अष्ट्रेलियाका लागि नव नियुक्त नेपाली राजदूतका योजना र चुनौतीहरु

  • “नेपाल अष्ट्रेलियाबीच सिधा हवाई सम्पर्कको लागि कोशिस गर्ने छु ।” : राजदूत शेर्पा

  • अष्ट्रेलियाका लागि नव नियुक्त नेपाली महामहिम राजदूत लक्की शेर्पाले जून २७ मंगलबारका दिन महामहिम गभर्नर जनरल पिटर कोश्ग्रो समक्ष राजधानी क्यानबेरास्थित सरकारी भवनमा आयोजित एक विशेष कार्यक्रममा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्दै औपचारिक रुपमा दूताबासको कार्य सम्पादन प्रारम्भ गर्नु भएको छ ।

     

    अष्ट्रेलियाका लागि नव नियुक्त नेपाली महामहिम राजदूत लक्की शेर्पाले जून २७ मंगलबारका दिन महामहिम गभर्नर जनरल पिटर कोश्ग्रो समक्ष राजधानी क्यानबेरास्थित सरकारी भवनमा आयोजित एक विशेष कार्यक्रममा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्दै औपचारिक रुपमा दूताबासको कार्य सम्पादन प्रारम्भ गर्नु भएको छ ।

    सन् २००७ मा स्थापित अष्ट्रेलियामा नेपाली आवासीय दूताबासमा नियुक्त हुने शेर्पा तेस्रो राजदूत हुन् । यस अगाडि योगेन्द्र ढकाल तथा रुद्र कुमार नेपालले आ–आफ्नो कार्यकाल पूरा गरि सकेका छन् । पूर्व राजदूत रुद्र कुमार नेपाल परराष्ट्र मन्त्रालयका बरिष्ठ अधिकृत थिए भने पहिलो राजदूत योगेन्द्र ढकाल र बर्तमान राजदूत शेर्पा राजनैतिक क्षेत्रबाट नियुक्ति गरिको थियो र दुवै जना माओवादी केन्द्रको कोटामा राजदूत भएका हुन् ।

     

    को हुन् लक्की शेर्पा ?

    त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर उत्तिर्ण गरेकी लक्की शेर्पा संखुवासभा पुर्खौली घर भएपनि मिनभवन, काठमाडौंकी स्थायी बासिन्दा हुन् । मिनभवन क्याम्पसबाट व्यवस्थापनमा स्नातक गरेकी लक्की पाटन संयुक्त क्याम्पसबाट अर्थशास्त्रमै मास्टर डिग्रीमा कलेज टपर विद्यार्थी हुन् भने अंग्रेजी भाषामा पनि उनी विशेष दख्खल राख्छिन् । न्याय र समानता, मानवअधिकार, समाबेशी लोकतन्त्र, विधिको शासनजस्ता अधिकारमुखी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूमा सल्लाहकारको रुपमा सक्रिय शेर्पा २०६२/६३ जन आन्दोलन पछिमात्र राजनीतितर्फ मोडिएकी हुन् ।

    वामपन्थी झुकाव राख्ने प्राध्यापक श्याम सुन्दर शेर्पाकी छोरी शेर्पाले स्नातक तहमा अध्ययन गर्दासम्म राजनैतिक संलग्नता नरहे पनि नेपालको पहिलो संविधान सभामा नेकपा एमालेले समानुपातिक तर्फबाट सांसद मनोनित गर्ने एउटा भाग्यमानी जनजाती महिला हुन् । यद्धपि पहिलो संबिधान सभा भंग हुँदै गर्दा उनको एमाले पार्टीप्रति पनि मोहभंग हुनपुग्यो, माओबादी एजेण्डासंग उनको विचार मेल खान थाल्यो र अन्तत: केही समय पश्चात उनी नेकपा माओबादीमा प्रवेश गरिन् ।

    वल्र्ड बैंक लगायत विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा काम गर्दै आफ्नो अनुभव बटुलेकी शेर्पा नेपालमा गणतन्त्र प्राप्तिका लागि आफ्नो भूमिका परिवर्तन गर्दै जनजाती महासंघको सचिव हुँदै नागरिक समाजको अगुवाई गर्न थालिन् । २०६२/६३ को आन्दोलनमा राज्यपक्षबाट भएको बल प्रयोगको विरुद्ध उनी जेनेभादेखि न्युयोर्कसम्म मानवअधिकार हनन् सम्बन्धी अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न सफल भइन् ।

    स्नातक तहमा अध्ययन गर्दासम्म राजनैतिक संलग्नता नरहे पनि नेपालको पहिलो संविधान सभामा नेकपा एमालेले समानुपातिक तर्फबाट सांसद मनोनित गर्ने एउटा भाग्यमानी जनजाती महिला हुन् ।

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गरेर पुरस्कृत शेर्पा २०७२ मा शेर्पा पत्रकार संघ तथा पिके मिडिया ग्रुपबाट ‘शेर्पा वर्ष राजनीतिज्ञ’ बाट अभिनन्दित हुन पुगिन् । अमेरिकास्थित मेड्रे नामक अन्तर्राष्ट्रिय संस्थाबाट सन् २००७ मा ‘महिला मानव अधिकार सम्मान’, २००७ मा दक्षिण कोरियाबाट युवा राजदूतबाट सम्मानित उनी सन् २००६ मा अमेरिकाको कनेटिकेटस्थित युनिभर्सिटी अफ कनेक्टिक्टमा गेष्ट लेक्चरको रुपमा अध्यापन समेत गर्ने अवसर पाएकी हुन् ।

     

    लक्कीका चुनौतीहरू

    अष्ट्रेलिया थुप्रै अवसर भएको मुलुक हो तर यहाँको नेपाली कूटनीतिक नियोगलाई चुनौती पनि कम छैन । अष्ट्रेलियामा नेपालीहरूको संख्या दिनानुदिन बढ्दो छ । नेपालीहरूले यो मूलुकमा थुप्रै राम्रा कामहरू गरेका छन् तर अपवादमा समस्याहरू पनि त्यत्तिकै छन् । राहदानी नवीकरणदेखि नयाँ विद्यार्थी अनि आप्रवासीहरूमा पर्न गएको समस्यामा दूताबासलेखेल्नु पर्ने भूमिकाको चाप वर्तमान भौतिक र प्रशासनिक पूर्वाधारले थेग्न सक्ने अवस्था छैन । दूतावासले फोन नउठ्ने, राहदानी नविकरण प्रक्रियामा ढिलाई, प्रभावकारी दोहोरो सञ्चारको कमि जस्ता गुनासाहरू समुदायबाट बेला–बेलामा आइरहेका हुन्छन् । यस्ता समस्याहरूको उचित सम्बोधन दूतावासले यथासिघ्र गर्नु पर्ने देखिन्छ ।

    बास्तविकताको अध्ययन नै नगरी शैक्षिक परामर्शदाता अथवा अन्य कसैको लहैलहैमा लागेर उच्च महत्वकांक्षा बोकेर अष्ट्रेलिया झरेका कलिला उमेरका विद्यार्थीहरू यहाँ आइसकेपछि थुप्रै अनपेक्षित समस्याका शिकार बन्न पुगेका थुप्रै उदाहरणहरू छन् । बेरोजगारी, यूनिभर्सिटी ड्रप आउट, मानसिक तनावको संक्रमण, लागु औषध दूव्र्यसनी आदि जटिल समस्यामा हाम्रो कुटनैतिक नियोगले हालसम्म पनि त्यति सक्रिय भूमिका निभाउन सकेको छैन भने यस्ता समस्या बढ्दो संख्यामा छन् । जनसंख्या वृद्धिको अनुपातमा प्रशासनिक र प्राविधिक पूर्वाधार नेपाल सरकारबाट नपाएको गुनासो स्वयं दूतावासका कर्मचारीहरूबाट यदाकदा सुन्न पाइन्छ ।

    अष्ट्रेलिया–नेपाल दुई सार्वभौम मूलुक भएकाले पनि यी दुई देशबीचको सम्बन्ध पारस्परिक समानताका आधारमा हुने पर्ने हो । तर, अष्ट्रेलियाले नेपाललाई त्यति महत्व दिएको पाइँदैन । यसको ज्वलन्त उदाहरण सन् २०१० मा नेपाल–अष्ट्रेलिया कूटनैतिक सम्बन्धको पचासांै वार्षिकोत्सव मनाउने क्रममा अष्ट्रेलियाले त्यति महत्व नदिएको तत्कालिन राजदूत योगेन्द्र ढकालको अभिव्यक्तिबाट पनि प्रष्ट हुन्छ । दुई देशबीचको सम्बन्ध करिव ७ दशक पुग्नै लाग्दा हालसम्म यहाँका राष्ट्र प्रमूख, राष्ट्रप्रमूख त के कुरा एउटा मन्त्रिस्तरीय औपचारिक भ्रमणसम्म हुन सकेको छैन । कूटनैतिक नियोगको हैसियतले नेपाल र नेपाली समूदायको हितकालागि यहाँको सरकारसंग कूटनीतिक पहल प्रभावकारी रुपमा गर्न सकेको देखिँदैन ।

    यहाँको अर्थतन्त्रको तेस्रो हिस्सा विदेशी विद्यार्थीबाट भुक्तान गर्ने शुल्क तिर्नेमा नेपाली विद्यार्थीहरूको देन कम छैन । यसैगरि यहाँको दक्ष र अर्धदक्ष जनशक्तिको आपूर्तिमा पनि नेपालीहरूको उल्लेख्य योगदान छ ।

    नेपालका परराष्ट्रमन्त्रीले भने गत वर्ष एनआरएनएद्वारा आयोजित नेपाल महोत्सवमा प्रमूख अतिथिको रुपमा आउँदै गर्दा यहाँका समकक्षी मन्त्रीसंग अनौपचारिक भेटघाट गरेका थिए । त्यस्तो खालको असमान सम्बन्धको खाडल पुर्न राजदूत लक्की शेर्पाले अथक र निरन्तर प्रयास गर्नु पर्नेछ ।

    अष्ट्रेलिया सरकारलाई लाग्दो होला उनीहरू नेपाल र नेपालीहरूलाई दिएका मात्र छन् । त्यो कदापि होइन । बहुसांस्कृतिक अष्ट्रेलियन समाज निर्माणमा नेपालीहरूको अभूतपूर्व योगदान छ । त्यति मात्र होइन, यहाँको अर्थतन्त्रको तेस्रो हिस्सा विदेशी विद्यार्थीबाट भुक्तान गर्ने शुल्क तिर्नेमा नेपाली विद्यार्थीहरूको देन कम छैन । यसैगरि यहाँको दक्ष र अर्धदक्ष जनशक्तिको आपूर्तिमा पनि नेपालीहरूको उल्लेख्य योगदान छ । यी सबै यथार्थतालाई बुझाउँदै एउटा पारस्परिक सम्बन्ध विस्तार र मजबुद बनाउन महामहिम राजदूत लक्की शेर्पाले अथक प्रयास गर्नु पर्ने छ ।

    उत्पीडित आदिवासी जनजाति, महिला र पिछडा वर्ग, सीमान्तकृतहरूको हकहित तथा समावेशी नेपाली समाज निर्माण गर्ने मूल उद्देश्य बोकेर राजनीति गर्दै आएकी लक्की शेर्पा अष्ट्रेलिया जस्तो विकशित र मानव अधिकारको उच्च सम्मान गर्ने मुलुकको राजदूतमा सिफारिस हुँदा शेर्पा समुदाय मात्रै नभएर समग्र आदिवासी जनजाति तथा उत्पीडित समुदायमा उत्साह छाएको छ । क्यानबेरास्थित सरकारी भवनमा आफ्नो ओहोदाको प्रमाण पत्र पेश गर्दा र त्यस पश्चात अष्ट्रेलिया सरकारबाट प्रदान गरिएको सम्मानले हामी समस्त अष्ट्रेलियावासी नेपालीहरूलाई गौरवान्दित बनाएको छ । नवनियूक्त महामहिम राजदूतलाई हाम्रो शुभकामना !

     

    नेपाल अष्ट्रेलियाबीच सिधा हवाई उडानलाई मूर्तरुप दिन कोशिस गर्ने छु ।” : नवनियुक्त राजदूत लक्की शेर्पा

    तपाईँ अष्ट्रेलियाका लागि प्रथम नेपाली महिला राजदूत हुनु भएकोमा वधाइ तथा सफल कार्यकालको शुभकामना! तपाईले आफ्नो कार्यकालको लागि केही भावी योजना बनाउनु भएको  ?

    धन्यवाद ∕ सर्वप्रथम, भावी योजनाको बारेमा भन्नुपर्दा नेपाल अष्ट्रेलियामा अध्ययनको शिलाशिलामा यहाँको लागि तेस्रो र नेपालबाट पठाउनेमा पहिलो मुलुक भन्ने कुरा बिदितै छ, जसलाई कुटनीतिक तवरबाट यस बारेमा जानकारी गराउँदै यस सम्बन्धी थप सुबिधा र कानुनी झमेला हटाउने बारेमा मेरो पहल रहनेछ । जस्तै बायोमेट्रिकको बिषय र मेडिकल टेष्टको लागि क्षेत्रीय स्तरमै गराउने, अर्को जो नेपालबाट आउन चाहेर पनि स्रोत साधनको अभावमा आउन नसक्नेहरूलाई विश्व स्तरिय अष्ट्रेलियाको शिक्षा नेपालमा लैजाने, नेपाल पर्यटन गन्तब्यको रुपमा चर्चित स्थान हुँदाहुँदै यहाँको ट्राभल एड्भाईजरिमा सुधार गर्नु परेको हुँदा यसप्रति ध्यानाकर्षण गर्ने कार्य गर्नुको साथै नेपालप्रति आकर्षित गर्ने कार्यक्रमहरू गरिने छ । अष्ट्रेलिया आफैं स्पोर्ट्स फ्रेन्डली मुलुक भएकोले यसको सहयोग अभिवृद्धीको साथै स्पोर्टस डिप्लोमेसिलाई बढावा दिइनेछ । नेपालमा उत्पादित हस्तकला लगायत नेपाली उत्पादनलाई प्रवद्धनात्मक कार्य गर्नुको साथै अष्ट्रेलियाको लगानी र प्रविधिलाई नेपालतर्फ आकर्षित गर्ने कार्य हुनेछ । साथै नेपाल–अष्ट्रेलियाबीच सिधा हवाई उडानलाई मुर्तरुप दिन कोसिस रहनेछ भने भिषा प्रकृया सरलीकरणमा पहल रहनेछ ।

     

    आगामी दिनमा नेपाल र अष्ट्रेलियाबीच रहेको दौत्य सम्बन्धलाई कसरी अगाडि बढाउनु हुन्छ ?

    दौत्य सम्बन्धको बारेमा भन्नु पर्दा सरकार र जनस्तरसम्म पुर्‍याउन नेपाल र अष्ट्रेलियाबीच अहिलेसम्म हाई लेभल भिजिट नभएको हुनाले त्यसको लागि पहल हुनेछ भने यहाँको पर्यटन नेपालमा भित्त्राउन कठिनाईको रुपमा रहेको बिषयलाई फुकाएर यहाँको पर्यटक अधिक से अधिक भित्त्राएर नेपालीको आथित्य ग्रहण गराउने र नेपाललाई पनि आर्थिक रुपमा सबलिकरण गर्ने कार्यहरू हुनेछ । नेपाल र अष्ट्रेलियाबीचको सहयोग आदान–प्रदानको कार्य हुनेछ ।

     

    अष्ट्रेलियामा रहेका नेपाली समुदाय र राजदूतावासबीच रहेको दुरीलाई कसरी न्यूनीकरण गर्दै अगाडि वढ्ने विचार बनाउनु भएकोछ ?

    दूताबास हाम्रै लागि खोलिएको हो र हाम्रै हो भन्ने भावनाको विकास गर्नु तथा गराउनु जरुरी छ । यसर्थ हाम्रो स्रोत र साधनले भ्याएसम्म चुस्त दुरुस्त सेवाग्राहिको सेवा दिन जरुरी छ । जसमा लामो दुरिमा रहेका नेपालीहरूको चासो सरोकार र गुनासाहरू टेलिफोन सेवाबाटै सुन्ने र सम्वोधन गर्ने, ईमेलबाटै केही मिनेट भित्रै जानकारी लिने दिने । नागरिक बडापत्रहरू लगायत सेवा उपलब्ध हुने बिषय जानकारी राख्ने र सामाजिक संञ्जालको अधिकतम उपयोग गर्ने । बेलाबखत नेपालीहरू बीच रहेको चुनौती र अवसरको बारेमा छलफल गरेर यसको निकास निकाल्ने रहेका छन् । दूताबासको आधिकारिक वेवसाईटलाई अध्यावधिक गरेर समयसापेक्ष बनाउने ताकि यसबाट सेवाग्राही लाभान्दित हुन सकून् । विभिन्न स्थानमा रहेका नेपाली नियोगहरूलाई नेपालीको हितमा कार्य गर्ने गरी अधिकतम परिचालन् गर्ने सोच रहेको छ, जसको लागि चाँडै नै कार्यशाला गोष्ठि पनि राख्ने कार्यक्रम रहेको छ ।

     

    अष्ट्रेलियामा विषेश गरि नेपाली विद्यार्थीकरुको चाप संग–संगै विभिन्न समस्याहरू पनि बढ्दैछन् विद्यार्थीहरू विभिन्न कारणले अष्ट्रेलियाका जेलहरूमा रहेका छन् उनीहरूको कानूनी उपचारका विषयमा तपाईँको कार्यकालमा राजदूतावासले कस्तो भूमिका खेल्नेछ ?

    समय र परिस्थिती अनुसार नेपालीहरूको चाप दिनानुदिन बढदै गईरहेको छ । जहाँ अवसर छ, त्यहाँ चुनौती पनि छ । यसर्थ नेपालबाट आउँदा नै सबै कुराको लेखाजोखा गरी वास्तविकता र यथार्थ बुझेर आउनु जरुरी छ भने दूतावासले पहल कदमी लिएर हुन सक्ने कुरामा हामी सदैब तत्पर रहने छौं । अन्य विषयमा सम्बन्धित मुलुकको विद्यमान कानुनको पारीधिमा रहेर गर्नु पर्ने हुन्छ ।

     

    राजदूतावासको काम छिटो–छरितो भएन, अव्यवस्थित भयो भनेर बेला–बेलामा चर्चा चल्ने गरेको छ तपाईँको कार्यकालमा यहाँ रहेका नेपालीहरूले यस्ता समस्यावाट मुक्त हुन्छन् भनेर आश्वस्त पार्न सक्नुहुन्छ ?

    विगतका दिनमा पनि नियोगका कर्मचारीले कामै नगरेको भन्ने होईन । हामीमा रहेको सिमित स्रोत, साधन र न्युन संख्यामा कर्मचारीहरू रहेकोले आशा अनुरुप काम हुन नसकेको हुन सक्छ तर अब हामीले आफुमा रहेको कमि–कमजोरीहरूलाई पुन:मूल्याड्ढन गरेर यसलाई समयसापेक्ष बनाउँदै चुस्त–दुरुस्त बनाउने पहल कदमी लिन जरुरी छ ।

    क्यान्वेरामा रहेको नेपालीहरूको सामाजिक कार्यक्रम पनि गर्न सक्ने गरी मेरै कार्यकालमा दूतावासको निर्माण गर्दै घर भाडामा हुने खर्चमा कटौती गर्ने सोच लिएका छौं ।

     

    अष्ट्रेलियामा अष्ट्रेलियन नेपालीहरूको संख्या वढ्दो छ कानूनत: कतिको संख्यामा अष्ट्रेलियन नेपालीहरूले नेपाली नागरिकता त्यागेको रेकर्ड राजदूतावाससंग  ?

    दोहोरो नागरिक भएर रहन के नेपालको कानूनले दिन्छ ? अष्ट्रेलियामा लगभग पचास हजारको संख्यामा नेपालीहरू रहेको पाईन्छ भने यसलाई समयानुकुल अध्यावधिक गर्ने कार्य योजना समेत रहेको छ । दोहोरो नागरिकको बारेमा नेपालको संविधान भर्खरै मात्र निर्माण भएको हुनाले यस सम्बन्धमा घनिभूत रुपमा अझै छलफल भई रहेको र एनआरएनएले पनि पहलकदमी लिई रहेको हुँदा यसै भन्न सकिने अवस्था छैन । यसका साथै कानुन निर्माणकै प्रकृयामा हामी रहेका छौं, मुलुक रहेको छ ।

     

    के तपाइँको कार्यकालमा नेपाली राजदूतावासले क्यानवेरामा आफ्नै भवन पाउन सक्ला ?

    अहिले टट्कारो रुपमा खड्किएको भनेको आफ्नै स्वामित्वमा दूतावास हुनु पर्दछ भन्ने नै हो, ताकि यसबाट अष्ट्रेलियामा रहेका पचासौं हजार नेपालीले गर्वको अनुभूति गर्न सकुन । नेपालकै हाराहारीमा अर्थात नेपालभन्दा साना मुलुकका पनि आफ्नै दूतावास छन् । यसर्थ क्यान्वेरामा रहेको नेपालीहरूको सामाजिक कार्यक्रम पनि गर्न सक्ने गरी मेरै कार्यकालमा दूतावासको निर्माण गर्दै घर भाडामा हुने खर्चमा कटौती गर्ने सोच लिएका छौं । जसका लागि सिधै अष्ट्रेलिया सरकारसंग पनि यस सम्बन्धमा केही चरण कुराकानी समेत भई सकेको अवस्था हो ।

     

    तपाइँले आफ्नो कार्यकालमा अष्ट्रेलियाको नेपाली समुदायबाट के कस्तो अपेक्षा राख्नु भएको छ ?

    अष्ट्रेलियाका नेपालीको अवस्था बिशिष्ट प्रकृतिको छ । प्राय:जसो अध्ययनको शिलशिलामै आउने हुनाले र बौद्धिक समुदायका हुनाले आफ्नो जिम्मेवारी र कर्तब्यको बारेमा राम्रो जानकारी मात्र होईन दख्खल पनि राख्नु हुन्छ । यसर्थ हामीले नेपाललाई कसरी सम्बृद्ध बनाउन सकिन्छ भन्ने बारेमा चासो र चिन्ता रहेको पाएँ । जसलाई वास्तविकता र यथार्थमा बदल्न सबै नेपालीहरूको हातेमालो आवश्यक छ र मैले यस बिषयमा अपेक्षा राखेकी छु ।

    विश्व रंगमञ्चमा स्वर्गको टुक्रा झै सुन्दर नेपाल, बुद्ध जन्मेको शान्त नेपाल र संसारकै टाकुराको रुपमा रहेको सगरमाथाको चिनारी दिन जरुरी छ ।

    एनआरएनए अष्ट्रेलियासंगको तपाईंको सम्पर्क तथा सहकार्य कस्तो हुनेछ ?

    नेपालीका लागि नेपाली नाराका साथ स्थापित विश्व सञ्जाल एनआरएनएले नेपाल र नेपालीको हक र कल्याणका क्षेत्रमा थुप्रै कामहरू गरेको छ । राष्ट्र निर्माणको लागि गैर आवासीय नेपाली संघसंग मिलेर काम गर्न नेपाली दूतावास संधै तत्पर रहने छ । आगामी जुलाई ८ तारिखका दिन हुन गइरहेको एनआरएनए अष्ट्रेलियाको निर्वाचन सफलताका साथ सम्पन्न भएर एउटा कुशल नेतृत्व चयन गर्न सफल होस् हाम्रो शुभकामना छ ।

     

     अन्त्यमा, यहाँका नेपाली समुदायलाई केही भन्नु छ कि ?

     हामी दुरीको हिसावले नेपालबाट हजारौं किलोमिटर टाढा रहेता पनि हाम्रा आफ्नै मौलिक पहिचानहरू छन् । त्यसलाई संरक्षण गर्नुका साथै विश्वसामु चिनाउने जिम्मेवारी पनि छ । विश्व रंगमञ्चमा स्वर्गको टुक्रा झै सुन्दर नेपाल, बुद्ध जन्मेको शान्त नेपाल र संसारकै टाकुराको रुपमा रहेको सगरमाथाको चिनारी दिन जरुरी छ । यसर्थ यस विषयमा हाम्रो साझा पहल र प्रयत्नमा सफल रहौं ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    पहिचानको लागि जुट्दै हामी

    /शुक्र, मंसिर २९, २०७४