूले आफ्नोपन दिन सक्छन् । परिबर्तित सन्दर्भ र प्रबिधीको बिकासको यो समयमा हामीले हाम्रा चाडपर्बहरू निश्चय नै समय सुहाउँदो रुपमा मनाउनु पर्दछ । तर परिवर्तनका नाममा उत्ताउला गीत, नृत्य, महँगा भोजभतेर र फजुल खर्च नगरी मनाउन सकौं, हामी सबैलाई सदबुद्धी प्राप्त होस् । त्यसो मात्र गर्न सके पनि बिदेशमा हुर्केका नयाँ पुस्तालाई हामीले मनाएका यी चाडपर्वहरू कला संस्कृति र रहन–सहन सिक्ने श्रृंखलावद्ध पाठहरू हुनेछन् ।

अष्ट्रेलिया भित्रको मिनी नेपाल

अष्ट्रेलियामा नेपालीहरूको संख्या यकिनका साथ भन्न निकै कठिन छ, तै पनि हाम्रो उपस्थिति अब यहाँ सामान्य छैन। प्रत्येक हप्ता र कहिले काँही त हप्तामा एक दुइ पटक हुने नेपाली समुदाय भित्रका कार्यक्रमहरू र बिगत केहि साल देखि ४० औ हजारको उपस्थिति हामीले मनाएका नेपाल फेस्टिभलहरू यसका बलियो उदाहरणहरू हुन् । त्यो बाहेक यहाँको स्थानीय देखि केन्द्रिय राजनीति सम्म राजनीतिज्ञहरूको चासो र उनीहरूले हामीलाई दिएको स्पेसले पनि हामी र हाम्रो उपस्थिति अब कम्जोर नरहेको स्पस्ट देखिन्छ । त्यो बाहेक अष्ट्रेलियामा खुलेका नेपालीहरूका विभिन्न संघ संगठनहरूले क्षेत्रिय, जातिय, राजनीतिक रुपमा सबैलाई ओगट्न खोजेका देखिन्छन् । हाम्रा यीनै संगठित प्रयासहरूले डडेल्धुराको नेपालीले अष्ट्रेलियामा आएर पहिलो पटक धान नाच देखेको छ, ताप्लेज∙को राईले डडेल्धुराको देउडा नाच नाचेको छ । मध्य पहाडको नेपालीले एकै थलोमा इदमा सहभागी हुदै, धान नाचमा रम्दै, ल्होछार मनाउन पाउनु आफैंमा साँस्कृतिक विविधताबीचको अदभूत अनुभव हो । जुन अवसर नेपालको एउटै भूगोलमा उपलब्ध नहुन सक्छ । त्यस मानेमा हामीले एउटा मिनी नेपालको अवधारणामा अष्ट्रेलियामा एक अर्काका रहन–सहन तथा रितीरिवाजमा भिज्दै नेपाली संस्कृतीसँग सामिप्य हुने अवसर पाएका छौं । त्यसैले विभिन्न नाम, क्षेत्रिय पहिचान र उद्देश्य लिएर हामी संघ संगठनमा आवद्ध हुदै गर्दा कहिले काँही हामीबीचमा असमाञ्जस्यता पनि निकै फलदायी रहेछन् भन्ने उदाहरण यसले दिएको छ । अर्को तर्फ विभिन्न कार्यक्रमका लागि स्थानीय र नेपालवाट कलाकार आउँदा सांगितिक माहोल र संस्कृती सम्मोहन भन्दा पनि अलिक अप्रिय लाग्ने प्रतिस्पर्धा र एकैदिनमा एक भन्दा बढी कार्यक्रमले हाम्रा वरपरिका केहि तीता अनुभवहरूलाई कहिले काहीं नमिठो गरि सम्झाई दिन्छन् । हजारौं किलोमिटर टाढा रहेर यहाँको हावापानीमा अभ्यस्त हुदै परिश्रमी प्राणी बनिसक्दा पनि हामीले आयत गरेका उताकै राजनीतिक प्रतिशोध । ‘नेपाली’ पनको परिचय प्रमुख र अरु दोस्रो हुनु पर्नेमा जातीय, क्षेत्रीय र राजनीतिक परिचयमा रमाउने हाम्रा बानी, प्रवासमा हामीलाई पटक्कै सुहाएका छैनन् । त्यसको अलावा समाजमुखी र संचार जस्ता क्षेत्रमा देखिएका अस्वभाविक लाग्ने प्रतिस्पर्धाले हामीलाई थप अन्यौलता थपेका छन् ।

त्यसैले आपसी एकता, सद्भाव, भाइचाराले यहाँको हाम्रो मिनी नेपाल झन् मजवुत हुनेछ । चाहे त्यो कम्यूनिटी भाषाको रुपमा हामीलाई दर्ता गर्न होस् या संघीय र केन्द्रिय सरकारमा हाम्रो समुदायका कुनै पनि मागलाई ध्यान आकर्षण गराउन होस् । मजवुत र गोलवद्ध हाम्रो आवाज नै हाम्रा सबैभन्दा ठूला हतियार हुन् । त्यसैले नबिर्सौं सबैभन्दा पहिला हामी नेपाली हौं अनिमात्र अरु कोही । विदेशीभूमिमा वीर गोर्खालीहरूले बनाएको विरताको इतिहास होस् या आज भोलि विदेशीएका दोश्रो पुस्ताले जुनसुकै कार्यक्षेत्रमा वनाएको इमान्दारिता र परिश्रमीको परिचय, हामीले गर्वले छाती फुलाएर भन्दा हुन्छ “म नेपाली हुँ ।”

र यो पनि

वैचारिक र व्यक्तिगत स्वतन्त्रता जस्ता स्वतन्त्रताहरू आजको दुनियामा सबैका लागि प्रिय छन् । आफ्नोपनमा रमाउने क्रममा हामीले अर्काको स्वतन्त्रता, आस्था र विश्वासमा आंच पुग्ने कुनै काम गर्नु हुदैन । विदेशीभूमिमा हामी सबै देशका सद्भावदूत सरह हौं । हामीले गर्ने आचरण र व्यवहारले सिधै हाम्रा देशका प्रतिनिधित्व गर्दछन् । देशवाट आउने कलाकार, पाहुना र नेताहरूलाई हामीले देशको प्रतिनिधीका रुपमा साझा सत्कार र ईज्जत गर्नु सक्नु पर्दछ । हाम्रा व्यवहारहरूवाट र आतिथ्यतावाट विभोर भएर यी पाहुनाहरू देश फर्के भने हाम्रो एकताको सन्देश र राष्ट्रप्रतिको प्रेमको सन्देश स्वदेशसम्म पुग्नेछ । जसले स्वयं ति नेता या कलाकारहरूलाई सकारात्मक उर्जा प्रदान गर्नेछ । अर्को तर्फ हामी बहुभाषिक बहुसास्कृतिक देशमा बसेका छौ, १७५ भिन्न भाषा बोलिने र त्यति नै संख्यामा धार्मिक रुपमा मनाएका यहाँका सबैको साझा भाषा अंग्रेजी नै हो । र वर्षभरि चाड–पर्बको रुपमा बिदा हुने चाड क्रिसमस र इस्टर नै हो । त्यसो भन्दै गर्दा आबश्यक परे जुन सुकै भाषाको दोभाषे सरकारले व्यवसायिक रुपमा उपलब्ध गराएको हुन्छ । त्यसको मतलब हो आफ्ना नागरिकहरूलाई भाषाले अप्ठ्यारो नपरोस् र जुन सुकै भाषामा बोले पनि, लेखे पनि समन्यवय भाषा एक होस् । अर्को तर्फ बिना हिच्किचाहट अष्ट्रेलियन सरकारले दिने धार्मिक बिदामा सबै सम्प्रदायका रमाएका छन् र आफ्नो धर्म संस्कृतिको पनि उसरी नै उपयोग गर्दै रमेका छन् । यस्तो विशिष्ट उदाहरण भएको देशमा बसेका हामीहरू नेपालको लागि संदेश र नजिर हुनु पर्नेमा हामीबीचका मत–मतान्तर हामीलाई सुहाउने कुरै होइनन ।

र अन्त्यमा,

प्रबासको पीडा, आफ्नासँग टाढिनुको व्यथा, वर्षभरीका थकान, तनावका क्षणहरूलाई विर्साउँदै हामी सबै आ–आफ्ना आस्था र विश्वास अनुसारका चाडपर्वमा रमाऔं । सदियौंदेखि हामीले मनाएका चालचलन र परिपूरकका रुपमा रहेका हाम्रा भिन्न–भिन्न संस्कृतिलाई त्यही नै सुन्दरताले छोप्दै सबैको सुस्वास्थ्य र दीर्घायुको कामना गरौं । एक अर्कामा सहभागी हुँदै हाम्रा सबै चाडपर्वहरू सामञ्जस्य र उल्लासमय तरिकाले स्वागत गर्दा हामीबीचको आत्मियता, माया र आफ्नोपन झन् वढ्दै जानेछ । सबैको जय होस् । सबैको भलो होस् ।

ॐ असतोमा सद्गमय, तमसोमा ज्योतिर्गमय, मृत्योत्मा अमृतं गमय । ॐ शान्ति शान्ति शान्ति ।