वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, चैत्र १६, २०७७
लामो समय सम्म नेपालको बामपन्थी आन्दोलनमा  इमान्दार र सादगी नेताको रुपमा परिचित  वामपन्थी नेता विष्णुबहादुर मानन्धरको ९१ बर्षको उमेरमा निधन भएको छ।  पारिबारिक श्रोतका अनुसार विगत एक महिनादेखि मानन्धरले पाटन अस्पतालमा उपचार गराइरहेका थिए ।  राणा विरोधी आन्दोलनदेखि जीवनका अन्तिम दिन सम्म नेपाली राजनीतिमा सक्रिय निष्कलंकित नेता मानन्धर नेपालको वामपन्थी आन्दोलनका एक सादगी र इमान्दार नेता हुन् ।
जिन्दगीभर कुनै पनि सरकारी र लाभको पद नलिएका मानन्धरले नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन निरन्तर प्रयास गर्दै आएका थिए ।
संयुक्त वाममोर्चा निर्माणदेखि पछिल्लो पटक नेकपा (संयुक्त) सम्मको स्थापनामा महत्वपूर्ण योगदान गर्नुभएका मानन्धर खास अर्थमा सर्वहारा नेताको रुपमा आफूलाई स्थापित गरे। विसं २०४६ को जनआन्दोलनपछि उनलाई मन्त्री बन्न आग्रह गरिएपनि उनले निलाम्बर आचार्यलाई सहजै उक्त जिम्मेवारी सम्हाल्न अनुरोध गरेका थिए ।
तिन छोरी र एक छोराका पिता नेता मानन्धरको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने उनका छोरा एबं  नेकपा (माओवादी केन्द्र) का नेता सुनिल मानन्धरले जानकारी दिएका छन्।