नेपालको अहिलेको अवस्था यति सजिलै छोटो शब्दमा बयान गर्न सकिन्छ जस्तो मलाई लाग्दैन । मैले यहाँ सम्पूर्ण कुराहरू बिरगंजलाई
आधार बनाएर लेखेको हुं । मधेशको अरु भागको जानकारी मैले पनि पत्र पत्रिका पढेर वा सुनेर नै पाउने हो जुन अहिले अलिकति पनि बिस्वसनीय छन् भन्ने म मान्दिन । म अर्को कुरा स्पष्ट के पार्न चाहन्छु भने यो मेरो नितान्त ब्यक्तिगत बिचार हो र यसलाई कुनै संघ संस्थासंग जोडेर नदोहोरियोस् ।

अहिले नेपालको अवस्था दयनीय छ यो दोहोर्याइरहनु आवश्यक छैन । अवस्यपनि नाकाबन्दी भएको छ । त्यो कसले गर्यो र किन गर्यो त्यतातिर पनि अहिले नजाऔं । त्यो एउटा अर्को वहसको विषय बन्न सक्छ । सोझै मुद्दामा आएर भन्नु पर्दा अहिलेको अवस्था र यसबाट हुन सक्ने मानवीय संकटको दोषी नेपाल र विश्वभरि रहेका नेपाली पत्रपत्रिका र पत्रकारहरू, अहिलेको नेपाल सरकार र हामी नागरिक समाज नै हौं । मैले यसलाई बुंदागत रुपमा निम्न अनुसार प्रष्ट्याउने प्रयास गरेको छु ।

विश्वभरि रहेका नेपाली पत्रपत्रिका र पत्रकार : मलाई लाग्छ अहिले हाम्रो पत्रिका र पत्रकारहरूले आफ्नो जिम्मेवारी पूर्णरुपले बिर्सिसकेका छन् वा यदि छैनन भने परिभाषा नै बदलेर अर्कै बनाइसकेका छन् । बिरगंजमा त पत्रपत्रिका नेपाल सरककारले लगभग बन्द नै गराइसकेको छ । तर हाम्रा राष्ट्रिय समाचार पत्रको उपाधि बोकेकाहरूपनि निष्पक्ष भएको देखिदैन । म आफु जहाँ भएपनि संधैजसो एकचोटि बिरगंज कुरा गरेर त्यहाँको बारेमा सुन्न खोज्छु । र आश्चर्यको कुरा के छ भने म जे सुन्छु नेपाली र संसारभरिका नेपाली समाचारमा त्यसको विपरित आइरहेको हुन्छ । समाचारलाई पूर्णरुपले परिमार्जित गरी कुनै एक समुदायको चरित्र हत्या हुने गरी विरोध र दोषारोपण गरिएको हुन्छ । अहिलेका सबैजसो समाचारहरू त्यस्तै नै हुन्छन । के यत्रो बिकराल स्थितिको जिम्मेवार कुनै एउटा समुहमात्र होला त ? एउटा हाम्रो अस्वस्थ पत्रकारिताको सानो उदाहरण के पनि हो भने बन्दको बेला पेट्रोल ओसार्दै गरेको एम्बुलेन्समा आगो लगाए आन्दोलनकारिले । त्यसको समाचार कुनै पुरानो फोटो राखेर बिरामी बोकेको एम्बुलेन्समा आगो लगाए भन्ने बनाइयो । अर्को कर्फ्युको बेला कारखाना अगाडि औषधी लोड गरि राखेको ट्रकमा राति कुनै समयमा आगो लगायो कसैले । त्यो कसले लगायो अहिलेसम्म आरोप प्रत्यारोप नै भइरहेको छ । र हाम्रा पत्रकार साथीहरूले कुनै छानविन नै नगरी पहिलैदेखि तय गरिएको समुदायलाई आरोप लगाएर आफ्नो फेसबुकमा लाइक बढाउने कार्य गरे । त्यसपछि त संसारभरिबाट फेसबुक रंगाउने काम त भयो नै । त्यो मात्र सस्तो लोकप्रियाताको लागि मात्र हो । जबकि आरोपित समुहले आजसम्म पनि हामीले गरेको हैन भनेर पटक पटक भनिरहेका छन् । के यत्रो आन्दोलन गरेकाहरू, जसमा ५०औं जनाले ज्यान गुमाइसके, यदि यो घटना घटाएको भए यसको जिम्मा लिन सक्दैन होला त ?

