विकसित र विकासशील राष्ट्रहरूमा तीब्र गतिमा भैरहेको विकास निर्माण कार्यहरूले गर्दा पृथ्वीको वायू मण्डलमा जम्मा भैरहेको कार्बन डायअक्साइडको कारण जलवायु परिवर्तनका नराम्रा असरहरू देखिन थालेको छ । जसको प्रभाव स्वरुप हिम श्रृखला पग्लने, सामुद्रिक सतह बढ्ने र मौसम परिवर्तनका असामान्य स्थिति देखा पर्न थालेपछि त्यसबाट बच्न विश्व समुदाय नै एकजुट हुन थालेको छ । विगत केहि वर्ष यता देखा परेको जलवायु परिवर्तनको असर सबैले बेहोरिहे पनि सबै तह र तप्काले कारण पत्ता लगाउन सकेको छैन । यद्दपि वैज्ञानिकहरूले त्यसका कारण र समाधानका उपायहरूबारे निकै अघिदेखि नै अनुसन्धान गरिरहेका छन् । वैज्ञानिकका अनुसार जलवायू परिवर्तनका कारण पेट्रोलियम पदार्थ, ग्याँस, र कोईलाबाट निस्केको तातो हावा र कार्वनडाइअक्साईडका कारण भूमण्डलको उष्णीकरणले हिमनदीहरू सुक्नु र सामुद्रिक किनारा बढ्नुको साथै जलवायु परिवर्तन भएकोले त्यसको न्यूनिकरणका लागि ग्रीन हाउसको बृद्धि गर्ने र वनजंगल बढाउनुको साथै कार्वनडाइअक्साईडको मात्रा कम गर्ने सवारी साधनको प्रयोग गर्नु पर्दछ । मुलत: त्यसका लागि सबै मुलुकले उत्तिकै सावधानी अपनाउनु जरुरी हुन्छ । पूर्व अमेरिकी उपराष्ट्रपति अल गोरले आफ्नो ‘रोक्न नसकिने सत्य’ नामक सोधपत्रमा जलवायु परिवर्तनको बारेमा उल्लेख गरिएको विषयले नोवल शान्ति पुरस्कार नै प्राप्त गरेपछि त्यस विषयले व्यापकता पाएको हो । जुन सोधपत्रमा उल्लेख गरिएका विषय तथ्यमा आधारित मात्र भएन कि त्यसमा किटान गरिएका कुरा शतप्रतिशत सत्य सावित हुदै गएका छन् र आज तिनै विषय विश्वका वैज्ञानिकहरूका लागि चुनौतिपूर्ण मात्रै बनेको छैन त्यसबाट जोगिने उपायको खोजिमा समय खर्चिनु परेको छ ।

सन् १८६० देखि पृथ्वीको तापमान नाप्ने क्रम शुरु भएयता सन् १९९० को दशक सवैभन्दा गर्मी सावित भयो । सन् २००० को दशक अझ बढी तातो हुँदैे गएको वैज्ञानिक परिक्षणले पुष्टि गरेको छ । यस वीचमा ०.६ सेन्टिमिटर तापक्रम बढिसकेको जनाइएको छ । यसै गरी समुन्द्र र जमिन दिनप्रतिदिन तातिईरहेको प्रमाण सर्वसाधारण जनताले समेत अनुभव गर्न थालेका छन । त्यस्तै वर्षा हुने प्रकृयामा परिवर्तन आएको छ । बर्षातको समय परिवर्तन मात्रै भएको छैन विपरित र असामान्य बर्षा हुन थालेका छन । हिमाली क्षेत्रमा हिउँ पर्न छाडेको छ भने भएका हिमाल पग्लेर हिमनदिको बहाव घट्न थालेका छन भने समुन्द्रीक सतह बढ्दो छ । ग्रिनल्याण्डबाट हालको हिउ पग्लने दर ०.५ एमएम प्रतिबर्ष घटेको वैज्ञानिक तथ्यले पुष्टि गरेको छ । हिउ पग्लेर सकमुद्रिक सतह बढेको कारण कयौन देशको र ठुला शहरको भविश्यनै खतरामा पर्दै गएको छ । माल्दिप्सको सम्र्पुण भुभाग १० बर्षपछि डुब्न सक्ने अनुमान वैज्ञानीकले गरेको छ । जलवायू परिवर्तनले पानीका स्रोतहरू, वन, जीब परिबृत्ति प्रणाली (इकोसिष्टम), जैविक विविधता, कृषि, भौतिक वातावरण र मानवीय स्वास्थ्यमा प्रतिकुल असर पर्नेछ । जसरी तापक्रम बृद्धिको प्रभाव सबैतिर परेको छ, त्यसैगरी भौतिक र जैविक वातावरणमा परेको पाईन्छ । उदाहरणका रुपमा हिमनदीहरू सुुक्न थालेका छन् भने हिमभण्डार टुक्रिदै खुम्चिदै बग्न थालेका छन । हिउद पछिका महिनाहरूमा सामान्य भन्दा ठण्डा र वढी हिमपात र असिना वर्षा हुने, वनस्पतीहरू छिटो फुल्ने र वढ्ने प्रक्रिया देखिएको छन । त्यसैगरी होचो ठाउँमा पाइने जीव, बनस्पती र किट प्रजातिहरू अग्लो ठाउंतिर फैलिंदो अवस्थामा रहेका छन । प्रकोप बढेर जनस्वास्थ्यमा प्रभाव पर्न थालेको छ । जसको कारण गर्मीबाट हुने मृत्युदरमा बृद्धि, उच्च ठाउँमा पनि लामखुटेको कारण मलेरिया, पानीबाट उत्पन्न हुने र सरुवा रोगको प्रकोप बढ्नुको साथै शित प्रदेशिय क्षेत्रमा ठण्डीबाट हुने मृत्यु दरमा कमी हुन थालेको छ ।

साधन स्रोत कम भएका कारण गरीव देशहरू र त्यहाँका गरीव जनता जलवायु परिवर्तनको असरबाट सवैभन्दा बढी प्रभावित हुने निश्चित छ । आईपर्ने समस्याको सामना गर्ने साधन स्रोतको कमीका कारण जीवनस्तरमा गम्भीर धक्का लाग्न थालेको छ । उच्च पहाडी गाउँघरहरूमा खेतिपातिको समयमा कम पानी पर्ने र अरु बेलामा पानी पर्ने जस्तो असामान्य बर्षाले कृषि क्षेत्रमा समस्या देखा परेको छ । त्यसैले गर्दा खाध्यान्न संकट उत्पन्न हुने देखिएको छ । माटोले बनेका परम्परागत घरहरू छिटो खिइन थालेका छन भने त्यसको ताजा उदाहरण मुस्ताङमा हिउँ थोरै, पानी धेरै पर्न थालेका कारण माटोले बनेका परम्परागत घरहरू छिटो भत्किन थालेका छन् । स्थानीय वासिन्दा यस्ता समस्याबाट जोगिन जस्तापाताको छाना छाउने गरी फरक ढाँचामा घर बनाउन थालेका छन् ।

त्यस्तैगरी तीब्र रुपमा हिउँ पग्लिएर ताल बन्दै छन । हिमनदीले प्रतिबर्ष १० मीटरको दरले ठाँउ छोड्दै गएको अध्ययनहरूबाट देखिएको छ । जसले गर्दा हिमाली क्षेत्र र हिमतालहरूमा प्रभाव परेको छ । हालैका बर्षहरूमा हिमनदिहरू खुम्चने वा सुक्ने प्रकृयामा बृद्धि भएका छन । भारतमा हालै भएको एक अध्ययन अनुसार सन् २०३५ सम्ममा प्राय सवै हिमनदीहरू लोप हुने अनुमान गरिएको छ । त्यसै गरी हाम्रो जस्तो जैविक विविधता र पहाडी पर्यावरण, पहाडी वनस्पतीमा जलवायू परिवर्तनको असरले ठुलो समस्या पार्ने देखिएको छ । हिमालमा वनस्पती रेखा, प्रजातिहरूको वितरण अनुपात वा सघनत्वमा बदलिएको छ । स्थानीय वनस्पतीमाथि बाह्य प्रजातिको प्रभाव बढ्दो रहेको छ ।

त्यस्तै गरी कृषिमा पनि जलवायू परिवर्तनको प्रभाव पर्न थालेपछि हाम्रो जस्तो कृषिप्रधान मुलुकका किसान गम्भीर मर्कामा पर्ने भएका छन । पानी, माटोमा चिसोपनाको मात्रा, परागसेचन क्रिया, माटोको तापक्रम जस्ता आधार तत्वमा आएको परिवर्तनका कारण कृषि उत्पादकत्वमा कमी हुन थालेको छ । वर्षाको प्राकृतिक चक्रमा परिवर्तन हुँदा परम्परागत बालीे चक्रको सन्तुलनमा खलल पुग्न गई खेत गर्ने प्राणलीमा परिवर्तन गर्नुपर्ने चुनौति देखिन थालेको छ । सुख्खा हिउँदको उच्च भू–भागको पर्यावरणमा थप दवाव पर्ने ह‘ुँदा जटिलता बढ्दै जाने छ । यसको असर खाद्य सुरक्षालगायत स्वास्थ्य र जैविक विविधतामा पर्ने निश्चित छ । जलवायुमा आएको परिवर्तनसंगै समुदायहरूको क्रियाकलापमा पनि परिवर्तन आएको छ । पानीको समस्यासंग जुध्दै हिउँदमा हुने गरेको हिउँ पर्ने दिन र मात्रामा कमी हुनाले हिम भण्डार खस्कदो स्थितिमा पुगेको छ भने सुख्खायाममा पानीका लागि नयाँ स्रोतको खोजी गर्नुपर्ने अवस्था देखिन थालेको छ । त्यस्तै आकाशे पानी संकलन प्रविधिको प्रयोग बढाउनेतर्फ ध्यान दिनुपर्ने अवस्था बढेर गएको छ भने पानी थोरै चाहिने बाली लगाउने, जोखिम कम गर्न वैकल्पिक आम्दानीका स्रोतको खोजी गर्नुपर्ने स्थीति टड्कारो देखिएको छ ।

जलवायू परिवर्तनका कारण त्यससमस्याबाट उन्मूक्ति पाउन केहि राम्रा पहलहरू शुरु भएका छन । जस्तो स्वच्छ उर्जा: विजुली, गोबर ग्याँस, सौर्य प्रविधिको प्रयोग बढ्नु राम्रो संकेत हो । वन संरक्षण र विस्तार, वस्तुको पुन प्रयोग बढाउन सके वातावरणलाई उल्लेख्य योगदान पुग्नेछ । नेपालको सामुदायिक वन विश्वका लागी नै उदाहरण भएको र यसको चिनारी बनीसकेको हुनाले कार्वन ब्यापारको सुविधा पाउन सके फाइदा लिन सक्ने देखिन्छ । उदाहरणका लागि नेपालका दशलाख हेक्टर भन्दा बढी क्षेत्र ओगटेको सामुदायिक वनले वर्षेनी करिव ५० लाख टन कार्बन उत्पादन गर्छ, जसको अन्तर्राराष्टिय मुल्य कम्तिमा ५ करोड डलर हुन्छ । त्यस्तो अवस्थामा हामीले गभीर बन्नु जरुरी छ । आफुले प्रयोग गर्ने प्रविधि स्वच्छ उर्जामा आधारित हो कि होइन विचार गरौं (सुधारिएको चुलो, गोबर ग्याँस, सौर्य प्रणाली, जलविद्युत स्वच्छ उर्जाको प्रयोग बढाउनु जरुरी छ । त्यस्तै कार्वन शुन्य घर, कार्यालय र ब्यवसायको पक्षमा उदाहरण बन्दै वकालत गर्न जरुरी भएको छ विकास संरचना बनाउँदा, बाढी, खडेरीका घटनालाई विचार गरेर डिजाइन गर्न आवश्यक भैसकेको छ । दीगो वन ब्यवस्थापनबाट काठको खपत वढाउन सकिएको खण्डमा त्यसबाट पनि वातावरणमा सुधार गर्न सकिन्छ ।

हरितगृह ग्याँस कम गर्नको लागि वैकल्पिक उर्जाहरू, गोवर ग्यास प्लान्ट बढाउन सकिन्छ । नेपालमा करिव २ लाख गोवरग्यास प्लान्टहरू सञ्चालनमा रहेको छ भने करिव २० लाख प्लान्टहरूको संभावना रहेको छ । त्यस्ता संभावनाहरूलाई बेलैमा प्रयोग गर्नसके प्रभाव कम पर्नसक्ने निश्चित छ । त्यस्तै कार्वन व्यापार एउटा नया संभावना हो । एक टन कार्वन ५ देखि १५ डलरसम्ममा वेच्न सकिने भएकाले त्यसतर्फ पनि विशेष ध्यानदिनु जरुरी देखिन्छ । त्यस्तैगरी गोवर ग्यास प्लान्टका प्रयोग गर्दाका फाईदाहरूमा यसले वन पनि जोगाउँछ अनि हरितगृह ग्यास पनि कम गर्छ । एउटा गोवरग्यास प्लान्टले करिव २ टन कार्वनडाई अक्साईड प्रति वर्ष हावामा मिसिनवाट जोगाउँछ । खाना पकाउने सुधारिएको चुलोको कुरा गर्ने हो भने त्यसले पनि वातावरण सुधारमा उल्लेख्य सहयोग पुर्‍याउँछ ।

वन जोगाउदा हुने फाईदाको कुरा गर्ने हो भने एउटा रुख ५० बर्ष जीवित रहन्छ । त्यो रुखले अक्सिजन उत्पादन गर्छ । सो एउटा रुखबाट मात्रै ८ लाख ५० हजार मूल्यको अक्सिजन उत्पादन हुन्छ । सोही रुखबाट १० लाख मूल्यको माटो मल बन्छ भने १० लाख मूल्यको भू–क्षय नियन्त्रण गर्दछ । त्यसैगरी १७ लाख मूल्यको वायु प्रदुषण नियन्त्रण गर्छ र फलफूल र हरियो सागपात बाहेक पशु पंछीको लागि ८ लाख ५० हजार मूल्यको आश्रय प्रदान गर्छ । एउटा हुर्किएको रुखले २ टन पानी संग्रह गर्न सक्छ जसले भाँडोमा जम्मा गर्न लायकको पानीको श्रोतको निर्माण गर्दछ । तसर्थ, एउटा रुख काटिनु भनेको रु.५१ लाख भन्दा बढिको खुद क्षतिहुनु हो भन्ने अध्ययनले पुष्टि गरेको छ । बनस्पतीहरू कार्बन डाई–अक्साईड धारण गर्ने प्राकृतिक रक्ष्यान भएकाले एउटा रुखले उसको जीवनकाल (१०० बर्ष)मा एक हजार किलोग्राम कार्बन डाई–अक्साईड सोसेर लिन सक्छ । त्यसैले वातावरणको कार्बन डाई–अक्साईड घटाउने एउटा सरल, कम खर्चिलो र उपयुक्त उपाय हो । कार्बन डाईअक्साईड प्रदुषण घटाउनु स्थानीय प्रयोगमा रहेका उपलब्ध खुला वातावरणको सौन्दर्यसम्बन्धी महत्व बढाउनु, जन साधारणमा हरियोपनको लेखा राख्ने अवधारणा ल्याउने र प्रदुषण फैलाउनेहरूलाई स्थानीय र विश्व वातावरणप्रति जिम्मेवार बनाउने अहिलेको पहिलो आवश्यकता बनेको छ । अन्यथा रोक्नै नसकिने विपत्ति पर्खर्नेबाहेक अन्य उपाय छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार