प्रबासीहरूको उत्कृष्ट छनोटमा रहेको दक्षिण गोलाद्धको यो देश अष्ट्रेलिया साच्चै नै भन्ने हो भने बिश्व कै सबै महादेश, देश, भाषा, भाषी, रहन, सहन र संस्कृतिको समिश्रण हो । प्राचीन सभ्यता र पुराना इतिहास भएका देशको अगाडि निकै नै कान्छो लाग्ने अष्ट्रेलिया बहुभाषिक बहुसांस्कृतिकका लागि र आप्रबासीहरू बीचको सौहाद्रताका लागि भने आफैमा निक्कै धनि र परिपक्क देश भन्दा अतियुक्त नहोला । करिब ५० हजार बर्ष अघिदेखि बसोबास गर्दै आइरहेका यहाँका आदिबासी (एबरजिनल)हरू यहाँ ३ प्रतिशतका हराहारीमा छन् भने अरु ९७ प्रतिशत अष्ट्रेलियाको जनसंख्या हामी जस्तै बिभिन्न कालखण्डमा, बिभिन्न उद्देश्य वा कारणले बिश्वका बिभिन्न देशहरूबाट आइ यतै घरजम गरेकाहरू हुन् ।

अष्ट्रेलिया सरकारले आफ्नो आप्रवासी नीतिमा परिवर्तन गर्दै दक्ष कामदारलाई दिदै आएको ४५७ भिषा हटाएको छ भने नागरिकता नीतिमा समेत ब्यापक परिवर्तन गरेको छ । प्रधानमन्त्री माल्कम टर्नबलले घोषणा गरेको यी दुई परिवर्तनले अष्ट्रेलियामा मात्र नभएर विश्वभर नै एक किसिमको तरंग नै ल्याइदिएको छ । यी परिवर्तनका कारणहरू, यसले यहाँ आफ्नो भविश्य खोजिरहेका नेपालीहरू र नेपालबाट आउन खोजिरहेका नेपालीहरूलाई के असर पर्छ भन्ने लगायतका बिषयमा यस क्षेत्रमा लामो समयदेखि काम गरिरहेका दुई बिज्ञहरूसँग द नेपाली टाईम्सका प्रमुख सम्वाददाता नारायण खड्काले छलफल गर्नुभएको छ ।

 

संजीव शर्मा, एक्सपर्ट एजुकेशन एण्ड भिषा सभिसेस

अष्ट्रेलियन सरकारले हालै ४५७ भिषालाई पूर्णरुपमा हटाउने निर्णय गर्‍यो । यस्तो महत्वपूर्ण निर्णय एकाएक किन गरिएको होला ?

यो पहिलेदेखि नै छलफलमा आएको बिषय थियो । त्यसैले यसलाई एकाएक आएको भन्न मिल्दैन् । एकातिर विश्वमा चलिरहेको राष्ट्रवादी हुने ट्रेण्ड पछयाइएको हो भने यो भिषा अन्तरगत कम पे गर्ने लगायतका गुनासोहरू समेत आइरहेका थिए । केही बिकृतीहरू आए भन्ने कुराहरू थियो र यसप्रति उनीहरू कन्सर्न भइरहेका थिए । त्यसैले यसलाई अहिले आएर लागु मात्र गरिएको हो ।

यो परिवर्तित नियम कहिलेदेखि लागु हुने हो र यो नियम लागु भइसकेपछि मुख्य रुपमा को को प्रभावित हुने मान्नुहुन्छ ?

यो नियम मुख्य गरेर ४ तहमा लागु गर्ने भन्ने कुरा आएको छ । पहिलो १९ अप्रिलदेखि, दोस्रो जुलाई १, अर्काे अन्तिम डिसेम्बर र अर्काे बर्षको मार्चसम्ममा । यो अहिले पोलिसी लेभलमा गएपनि कानुनीरुपमा भने आइसकेको छैन् । अब यसले मुख्य रुपमा असर गर्ने भनेको अंग्रेजी कम भएकाहरू, कामको अनुभव नभएकाहरू, यही भिषालाई आफ्नो पिआर लिनका लागि माध्यम बनाइरहेका वा सोच बनाइरहेकाहरूलाई नै हो ।

४५७ भिषा ‘मिसयुज’ को बारेमा समेत कहिलेकाही सुनिदै आएको हो । के यो परिवर्तनको कारण यो हुनसक्छ कि अन्य कुनै कारणहरू होलान ?

हो, वास्तवमा यस भिषामा भएको मिसयुजलाई पनि आरोप लगाइएको छ यो परिवर्तनका लागि केही हदसम्म । अर्काेतिर लेबर मार्केट एक्सप्लोइड गरिएको कुरालाई अलि कन्सर्नको रुपमा लिइएको हो ।

अर्काेतिर, सरकारले नागरिकता नीतिमा समेत ब्यापक परिवर्तन गरेको छ । यो परिवर्तन किन र के का लागि गरिएको भन्ने ठान्नुहुन्छ ?

मुख्य रुपमा नागरिकता लिएर पनि यहाँको समाजमा घुलमिल हुन सकेनन भन्ने आरोपलाई मध्यनजर राखेर परिवर्तन गरेको भनिएको छ । अब अहिले यही परिवर्तनका केही कुराहरूलाई लिएर विरोध समेत आइरहेको छ । ३ चोटी फेल भएपछि फेरि दिन नपाउने । अंग्रेजीमा ६ वा सो सरह ल्याउनुपर्ने लगायतका नियमहरूले अलि समस्या थपिदिएको छ । अब ३ पटकसम्म परीक्षा दिएपछि पनि पास भइएन भने के गर्ने भन्ने बारेमा यसले कम्प्लेक्स थपिदिएको छ । किनकी अहिले कुनै अप्सन नै दिइएको छैन् ।

यो परिवर्तनले नागरिकता लिन योग्य भएका वा भविष्यमा नागरिकता लिन चाहने नेपालीहरूलाई कस्तो असर पर्नसक्छ ?

मलाई चाहिं नेपालीलाई खासै ठुलो इस्यु होला जस्तो लाग्दैन् । नेपालीहरूको अंग्रेजी, पढाईको स्तर राम्रो रहेको छ अरुको भन्दा । यो बिशेष गरेर यस क्षेत्रमा कम भएकाहरूलाई असर गर्ने कुरा हो । त्यसैले पनि नेपालीहरूलाई नै बिशेष गरेर यो परिवर्तनले खासै ठुलो असर गर्छ भन्ने मलाई लाग्दैन् । तरपनि, नागरिकता पाउनका लागि भने लामै समय पर्खनुपर्ने भने भएको छ ।

४५७ भिषा र नागरिकता नीति दुबै परिवर्तन भएपछि नेपालीहरूले पाउँदै आएको बिद्यार्थी भिषा, पीआर वा नागरिकता लिनका लागि अहिलेको भन्दा कुनै कठिनाई आउने देख्नुहुन्छ ?

बिद्यार्थी भिषाको हकमा त यो परिवर्तनले केहीपनि असर गर्दैन् । दक्ष कामदारको भिषा अन्तरगत आउनेहरूलाई भने यी परिवर्तनले असर पार्नेछ । त्यसैले पनि बहुसंख्यक नेपालीहरूलाई यो परिवर्तनको खासै ठुलो असर म देख्दिन् । अर्काेतिर, नागरिकता लिने सवालमा नै पनि दक्षिण एसियाका अन्य देशहरूका नागरिकलाई जस्तो हामी नेपालीहरूलाई यसले खास फरक पार्छ जस्तो लाग्दैन् ।

यी दुबै परिवर्तनपछि तपाई अष्ट्रेलिया आउन चाहने वा यहीं रहेर आफ्नो भविष्य खोजिरहेका नेपालीहरूलाई के सुझाव दिन सक्नुहुन्छ ?

मुख्य कुरा त यहाँ आउँदा रिसर्च गरेर आउन पऱ्यो । यहाँ आएर पीआर लिनेभन्दा पनि आफ्नो भविष्य के हो र भविष्यको योजना के हो भन्ने बिचार पुरयाएर आउनुपऱ्यो । भविष्यका योजनालाई मध्यनजर गरेर आफ्नो अध्ययनलाई लक्षित गरेर आउनुपऱ्यो । जीवनमा बाटोहरू त आफै खुलिहाल्छन नी । लामो समयका लागि भविष्यको योजना र आफ्नो करियर फोकस भएर आयो भने कुनै परिवर्तनले पनि केही असर गर्दैन् ।

संजीव पाण्डे

मण्डला कन्सल्टेन्सी

अष्ट्रेलियन सरकारले हालै ४५७ भिषालाई पूर्णरुपमा हटाउने निर्णय गऱ्यो । यस्तो महत्वपूर्ण निर्णय एकाएक किन गरिएको होला ?

यो एक्कासी आएको होईन् । सरकारको आन्तरिक तयारी थियो र यो राजनीतिक प्रेसर पनि हो । अर्काेतिर विपक्षी धारका मानिसहरूलाई हात लिन अलि हठातमा गरिएको निर्णय हो जस्तो लाग्छ । फेरि यसमा भएका बिकृतीहरू अन्त्य गर्नुपर्छ भन्ने आवाजहरू पनि उठिरहेका थिए । अमेरिकामा डोनाल्ड ट्रम्पको उदयपछि शुरु भएको आप्रवास विरोधी लहरले पनि केही हदसम्म काम गरेको हो ।

यो परिवर्तित नियम कहिलेदेखि लागु हुने हो र यो नियम लागु भइसकेपछि मुख्य रुपमा को को प्रभावित हुने मान्नुहुन्छ ?

यसलाई चरणबद्ध रुपमा लागु गर्ने भनिएको छ । त्यसैले मार्च २०१८ सम्ममा यो पूर्णरुपमा लागु भइसक्छ । मुख्यरुपमा यो परिवर्तनले ४५७ भिषा हालेर नतिजा कुरिरहेका, यही भिषा हाल्ने सोचमा रहेकाहरू, यही भिषा अन्तरगत पाथ वे खोजिरहेका बिद्यार्थीहरूलाई यसले असर गर्नेछ भने रोजगारदाताहरू समेत केही मात्रामा प्रभावित हुनेछन् ।

४५७ भिषा ‘मिसयुज’ को बारेमा समेत कहिलेकाही सुनिदै आएको हो । के यो परिवर्तनको कारण यो हुनसक्छ कि अन्य कुनै कारणहरू होलान ?

यो परिवर्तनको मुख्य कारण त राजनैतिक नै हो । यसको मिसयुजको कारण चाहिं सहायक कारण मात्र हो जस्तो मलाई लाग्छ ।

अर्काेतिर, सरकारले नागरिकता नीतिमा समेत ब्यापक परिवर्तन गरेको छ । यो परिवर्तन किन र के का लागि गरिएको भन्ने ठान्नुहुन्छ ?

यो पनि राजनैतिक दाउपेच नै हो । यहाँ आप्रवासी आएपछि आफु पछि परियो भनेर सोच्ने निश्चित समूह छ । जो शैक्षिक, सामाजिक र आर्थिक कारणले समेत पछाडि छ । त्यस्ता बर्गलाई खुसी बनाउनका लागि नै यो परिवर्तन गरिएको भन्ने लाग्छ । सरकारले पीआर दिने नागरिकता दिन कठिनाई गरिदिएपछि त देशप्रतिको जिम्मेवारी र मायप्रति समेत कमी आउने भयो नी ।

यो परिवर्तनले नागरिकता लिन योग्य भएका वा भविष्यमा नागरिकता लिन चाहने नेपालीहरूलाई कस्तो असर पर्नसक्छ ?

नागरिकता पाउन ४ बर्षको पर्खाई ठुलो कुरा नहोला तर यसमा गरिएको अंग्रेजी लगायतको परिवर्तनले हामी नेपालीहरूलाई समेत प्रत्यक्ष असर पर्नेछ । पहिलो आवेदक जो बिद्यार्थीको रुपमा आएको हुन्छ उसलाई खासै समस्या नआएपनि दोस्रो आवेदकका रुपमा उसको परिवारको सदस्यलाई अंग्रेजी बिषय पास हुन समस्या आउनसक्छ । अर्काेतिर शरणार्थी भिषामा रहेकाहरूलाई त पर्ने नै भयो ।

४५७ भिषा र नागरिकता नीति दुबै परिवर्तन भएपछि नेपालीहरूले पाउदै आएको बिद्यार्थी भिषा, पीआर वा नागरिकता लिनका लागि अहिलेको भन्दा कुनै कठिनाई आउने देख्नुहुन्छ ?

बिद्यार्थी भिषाको हकमा त कुनैपनि समस्या आउँछ जस्तो लाग्दैन् । तरपनि, यहाँ बिद्यार्थी बढेपनि यो अष्ट्रेलियाको ब्यवसाय मात्र हो भविष्य सुरक्षित छैन भन्ने सन्देश जानसक्छ । यहाँ आएर भविष्य राम्रो छैन भन्ने लाग्यो भने राम्रो बिद्यार्थी नआउलान कि भन्ने डर हुन्छ । अब यही आधारमा हेर्ने हो भने नागरिकता लिनेको संख्या घट्ने निश्चित प्राय: छ ।

यी दुबै परिवर्तनपछि तपाई अष्ट्रेलिया आउन चाहने वा यहीं रहेर आफ्नो भविष्य खोजिरहेका नेपालीहरूलाई के सुझाव दिन सक्नुहुन्छ ?

आफ्नो भविष्य राम्रो बनाउनका लागि राम्रो अप्सनको खोजी गर्नुपऱ्यो । आफुलाई सकेसम्म सक्षम बनाउनुपऱ्यो जसले गर्दा विश्वको जुनसुकै कुनामा गएर आफुलाई बेच्न सकियोस । अर्काेतिर कम्युनिकेसन, आचरण, स्किल लगायतका क्षेत्रमा पनि सुधार गर्नुपऱ्यो । अंग्रेजी मुख्य कुरा भएको बिर्सनुभएन । मुख्यत: आफ्नो भविष्य र करियर के हो भन्ने निर्धारण गरेर नै पाईला चाल्न बेस हुन्छ ।

यस देशमा आप्रबासीहरू को आगमनको इतिहास ब्रिटिस उपनिबेस संगै सुरु भएको देखिन्छ । इस्बी सम्बत १७८७ देखि १९०० अगाडिसम्म बिभिन्न बहानामा भित्रिएका ब्रिटिसहरूले निक्कै लामो समय अष्ट्रेलियालाई बेलायातको उपनिबेसमा राखे र अंग्रेजहरूको एक छत्र साशन लामो समयसम्म चल्यो । सभ्य तरिकाले साशन मात्र गरेको भए हुने ठाउँमा उनीहरूले आदिबासीहरूलाई अनादर र अन्याय एवं निर्मम व्यवहारका धेरै कथनीहरू छन् जुन यस आलेखमा समेट्न असम्बभ नै छ । १९०१ मा जब अष्ट्रेलियाका बिभिन्न स्टेटहरू गाभिएर फेडेरसन अफ अष्ट्रेलिया बन्यो तत् पश्चात १९४५ सम्म अलिकति फरक खालका आप्रबासीहरूको अष्ट्रेलिया आगमन बढी रह्यो जुन बिश्व युद्दको समाप्ति पछिसम्म पनि चलि रह्यो ।

अंग्रेज र केहि युरोपियन अथवा गोरो बर्णका लागि मात्र घोषित र अघोषित खुल्ला रहेको अष्ट्रेलियामा जब १९७३ व्ह्याईटलाम सरकारले रेसियल डिस्किरिमेसन एक्ट पारित गर्यो अनि मात्र यो सम्भावनाको खानी सबैको लागि खुल्ला बन्यो । त्यस पछि ७० र ८० को दशकमा मात्र अष्ट्रेलियामा करिब डेढ लाख शरणार्थीहरू भित्रिए, त्यो पनि एसियाली देशहरू बाट मात्र । त्यस बीचमा बिश्वमा केहि उथल पुथलका घटनाहरू घटे जस्तो कि १९७५ को साइगोनको समाप्ति, १९७५ मै इन्डोसेनियाले ईष्ट टिमोरमा गरेको आक्रमण, दक्षिणी अमेरिकामा भएको तानासाहाको उदय जसमा चिली अर्जेन्टिना र उरुग्वेमा भएको मिलिटरी शासन, १९७५ देखि १९९० सम्मको लेबनानको युद्ध, यहि दशकको युगोस्लाभ युद्ध, १९८९ को चींनको तियान म्यान स्कुवयरको नर संहार र १९९८ जाकर्ताको दंगा आदि । यस्ता घटनाहरूले सुरक्षित बसोबासको लागि देश छोड्ने धेरै भए जस मध्ये धेरैलाई अष्ट्रेलियाले ठूलो हार्दिकता साथ स्वीकार्यो । यस क्रममा नब्बेको दशकमा मात्र ९० हजार थप शरणार्थीले अष्ट्रेलियालाई घरको रुपमा रोज्दै भित्रिए ।

नब्बेको दशक र त्यो भन्दा अगाडि देखिएको अप्रबसीहरूको आगमन शरणार्थी नै बढी देखिथ्यो भने ९० को दशकको अन्त्य तिर जन संख्या निक्कै कम रहेको यस देशमा आप्रबासीहरू भित्राउनका लागि सरकारी स्तर मै दक्ष जनशक्तिलाई आकर्षण गर्ने नीति सरकारले लिएको देखिन्छ । जस अन्तर्गत बिदेशी बिद्यार्थीहरूलाई अष्ट्रेलियामा ब्यबसायिक वा उच्च शिक्षा लिनका लागि प्रोत्साहन गर्ने, पढाई सकेकालाई यतै बस्न स्थाई अनुमति दिने वा दक्ष जनशक्तिलाई अष्ट्रेलियामा चाहिने कामदार पूर्ति गर्न आप्रबासी कामदारलाई भित्राउने । यसरि कुनै क्षेत्रका बिज्ञहरूले तोकेको समय काम गरे पश्चात स्थाई अनुमति हुँदै अन्त्यमा यतैको नागरिकता समेत दिने ।

 

४५७ भिषा

आप्रबासी कामदारलाई उनीहरूको कामको दक्षता र यहाँको पेसागत सूची (ओकुप्नेसि लिस्ट) का आधारमा काम गर्न ४ बर्ष वा डेढ बर्षको भिषा दिने नीति अष्ट्रेलियन सरकारले १९९६ बाट लिएको देखिन्छ जसलाई भिषा क्याटगोरी ४५७ सब कलासमा राखियो जुन अन्तत: ४५७ भिसाको रुपमा निक्कै चर्चित बन्यो । बितेका २१ बर्षमा ४५७ भिषा मार्फत धेरै आप्रबासी कामदारले आफ्नो शिप र दक्षता अनुसार अष्ट्रेलियामा धेरै अवसर पनि पाए भने अष्ट्रेलियाले पनि दक्ष कामदारहरू, परिश्रमी र अनुसाशित भोलिका अष्ट्रेलियाका नागरिकहरू ।

बिश्व बजारमा रहेको दक्ष जनशक्तिलाई केहि समयका लागि देश भित्राउन वा यहि अध्ययन सकेकाहरूलाई समेत कुनै रोजगारदाता मार्फत अष्ट्रेलियामा बस्न काम गर्न तत्कालिन प्रधानमन्त्री जोन हवार्डको सरकारले आगाडि सारेको यो नीति सरसर्ति हेर्दा निक्कै सफल देखियो । यस भिषा प्रक्रिया सुरु भएदेखि खासै केहि त्यस्तो ठूलो परिबर्तन र हेरफेर पनि आएन । तर गत अप्रिल १८ का दिन कुनै पूर्व सूचना अनुमान वा संकेत बिना नै आप्रबासीको एउटा साधारण भिषाको सबालमा देश कै कार्यकारी स्वयं प्रधानमन्त्री बाटै एकाएक प्रेस रिलिज गर्नु वा लाइभ प्रस्तुति दिनुलाई धेरैले अचम्म माने । सायदै प्रधानमन्त्रीले आप्रबास सम्बन्धि कुनै एउटा भिषाको बिषयमा यति धेरै महत्वका साथ प्रस्तुत भएको यो पहिलो पटक होला । यसका पछाडि धेरै कुरा हुन सक्छन् या यो एउटा राजनीति स्टन्ट मात्र पनि हुन सक्छ । चाहे जे होस् यसले अन्य समुदाय जस्तै नेपाली समुदायका दक्ष तर सिधै स्थाई अनुमतिको लागि नम्बर नपुग्नेका लागि ठुलो धक्का महशुस भएको छ ।

१९ अप्रिल बाटै लागु हुने भनिएको ४५७ भिषाको यो परिबर्तनले के कस्ता कुराहरूमा असर पर्ला वा यो भिषा पर्खेर बसेका वा यो भिषाको रिक्युर्मेंट पूरा गरि स्थाई बसोबासका लागि आबेदन दिने तयारीमा रहेका वा ४५७ भिषा नै एप्लाई गर्नका लागि तयार मात्र रहेकाहरूलाई के कस्तो असर पर्न सक्छ त ? यस अन्तर्गत ४ बर्षे वा २ बर्षे भिषामा रहेकाहरू पनि थिए तिनीहरूलाई के होला बितेका केहि हप्ता यस्तै अन्योलमा बित्यो । यो अन्योलतालाई चिर्ने या आहिले नै ठ्याक्कै यस्तै हुन्छ भन्न गार्हो हुने प्रकृतिका समाचारहरू आहिले मिडियामा आएका छन् । अब जुलाईमा फेरि यस सम्बन्धि थप बदलिदो नियम आउनेछ, त्यस पछाडि डिसेम्बर र मार्च २०१८ मा अन्तिम पटक यसको अपडेट संगै यो भिषा पूर्णत निस्क्रिय हुने बताइएको छ ।

तै पनि आप्रबासी क्षेत्रमा काम गर्नेहरू यो नै अन्तिम नहुने बताउछन् । त्यसो त हालका प्रधानमन्त्री माल्कम टर्नुबल स्वयमले समेत यस भिषाको सम्पति भनेको आप्रबासी कामदार नलिने भनेको होइन अरु कुनै न कुनै रुपबाट हामीलाई आबश्यक पर्ने दक्ष जनशक्ति हामी लिनेनै छौ भनेर भनि सकेका छन् । त्यसैले पनि यो परिबर्तन संग परिबर्तन भएको अष्ट्रेलियाको लागि आप्रबासी कामदारलाई बर्गिकरण गरिएको पेशाको लिस्ट (अकुपेन्सी लिस्ट) अनुसार कुनै न कुनै रुपबाट दक्ष कामदारले अबसर नपाउने भन्ने न हुने देखिन्छ । तर जति सहज र हार्दिकताका साथ यो भिषा समुहबाट नेपाली समुदायका धेरै व्यक्तिहरू रमेको जमेको देखिएको थियो त्यो अब नहुन सक्छ । अर्को तर्फ यो परिबर्तनले ४५७ भिसा बाहेक पनि रोजगारदाता मार्फत प्राप्त हुने अन्य भिषाहरू र स्किल्ड माइग्रेसन अन्तर्गत आउन चाहनेहरूलाई पनि यसले असर गरेको देखिन्छ ।

आप्रबास परामर्शदाताको रुपमा अष्ट्रेलियामा कार्यरत सयांैको संख्यामा रहेका माइग्रेसन एजेन्ट वा वकिलहरू र दर्जनौको संख्यामा रहेका नेपाली मुलका परामर्शदाताहरू कोहि पनि आहिलेको परिबर्तन बिषयमा ठ्याकै यहि नै हो भन्नसक्ने स्थितिमा न रहेको बताउछन् । मिडियामा आएका बिभिन्न कानुन बिज्ञहरूको अभिव्यक्ति र सोसियल मिडियामा आएको भनाई हेर्ने हो भने यसको लागि अरु केहि समय पर्खेर लेजिगलेसन अपडेट भएसम्म कुर्नु नै पर्ने देखिन्छ ।

तै पनि हालसम्मको अपडेट अनुसार गत अप्रिल १९ बाट मार्च २०१८ सम्म ४५७ भिषाको आबेदन दिनेहरू सबै अब छोटो समय (शर्ट टर्म लिस्ट) वा मध्यम समय (मिडियम टर्म लिस्ट) दुई किसिमका भिषामा बाँडिने देखिन्छ । यसरी शर्ट टर्म लिस्टकाहरूलाई २ बर्षे भिषा र मिडियम टर्मका लागि ४ बर्षे भिषा प्राप्त हुनेछ । २ बर्ष भिषा प्राप्त हुनेहरूले उक्त २ बर्षे कामलाई आधार मानेर स्थाई बसोबासको लागि आबेदन दिन पाउने छैनन् । तर ४ बर्षे भिषाको हकमा भने ३ बर्ष पुगे पश्चात स्थाई बसोबासका लागि आबेदन दिन मिल्नेछ । अष्ट्रेलियन सरकारका बर्तमान इमिग्रेसन मन्त्री पिटर डुट्टोनले पनि हालै एक पत्रकार भेटघाटमा अहिले ४५७ भिषामा रहेकाहरू को हकमा आहिलेको परिबर्तनले स्थाई बसोबासको लागि निबेदन दिन कुनै असर नपर्ने या उनीहरू पुरानो नियम अनुसार नै रहने बताएका छन् ।

 

किन आयो होला त एकाएक यस्तो परिबर्तन

माथि भनिए जस्तै आप्रबासी कामदार वा रोजगारदाता दुवैको लागि सहज देखिएको यो ४५७ भिषामा आएको परिबर्तनले सबैलाई चकित पुऱ्याएको कुरा मिडियामा पढ्न पाईन्छ । नेपाली समुदायमा लामो समय आप्रबासी सेवा पुराउदै आएका सन्जिब शर्मा भने ४५७ भिषामा एक्कासी आएको परिबर्तन भनेर मान्ने पक्षमा छैनन् । उनी यसलाई आन्तरिक तयारीका साथ राजनीतिक प्रेसरमा आएको निर्णय हो भन्छन् । हुन पनि यस अगाडि धेरै पटक थुप्रै मिडियादेखि यहाँको प्रतिनिधि सभासम्म यो बिषय बहसको बिषय नबनेको होइन । र यसमा यहाँको समाज वा नीति निर्माता बाँडिएका पनि हुन् । एकातिर यो भिषामा धेर थोर मिस युज भएको छ कि भन्ने कुराहरू आएका थिए । जस्तो कि स्किल नै नभएकालाई पनि कागज पत्र मिलाएर अष्ट्रेलियामा बस्नका लागि ४५७ भिषा एप्लाई गर्ने वा भने अनुसार तलब सुबिधा नदिने, दिएको देखाए पनि कामदारबाटै पछि असुल उपर गर्ने । अर्को तिर रोजगार बजारमा आप्रबासी कामदारहरू बढ्नाले यहाँको स्थानीयलाई अबसर कम हुने । यी दुई कुराको कारण सरकारले यसलाई संबेदनशिल रुपमा लिएको वा त्यसैले यो महत्वपूर्ण सुचिमा परेको कुरा मिडियामा सुनिए पनि नेपाली समुदायका अर्का परिचित माइग्रेसन एजेण्ट सन्जिब पाण्डे यसलाई राजनीतिक स्टन्ट भन्न रुचाउछन् । उनकै भाषामा संसारको जुनसुकै कुनाको सरकारले पनि जनताको ध्यान ‘डाइभर्ट’ गर्न वा तत्कालको राजनीतिक फाइदाका लागि यस्ता पपुलिस्ट घोषणाहरू गर्दछन् । यदि पाण्डेले नै भने जस्तो भए पनि यसले प्रत्यक्षपरोक्ष धेरै नेपालीलाई असर भने पक्कै परेको छ ।

 

४८ घण्टा बित्न नपाउदै नागरिकता नीतिमा समेत परिबर्तन

४५७ भिषामा घोषणा गरिएको सनसनीपूर्ण परिबर्तनको ४८ घण्टा पनि नबित्दै अष्ट्रेलियन सरकारले आफ्नो नागरिकता नीतिमा समेत ठूलै परिबर्तनको घोषणा गर्यो । हेर्दा अघिल्लो निर्णय कै निरन्तरता जस्तो देखिए पनि यो फरक प्रकृति र बिषय बस्तुमा आधारित परिबर्तन थियो । तै पनि यी दुवैको असर आप्रबासी मूलका लामो, छोटो समय अष्ट्रेलिया बसेका, यहाँ आउन खोजेकालाई नै पर्ने या परेको देखिन्छ । योग्यता पुगेका बिदेशीहरूलाई प्रदान गरिने नागरिकता नीतिमा गरिएको परिबर्तनबाट अब बन्ने नागरिकहरू अंग्रेजी भाषामा दक्ष र अष्ट्रेलियाली नियम, कानुन र यसका मूल्य मान्यताहरूसँग सहजरुपले घुलमिल हुने बिश्वास अष्ट्रेलियन सरकारले लिएको मिडियाहरूले जनाएका छन् । परिबर्तित नियम अनुसार अब पीआर (स्थाई अनुमति ) पाएको ४ बर्ष पछि मात्र नागरिकताको लागि आबेदन दिन सक्नेछन् । त्यसै गरि सरकारले निर्धारण गरेको अंग्रेजी परीक्षा पास गरि नागरिकताको बिशेष परीक्षा समेत पास गर्नु पर्नेछ । यस्ता परीक्षामा एक व्यक्ति कम्तिमा ३ पटक मात्र सामेल हुन पाउने प्राबधान पनि परिबर्तित नियमले गरेको छ । त्यस्तै गरि निवेदक कुनै पनि घरायसी हिंसा लगायतका कुरामा नमुछिएको हुनु पर्नेछ ।

 

अन्त्यमा,

प्रबिधिको विस्तारले खुम्चएको आहिलेको बिश्व बजारको सहजीकरण र त्यसमा देखिएका सेप्टेम्बर ११ पछिको प्रभाबले बिगत मै पनि आप्रबासीका लागि धेरै कुरा सहज नभएको कुराहरू आउने नगरेका होइनन् । अझै हालै अमेरिकामा ट्रम्पको उदय त्यहाँ र युरोप तिर देखिएको उग्र राष्ट्रवादीको लहरबाट अष्ट्रेलियाको माल्कम टर्नबुलको सरकार पनि केहि न केहि मात्रामा प्रभावित भएको देखिन्छ । तर पनि गुथी कुरो त्यहि हो तपाई संग माल असल छ भने बजार वा किन्ने मानिस आफै खोज्दै आउँछन् त्यसैले आफुलाई शिप र दक्षताले तिखार्दै लानु पर्दछ । यदि आफु सँग कुनै एक बिषय बस्तुमा शिप छ, दक्षता छ भने अन्य कुरा गौण हुन्छन् या तपसिलका कुराहरू मिल्दै जान्छन् । कसैले तपाईलाई माया गरेर होइन तपाईको दक्षतालाई क्रय, बिक्रय गर्ने हो । यसरि रोजगारदाताले तपाईलाई अवसर दिंदै गर्दा उसले पनि आफ्नो फाइदा हेरेको हुन्छ । यो कुरा घर, सानो कम्पनीदेखि लिएर देश र विदेशसम्म मिल्छ । अझ अष्ट्रेलिया जस्तो आँफैमा सानो जनसंख्या रहेको र अनिबार्य आप्रबासी जनसंख्या वा कामदारमा भर पर्नु पर्ने देशमा यो वा त्यो जुन रुपबाट किन नहोस अबसरहरू एक पछि अर्को आइ रहन्छन् । मात्र आफु योग्य र दक्ष बन्न सक्नु पर्यो। अहिले ४५७ भिषा होस् वा नागरिकताको प्राबधान वा अरु कुनै भिषाका कुरा नै किन नहुन यी सबैका लागि आँफुलाई उपयुक्त बनाउने एउटै कुरा हो आफुलाई दक्ष बनाउने, बिद्यमान कानुन नियम भित्र रही चारित्रिक र सबै किसिमले अनुसाशित रहने । यदि त्यसो गरियो भने आहिले यो कुराले असर गर्छ कि वा अब के हुने हो, भन्ने अन्यौलतालाई आफै भित्रको कफिण्डेन्शले जित्नेछ । त्यसैले हामी सबै कर्मयोगी बनौ, अनुशाशित बनौ, चारित्रिक बनौ तब यो संसारमा जुन सुकै कुनो हाम्रो लागि अपायक हुने छैन, सद्गुरुहरूले भने जस्तै यो संसार सबै प्राणीको साझा घर सरह हुनेछ ।

 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

पहिचानको लागि जुट्दै हामी

/शुक्र, मंसिर २९, २०७४