परराष्ट्रमन्त्री भारत प्रस्थान

-- / प्रकाशित मिति : बुधबार, कार्तिक १०, २०७३

foreign-minister

काठमाडौं-भारतको नयाँदिल्लीमा हुन गइरहेको नेपाल–भारत संयक्त आयोगको मन्त्रीस्तरीय बैठकमा सहभागिताका लागि परराष्ट्रमन्त्री डा प्रकाशशरण महत आज बुधवार बिहान त्यसतर्फ प्रस्थान गरेका छन् । भोलि बिहीबार भारतको नयाँदिल्लीमा हुने उक्त बैठकमा नेपालको नेतृत्व मन्त्री डा महतले गर्नेछन् । आयोगको बैठकमा भारतका तर्फबाट विदेशमन्त्री सुष्मा स्वराजले प्रतिनिधित्व गर्दैछिन् ।

उक्त आयोगको सचिवस्तरीय बैठक भने आजै नयाँदिल्लीमा शुरु हुँदैछ । परराष्ट्र सचिव शङ्करदाश बैरागी हिजो नै नयाँदिल्ली पुगिसकेका छन् । बैठकमा नेपाल–भारतका बीचमा विगतमा भएका सम्झौता र आयोजनाहरुको कार्यान्वयनको अवस्थाको बारेमा बृहत् समीक्षा हुनेछ । आफूले नेपालको राष्ट्रिय स्वार्थका विषयमा विगतका सम्झौता र आयोजनाहरुको कार्यान्वयनका लागि उक्त बैठकमा कुरा उठाउने मन्त्री डा महतले जानकारी दिए ।

नयाँदिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री डा महतले नेपाल भारत बीचका बिगतका विभिन्न सम्झौता र आयोजनाहरुको कार्यान्वयनको अवस्थाका बारेमा बृहत समीक्षा हुने र नेपालको तर्फबाट मैले राष्ट्रिय हित र स्वार्थका विभिन्न विषयमा कुरा राख्ने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको हालैको भारत भ्रमणका क्रममा तथा विगतदेखिकै नेपाल–भारतबीचका विभिन्न सहमति, सम्झौता तथा आयोजनाको कार्यान्वयनका बारेमा बृहत समीक्षा र कार्यान्वयनमा भएका ढिलाइका विषयमा पनि सो बैठकमा छलफल हुने छ ।

मन्त्री डा महत आगामी शुक्रबार स्वदेश फर्किनेछन्।