कहिले ६ प्रदेश, कहिले ७ त कहिले ८ प्रदेशको प्रस्तावले नेपाली राजनीति नै तरंगित गरिदिएको छ । नेतृत्व पक्ति कुनै पनि निर्णयमा अडिक हुन नसक्नुले यो अवस्था आएको हो । सविधान जारी हुने दिनसम्म कति प्रदेश होला त्यसको कुनै टुंगो छैन । नेतृत्वको प्रदेश बाँडफाँडविरुद्ध तत्कालै सुर्खेत, कर्णाली, सुदूरपश्चिम, थरुहट प्रदेश तथा पूर्वमा झापा, मोरङ, सुनसरी तथा मधेस क्षेत्रमा आन्दोलन चर्कियो र केहि सुरक्षाकर्मी र सर्वसाधारणले ज्यान गुमाए । आन्दोलन अराजक र उग्र हुँदा कैलालीमा सात सुरक्षाकर्मीसहित ८ जना सुर्खेतमा तीन जना र भारदहमा एक जनाको प्रहरीको गोलीबाट मृत्यु भइसकेको छ । तराईका प्रायजसो जिल्लाहरू तीन हप्तादेखि लगातारको बन्दले जनताको जनजीवन अत्यन्त कष्टकर बन्दै गएको छ । यति हुँदाहँुदै पनि शीर्ष नेताहरूले तत्कालै सीमांकनलाई पुनर्विचार गर्ने भनी दिएको आश्वासन पनि दुई हप्तादिन बितिसक्दा पनि पूरा हुन सकेको छैन । यसबाट नेताहरूले बारम्बार दोहोर्‍याउँदै आएको भदौ १० गतेको मितिमा पनि संविधान जारी हुन सक्ने स्थिति एकादेशको कथामा रुपान्तरण भएको छ ।

६ प्रदेशको सीमांकन समेतमा केही दलका नेताहरूको निजी स्वार्थले गर्दा परिमार्जन गर्न नसकिएको हो । केही नेताले कुनै पनि हालतमा आफ्ना क्षेत्रमा सीमांकन पुनरावलोकन गरी परिमार्जन गर्न तयार नभएपछि यो राज्यको पुन:संरचनाको विवाद अरू जटिल र पेचिलो हुँदै गएको छ । अहिलेको संघर्ष भनेको मुलुकमा परिवर्तन चाहने तत्व र परिवर्तन रोक्न चाहने तत्वका बिच ध्रुवीकरण हँुदै गएको र मुठभेडको स्थितिसमेत देखिएको छ । त्यसैले सीमांकनको किचलो झनझन् बढ्दै गएको छ । यी र यस्ता कारण मुलुकमा अस्थिर राजनीति, कमजोर अर्थतन्त्र, कानुनी राज्यको अभाव, कमजोर सुरक्षानिकाय र वैदेशिक हस्तक्षेप बढ्दै गएको छ । यो सुचकांक बढ्दै जानु भनेको मुलुक असफल राज्य उन्मुख हुनु हो । असफल राज्य हुन चाहिने पाँचओटै सूचकका नकारात्मक पक्षहरूले मुलुकलाई त्यसतर्फ डोऱ्याउन लागेको छ । कुटनीतिक विषयमा विशेष दख्खल राख्ने डा जयराज आचार्यको भनाईमा यी पाँच कुराको असफलताले मुलुकलाई असफलताउन्मुख गराएको छ । वैदेसिक हस्तक्षेपको चरमसिमा, सुरक्षा अवस्था कमजोर, आर्थिक तरलता, युवाहरूको पलायनजस्ता कुराले नेपाल असफल राज्यको मुखमा पुगेको डा आचार्यको दावी छ ।

राजनीतिक अस्थिरता
नेपाल लामो समयदेखि राजनीतिक अस्थितरताको सिकार भइरहेको छ । त्यसै कारण राजनीति सर्वसाधारणबाट आलोचित मात्र छैन, राजनीतिप्रति नै आमजनताको वितृष्णा बढिरहेको छ । राजनीति आदर्श नभएकै कारण राजनीति संस्कृति पनि बनेन र यसको सामाजिकीकरण पनि हुन सकेन । २००७ सालदेखि नै संक्रमणकालीन अवस्थाबाट राजनीति गुज्रिरहेको छ । २००४ सालदेखि अहिलेसम्म आउँदा ७ ओटा संविधान बनिसके । तर, कुनै पनि संविधान दिगो भएन । न शासन व्यवस्था दिगो हुन सक्यो न शासकले नै आफ्नो पदावधि पूर्ण रूपमा बिताउन पाए ।

कहिले प्रजातन्त्रको लागि लडाइँ गर्नुपर्ने त कहिले प्राप्त प्रजातन्त्रको घाँटी निमोठिने शृंखलाका अभ्यासहरू पटक-पटक भए । पछिल्लो समय देशले हिंसात्मक द्वन्द्व नै झेल्नुपर्‍यो । तथापि त्यसबाट राजनीतिक परिवर्तन भए पनि जनताले चाहेको आर्थिक परिवर्तन भएन । न त अब जनताले परिवर्तनको अनुभूति गर्न पाउने लक्षण छ । लामो समय संविधान नबनेको मात्र होइन अब त बन्छ कि भनेर आशा गरिएको संविधान पनि सर्वस्वीकार्य नहुने लक्षण देखिएको छ । जसले देशलाई असफल राज्यतिर लैजाने खतरा झनै बढाएको छ ।

खस्किदो अर्थतन्त्र

देशको अर्थतन्त्रको मेरुदण्ड नै कमजोर छ । बढ्दो महंगीले हिजोभन्दा आज र आजभन्दा भोलि जनताको जीवनस्तर कष्टकर बन्दै गएको छ । देशमा उद्योगधन्दा ठप्प छन् । लगानीको वातावरण छैन । रोजगारीको सिर्जना हुन सकिरहेको छैन । रोजगारी जस्तो आधारभूत विषय जीवनको सपना बनेको छ । देशले रोजगारी नदिएपछि हरेक युवाको लक्ष्य विदेश बनेको छ । दिनमा १५ सय युवा विदेसिरहेका छन । रेमिट्यान्सले धानेको अर्थतन्त्र जुनै बेला पनि ढल्न सक्ने खतरा त छँदैछ । आफूले पौरख गर्नेभन्दा पनि मागेर देश चलाउने मानसिकता झनै मौलाउँदो छ । हामी कहाँ ठुलो स्रोत छ तर त्यसलाई परिचालन गर्ने सोच छैन ।

कानुनी शासनको अभाव
अहिले देशमा सबैभन्दा उदासीनता केहीमा छ भने त्यो कानुनी शासनमै छ भन्दा हुन्छ । सर्वोच्च अदालतले गरेको आदेश कार्यन्वयन हुँदैन । कानुन कार्यान्वयनको कथा भन्दाभन्दा नागरिक थाकिसकेका छन् । सरकार निरीह छ । एकातिर गुन्डाराज छ भने अर्कातिर अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरणले देश थिलथिलो बनेको छ । आतंक मच्चाउने गुण्डाको पक्षमा सभासदहरू खुलेर मानव अधिकार आयोग धाएर शहिद बनाउने माग गर्दछन । अदालतले कैद सजाय तोकेकाहरू खुलेआम छाती फुलाएर सडकमा हिँडिरहेका छन् । एकातिर कानुन नै कमजोर छ भने अर्कातर्फ भएको कानुन कार्यान्वयन गर्न पनि सरकारले प्रभावकारी कदम चाल्न सकेको छैन ।

देशको प्रशासन कानुन बमोजिमभन्दा पनि मुड बमोजिम चलेको छ । कानुनभन्दा माथि शासक छन् । अहिले पनि कानुन साध्य बन्न सकेको छैन । साधनको रूपमा मात्र कानुनको प्रयोग भइरहेको छ । यस्तो बेथितिको स्थितिमा कानुनको शासन बेथितिका अगाडि हारेको छ ।

कमजोर सुरक्षा

देश सबल हुन देशको सुरक्षानीति र स्थिति सबल चाहिन्छ । आन्दोलनकारी छेक्न हिडेको प्रहरी आन्दोलनकारी बाटै मारिन्छन भने सुरक्षा निकायको मनोवल कस्तो हो । तर देशको न सुरक्षासँग सम्बन्धित कुनै दीर्घकालीन नीति छ न सुरक्षाकर्मीको उपस्थितिले नै स्थिति बदलिएको छ । आन्तरिक र बाह्य दीर्घकालीन सुराक्षानीति नभएको कुनै देश छ भने त्यो खोज्न कतै जानुपर्दैन आफ्नै देशको सुरक्षा प्रणाली हेरे पुग्छ । हरेकपटक सुरक्षाप्रमुख परिवर्तन भएसँगै अनेक प्रकारका सस्ता सुरक्षा योजनाहरू प्रस्तुत गरिन्छ र त्यो दुई महिना नबित्दै असफल हुन्छ । सफल राज्यसँग स्पष्ट सुरक्षानीति हुनुपर्छ । त्यस्तो नीति सुरक्षानिकायका प्रमुख परिवर्तन हुँदा मात्र होइन कुनै सरकार परिवर्तन हुँदा पनि परिवर्तन हुनुहुँदैन । किनभने सुरक्षा नीति राष्ट्रको हो, यो कुनै दल वा दलका नेताको वा सुरक्षा प्रमुखको लहडको विषय होइन । हरेक सरकार वा सुरक्षा प्रमुखले पटक पटक सुरक्षानीति बनाइरहने होइन बरु बनेको नीतिलाई प्रभावकारी कार्यान्वयन गरेर आफ्नो क्षमता प्रदर्शन गर्ने हो । दुई/चारजना चुल्ठे मुन्द्रे समात्दैमा वा दुई/चारजना मापसेवालासँग पैसा असुल गर्दैमा सुरक्षानिकायका प्रमुखको क्षमता देखिँदैन ।

बढ्दो वैदेशिक हस्तक्षेप

जुन देशमा माथिका चारओटा कुराहरू राजनीतिक अस्थिरता, कमजोर अर्थतन्त्र, कानुनी शासनको अभाव र कमजोर सुरक्षास्थिति हुन्छ त्यहाँ स्वत: वैदेशिक हस्तक्षेप भइहाल्छ । विदेशीले हात हाल्ने भनेकै संकटग्रस्त स्थानमा हो । जहाँ संकट छ त्यहाँ सहयोगको नाममा चलखेल गरी आफ्नो स्वार्थपूर्ति गर्न पाइने भएकाले नै अस्थिर मुलुकमा विदेशीको उपस्थिति उल्लेख्य हुन्छ र हस्तक्षेप पनि बढी नै हुन्छ । वैदेशिक सहायता र समस्याको समाधान गर्ने नाममा आधुनिकशैलीको साम्राज्य नै विस्तार हुन्छ । नेपाल लामो समयदेखि वैदेशिक हस्तक्षेपको शिकार हुँदै आएको छ । अघिल्ला दिनहरूमा दक्षिणी हस्तक्षेप मात्र झेल्दै आएको नेपालले पछिल्लो समय पश्चिमी हस्तक्षेप समेत झेल्नुपरेको छ ।

यसरी असफल राष्ट्र हुनका लागि चाहिने पाँच प्रमुख कुराले हाम्रो देश ऊर्वर भूमि बन्दैछ । त्यसमाथि मानव अधिकारको गिर्दो अवस्था र बिग्रँदो सामाजिक सद्भावले राष्ट्र असफलतातिर लैजान थप मद्धत गरिरहेको छ । बिगार्ने कुराको पराकाष्ठामा पुगेर पनि देश बिग्रेको छैन र बिग्रँदैन भन्दै यो देशलाई थप बिगार्न उद्यत हुँदै छौं ।असफल राष्ट्र नै भइनसके पनि असफलतातर्फ हामी उद्यत भएको पक्कै हो । असफल हुन चाहिने सबै लक्षणहरूलाई हामीले अँगालो हालिसकेका छौं ।सफलताका लागि हामीले लामो यात्रा तय गर्नु छ । सफलताका लागि सबैभन्दा मुख्य कुरो राजनीतिक स्थिरता हो त्यसका लागि नालायक नेतृत्वले बेलैमा मुलुकको लागि सोच्नु पर्ने बेला आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार