मेगा इभेन्टको तयारीमा एनआरएनए अष्ट्रेलिया

-- सुजित सिग्देल / प्रकाशित मिति : शनिबार, कार्तिक २०, २०७३

cover-novहुन त देश भनेको भूगोलको रेखा मात्र होइन, न त झन्डा र नक्साले नै देशको परिभाषा पूर्ण हुन्छ । देश भनेको त्यहाँको हावा पानी र माटो सँग भावनात्मक सम्बन्ध गाँसिएको मीठो नाता हो । जसका लागि दुरी र भौतिक उपस्थिति कहिले काहिँ गौण भइ दिन्छन् । राष्ट्रियता र देशसँगको नाताको उदाहरण दिनुपर्दा भूगोलको सीमामा कतै नभेटिने प्यालिस्टाइनीहरू लाई दिन सक्छौ जो भौगालिक रुपमा कतै नरहंदा पनि भावनात्मक रुपमा सधै प्यालिस्टाइनी बनेर बाँचेका छन् । राष्ट्रियताको सबालमा हामी नेपालीहरू पनि कम छैनौ । किनकी हाम्रा भावनात्मक सम्बन्ध संग हाम्रा चाडवाड, चालचलन, रहनसहन, रीतिरिवाज र संस्कृति जोडिएर आएका छन् र त विश्वको जुन कुनासम्म पुगे पनि हामी नेपालीहरू मन भित्र जन्मभूमि लिएर हिडेका हुन्छौं ।

रोजीरोटि, उच्च शिक्षा, पारिबारिक उन्नति प्रगति र उज्वल भविष्यको सपना बोकेर अहिले ग्लोबभरि नै नेपालीहरू छरिएका छन् । विदेशमा प्रत्येक नेपालीहरू देशको प्रतिनिधित्व गर्ने अवैतनिक राजदूत सरह हुन् । हामीबीचको एकता सद्भावले हामीलाई विदेशी भूमिमा नेपालीकै नाताले मात्र पनि नजिक बनाऊँछन् । त्यसैले विदेशका साना–ठूला जमघट र भेटघाटले समेत हामीलाई देशको हालखबर र परिस्थितिसँग नजिक राख्न मद्दत पुरईरहेको हुन्छ भने विदेशमा वृहत रुपमा गरिने कार्यक्रम, जमघट वा नेपाली मेला र फेस्टिभलहरूले पक्कै पनि बिदेशी भूमिमा नेपाल चिनाउन, हाम्रा रहन सहन, चाडपर्व, भेषभुषा र संस्कृतिलाई प्रवद्र्धन गर्न ठूलो मद्दत पुराएको हुन्छ ।

यस पटकको नेपाल फेस्टिभल १२ नोभेम्बरमा ब्रिसबेनबाट सुरु भई २६ नोभेम्बरमा सिड्नी र १७ डिसेम्बरमा मेलबर्नमा हुने तय भइसकेको छ ।

पृथ्बीको दक्षिणी गोलाद्धको यो विशाल देश अष्ट्रेलियालाई कर्मभूमि बनाएका नेपालीहरूले प्रत्येक दुई वर्षमा मनाउने नेपाल फेस्टिभल यहाँका नेपालीहरूको लागि एउटा ठूलो चाड सरह नै बनेको छ । यहाँका बिदेशीहरूको माझ पनि विगतमा यी फेस्टिभलहरूमा हाम्रो उपस्थिति चासोको बिषय बन्न सफल भएको थियो । शुरुका बर्षहरू मा सिड्नीमा मात्र सिमित यो फेस्टिभल आहिले अष्ट्रेलियाका लगभग सबै ठूला शहरहरू मा पुगेको छ, शुरुदेखि नै नेपाल फेस्टिभल जस्तो ऐतिहासिक र राष्ट्रिय पहिचान झल्कने यस कार्यक्रमको बढोत्तरी अहिले अष्ट्रेलिया बाहेकका नेपालीहरू बसोबास गर्ने अन्य देशहरूमा पनि यस्ता फेस्टिभलहरूको अबधारणा र लोकप्रियता बढेको छ ।

आउँदै गरेको यस पटकको नेपाल फेस्टिभल १२ नोभेम्बरमा ब्रिसबेनबाट सुरु भई २६ नोभेम्बरमा सिड्नी र १७ डिसेम्बरमा मेलबर्नमा हुने तय भइसकेको छ । अन्य शहरहरूमा पनि एनआरएनए अष्ट्रेलियाले त्यहाँको एनआरएनए स्टेट कमिटी, अन्य संगसंस्था र नेपाली दूताबाससंगको सहकार्यमा अष्ट्रेलियाका सबै स्टेटका शहरहरूमा नेपाल फेस्टिभलको आयोजना गर्न अन्तरिक गृह कार्य गरि रहेको एनआरएनए अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले बताए । सबैले गर्व गर्न मिल्ने खालको यस्तो बृहत्तर कार्यक्रम गर्ने एनआरएन अष्ट्रेलिया र यसका स्टेट कमिटीका सबै सदस्य एवं स्वयंसेवकको कार्य स्तुत्य छन् । अझ यसमा नेपाली दूतावास र सम्वन्धित स्टेटका वाणिज्यदूतका कार्यालयहरू, स्थानीय नेपाली समुदायका संघ संस्थाहरूको सहयोग र सहभागिताले त यस्ता फेस्टिभलहरूको महत्व झन बढेको छ ।

अष्ट्रेलियामा नेपाल फेस्टिभल

२००५ को फेब्रुवरीमा एनआरएन अष्ट्रेलिया विधिवत गठन भए पश्चात २००५ जुलाईमा यसले विधिवत रुपमा पूर्णता पाएको थियो । मन केसीको अध्यक्षतामा २००५ कै अक्टोवर महिनामा नेपालमा भएको दोस्रो एनआरएनए ग्लोवल सम्मेलनमा सहभागी हुन अष्ट्रेलियाबाट २६ जनाको समूह काठमाडौं गएको थियो । तत्कालिन अध्यक्ष एवं हालका एनआरएनएका केन्द्रिय सल्लाहकार मन केसीका अनुसार त्यतिबेला जम्मा ११ देशमा राष्ट्रिय कमिटी थियो र ११ देशका राष्ट्रिय कमिटीहरूले आ–आफ्नो देशमा फर्केर के गर्ने भन्ने बारेमा बोल्ने क्रममा शुरुमै अष्ट्रेलियाको पालो आयो र केसीले हामी अष्ट्रेलियामा फर्केर नेपाल फेस्टिभलको आयोजना गर्दछौं भनेर बोलेका थिए । केसीका अनुसार त्यसपछि मात्र सबै साथीभाइहरू संग गहिरिएर सल्लाह भयो । सबैको सहयोग र सद्भावले यो सफलता सम्भव भयो । सिड्नीको केन्द्रमा रहेको डार्लिङ्ग हार्बर नजिकैको टुम्वालोग पार्कमा २९ अप्रिल २००६ का दिन पहिलो पटक डार्लिग हार्बर भरी नेपाली चन्द्र र सूर्य अंकित झण्डा फहराऊँदै नेपाल फेस्टिभल सम्पन्न भएको थियो ।

अष्ट्रेलियामा मात्रै नभई डायस्पोराका नेपालीकै बीचमा त्यो पहिलो नेपाल फेस्टिभल थियो । हुर्कदै गरेको नेपाली समुदाय संख्यात्मक उपस्थिति समेत कम र यहाँको स्थानीय एवं केन्द्र सरकारसमक्ष पहुँच र पहिचान नवनिसकेको समयमा गरिएको पहिलो पटकको त्यो कार्यक्रम गर्दाका अप्ठ्याराहरू अझै पनि मन के सी लगायत तत्कालिन आयोजक कमिटिका सबै साथीहरूका स्मरणमा ताजै छन् । तर त्यो पहिलो पटकको सबैको साहस र सहयोगले अहिले हामीलाई २ बर्षमा एक दिन नै भए पनि सिड्नीको प्रमुख पर्यटकीय क्षेत्र डार्लिङ्ग हार्बर, मेलबर्नको फेडेरेसन स्क्वायर र व्रिसबेनको किङ्ग जोर्ज स्क्वायर नेपालमय बन्न सकेको छ । सिड्नीमा २००६ को पहिलो नेपाल फेस्टिभल पश्चात मेलबर्नमा २००८ र ब्रिसबेनमा २०१० बाट नेपाल फेस्टिभलले निरन्तरता पाइरहेको छ ।

यी तीन शहरमा सम्पन्न हुँदै गरेका नेपाल फेस्टिभलका स्थलहरू जस्तो सिड्नीको डर्लिङ्ग हार्बर, मेलबर्नको फेडेरेसन स्क्वायर र ब्रिसबेनको किङ्ग जोर्ज स्क्वायर आफैमा अष्ट्रेलियन र विदेशी पर्यटकका लागि मुख्य आकर्षणका केन्द्र हुन् । त्यस बाहेक यहाँ हुने बिभिन्न जमघट र नेपाल जस्तै अन्य देशका आप्रबासीहरूले समेत गर्ने बिभिन्न कार्यक्रमहरूमा यहाँका स्थानीयदेखि केन्द्रसम्मका मिडियाहरूको पहुचं रहेका हुन्छ र उनीहरूले चासोका साथ यी क्षेत्रहरू लाई नियाली रहेका हुन्छन् । त्यसैले पनि यहाँ सम्पन्न भएको नेपाल फेस्टिभलहरू र आउदै गरेको नेपाल फेस्टिभलहरूले यहाँको स्थानीय, केन्द्रिय र यहाँका सम्पूर्ण मिडियाका अगाडि नेपाल र नेपालीको गौरबशालि उपस्थिति सहित हाम्रो कला संस्कृतिलाई आप्रबसीको बाहुल्यता रहेको यस देशमा चिनाइरहेको छ । २००६ को नेपाल फेस्टिभल पछाडि सिड्नीमा प्रत्येक २/२ बर्षमा २००८, २०१०, २०१२ र २०१४ गरी पाँच वटा नेपाल फेस्टिभलहरू सफलता साथ सम्पन्न भइसकेका छन् । सम्पूर्ण सिड्नीबासीहरू आउने २६ नोभेम्बर २०१६ मा छैटाैं पटक, त्यस्तै गरि मेलबर्नमा २००८, २००१०, २०१४ र अबको चौथो नेपाल फेस्टिभल र ब्रिसबेनका लागि २०१०, २०१४ हुदै आउँदो नोभेम्बर १२ हुने तेस्रो नेपाल फेस्टिभलको प्रत्यक्षदर्शी हुने सौभाग्य प्राप्त गर्दैछौ ।

नेपाल फेस्टिभल २०१६ का आकर्षण

सिड्नीबाट सुरु भएको अष्ट्रेलियाको नेपाल फेस्टिभ जव सिड्नी बाहेकका शहरहरूमा समेत व्यापक सहभागिताका साथ सम्पन्न हुँदै गर्दा एनआरएनए अष्ट्रेलियाको राष्ट्रिय समिति भन्दापनि स्थानीय स्टेट कमिटीहरूलाई सक्रिय बनाउँदै लगेको देखिन्छ । यसै कारण पनि उक्त स्टेटको फेस्टिभल सफल पार्न स्थानीय स्टेट कमिटीहरू नेपाल फेस्टिभल सफल पार्न क्रियाशिल छन् । हालसम्म सिड्नी, मेलबर्न र ब्रिसबेनमा नेपाल फेस्टिभलको मिति तय भएर व्यापक तयारी भै रहेको यस पटकको फेस्टिभल ब्रिसबेनबाट सुरु भइ सिड्नी र मेलबर्नमा सम्पन्न हुनु आगावै नै अन्य शहरहरूका मिति पनि तय हुने एन आर एन ए अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलको बिश्वास छ ।

यो पटकको नेपाल फेस्टिभल ब्रिसबेनको मुख्य आकर्षण भनेको फेस्टिभलको एक दिन अगावै परेडको आयोजना गरिनेछ । जुन ब्रिसबेनको केन्द्र हुदै क्वीन्सस्ट्रिट मलमा पुगेर बिसर्जन हुनेछ । बिसर्जन अगाडि नेपाल र नेपालीको प्रतिनिधित्व गर्ने किसिमका विविध संस्कृतिक प्रस्तुतिहरू झाकींहरू प्रस्तुत गरिनेछ जसले भोलि हुने नेपाल फेस्टिभललाई प्रचार प्रसारमा मद्दत पुग्नेछ ।

ब्रिसबेनको पहिलो फेस्टिभल २०१० मा सुरु भएदेखि नै सक्रिय अभिमान सिंह बस्नेत बर्तमान एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष, स्टेट को–अर्डिनेटर र हालको फेस्टिभलको संयोजक समेत हुन् । बिगतका अनुभबहरूबाट अझैँ सिक्दै यो पटकको ब्रिसबेनको नेपाल फेस्टिभललाई झन् व्यापक र झन् परिस्कृत गरिएको उनको भनाइ छ । यो पटकको नेपाल फेस्टिभल ब्रिसबेनको मुख्य आकर्षण भनेको फेस्टिभलको एक दिन अगावै परेडको आयोजना गरिनेछ । जुन ब्रिसबेनको केन्द्र हुदै क्वीन्सस्ट्रिट मलमा पुगेर बिसर्जन हुनेछ । बिसर्जन अगाडि नेपाल र नेपालीको प्रतिनिधित्व गर्ने किसिमका विविध संस्कृतिक प्रस्तुतिहरू झाकींहरू प्रस्तुत गरिनेछ जसले भोलि हुने नेपाल फेस्टिभललाई प्रचार प्रसारमा मद्दत पुग्नेछ । अर्को तर्फ ब्रिसबेन नेपाल फेस्टिभलका संयोजक अभिमान सिंह बस्नेतले क्वीन्सल्याण्डका सबै संघ संस्था र अग्रजहरूको सरसल्लाह त छदैछ त्यो बाहेक अष्ट्रेलिया भरि कै सबै अग्रज र शुभ चिन्तकहरूको सल्लाह सुझब अनुसार यो पटकको फेस्टिबल व्यापक सहभागिताका बीच सम्पन्न हुनेमा बिश्वस्त छन् । नेपाल फेस्टिभलको दिन बिहान नेपाल हाउसको स्टलमा एक कार्यशाला गोष्ठीको आयोजना गरिने छ । जसमा सानो उमेरमा सगरमाथा चढेर किर्तिमान कायम राख्न सफल पर्वतारोही लगायत अन्य नेपालको पर्यटनसंग नजिक रहेका पाँच जना पर्यटन व्यबसायीहरूको प्रस्तुति हुनेछ ।

सहभागिताको हिसाबले सिड्नीको नेपाल फेस्टिभल अन्य स्टेटका नेपाल फेस्टिभल भन्दा निकै ठूलो मानिन्छ । त्यसैले पनि यस पटक पहिलो सम्पन्न हुने ब्रिसबेनको नेपाल फेस्टिभलको ताजा अनुभबले सिड्नीलाई सहयोग हुने बिश्वास सिड्नी फेस्टिभलका संयोजक दिनेश पोख्रेलले लिएका छन् । यस पटकको सिड्नीमा हुने नेपाल फेस्टिभलमा गत सालबाट सुरु गरिएको नेपाल हाउसको अबधाराणालाई निरन्तरता मात्र होइन त्यसलाई अझ ब्यापकता दिइनेछ । जस अनुसार यो पटकको नेपाल हाउस पहिला भन्दा निक्कै ठुलो र बिशेष सजावट सहित प्रस्तुत गरिनेछ, फेस्टिभल भर नै त्यहाँ श्रब्य दृश्य मार्फत नेपालको पर्यटकीय चिनारीलाई प्रस्तुत गरिने छ । नेपालको पर्यटन सम्बन्धि ज्ञान भएका बिज्ञ स्वयंसेवकहरूले त्यहाँ उपस्थित बिदेशी मूलका आगन्तुकहरू लाई नेपाल सम्बन्धि जानकारी दिई रहनेछन् ।

फेडेरेसन् स्क्वायरमा नेपालका झन्डाहरू पहिलो चोटी फहरिंदाको अनुभब केशब कडेलको दिमागमा अझै ताजा छ संयोगले आठ बर्ष पछाडिको नेपाल फेस्टिभलको संयोजकको जिम्मा उनकै काँधमा आएको छ । जुन जिम्मेवारी कठिन भए पनि रमाइलो र गौरवान्वीत हुने खालको भएको उनले बताए । मेलबर्नका सबै संघ संस्थाहरू बीच निकै राम्रो सम्बन्ध छ र बिगतमा एक आर्काको परिपूरकको रुपमा गरेका विविध कार्यहरूको निरन्तरता यस पटक पनि नेपाल फेस्टिभल मेलबर्न व्यापक सहभागिता सहित सम्पन्न हुने कुरामा कडेल बिश्वस्त छन् । मेलबर्नको नेपाल फेस्टिभलमा यस पटक एनआरएनए भिक्टोरियाले सेभेन वमन फाउन्डेसन स्टेफानी वूलार्डलाई नेपाल फेस्टिभल मेलबर्नको ब्रान्ड एम्बेस्डरको रुपमा मनोनयन गरेको छ । उनको नेपाल फेस्टिभलसंगको सहकार्यले कार्यक्रमको बारेमा अष्ट्रेलियाको बहुसांस्कृतिक समुदायसम्म मेसेज पुग्न सहज हुने बिश्वास कंडेलको छ । कंडेलले भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरू निक्कै छरिएर भिन्न भिन्न सबअर्बहरूमा रहेकाले बिगतमा सबैको उपस्थित उत्साहाजनक नभएको देखिएकोले यस पटक सबै तिर बसोबास गर्ने सबैलाई ब्यापक रुपमा फेस्टिभलमा सहभगिता गराउन बिशेष पहल गरिने जानकारी दिए । नेपाललाई माया गर्ने धेरै बिदेशी हितैसीहरू मेलबर्नमा छन् उनीहरूसम्म फेस्टिभलको म्यासेज पुराउन पनि यस पटक बिशेष प्रयास गरिएको उनले बताए ।

यसको आलवा हुँदै गरेका तीनै शहरहरूका नेपाल फेस्टिभलहरूमा यहाँका स्थानीय कलाकारहरू बाट नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको प्रतिनिधित्व हुने गरि जात–जति, भाषा–भाषी, भेष–भुषा, रहन–सहन सबै झल्कने खालका झाकीं र परेडहरू अष्ट्रेलियामा बसोबास गर्ने र यहाँ रहेका खुलेका सबै खाले र उपस्थित हुने सबैको सांस्कृतिक प्रस्तुतिहरू बिशेष प्राथामिकताका साथ प्रस्तुत हुनेछन् । यसै गरि यहाँका स्थानीय कलाकारहरू को विविध  प्रस्तुति एवं राष्ट्रिय कलाकारहरूको प्रस्तुतिहरू रहनेछन् । यस पटक नेपालबाट कन्दरा ब्याण्डले अष्ट्रेलियाका सबै शहरहरूका सबै फेस्टिभलहरूमा बिशेष प्रस्तुति सहित सबैलाई मनोरंजन दिनेछन् भने कन्दरा ब्याण्डलाई लोकप्रिय गायक सुगम पोख्रेल, गायिका अन्जु पन्त र गायिका एवं उद्घोषिका मञ्जु पौडेलले साथ् दिनेछिन् । त्यो बाहेक यो पटक दर्शक र आगन्तुकहरूको सेवालाई ध्यानमा राखेर सबै शहरका फेस्टिभलहरू का मञ्चहरू अलिकति माथि उठाइने छ र साउण्ड सिस्टमलाई विगतमा भन्दा सुधार्दै उच्च प्रबिधि अपनाइनेछ । यो पटक ब्रिसबेनको नेपाल फेस्टिभलमा २३ ब्यबसायिक स्टलहरू रहनेछन त्यस्तै सिड्नीको नेपाल फेस्टिभलमा ४० स्टलहरू र मेलबर्नको नेपाल फेस्टिभलमा ३५ स्टलहरू रहनेछन् ।

कार्यक्रममा नेपाली हस्तकला, बस्तुकला, नेपाली खानाका परिकार, शिक्षा, होम लोन लगायतका स्टलहरू बिदेशी मुलका आगन्तुकहरू लाई बिभिन्न जानकारी पस्कि रहनेछन् भने यहि जन्मेका बाबु नानीहरू र अन्य सबै उपस्थितका लागि उपयोगी हुनेछ ।

अन्त्यमा,

नोभेम्बर १२ मा ब्रिसबेन, नोभेम्बर २६ मा सिड्नी र डिसेम्बर १७ मा मेलबर्नमा हुने नेपाल फेस्टिभलहरू एनआरएनए अष्ट्रेलिया मातहतका स्टेट कमिटी, नेपाली दूतावास र स्टेटका कन्सुलेट जनरलको कार्यालयको अगुवाइमा यहाँका सबै नेपाली सामाजिक संघ संस्थाहरू संगको सहकार्यमा हुने साझा कार्यक्रम हो । यसको राम्रो परिणामको जस अपजसका भागिदार हामी सबै हौं । त्यसैले पनि नर्विसौं यसमा रातदिन लाग्ने दिदीबहिनी, दाजुभाइहरू नितान्त नि:स्वार्थ भावनाले स्वयंसेवीको रुपमा लाग्नु भएको छ । त्यसैले हामी सबैले आ–आफ्नो ठाउँबाट आँफु बसेका शहरका नेपाल फेस्टिभलहरू सफल बनाउन सहयोगी बनौं । आ–आफ्नो कार्यक्षेत्रमा नेपाल फेस्टिभलको बारेमा केही भनेर २ जना विदेशी मात्र उक्त दिन उपस्थित गराउन सक्यौं भने पनि हजारौं विदेशीको संख्या त्यहाँ जोडिनेछ । जसले नेपाल र नेपालीको परिचय अझ व्यापक हुन मद्दत पुग्दछ । अर्कोतिर त्यो दिन कम्तिमा पनि हामी आ–आफ्नो रहनसहन झल्कने पोशाक लगाएर मात्र उपस्थित हुन सक्यौं या नेपाली राष्ट्रिय पोशाकमा उपस्थित हुन सक्यौं भने पूर्व मेची र महाकाली सहितको सिंगो पहिचान अष्ट्रेलियाभरि नै उतार्न सक्छौं । भेष–भुषा र रहन–सहन झल्कने किसिमबाट कुनै कारणबस उपस्थित हुन नसके पनि सधै जहि मीठो मुस्कान, नम्र बोलिका साथ हामी त्यस दिन जुटाैं अनि हाम्रो आत्मियता, भाइचारा र ‘अतिथि देवो भव:’ को सन्देश हामीले विश्वभरका मानिस बस्ने अष्ट्रेलियाबाट दिन शुरु गरौं ।