अहिलेको नेपाल सरकार : सिधा भाषामा भन्नुपर्दा अहिलेको नेपाल सरकार भारत र मधेसीलाई गालि गरेर आँफुहरू राष्ट्रवादी भएको प्रमाणित गर्न र आफ्नो मनपरि गर्न पट्टि लागेको छ । वास्तविक्ता त के हो भने सरकारलाई नेपाल र नेपालीको कुनै मतलब छैन । झट्टै हेर्दा जनतालाई अर्कोतिर फर्काएर एकतिर सबै आ–आफ्नो व्यक्तिगत स्वार्थ पूर्ति गर्न तिर लागेका छन् । अहिकेको सरकार र सारा नेपाली जनता भारतको घमण्ड उतार्न तिर लागी परेका छन् । त्यो ठीक छ । सबैको आ–आफ्नो सोचाई रोजाई हुन्छ । तर मैले नबुझेको के हो भने नेपालको यो दवाबले भारत हारेर झुक्यो रे भोलि । त्यसले के नेपाल भित्रको आन्तरिक समस्या समाधान हुन्छ त ? के नेपाल भित्रको यो संकट समाप्त हुन्छ त ? अरु ठाँउको त मलाई थाहा छैन तर बिरगंजमा त यो आन्दोलन अब कुनै नेताको हातमा छैन र यो कुनै निष्कर्ष बिना टुंगिने कुनै संकेत पनि देखिदैन । आफु भित्रको समस्यालाई सम्बोधन गर्दै नगरि सारा मधेशीलाई नै राष्ट्रिय स्तरबाटै भारतीय घोषणा गरिनु पनि यस परिस्थितिको एउटा कारण हो । स्मण रहोस यदि मधेश नेपाल हो भने बिनाशर्त र शब्दजाल बिना मधेशी पनि नेपाली नै हुनु पर्छ ।

नागरिक समाज : अहिले सामाजिक संजालहरू हेर्दा कस्तो लाग्छ भने नेपालमा धेरै नेता र विद्वानहरू भएर पनि नेपाल आज यस्तो अवस्थामा पुगेको हो कि ? हामी आफ्नो विचार दिन निकै नै सिपालु छौं । तर त्यसले, किताब मै भएपनि, चार जात छत्तिस वर्णको साझा फूलवारी भनिएको फूलवारिको कुन जात र वर्णलाई कहाँ गएर ठेस पुर्याउछ त्यो हामीले विचार गर्दैनौ । आश्चर्यको कुरो के छ भने यो कुनै अनपढ गवार भनाउंदाहरूले हैन । देश विदेशमा आफुलाई नागरिक अगुवा भनाउदाहरू नै प्राय: सबै छन् यसमा । तर वास्तविक्ता के हो भने देशको माया कसैलाई छैन । सब ढोंग मात्र गर्दैछन् । तिनले अहिलेको नेपालको अवस्थालाई सामाजिक संजालहरूमा वाहवाहि र सस्तो लोकप्रियाता पाउने सजिलो उपायको रुपमा लिईरहेका छन् । अहिले नेपालमा चलेको नयाँ परिपाटि अनुसार भारत र मधेशीलाई जसले जति धेरै गाली गर्न सक्छ उ त्यतिनै ठूलो राष्ट्रवादी बुझिन्छ । हामी सबै सामाजिक संजालहरूमा आफ्नो संसकार र हैसियत विर्सेर त्यहि होडमा लागिपरेका छौं । उदाहरणको रुपमा अहिलेको फेसबुकलाई लिन सकिन्छ । सबैलाई फेसबुकमा लाइक चाहिएको छ र त्यो अहिलेको मधेशको जायज भनेर बुझिएको कुरालाई भएपनि नैतिक समर्थन गरेर पाइदैन । त्यसैले समयको फाइदा उठाउदै सबै आ–आफ्नो सस्तो लोकप्रियताको पछाडि दौडिरहेका छौं । यस चार जात छत्तिस वर्णको साझा फूलवारीलाई व्यवहारमा साझा बनाउन चलिरहेको यस आन्दोलनलाई विभिन्न प्रकारका नामहरू दिएर लम्बाउने प्रयास भैरहेको छ । यस्ता वकमफुसे लेख र विश्लेशणले भारतलाई कति फरक परेको छ र पर्छ त्यो लेखाजोखा भारतले अवश्यनै गर्ला तर हाम्रो आफ्नै देश कुन दिशातर्फ जादैछ त । यो हामीले देखेर पनि नदेखे जस्तै गरिरहेका छौं ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार