नेपाल महोत्सवका लागि जुट्दै…

-- निरु त्रिपाठी / प्रकाशित मिति : सोमवार, मंसिर २७, २०७३

हरेक दुई बर्षको अन्तरालमा अष्ट्रेलियाका विभिन्न शहरहरूमा बस्ने नेपालीहरूले नेपाल फेस्टिवल भव्यसँग मनाउँदै आएका छन् । यस फेस्टिवलको आयोजक एनआरएनआफ्नो देशबाट टाढा रहेता पनि आफ्नो देशको पहिचान बचाइराख्न, आफ्नो भेषभूषा, भाषा, खाना र संस्कारलाई सबैसामु चिनाउन यस फेस्टिवलले एउटा ठूलो भूमिका खेलेको हुन्छ । यसरी फेस्टिबल मनाउँदा आफ्नो देशलाई विदेशमा चिनाउनुको साथै हामीले हाम्रो देशको मुल्य मान्यताको बारेमा सबैसामु चिनाउन सक्छौं । यस अर्थमा यस फेस्टिवल एउटा देश चिनाउने अवसर पनि हो । यसले नेपाली समाजलाई एकसूत्रमा बाँध्ने काम गर्नुको साथै बहुसाँस्कृतिक समुदायलाई पनि नेपाली समाजसँग चिरपरिचत गराउन मद्दत गर्दछ । यस फेस्टिबललाई हरेक दुईवर्षमा गैह्र आवसीय नेपाली संघ अष्ट्रेलियाले नेपाली दूतावास क्यानबेरा, नेपाली महावाणिज्यदूत कार्यलय मेलवर्न, नेप्लिज एशोशिएसन अफ भिक्टोरीया र अन्य समुदायका विभिन्न संघसंस्थाहरूसँग साझेदार गरेर यस फेस्टिवल भव्यताको साथ मनाउने गरेको पाइन्छ ।

नेपाल महोत्सव अन्तर्गत यस पटकको नेपाल फेस्टिभलको पहिलो शृंखला १२ नोभेम्बरका दिन ब्रिसबेनबाट सुरु भएको छ भने त्यसैगरी सिड्नीमा नोभेम्बर २६ तारिखमा र मेलवर्नमा अब आउने डिसेम्बर १७मा सम्पन्न हुनेछ ।हरेक दुई वर्षमा आयोजना गरिने नेपाल महोत्सव ब्रिसबेन र सिड्नीमा भव्यताको साथ सम्पन्न भएको छ भने अब पालो भनेको मेलवर्नको नेपाल फेस्टिवललाई भव्य बनाउने हो । नेपाल महोत्सवको यस पटकको संस्करणमा कन्दरा व्याण्डसहित नेपालका अन्य राष्ट्रिय कलाकारहरू आकर्षणको केन्द्र हुनेछ र यो हिसाबले पनि कार्यक्रम रोचक र सँगीतमय हुने देखिएको छ ।नेपाली समुदायका विभिन्न संस्थाहरूले एनआरएनए भिक्टोरीयाका टिमलाई विभिन्न तरिकाबाट सघाएका छन् । यसपटक फेस्टिवलको इभेन्ट म्यानेजमेन्टको जिम्मा यती फुटबल क्लबले लिएको छ । कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाली पर्यटन मन्त्री जीवन बहादुर आउने भएका छन् ।

नेपाल फेस्टिवल २०१६ को तयारीको बारेमा केही जानकारी दिदै गर्दादुई वर्ष अगाडि २०१४ साल नोभेम्बर २ मा नेपाल फेस्टिवल मेलवर्नमा देखिएका केही दृश्यहरूको झलक र नेपालीहरूले फेडेरेशन स्क्वायरलाई देखेर सुखद अनुभूतिहरू म यहाँ पस्कन चाहन्छु । फेडेरेशन स्क्वायरमा देखेको त्यो नेपालीपनले साँच्चैनै एउटा हर्षोल्लास बोकेर आएको थियो । फेडेरेशनमा हाम्रो विश्वमा अलग पहिचानको तिनकुने झण्डा निमेष निमेषमा फर्रफराउँदा सारा उपस्थित नेपालीहरूको मुटु गर्वले गदगद भएको थियो । मिल्ने भए पनि छाति चिरेर देखाउँथे होला र भन्थे ‘ल हेर मेरो देश यहाँ छ, ल हेर मेरो झण्डा यहाँ छ ।’

त्यही फेडरेशन स्क्वायर थियो जहाँ प्राय:नेपालीहरू बेलाबेलामा आफ्नो एकान्तपन साट्न जान्थे र एक्लो मनस्थितीमा दिनभरी टहलिन जान्थे तर नेपाल फेस्टिवलको दिन त्यो फेडेरेशन स्क्वायर थियो, त्यही नेपालीहरू थिए तर त्यो दिन युद्ध जितेर आएको योद्धा झैँ, खुसीको भारी बोकेर आएको भरीया झैँ, साथीभाइ सँगीहरूको बथानमा मुस्कान छँर्दै, सबै तनाव बिसाएर ‘मेरो नेपाल, मेरो नेपाल, जय जय जय मेरो नेपाल’ गाउँदै, स्वरमा स्वर मिलाउँदै फेडेरेशनलाई आफ्नो मातृभूमि बनाएको अनुभव हुन्थ्यो ।

फेडेरेशन स्क्वायर त्यो दिन कुनै विवाह घर भन्दा कम थिएन । भिक्टोरीबाट नेपाली विभिन्न जातजातीको भेषभूषामा सजिएर बाजागाजाको साथ एउटा परेड फेड्रेशनतिर लम्कदाँ त्यो दृश्य कुनै बेहुली लिन आएको जन्तीभन्दा कम हुदैनथ्यो । परेड नेपाल फेस्टिवलको एक आकर्षक केन्द्रविन्दु थियो । विभिन्न वाजागाजाको साथ नेपाली राष्ट्रिय गीतहरू गाउँदै हिड्दा नेपालीहरू मात्रै नभएर विदेशीलाई पनि आकर्षित गरेको थियो र फलत उनीहरू पनि फोटो खिच्दै, नाँच्दैँ नेपाली परेडमा सहभागी भए । भूटनीजहरू पनि नेपाली झण्डा बोक्दै नेपाली गीत गाउँदै परेडमा सहभागी भएका थिए । शिरमा ढाका टोपी, शरीरमा दौरा सुरुवाल, धोती, कम्मरमा पटुकी, शरीरमा टपक्क मिलेको गुन्यू चोलि, कम्मरमा सपक्क बाँधेको पटुकी, धागोले कसक्क बाँधेको दुई चुल्ठी, कानमा ढुङ्ग्री, तिरली, निधारको बीचमा रातो टिका र हातामा नेपालको झण्डा बोकेर नेपाली चेलीहरू यता उती डुल्दा त यस्तो अनुभव हुन्थ्यो कि यस्तो सुन्दर पोसाक दुनियाँको अरु कुनै ठाउँमानै बनेको छैन, न अब कहिले यस्तो पोसाक बन्ने नै छ । यसरी नेपाली भेषभूषमा सजिएका पुरुष महिलाहरूको त्यो मुसुक्क मुस्कान देख्दा त लाग्थ्यो यस्तो स्वरुप र सुन्दरताको वयान कुनै कविनै चाहिन्छ ।

हो, २०१४ सालको यो अनुभव यसपाली पनि हुने भएको छ । अझ भनौँ यो दुईवर्षको अन्तरालमा त्यो वर्ष भन्दा पनि यो वर्ष भिक्टोरीयाको नेपाली समुदाय धेरैनै बलियो बनेको छ । नेपालहरूको जनसंख्याको हिसाबले पनि सशक्त बन्दै गएको छ । जनसंख्यासँगै विभिन्न संस्थाहरू पनि बढेको छ । विभिन्न संघसंस्थाको प्रतिनिधित्व र सहयोग यो वर्षको नेपाल फेस्टिवललाई अझ गरेको छ । पहिला भन्दा अहिले मानिसहरूको सहभागिता पनि बढिरहेको देखिएको छ । अष्ट्रेलियनदेखि लिएर अन्य समुदायको व्यक्तिहरूले भूकम्प पछि नेपाललाई अझ चिन्न थालेका छन् र नेपालमा भूकम्प गएको बेला यो बहुसाँस्कृतिक समुदायले नेपाललाई विभिन्न तरिकाले सहयोग गरेको थियो र यो हिसाबले पनि यो वर्ष अन्य समुदायको सहभागित अझ हुने देखिएको छ ।

#tagAmate #bringAmate अभियान

एनआरएनए भिक्टोरीयाको आयोजनामा मेलबर्नमा हुन लागेको नेपाल फेष्टिबलको प्रवद्र्धनका लागि ट्याग (#tagAmate) अभियान शुरु गरिएको छ । यस वर्षको लागि यो एउटा नौलो अभियान हो । यो अभियान अन्तर्गत एकजना नेपालीले एकजना अष्ट्रेलियन वा अन्य विदेशी मित्रलाई जो अष्ट्रेलियामा बस्छन् उनीहरूलाई नेपाल फेष्टिबलबारे जानकारी दिन ट्याग गर्नुपर्नेछ । र ट्याग मात्रै नभएर उक्त फेस्टिवलमा आफूसँग त्यो विदेशी साथीलाई फेस्टिवलमा सहभागि गराउन ल्याउन पनि पर्ने हुन्छ । नेपाली टाइम्स् मेलवर्नसँग कुरा गर्दै एनआरएनए अष्ट्रेलियाका सचिव टोनु घोतानेले नेपाल फेष्टिबलमा विदेशीहरूलाई पनि आकर्षित गराउन यो अभियान चलाइएको र प्रभावकारी हुने कुरा बताएका थिए । यो अभियानका कारण नेपाल फेष्टिबलमा विदेशीको समेत उल्लेख्य सहभागीता हुने अपेक्षा गरिएको उनले बताएका छन् । साथै यो अभियानले ती विदेशीहरूलाई नेपाल भ्रमणका लागि जान पनि अभिप्रेरित गर्ने उनको विचार रहेको छ ।

नेपाल फेष्टिबलको आयोजना गर्न पाउँदा निकै उत्साहित देखिएका घोतानेब्रिसबेन र सिड्नीमा सम्पन्न नेपाल फेष्टिबलले थप उत्साह थपेको र मेलवर्नमा पनि यस फेष्टिबललाई भव्य र सफल बनाउन टिम अहोरात खटेको कुरा उनले बताएका थिए । #tagAmate (ट्याग अ मेट )नेपाल फेष्टिबलमा अष्ट्रेलियामा रहेकालाईसामाजिक सञ्जाल फेशबुक अन्तर्गतको ह्यास ट्याग गरेर गर्न सकिनेछ ।

यही फेस्टिवलको सेरोफेरोमा रहेर नेपाली टाइम्स मेलवर्नले फेस्टिवलका आयोजक तथा नेपाली समुदायका केही विशिष्ट व्यक्तित्वहरूसँग कुराकानी गरेको थियो । प्रस्तुत छ ती कुराकानी र उनीहरूको नेपाल फेस्टिवल मेलवर्न २०१६ लाई शुभकामना ।

हाम्रो कला संस्कृति एकै थलोमा हेर्न पाइने यो महोत्सवको पूरा सदुपयोग गरौँ

– चन्द्र योन्जन नेपाली अवैतानिक महावाणिज्यदूत, मेलवर्न

मेलवर्नमा यो चौथो पटक नेपाल फेस्टिवल हो । नेपाली महावाणिज्यदूत कार्यालयले सदाझैँ यो वर्षपनि नेपाल फेस्टिवल सफल पार्न साझेदारी गरेको छ । नेपालीहरूबीच उत्सवको माहोल बनाउने, आपसी एकता अभिबृद्धि गर्ने र नेपाली पर्यटनको प्रबद्र्धन गर्ने उदेश्य हो नेपाल फेस्टिभलको । र, हरेक दुईवर्षको अन्तरालमा विभिन्न राज्यमा हुने यस महोत्सवले अष्ट्रेलियाको विभिन्न समुदायमा नेपाल चिनाउने मौका दिएको छ । मैले देखिरहेको छु नेपाल फेस्टिवलको टिम फेस्टिवललाई सफल र भव्य बनाउन रातदिन खटिरहेका छन्, मलाई विश्वास छ यो सक्रियताको एकदमै राम्रो प्रतिफल आउँछ र फेष्टिवलले यो वर्षपनि फेरि अमिट छाप छोडेर जानेछ । यसका साथै, नेपाल सबै दृष्टिकोणले पर्यटकको लागि एकदमै राम्रो होलिडे डेस्टिनेशन र सुरक्षित स्थल भएकोले यस फेस्टिवलमार्फत अष्ट्रेलियन तथा अन्य सबै बिदेशी साथीभाइहरूलाई पनि नेपाल घुम्न जान आग्रह र प्रोत्साहन गर्न जरुरी रहेको छ । र, साथसाथै फेस्टिभलको दिन नेपाली विविध खानाका परिकारहरूको स्वाद लिन र हाम्रो कला संस्कृति एकै थलोमा हेर्न पाइने यो अवसरको पूरा सदुपयोग गरौँ ।

महोत्सव व्यक्ति विशेष र संस्थाको नभई हामी सबैको हो

तारा गैह्रे उपाध्यक्ष,न्याभ तथा सह–संयोजक, नेपाल फेस्टिवल २०१६

२००८ देखिनै न्याभ संस्था नेपाल फेस्टिवलको अभिन्न अंग रहेको छ । यसपटक पनि नेपाल फेस्टिवलमा न्याभको भूमिका विशेष रहेको छ । नेपाल फेस्टिवलको परेडको जिम्मेवारी न्याभले पूर्ण रुपमा लिएको छ । यसलाई वृहत र सफल बनाउने प्रयत्न हाम्रो अवश्य हुनेछ । परेडमा विभिन्न जातजातिको भेषभूषा, नेपाली बाजा, भजन कृतन तथा अन्य विभिन्न झाँकीहरू देखाउनेछौं । हामीले महोत्सवको दिन विहान ११ बजेदेखि स्टेट लइब्रेरीबाट परेड शुरु गरेर फेडरेशन स्क्वायरमा समापन गर्नेछौ । म लगायत न्याभका सबै टिम यो महोत्सवको लागि लिएर एकदमै उत्साहित छौ । म न्याभको उपाध्यक्ष तथा नेपाल फेस्टिवल २०१६ को सह संयोजकको हिसाबले सबैजनालाई यो कार्यक्रम सफल पार्न आग्रह गर्दछु । यो महोत्सव एउटा व्यक्ति विशेष र संस्थाको भन्दा पनि हामी सबैको हो भनेर सोचेर कृपया महोत्सवमा सहभागि भइदिनु होला ।

यो महोत्सव यहाँ जन्मेका नेपाली बच्चाहरूलाई नेपाल चिनाउने अवसर हो ।

केशव कडेँल एनआरएनए भिक्टोरीया तथा नेपाल फेस्टिवल मेलवर्न २०१६, संयोजक

नेपाल फेस्टिवलको तयारी एकदमै रफ्तारमा हुँदैछ । यसका लागि म विशेषगरी स्वयंसेवक र मेरो टिमलाई धन्यवाद दिन चाहन्छु । नेपाली समुदायका अन्य संस्थाहरूले पनि यसलाई सहयोग गरिरहेका छन् र यसको लागि म एकदमै आभारी पनि छु । हामीसँग सातवटा कल्चरल गुप्र रहेको छ, सातवटा भेन्यूमा अलग अलग समयमा कोरियोग्राफरहरूले एकदमै मेहेनत गरेर नृत्य सिकाइरहनुभएको छ । त्यसभन्दा बाहेक यती फूटबल टिम जसले यो फेस्टिबल म्यानेजमेन्टको जिम्मा लिएका छन् , उनीहरूको टिमलाई एकदमै धन्यवाद दिन चाहन्छु र सबै स्पोन्सरहरू जसले यस कार्यक्रम सफल पार्न आर्थिक रुपमा सहयोग गरिरहनुभएको छ उहाँहरूलाई पनि हृदयदेखिनै धन्यवाद दिन चाहन्छु। हाम्रो अपेक्षा धेरैनै ठूलो छ यस पटक र यसलाई वृहत बनाउने हामीले केही कसर छोडेका छैनौं । नेपाल फेस्टिवलमा म २००८ देखि सक्रिय छु ।

‘एकपटकको नेपाली, सदैको लागि नेपाली’ भन्ने नारा एनआरएनले शुरु गऱ्र्यो र यही नारा सुरुवातसँगै विदेशमा केही नेपालीपन झल्काउने र चिनाउने काम किन गरेनौ त भनेर एनआरएनले नेपाल फेस्टिवलको अवधारणा ल्याएको थियो, जून एकदमै सकारात्मक पनि देखिएको छ । यस फेस्टिवललाई एनआरएनए अष्ट्रेलियाले लिड गरेपनि मैले हाम्रो समुदायमा मानिसहरूले यो त हाम्रै फेस्टिबल हो भनेर लागि परेको देखेको छु । यसरी यस फेस्टिवलले राम्रो सन्देश दिएकोमा म एकदमै खुसी र दिनदिनै आशावादी हुँदै गएको छु । हामी विदेशमा रहेपनि फेस्टिवलको दिन अर्थात् त्यो एकदिन नेपालमै रहेको अनुभूति गर्न पाउँनेछौ, जुन हाम्रो लागि गौरवको कुरा हो । यसले पर्यटनप्रबद्र्धनमा पनि निकै सहयोग गरेको छ । यहाँको नेपाली व्यवसायहरूलाई प्रबद्र्धन गर्ने, यहाँ जन्मेका नेपाली बच्चाहरूलाई नेपाल के हो भनेर चिनाउने र एकदिन भए पनि नेपाली पोसाकमा नेपाली झण्डा बोक्न लगाएर फेडरेशन स्क्वायरमा घुमाउने र म नेपाली हो भनेर चिन्ने मौका एकदिन भएपनि पाउँ भन्ने यो महोत्सव सबैको लागि एउटा अवसर हो ।

यो पटक हामीले पर्यटन प्रबद्र्धनलाई नै जोड दिएका छौ र यो जोड दिनुमा गत वर्ष गएको भूकम्प र त्यसले गरेको तहसनहसको भ्रम अहिलेसम्म पनि नपरोस् भनेर हो । नेपाल अहिलेपनि सुन्दर छ , भूकम्पले केही भाग खराब गरेको होला तर नेपालमा त्यस्ता धेरै ठाउँहरू छन् जसलाई भूकम्पले पनि छुन पाएको छैन भन्ने सन्देश दिन खोजिरहेका छौँ । तपाइँहरू नेपाल जानुस् र यदि गएर सहयोग मात्रै पनि गर्न चाहनुहुन्छ भने नेपाल बन्छ भन्ने सन्देश पनि दिनेछ यो फेस्टिवलबाट ।

‘पर्यटन प्रबद्र्धनमा नेपाल महोत्सवको योगदान उच्च’

चिरञ्जीवी देवकोटा भिक्टोरियाका लागि नेपाल पर्यटन बोर्डका प्रतिनिधि

अष्ट्रेलियाको सिड्नीमा सन् २००८ बाट सुरु भएको नेपाल महोत्सवको सर्वव्यापकता यतिबेला बढेको छ । सिड्नीबाट विस्तारित हुँदै यो मेलबर्न, ब्रिसबेन हुँदै एडिलेडसम्म पनि पुगिसकेको छ । नेपालीहरूको जनघनत्वका हिसाबले बढी भएका अष्ट्रेलियाका शहरहरूमा नेपाली मूल्य, मान्यता र नेपालीबीचको एकतालाई अभिबृद्धि गर्ने र बहुसांस्कृतिक अष्ट्रेलियाको भूमिमा नेपाल पुख्र्यौली थलो भएकाहरूको पहिचान स्थापित गर्ने अभिष्ट यसमा लुकेको स्पष्ट देखिन्छ । तर, यतिमा मात्र सीमित छैन नेपाल महोत्सव । नेपाल महोत्सवले वास्तवमै यहाँको बहुसांस्कृतिक भूमिमा बसोबास गर्ने विभिन्न महादेश, देश, समूदाय र जातिका मानिसहरूलाई नेपालको बारेमा चासो जगाउन मद्दत गर्दछ । नेपाल महोत्सव पर्यटन प्रबद्र्धन गर्नका निम्ति पनि कोसेढुंगा सावित हुँदै आएको छ । नेपाल महोत्सवमा मुख्यत: पर्यटन प्रबद्र्धन गर्नेखालका स्टलहरू, नेपाली खानाका परिकार, नेपाली गीत सगीतको रमाइलोका साथै नेपालका विभिन्न गन्तव्यहरूको चिनारीसहित त्यहाँ जानका लागि गर्नसकिने प्रबन्ध लगायतको सेवालाई व्यवस्थित रुपमा पस्कने थलोको रुपमा हामीले विस्तारै अघि बढाउनुपर्दछ । हुनत: मैले माथि नै भनिसकेको हुँं नेपाल महोत्सवको ईतिहास सन् २००८ देखिकै हो । र, अष्ट्रेलियामा दूतावास, महावाणिज्यदूतको कार्यालयहरू र विभिन्न ट्राभल व्यवसायीहरूले नेपालको पर्यटन प्रबद्र्धनका लागि आफ्नो ठाउँबाट सकेजति काम गरिनै राखेका थिए । यसैले त पछिल्लो तथ्यांकमा वार्षिक नेपाल जाने अष्ट्रेलियनहरूको संख्या २२ हजारको हाराहारीमा छ । गएको वर्ष हाम्रो देशमा विनाशकारी भूकम्पका कारण धेरै क्षति भयो । तर, नेपाल प्राकृतिक रुपमा मात्र होइन जैविक रुपमा पनि र त्यतिमात्र होइन आतिथ्यका हिसाबले पनि विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो । यसैक्रममा यस वर्षदेखि पर्यटन बोर्डले संस्थागत रुपमा नै अष्ट्रेलियाको भूमिमा पर्यटन प्रबद्र्धनको कार्यमा प्रत्यक्ष संलग्न हुनका लागि आफ्नो प्रतिनिधि चयन गरेको अवस्था छ । पर्यटन बोर्डले यसरी नियुक्त गरेका पर्यटन प्रतिनिधिहरूले नेपाल महोत्सवमा एनआरएन र स्थानीय अन्य नेपाली संघ संस्थासँग सहकार्य गरिरहेकै छन् । भिक्टोरियाको सवालमा पनि हामी नेपाल महोत्सवका लागि सुरुदेखि नै समन्वयमा कार्यरत रहेका छौं । सन् २०१८ लाई नेपाल भ्रमण वर्षको उत्सवका रुपमा मनाउने निर्णय भइरहेको सन्दर्भमा यस पटकको नेपाल महोत्सव निकै महत्वपूर्ण छ । भूकम्पपछि पर्यटकहरूलाई आकर्षित गर्नका निम्ति पनि यो वर्षको नेपाल महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा दुईमत छैन । त्यसैले हामी सबै मिलेर कम्तिमा एक नेपालीले अर्को एक गैरनेपालीभाषी मित्रलाई मेलबर्नको नेपाल महोत्सव २०१६ मा डिसेम्बर १७ तारिखका दिन लिएर फेडेरेशन स्क्वायर पुगौं । यसो गर्न सकिएन भने पनि निरास हुनुपर्ने छैन, कम्तिमा नेपाली पोशाकमा सजिएर नेपाल महोत्सवमा सहभागी बनौं । हो, हामी कतिपयले प्रत्यक्ष देशका लागि केही गर्न सक्छौं कतिपयले अप्रत्यक्ष रुपमा पनि योगदान दिइरहेका हुन्छौं । त्यसैले चाहे सानो मात्रामा होस् या बढी समय दिएर होस् नेपालको पर्यटन प्रबद्र्धन, नेपालीको एकतामा अभिबृद्धिको यो संयुक्त चासोमा थोरैमात्र तपाईं सहभागी हुनुभयो भने पक्कै पनि यसले सकारात्मक बाटोतिर हाम्रो प्रयत्नलाई लैजानेछ । यसैगरी हामी अष्ट्रेलियाबाट नेपाल जाने पर्यटकको वार्षिक संख्या २२ हजारबाट बढाएर २ लाख पुर्‍याउन सक्नेछौं भन्नेमा आशावादी छौं । सबैलाई नेपाल महोत्सव या पर्यटन प्रबद्र्धनका यस्तै अन्य कार्यक्रममा समेत सक्रियतापूर्वक सहभागी हुन म आग्रह गर्दछु ।