कस्तो हुनुपर्छ साझा एनआरएनए ?

  • व्यक्तिगत या सामुहिक प्रयासमा नेपालसम्म भएका विविध परोपकारी साना ठूला कामको टिपोट मात्रै गर्ने हो भने पनि यस आलेखमा लामै लिस्ट बन्छ ।

  • नेपालको संबिधानको एक भन्दा बढी धाराले कुनै न कुनै रुपमा गैर आबासीय नेपालीहरू को अस्तित्व स्वीकारेको छ । दोहोरो नागरिकताका लागि बिभिन्न समयमा बिभिन्न किसिमले सरकार र नेपालका राजनीतिक पार्टीसम्म दबाब दिई रहेको सार्क बाहेकका देशमा बस्ने नेपालीहरूको संस्था गैर आबासीय नेपाली संघ वा एनआरएनए (NRNA – Non Residential Nepalese Association) केहि हदसम्म भएपनि नयाँ संबिधानको घोषणा संगै आफ्नो एजेन्डा स्थपित गर्न सफल भएको छ । हुन त कानुन बनेर संबिधानले ब्याख्या गर्न खोजेको दोहोरो नागरिकताको पूर्ण ब्याख्या र कानुनत: लिपिबद्द नहुँदासम्म यसैलाई उपलब्धि मान्न नसकिए पनि यो एउटा सुखद सुरुवात भने पक्कै हो । त्यसो त एनआरएनको परिभाषामा एक रुपता गराउन र नेपाल सरकारलाई बुझाउन संस्थालाई हम्मे हम्मे मात्र होइन असम्भब नै भयो । अन्तिममा नेपाल सरकार कै ब्याख्यालाई पालना गर्दै एनआरएनएले आफ्नो बिधानमा परिबर्तन गर्यो र संस्था बैधानिक रुपमा नेपाल सरकार संग दर्ता भयो ।

    अष्ट्रेलियामा रहेका करिब ६० भन्दा बढि भिन्न भिन्न संघ संस्थाको बीचमा फरक पहिचानको यो संस्थाको आगामी नेतृत्वका बारेमा यहाँका नेपालीहरू र तिनका सामाजिक संजालहरू यति बेला विविध टिका टिप्पणीले भरिएका छन् । अलिकति फरक भाषामा भन्ने हो भने सामाजिक र परोपकारिता संग संगै एनआरएनए संगको संग्लग्नता बिदेशी भूमिमा अलिकति ग्ल्यामरस पनि देखिन्छ ।

    त्यस पछाडिको एनआरएनको परिभाषा भनेको सार्क देश बाहेकका देशमा १८० दिन भन्दा बढी बसोबास गरेका विद्यार्थी या अन्य सरकारका कुटनीतिक ओहोदामा नरहेका नेपाली मुलका सबै एनआरएनए हो । यिनै एनआरएनहरूलाई संस्थागत रुपमा एउटै मालामा उन्दै गरेको संस्था हो एनआरएनए अर्थात गैर आबासीय नेपाली संघ ।

    आधिकारिक रुपमा दर्ता हुनु अगाडि वा पछाडिदेखि नै एनआरएनएले दूताबास नभएका देशमा अवैतनिक दूत र दूताबास सरह भएर वा दूताबास भएका देशहरूमा दूताबाससंग सामन्जस्यता गर्दै मनग्गे कामहरू गरेको छ । त्यो बाहेक व्यक्तिगत या सामुहिक प्रयासमा नेपालसम्म भएका विविध परोपकारी साना ठूला कामको टिपोट मात्रै गर्ने हो भने पनि यस आलेखमा लामै लिस्ट बन्छ । एनआरएनए मातहत देशमा धेरै नै सानो वा ठूलो सामुहिक लगानीहरू पनि भित्रिएका छन् । यस मानेमा पनि ७४ देशमा फैलिएको एनआरएनएको संजाल विदेशमा बस्ने नेपालीहरू को अभिभाबक सरह हो भनेर भन्दा फरक पर्दैन ।

     

    एनआरएनए अष्ट्रेलिया

    एनआरएनए बिश्व संजालमा फरक परिचय र छुट्टै उचाई बनाउन सफल संस्था पनि हो एनआरएनए अष्ट्रेलिया । यति बेला एनआरएनए अष्ट्रेलिया आफ्नो स्थापनाको सातौं बर्षको नजिक छ र सातौं अधिबेशनको तयारीमा छ । जुलाई २२ मा अधिबेशन क्वीन्सल्याण्डमा हुँदैछ जसका लागि जुलाई ८ मा प्रत्येक स्टेटमा निर्बाचन हुनेछ । निर्बाचनले आगामी २ बर्षे कार्यकालको लागि राष्ट्रिय समिति, स्टेट समितिहरू र अन्तराष्ट्रिय समितिका लागि सदस्यहरूको चयन गर्ने छ । अष्ट्रेलियामा रहेका करिब ६० भन्दा बढि भिन्न भिन्न संघ संस्थाको बीचमा फरक पहिचानको यो संस्थाको आगामी नेतृत्वका बारेमा यहाँका नेपालीहरू र तिनका सामाजिक संजालहरू यति बेला विविध टिका टिप्पणीले भरिएका छन् । अलिकति फरक भाषामा भन्ने हो भने सामाजिक र परोपकारिता संग संगै एनआरएनए संगको संग्लग्नता बिदेशी भूमिमा अलिकति ग्ल्यामरस पनि देखिन्छ । त्यसैले आँफुलाई आर्थिक रुपमा अलिकति सहज बनाए पछाडि, पारिबारिक समयबाट केहि समय निकाल्न सक्ने भए पश्चात यस्ता संस्थाहरूमा आबद्द हुँदै धेरै भन्दा धेरै नेपालीसम्म पुग्न, सामिप्य सम्बन्ध बनाउन पनि यो संस्था राम्रो प्लेटफर्म हो भन्दा फरक नपर्ला । अर्कोतिर एक चोटीको आह्वान मै गतसालको भूकम्पको समयमा र अरु कयौं बेला संस्थालाई बिश्वास गरेर धेरैले गरेको सहयोगले यो संस्था धेरै भन्दा धेरै नेपालीसंग नजिक छ भन्ने देखिन्छ ।

    त्यसैले पनि नयाँ पुरानो सबै संस्थाका व्यक्तिहरू आँफु आबद्द अन्य संस्थालाई माया गर्दा गर्दै पनि एनआरएनए अष्ट्रेलिया प्रति एक भिन्न खालको लगाब राख्छन् । त्यस मानेमा एनआरएनए अष्ट्रेलिया सबै अष्ट्रेलियाका नेपालीहरूको संस्था पो हो त, यस्तो संस्थाले पनि यस्तो गर्ने वा यस्तो किन नगरेको भनेर आउने गुनासो या जिज्ञासालाई संस्थाले थप उर्जाको रुपमा लिनु पर्ने हुन्छ । त्यसलाई संस्था प्रतिको खबरदारीको रुपमा संस्थाले लिन सके पक्कै पनि एनआरएनए अष्ट्रेलिया ढिलो चाँडो अघोषित नै सहि आँफैमा साझा संस्थाको रुपमा स्थापित हुन सक्छ ।

     

    चुनाबको मुखमा विवाद

    चाहे राजनीतिक पार्टी हुन् या संघ संस्था जब नयाँ नेतृत्व चुनिने दिन आउछन् अनि पार्टी वा संस्था भित्र बाहिर चर्चा परिचर्चा चुलिन्छ विवादहरू कोट्टिन्छन । त्यसो त संधैभरि यस्ता विवाद र चर्चा भईरहेर पनि त भएन । निश्चित समय पछि नयाँ नेतृत्व आइसके पछि संस्थाले परिकल्पना गरेका कार्यहरू मा संस्था र पदाधिकारीहरू व्यस्त पनि त हुनु पर्यो । लगभग यसरी नै एनआरएनए अष्ट्रेलियामा पनि यति बेला अलिकति चर्चा परिचर्चा र केहि विवादहरू आएका छन् । सामाजिक संघ संस्थामा काम गर्ने भनेको बिदेशी भूमिमा आफ्नो र आफ्नो परिबारको समय केहि मात्रमा कटाएर संस्थालाई दिने हो । अर्कोतिर ठुलै संख्यामा बसोबास गर्ने अष्ट्रेलियाका हामी नेपालीबीचको यो संस्थामा कूल पंजीकृत सदस्य साढे आठ हजार वरपर मात्र हुनु आफैमा निक्कै कम हो । त्यही पनि यिनै सदस्य बन्ने प्रकृयामा आएका विवादहरूलाई एनआरएनए अष्ट्रेलियाले हार्दिकताका साथ लिदै समाधानका लागि अल्पकालिन र दीर्घकालिन अबधारणा सहित अगाडि बढ्ने जुन कुरा आएको छ त्यसले संस्थालाई अझ मजबुत गराएर सबैको अपनत्व दिन सक्नेछ ।

     

    बन्ला त साझा एनआरएनए

    बिदेशी भूमिमा साझा संस्थाको परिकल्पना आँफैमा अपरिहार्य देखिए पनि निक्कै गार्हो देखिंदैछ । त्यसमा पनि बिद्यमान एक संस्था प्रति धेरैको लगाब हुनु आँफैमा राम्रै भए पनि यो नै साझा संस्था हो वा हामी साझा संस्थाको रुपमा जाँदैछौ भन्नु कुनै यो वा त्यो संस्थालाई गार्हो देखियो । अर्को तिर अष्ट्रेलियाका सबै स्टेट र शहरहरूमा राम्रो उपस्थिति रहेर त्यहाँ बस्ने नेपालीहरू संग धेर थोर घुलमिल भै सकेको संस्थालाई छोडेर अर्को साझा संस्थाको कल्पना गर्नु त झन् असहज नै देखिन्छ ।

    अष्ट्रेलियामा देखिएको निक्कै पुरानो अनुहार र हाल रिटायर्ड जीबन बिताई रहेका डा. नारायण प्रधान अष्ट्रेलियामा कुनै बेला मुश्किलले अष्ट्रेलियन र नेपाली मिसाएर संस्था खोलेको स्मरण गर्छन् । अधिकांश समय गोर्खा नेप्लिज कम्युनिटिको नेतृत्व लिएर धेरैको अभिभाबक र दाइको रुपमा परिचित प्रधान समुदायको एकता र सबैको आबाज बोल्न सक्ने यस्तै खाले कुनै संस्था होस् भन्ने चाहन्छन् । तर पनि यति धेरै संघ संस्थाहरू भएको ठाउँ र फरक उमेर समुहका नेपालीहरू यति ठूलो संख्यामा भइसके पश्चात पहिले पहिले जस्तो सबैको चित्त बुझाउन सजिलो पनि नहुने उनको ठम्याई छ । हालैको बिधानको प्राबधान अनुसार एनआरएनए अष्ट्रेलियाको आजीवन सदस्य बनेका प्रधान यहाँका धेरै संघ संस्थाहरू कुनै एउटा स्टेटमा बढी बेस हुनाले र अष्ट्रेलिया ब्यापी नै एनअरएनएको विस्तार भएकाले पनि यसले छाता संस्था भन्दा पनि साझा संस्थाको रुपमा सबैको माया र सदभाब बटुल्न सके निकै रम्रो हुने उनको तर्क छ र उनी आगामी जुलाई ८ मा हुने निर्बाचनका लागि निक्कै उत्साहित पनि छन् ।

    एनआरएनए अष्ट्रेलिया कै हकमा कुरा गर्नु पर्दा जुन रुपमा सबै स्टेटहरूमा संस्था विस्तार गर्दै यहाँको सामजिक संस्थाहरू को समेत संस्थागत प्रतिनिधित्वको अबधारणामा संस्था अगाडि बढेको थियो यसले साझा संस्थाको रुपमा एनआरएनए अष्ट्रेलियाले आफुलाई दराएको थियो । तर बितेका केहि बर्ष यता संस्थाले यहाँको समुदाय संगको बिश्वास र आत्मियता धेर–थोर गुमाएको हो कि भन्ने देखिन्छ

    पहिला आउने जाने गर्दै हाल यतै आफ्ना २ छोरा बुहारी र नाती नातिनाका साथ बस्दै गरेका केदार पोख्रेल पनि यो पटक निक्कै उत्साहाका साथ एनआरएनए अष्ट्रेलियाको सदस्य बनेका छन् । बिदेशी भूमिमा आफ्ना भनेका हामी सबै नेपाली नै त हौ भन्ने ठान्ने साहित्यकार एबं लेखक पोखरेललाई यहाँ हामीबीचमा सुनिने र देखिने विवादहरूले खासै मन रमाएको छैन । करिब १० बर्षको विदेश आउ जाउले एनआरएनए अभियान संग राम्रै भिजेका उनी एनआरएनए अष्ट्रेलियासंग पनि बिगत ४/५ वर्षदेखि नजिकै छन् । एनआरएनएले धेरै कुरा राम्रो गरेकोमा प्रसंसा गर्दै यो सबैको साझा बनेर अभिभाबकीय चौतारीको रुपमा रहिदिए यसको महत्व झन् बढ्ने कुरामा अरुको जस्तै आफ्नो पनि धारणा र चाहना रहेको पोख्रेलले बताए । नचाहँदा नचाहँदै पनि र सुन्न नपरोस भन्दा भन्दै पनि यो संस्थामा केहि ब्यक्तिबादी सोच, अलिकति उतैको राजनीतक जोड–घटाउ र कुनै स्वार्थी समुहको समुहगत सोचले संस्था थिलथिलिएको आभास पाएका पोख्रेललाई संस्था शुद्धिकरण गर्न पनि आफ्नो सोच र दायरा फराकिलो बनाउन सबैलाई अनुरोध गरे । सबै भाइ भतिजा र छोरा छोरी जस्तो लाग्ने यो ठाउँमा सबै मिलेर बसे परदेशको बसाइ झन् सहज हुने पोख्रेलले बताए ।

    समग्रमा एनआरएनए अभियानको त्यसमा पनि एनआरएनए अष्ट्रेलियाको कुरा गर्दा इन्द्रा वनको नाम छुटाइयो भने त्यो अपुरो नै हुन्छ । अर्डर अफ अष्ट्रेलियाबाट समेत सम्मानित वन एनआरएन अभियानको शुरुवातीदेखि कै अभियानकर्ता हुन् । सुरुका दिनदेखि नै एनआरएनए अष्ट्रेलियालाई सहजकर्ता र अभिभाबकको भूमिका निर्बाहा गर्दै आइरहेकी इन्द्रा वन जुन अभियान र पबित्र उदेश्य लिएर एनआरएनए स्थापना भयो त्यो उदेश्यबाट बिचलित नहुने हो भने यो सबैले अपनत्व महसुस गर्ने संस्था बन्ने कुरामा आफु बिस्वस्त रहेको बताउँछिन् । संस्थाले बिधानत केहि बन्देज राख्यो, त्यसैमा टेकेर संस्थाको सदस्य बितरण गर्दै गर्दा सबैको साझा नदेखिए पनि यसलाई सबैको साझा संस्था र यहाँ रहेका नेपाली र नेपाल सरकारबीच सम्बन्ध स्थापना गर्ने पुलको रुपमा, त्यसै गरि हामी सबैले कल्पना गरेको अभिभाबकीय संस्थाको रुपमा संस्थाको भूमिका अझै पनि उच्च रहेको उनको तर्क छ । संस्था बढ्दै गर्दा साना ठूला बिबाद हुन्छ नै, ति विवाद संस्थामा आउँदै गर्दा बिभिन्न खाले स्वार्थ मुछिएर आउने कुरा पनि हामी सबैलाई थाहा छ । त्यस्ता विवादहरू कम गराउने किसिमबाट संयन्त्रहरू निर्माण गर्दै जानु पर्छ, तर विवाद आए भने पनि ति विवादमा अल्झेर संस्थाको मूल उद्देश्यबाट बिचलित हुन नहुने तर्क छ इन्द्र बनको । प्रबासमा रहेका कुनै पनि देशको प्रबाशी संस्था भन्दा यो संस्था धेरै मानेमा फराकिलो छ, ७४ देशमा फैलिएको यो संस्थामा राजनीति नहोस, कसैको कुनै राजनीतिक विचार छ भने पनि व्यक्ति संस्था भित्र आइसके पछि ति विचार संस्थाभित्र नआओस भन्ने हामी सबैको चहाना हो । जुन उल्टो हुँदै गएको हो कि जस्तो पो लाग्दैछ, राजनीतिक पार्टीहरूले उल्टो यसलाई नै भातृ संस्थाको रुपमा बिकशित हुने हो कि भन्ने संशय बनको मनमा पनि अल्झेको छ । एनआरएनए अष्ट्रेलिया कै हकमा कुरा गर्नु पर्दा जुन रुपमा सबै स्टेटहरूमा संस्था विस्तार गर्दै यहाँको सामजिक संस्थाहरू को समेत संस्थागत प्रतिनिधित्वको अबधारणामा संस्था अगाडि बढेको थियो यसले साझा संस्थाको रुपमा एनआरएनए अष्ट्रेलियाले आफुलाई दराएको थियो । तर बितेका केहि बर्ष यता संस्थाले यहाँको समुदाय संगको बिश्वास र आत्मियता धेर–थोर गुमाएको हो कि भन्ने देखिन्छ, त्यो गुम्दै गरेको संस्था प्रतिको बिश्वास र आत्मियतालाई मजबुत गराउन सके यो संस्था निश्चय पनि यहाँ हामी सबैको साझा संस्थाको रुपमा रहने विश्वास छ इन्द्रा बनको ।

     

    अबको एनआरएनए अष्ट्रेलिया

    माथि भने जस्तै सामाजिक संघ संस्थामा लाग्नु भनेको आफ्नो र पारिबारिक समय समुदायको लागि दिने प्रतिबद्दता गर्नु हो । त्यसैले पहिलो कुरा त संस्थामा बसेर यो वा त्यो पदमा रहेर काम गर्छु भन्ने सबैलाई हामीले उनिहरूको सोचको सम्मान गर्न सक्नु पर्दछ । अर्को तिर यसरी आउने कुनै पनि समुदायको व्यक्तिहरू लाई हामीले प्रोत्साहन गर्नु पर्दछ । समय अनुकुल संस्थाको उद्देश्य कार्यदिशा र दायरा फराकिलो हुँदै जान्छ । हिजो कसैले नसोचेको नसम्झेको प्रकृति विपद नेपालमा आइ पऱ्यो । सम्झदै कहाली लाग्दो उक्त विपद पछाडिका दिनमा एनआरएनएले गर्ने धेरै कार्यक्रमहरूका दिशा स्वत: बदलियो । बिश्वभरबाट एनआरएनएलाई यो विपदमा साझेदारी बन्न आग्रह र दबाब दुवै आयो । यसै अनुसार एनआरएनएले भूकम्प त्रासदी पूर्ण समयमा निक्कै तदारुकताका साथ जिरो ग्राउण्डमा पुगेर राहत र उद्दारमा खट्यो । अबको समय भनेको एनआरएनए पुन:निर्माणमा साझेदार र सक्रिय सहभागी गराउनु हो । जुन एनआरएनएले शुरु पनि गरिसकेको छ, त्यसै अनुरुप समय भन्दा अलिकति ढिलो भए पनि गोर्खाको लाप्राकमा नमुना बस्तिको काम सुरु भइ सकेको छ । यहि महाअभियानमा एनआरएनए अष्ट्रेलियाले पनि सहयोग गर्नु र साथ दिनु अबको एनआरएनए अष्ट्रेलियाको महत्वपूर्ण काम मध्ये एक बनोस् ।

    अष्ट्रेलियाका सबै स्टेट र शहरहरू सम्म पुगेको अनि नेपाल सरकारले पत्याएको एउटा संस्था यति धेरै क्रियाशील हुँदा हुँदै पनि यसलाई सबैको साझा संस्थाको रुपमा परिकल्पना गर्दै सोहि अनुसार यसको दायरा फराकिलो बनाउन सक्नु अहिलेको हामी सबैको आबश्यकता जस्तो देखिन्छ ।

    यो बाहेक संस्थाहरूको भीडमा एनआरएनए अष्ट्रेलियाले अलिकति फरक पहिचान र फरक तरिकाले प्रतिनिधित्व गर्न सकेन भने अरु संस्था र एनआरएनए अष्ट्रेलियाबीच मौलिक भिन्नता के त भन्ने तर्क पनि यहाँ जायज मान्नै पर्दछ । त्यसैले पनि अष्ट्रेलियाबाट सामुहिक लगानीका अबधारणाहरू लाई संस्थागत गर्दै यहाँको पुँजी नेपालका लागि सहि लगानी र सहि परिचालन गर्ने कुरालाई यो संस्थाले आफ्नो प्रमुख उद्देश्यको रुपमा लिन सके एकातिर प्रबासीहरू देश संग जोडी रहन सक्छन् भने अर्को तिर देश मै रोजगारीको अवस्था सिर्जना पनि हुन सक्छ । त्यसरी नै यहाँ सिकेको शीपलाई एक वा अनेक माध्यमबाट नेपालसम्म पुऱ्याउन सके नेपालको वित्त, जलबिद्युत, विविध पूर्वाधार, शिक्षा र स्वास्थ्यको स्तरोउन्नति हुन सक्ने छ । त्यसै गरि अष्ट्रेलियाको समुदाय भित्रैको कुरा गर्नु पर्दा एनआरएनए अष्ट्रेलिया मातहतमा रहेका कल्याणकारी कोषहरू लाई अझ प्रभावकारी बनाउंदै अति आबश्यकीय ठाउँमा पुग्न र पुराउन सके संस्थाप्रति धेरैको अभिभाबकत्व झन् चुलिदै जानेछ । यसरी नै यहाँको समुदायमा अन्य संघ संस्थाले गर्ने या गर्दै आइरहेका विविध खेलकुद, साहित्यिक वा सांस्कृतिक कार्यक्रम ति संस्थाहरूलाई थप सहयोग गरि तिनकै मातहतमा संचालन र सम्पन्न गर्न सहयोग गर्नु को सट्टा फेरि ति कार्यक्रमहरू पनि आफै गर्ने गर्न खोज्नु भनेको ति संस्थाहरू लाई अभिभाबकत्व आभास दिनु भन्दा प्रतिशोध वा प्रतिस्पर्धात्मक भावना हाबी देखिन सक्ने कुरामा पनि सचेत हुनु बेश होला ।

    अन्त्यमा, यति धेरै संख्यामा रहेका हामी नेपालीहरू को आहिलेसम्म अष्ट्रेलियामा यहाँका प्रमुख एवं नेपालीहरूको बाक्लो बस्ति भएको शहरहरू मा समेत नेपाली मठ–मन्दिर, गुम्बा वा एउटा सामुदायिक भवनसम्म पनि नहुनु निक्कै दु:खद कुरा हो । एनआरएनए अष्ट्रेलियाले नब आगन्तुक भाइ बहिनीहरू लाई एक किसिमको अभिभावकत्व सहितको पथ प्रदर्शकको भूमिका निभाउन सके यसले नेपालसम्मका तिनका अभिभाबकहरू लाई पनि एक किसिमको ढाडस मिल्ने कुरामा दुई मत छैन । त्यसैले पनि अष्ट्रेलियाका सबै स्टेट र शहरहरू सम्म पुगेको अनि नेपाल सरकारले पत्याएको एउटा संस्था यति धेरै क्रियाशील हुँदा हुँदै पनि यसलाई सबैको साझा संस्थाको रुपमा परिकल्पना गर्दै सोहि अनुसार यसको दायरा फराकिलो बनाउन सक्नु अहिलेको हामी सबैको आबश्यकता जस्तो देखिन्छ । आगामी कार्यकालको एनआरएनए अष्ट्रेलियाको नेतृत्व लिने सबैले त्यो भावनाको कदर गरुन र आफुलाई करिब साढे आठ हजार पंजीकृत सदस्यको मात्र नभई अष्ट्रेलियामा बस्ने सम्पूर्ण नेपालीहरू को प्रतिनिधिको रुपमा व्यवहारबाटै देखाउन र चिनाउन सकुन्, शुभकामना !

     

    सुल्झिएको हो एनआरएनको सदस्यता विवाद ?

    नारायण खड्का

    वितेको करिब एक महिना एनआरएन अष्ट्रेलियाको सदस्यता विवादले चर्कै रुप लियो । एनआरएन सम्बद्ध केही युवाहरूले यहाँको फेयर ट्रेडिङ लगायतका सरकारी निकायमा उजुरी दिएपछि यो समस्या सामाजिक सञ्जालमा बिशेष गरेर छताछुल्ल बन्यो । यहाँसम्म कि यही जुलाई ८ तारिखमा गर्ने भनिएको निर्वाचन नै हुने कि नहुने भन्ने दोधार समेत केही सदस्यहरूमा देखियो । तर दुईपटकसम्म असन्तुष्ट पक्षसँग सहमतीका लागि प्रयास गरिएपछि भने यो विवाद सुल्झिएको भान भएको छ । निर्वाचन हुने पक्का भएको छ ।

    असन्तुष्ट केही युवाहरूले उठाएको मुख्य प्रश्न नै सदस्यता बनाउने क्रममा अनियमितता भएको भन्ने नै थियो । उनीहरूले उठाएको प्रश्नलाई प्रमाणित गर्न उनीहरूले अन्तिमका केही दिनमा हजारौंको संख्यामा सदस्यता थपिएको भन्दै आवाज उठाएका थिए । जुन बस्तुगत रुपमा सत्य पनि थियो किनकी हजारौं सदस्यहरू केही दिनको फरकमा थपिएर ८ हजार बढी पुगेको थियो । तर, यही कुरालाई एनआरएनका अध्यक्ष सुरेन्द्र सिग्देलको भनाईबाट हेर्ने हो भने यो सदस्यता बनाउने क्रममा भएको अनियमितता नभई नेपालीहरूले अन्तिम समयमा देखाउने तत्परता र सक्रियता थियो । उनी अहिलेपनि भन्छन – ‘हामी नेपालीहरू समयमा काम नगर्ने तर अन्तिम समयमा काम गर्ने बानी परेकाले एनआरएनका सदस्य समेत अन्तिम समयमा ठुलो संख्यामा बढेको देखिएको हो ।’

    उठाइएको विवाद समाधानार्थ भनेर बनाइएको समितीको असन्तुष्ट पक्षसँग दोस्रोपटक भएको सहमतीअनुसार मुख्य दुई कुराहरू गर्नुपर्नेछ । जसमा अब करिब एक महिनापछि हुन लागेको निर्वाचनमा एक बिशेष किसिमको संयन्त्र निर्माण गरि सबै सदस्यहरूलाई आफुले तिरेको शुल्कको रसिद प्रमाणिकरणको लागि निर्माण गरिएको समितीमा प्रस्तुत गर्ने र समितीले पनि सबै रसिद आफुले नपाएमा आवश्यक्ता अनुसार निर्वाचन कै दिन कम्प्युटरको ब्यवस्था गरेर शुल्क तिरेको रसिद प्रिन्ट गर्ने । मुद्धा दायर गरेका एनआरएनका एक सदस्य तीर्थ खतिवडाको भनाई अनुसार यसले आफुले शुल्क नतिरेका सदस्यहरूलाई निर्वाचनमा भोट हाल्न प्रतिबन्ध गर्नेछ भने यसले एनआरएनमा यसपहिलेदेखि उठाइँदै आएको शुद्धिकरणको प्रक्रियाको समेत सहज शुरुवात हुनेछ ।

    यहाँ के प्रश्न स्वत: उठ्छ भने के सहमती अनुसार भएको रसिद प्रिन्ट गरेर दिनुपर्ने वा निर्वाचनकै दिन शुल्कको रसिद प्रिन्ट गर्न सम्भव छ त ? व्यवहारिक किसिमले हेर्ने हो भने यो एकदमै झन्झटिलो मात्र नभएर सम्भवन नहुन पनि सक्छ । यदी यो हुन सकेन भने के हुन्छ त ? फेयर ट्रेडिङ लगायतका स्थानबाट फिर्ता लिइएको भनिएको मुद्दा फेरि ब्युतिन्छ वा अहिले भन्दै आईएको एनआरएन शुद्धिकरणको अभियान नै सुस्त हुन्छ । यसको उत्तर भने अहिले पाउन सकिएको छैन् ।

    न्यु साउथ वेल्सका निर्वाचन संयोजक सुजित सिग्देलको भनाई मान्ने हो भने निर्वाचनको दिन रसिद प्रिन्ट गर्ने जाँच्ने ब्यवहारिक मात्र हैन कि असम्भव नै हुनेछ । ‘एकातिर समयको अभाव हुनेछ भने अर्काेतिर त्यसरी रसिद प्रिन्ट गर्ने र जाँच्ने गर्दा एनआरएनका उम्मेदवारले नै सो समयमा आफ्नो रसिद बुझाउन सकेनन् भने के उम्मेदवारी नै रद्द गर्ने ?’ उनी प्रश्न गर्छन् । उनी संसारको प्रजातान्त्रिक पद्दतीमा नै अन्तिम सदस्यता नामावली आइसकेपछि त्यसलाई नै अन्तिम संख्या मान्ने गरिएको हुँदा यहाँको निर्वाचनमा पनि सोही अनुसार नै निर्वाचन समिति जाने बताउँछन् । यदी सहमति र केही समस्या छ भने अन्तिम नामावली प्रकाशन हुनुअघि नै सबै टु∙ो लगाईसक्नुपर्छ ।

