मलेसियामा धरपकड

-- / प्रकाशित मिति : मङ्लबार, चैत्र २, २०७२

मलेसियाले गैरकानुनी आप्रवासी कामदारविरुद्ध प्रारम्भ गरेको देशव्यापी कारवाहीमा ९ सय ७१ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कति नेपाली छन् भन्ने जानकारी पाउन छैन । यद्यपी अध्यागमन विभागका अधिकारीलाई उद्र्धत गर्दै स्थानीय समाचार संस्था बर्नामा प्रकाशित समाचारअनुसार अध्यागमन विभागले मलकामा सञ्चालन गरेको कारवाहीमा १ सय ६१ जना नेपाली पक्राउ परेका छन् । फेब्रुअरी १५ देखि गैरकानुनी कामदारलाई वैद्य भई रोजगारी गर्न पाउनेगरि दर्ता प्रक्रिया थालेको मलेसियाले ती कामदारहरुविरुद्ध खोजी एवं कारबाही तीब्र पारेको हो । पक्राउ पर्नेमाथि परिचय खुल्ने कानुनी कागजातहरु नभएका र ओभरस्टे अवस्थामा रहेको लगायतका आरोप छ र उनीहरुलाई थप अनुसन्धानका लागि अध्यागमनको डिपोमा राखिएको जनाइएको छ । करिव २१ लाख आप्रवासी कामदार वैद्यरुपमा कार्यरत रहेको भनिएको मलेसियामा झण्डै त्यति नै संख्यामा गैरकानुनी कामदार रहेको हुनसक्ने अनुमान छ ।