    अर्काेतिर, ‘एनआरएन सामाजिक र स्वयंसेवी संस्था भएकाले यदी कसैले सदस्यता बनाईदिएकै रहेछ भनेपनि कसको के बिग्रियो त ?’ भन्ने प्रश्न समेत गरिएको छ । एक पक्षले उठाएको तर्क हेर्ने हो भने यसमापनि सहमत हुन सकिएला । किनकी समाजिक संस्थामा त जति धेरै सदस्य हुन्छन् त्यति राम्रो हुन्छ । यदी कसैसँग समय छैन् वा २५ डलर खर्च गर्न चाहन्न भने समय भएको र पैसा भएकाले उसको रकम तिरिदिएर सदस्यता बनाइदिए के फरक पऱ्यो र ? अनि सदस्यता बनाइदिएपछि त्यसैलाई नै भोट दिनैपर्छ भन्ने मनस्थितीका अधिकांश नेपालीहरू अष्ट्रेलियामा छन् भनेर विश्वास गर्न सक्ने आधार पनि छैन् । किनकी उठ्ने भनेका सबैलाई कुनै न कुनै माध्यमबाट उनीहरूले चिनेका कारण समेत कसलाई भोट दिने वा नदिने भन्ने बिषयमा सर्वसाधारण निर्णय गर्न सक्लान् ।

    अब, अर्काे पक्षको भनाई हेर्ने हो भने यो अनैतिक र विधानसँग स्वत: बाझिने कुरा भयो । हुनपनि हो, यदी कोही सदस्य बन्न चाहन्छ भने मनदेखि बन्नुपर्छ न कि अरु कसैले पैसा तिरिदियोस र बनाईदियोस । फेरि अष्ट्रेलियामा २५ डलर तिरेर दुईबर्षको सदस्यता लिने हैसियत नभएका नेपालीहरू त पक्कै छैनन् । अर्काेतिर अरुले बनाइदिएको सदस्यले न संस्थाको लागि केही गर्न चाहन्छ न सक्छ । किनकी जुन कुरा आफ्नो मन र इच्छाले स्वतस्फूर्त रुपमा गरिदैन त्यसमा लगन र जाँगर हुनैसक्तैन ।

    हामीजस्ता सामान्य मात्र एनआरएनका सदस्यहरूलाई भने यो सहमतीको खबरले अवश्यै खुसी तुल्याएको छ । सरसर्ती हेर्दा यो विवाद मिलेजस्तो देखिएपनि सरकारी निकायमा उजुरी परिसकेको र अझै यो समस्या सुल्झिनसकेको सन्देश सामाजिक सञ्जालमा आइरहेकाले यो विवादले सहज अवतरण गरिसक्यो भन्ने देखिएको छैन् । तर एनआरएनका पदाधिकारीहरूको भनाई बुझ्ने हो भने अब उनीहरू यो सहमती पश्चात पनि असन्तुष्ट भएर कोही अदालत नै जान चाहन्छ भनेपनि आँफुहरू तयार रहेको सन्देश दिन थालिसकेका छन् । एउटा सामाजिक संस्थाको लागि काम गर्दापनि अनेक समस्याहरू झेल्नुपर्ने भन्दै उनीहरू असन्तुष्ट पोखिरहेका मात्र छैनन् कि ती असन्तुष्टहरूलाई नै एनआरएनको नेतृत्वमा आउन आग्रह समेत गरेका छन् ।

    यद्यपि हामी सबैले बुझ्नुपर्ने भनेको सामाजिक संस्था होस वा नाफामुलक संस्था होस, चलाउँछु र नेतृत्व लिन्छु भनेर अघि बढिसकेपछि त्यस संस्थाले गर्नुपर्ने नैतिक कर्तब्य र जिम्मेवारीहरू पूरा भने गर्नुपर्छ । हुनत, अहिलेका एनआरएनका पदाधिकारीहरू आफुहरू उक्त नैतिक कर्तब्य र जिम्मेवारीबाट पछि हट्नुको साटो अझ जिम्मेवार भएर असन्तुष्ट भएका साथीहरूलाई समेत समेट्ने प्रयास गरिरहेको दाबी गर्छन् ।

    जे भएपनि ७० बढी देशमा स्थापना भएर विश्वकै सबैभन्दा ठुलो नेपालीहरूको सामाजिक संस्था बनिसकेको एनआरएनले प्रत्येक दुई बर्षमा नयाँ नेतृत्व चयन गर्न गर्ने निर्वाचन नरोकिने खबरले भने वास्तविक एनआरएनका सदस्यहरूलाई भने खुसी तुल्याएको हुनुपर्छ । मलाई जस्तै ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार