फरक–फरक कथा, फरक–फरक व्यथा सहित हामीहरु जन्मभूमीबाट हजारौ किलोमिटर टाढा कर्मभूमीमा आ–आफ्नै संघर्षमा व्यस्त छौ, तैपनि हामी हरबखत मनभरी मातृभूमी बोकेर हिडेको हुन्छौ । त्यसैले त चाहे चाडबाड होस् या सुख–दु:खका घटना नेपालीत्वको नातामात्र पनि हामीलाई यहाँ धेरै प्यारो लाग्छ । आफ्ना अनुकुल अनुसार हामी सानाठूला समूहमा सुख–दु:ख बाँढ्छौ, चाडपर्व मनाउँछौ, परोपकारी काम गर्छौ, मर्दापर्दा सहयोगी हातहरु बढाउँछाैं । हामीमध्ये केहि भर्खरै आएका छौं र उन्नत भविष्यको लागि दु:ख–सुख संघर्ष गर्दैछौ भने, कति अलिकति भए पनि व्यबस्थित बसाई बस्दै अब आफ्ना सन्तानको भविष्य र उच्च शिक्षाको लागि चिन्तित छौं । नयाँ परिस्थिति, नयाँ बसाई र रहन सहनमा हाम्रो दोश्रो पुस्ता अब बिस्तारै यहाँको स्कुल र युनिभर्सिटी जादै छन् ? हाम्रा आफ्नै, भाषा, रहन–सहन, कला, चाडपर्ब, पारिबारिक मुल्य र मान्यताहरु छन् । यहि हुर्कदै गरेको यो दोश्रो पुस्तामा हाम्रो भाषा रहनसहन र संस्कृती जोगाइ राख्ने अबको हाम्रो दायित्व हो   । यहि सेरोफेरोमा द नेपाली टाइम्स अट्रेलियाको डिजिटल जेब्रा क्रसिङ्गको फेब्रोअरी अंकका लागि हाम्रा पाठक सँग “यहिँ जन्मेर हुर्के बढेका बाबुनानीहरुलाई हाम्रो भाषा, रहनसहन, कला र संस्कृति सिकाउन या उनीहरुलाई त्यसप्रति सदभाब बढाई राख्न अभिभाबकको हैसियतले हामीले के गर्नु पर्ला ? वा यहाँ खुलेका सामाजिक संघ संस्थाहरुले के गरेमा उनीहरुमा हाम्रा भाषा, रहनसहन र संस्कृति जीबन्त राख्न मद्दत पुग्ला ?” भन्ने जिज्ञाशामा सहभागीको र तपाईको विचार ।

जयन्ती शर्मा, सिड्नी

अष्ट्रेलियामा बस्ने नेपाली समुदाय निक्कै समुन्नत छ । अब हामीले यहाँ आफ्नो सभ्यता र संस्कृतिको पनि पहिचान दिन सक्नु पर्दछ । बसाईँ सरेको पहिलो पुस्ता संधै दु:खले गुज्रने भएकाले आफ्नो धर्म संस्कृति भाषा भेषभुषाको राम्रो ज्ञान आफ्ना सन्ततीलाई हस्तान्तरण गर्न गार्हो पर्दछ । जसले गर्दा हाम्रा बालबालिकाहरु न त नेपाली संस्कृति नै राम्रोसंग बुझ्न पाउँचन न अष्ट्रेलियन संस्कृति नै सिक्छन । फगत बिना संस्कारका वा यता न उताको बन्ने प्रबल सम्भावना रहन्छ ।

यस कुरालाई मध्य नजर राखी भाषा संस्कृति कला र रहन सहनको शिक्षा दिन सक्ने बिज्ञ व्यक्तिहरुबाट एउटा व्यवस्थित मार्गदर्शन Practicing Gulding & curriculam package र software वा त्यस्तै अबधारणा सहितको केहि सामग्री नै बनाएर यहाँका संघ संस्था वा अभिभाबक आफैले घर–घरमा या बाक्लो नेपाली बस्ति भएको ठाउँमा सामुहिक रुपमा अध्ययन अध्यापन गराउनु पर्ने देखिन्छ । एउटा दीर्घकालिन सोच र यहाँ रहेका नेपाली मिडियाहरु मार्फत सबैमा शिक्षा जान चेतना र थप विस्तार गर्नु जरुरी छ । फाटफुट नाचगान र सांकृतिक कार्यक्रम, केहि नेपाली भाषाका काक्षाहरुले एउटा गोरेटोसम्म कोरेका छन् तर नेपाली सभ्यता, संस्कृति र रहन सहनको मुलधार मै भावि पुस्तालाई डोराइ राख्न अलिकति फरक र बृहत तरिकाले सामुदायिक संघ संस्थाहरुले पनि सोच दिन सके परिणाम पनि सोहि अनुरुप अपेक्षा गर्न सकिने थियो ।

एरिका लामिछाने भण्डारी, ब्रिसबेन

मलाई लाग्छ हाम्रा छोरा–छोरी माझ हाम्रो भाषा, कला र संस्कृति रहन सहन जोगाई राख्न हामी अभिभाबकहरुको महत्वपूर्ण हात हुन्छ । दैनिक स–सानो कुरामा ध्यान पुऱ्याउनु एकदम जरुरी हुन्छ जस्तै बच्चाहरुले हामीसंग बोल्दा अंग्रेजी भाषा बोल्छन् भने नेपाली भाषाको प्रयोग गर्न प्रेरित गर्ने । दिनको एकपटक भए पनि नेपाली अक्षर चिनाउने र लेख्न दिने । अर्को कुरा मैले महशुस गरेको मिलेसम्म दुइ बर्ष एक पटक भएपनि नेपाल बच्चाहरुलाई लग्यो भने छोटो समय भए पनि बच्चाहरुले नेपाली भाषा सिक्ने आफन्तहरु माझ नजिकिने संस्कृति बुझ्ने मौका पाउँदछन् । समय समयमा हुने नेपाली कार्यक्रम जसमा नेपाली कला र संस्कृति झल्काईन्छ त्यसमा सहभागिता जनाउने र अरु नेपाली बालबालिकाहरु बीच घुलमिल हुने बाताबरण मिलाईदिने गर्दा पनि छोराछोरीमा नेपालप्रति भावना बढेर आउछ । फेरि पनि हामी अभिभाबकहरुले गर्ने भनेको कोशिष नै हो जसलाई हामीले निरन्तरता दिनु जरुरी छ ।

 

प्रतिक्षा पाण्डे सिड्नी

प्रत्येक बालबालिकाको भाषा, संस्कृति, रहन सहन, मूल्य तथा मान्यता आफनो घरबाट शुरू हुन्छ, उनीहरुको लागि घर सबै भन्दा ठूलो र पहिलो स्कुल हो । त्यसैले उनीहरुलाई हाम्रा भाषा, संस्कृति, रहन सहन, मूल्य तथा मान्यता बारे ज्ञान दिलाउने तथा उनीहरूलाई नेपाली संसकृतिको प्रकृयामा लाने कर्तव्य उनीहरूका अभिभावकहरुको हो । यहि जन्मेर हुर्के बढेका बाबुनानीहरुलाई धेरै ठूलो चुनौती पनि छ किनकी उनीहरुले नेपालीको साथ साथै अष्ट्रेलियन भाषा, रहन–सहन, कला र संस्कृति पनि साथ साथै सिक्नु पर्ने हुन्छ । त्यसैले हामीले उनीहरुलाई प्रेसर दिएर होइन बिस्तारै आफ्नोपन सिकाउदै याहाँको भौगोलिक तथा मौसम अनुकूल चाड पर्व मनाउनु जसले गर्दा उनीहरुलाई आफुलाई झन गर्व गर्ने छन् । हामी दुई भिन्न संस्कृतिमा हुर्कन पाएका छौ भन्ने फिल होस र आफ्नो भाषा, संस्कृतिमा समेत गर्ब गरुन । अर्कोतिर यहाँका संस्थाहरुले दोस्रो पुस्ताहरुलाई संलग्न गरेर कला, भाषा तथा संस्कृति सम्बन्धीका विविध कार्यक्रमहरु समय सुहाउँदो र प्रबिधि सुहाउँदो संचालन गरे भने उनीहरुलाई यस सम्बन्धी ज्ञान र चासो बढ्ने छ ।

 

कमला कार्की, मेलवर्न

मेरो बिचारमा स्कुल समय पश्चात घरमा नेपाली भाषामा कुरा गर्नुको साथै सक्दो नेपाली परिकार बनाउने र खाना र भेषभुषाको बारेमा जानकारी गराउँदा राम्रो हुन्छ । सामजिक संघ संस्थाले नेपाली भाषा सिकाउनेदेखि नेपाली नृत्य सिकाउने कार्य गरेको स्वागतयोग्य छ । अझ अपेक्षा गर्न सकिन्छ । घरैको वातावरणले नै मुख्य भूमिका खेल्छ ।

हीरा डल्लाकोटी, सिड्नी

बिदेशमा रहेर नेपाली र नेपालीत्वपनको साथै कला, संस्कृति, रहन, सहनको जगेर्ना गर्न हामीले यहाँ रहेका हाम्रा बिभिन्न संघ संस्था मार्फत नेपालका विविध चाडपर्ब, कला संस्कृति र बेला बखतमा विभिन्न कार्यक्रमहरु गर्दै जानु पर्दछ । अभिभाबकहरुले पनि आफ्नो घरमा नेपाली भाषा सिकाउने अनि संस्कृतिको ज्ञान दिलाउने गर्न सक्नु पर्दछ । त्यसै गरि बिदाका कार्यक्रमहरु या बिदा मनाउन कम्तिमा प्रत्येक २ वर्षमा एकपटक भए पनि नेपाल लैजाने गर्नु एकदम जरुरी छ जसले गर्दा बाबुनानीहरुले आफ्नै आँखाले हाम्रो संस्कृति रितिरिवाज देख्छन कति कुराहरु उनीहरुले नेपाल मै झन फरक तरिकाले महशुस गर्न सक्छन् ।

 

रोशना बास्कोटा अर्याल, एडेलेड

परम्परा भन्नले बैदिक शिक्षालाई आफ्नो सन्तती र समाजलाई आफुले जानेको र बुझेको संस्कार सिकाउने भन्ने हुन्छ । प्रवासको बसाईँ संगै हामी हाम्रो समाज, भाषा, सामाजिक संरचना र सञ्जाललाई पछाडि छोडेर बिभिन्न जात, धर्म र समुदायसँग एकता कायम गर्दै त्यस देश र ठाउँंको मुल्य र मन्यतालाई आत्मसात गर्नुपर्ने चुनौतीपूर्ण काम हुन्छ । सरसर्ति हेर्दा यो सजिलो देखिए पनि यसले हाम्रो मस्तिष्कमा निकै प्रभाव पारेको हुन्छ । बिदेशको बसाइले हामीमा त अलमल पन आएको हो कि जस्तो हुन्छ भने हाम्रा बालबच्चाहरुमा हुनु स्वभबिक हो । हाम्रो अलमलपनलाई केही हदसम्म हामी न्युनिकरन गर्न सक्दछौ र गर्नको लागि साथी र समाजको सहयोग लिने गर्दछौ । हाम्रो घुलमिल, साथीसंगत हाम्रो रोजाइ अनुसार हुने गर्दछ । हाम्रा बालबलिका अधिकांश समय बिद्यालयमा वा अरु क्रियाकलापमा हुने हुनाले उनीहरुको संगत हाम्रो भन्दा भिन्न भाषा, चालचलन, रहन सहनमा भईरहेको हुन्छ । यस् अवस्थामा उनीहरुले देख्ने र भोग्ने समाज हामीहरुले सोचेको, भोगेको समाज भन्दा निकै भिन्न हुन्छ । हामी धेरै अभिभाबक हामी प्रत्येक क्रियाकलापलाई हाम्रो आँखाबाट हेर्ने गर्दछौ र आफ्नो बुझाईलाई रुपन्तरन गर्ने कोशीस गर्छौ । हाम्रो यस किसिमको सोंचलाई परिमार्जन गर्न जरुरी छ ।

पश्चिमी संस्कृति भनेको समाज या परिवारले भनेको या दिएको कुरालाई हुबहु नक्कल नगरी त्यसको मौलिकता, व्याबहारिकता र बिज्ञानलाई खोजने र मन परेमा अनुशरण गर्ने हो । त्यस्को बिपरित हामी हुर्केको समाज आफुभन्दा उमेर पाको या समाजमा पण्डित कहलाईएका ब्यक्तिको अनुसरण गर्ने हो । हाम्रा बालबालिका पश्चिमी समाजमा हुर्कने हुनाले हामीले उनीहरुलाई सिकाउने शिक्षालाई त्यसको महत्व र त्यस पछाडिको बिज्ञान बताउन जरुरी छ । आफुलाई थाहा नभएको कुराहरु सिक्न खोज्नु पर्दछ र बिज्ञको सल्लाह र सुझाब लिनु पर्दछ । अहिले ईन्टरनेटमा पनि प्रसस्त सामाग्री हुने हुनाले त्यसको अध्ययन गर्नु सजिलै सकिन्छ ।

आफ्नो परम्परा र संस्कृतिको पहिलो खुड्किलो भनेको हाम्रो भाषा हो । त्यसैले पहिलो प्राथमिकता हाम्रो भाषा सिकाउने हुनु पर्दछ । भाषाले बाल बालिकलाई यो हाम्रो भन्ने भित्री मनबाट पर्दछ र उसको मानसपटलमा जहिले पनि रहि रहन्छ । त्यसैले सक्दो समय भाषा सिकाउन जोड दिउं । आफ्नो भाषा बोल्न प्रेरित गरौ । आफ्ना भाकाको गीत गाउने, सुन्ने, नाच्ने र गाऊन र नाच्न प्रेरित गरौँ । अहिले प्रबाशमा धेरै संघ संस्था छन, त्यस्मध्ये केही संघ संस्था जातिय पहिचानको र त्यस सँग सम्बन्ध रिती रिवाज सँग जुडेको छ । जातिय र देशको प्रतिनिधित्व हुने संघ संस्थाले हाम्रा बालबालिकामा गहिरो प्रभाब पर्न सक्दछ । अभिबबकहरुले यस्ता सकेसम्म सबै कार्यक्रमहरुमा सहभागी हुने र प्रत्यक्ष रुपमा संलग्न हुनु पर्दछ । समाजले गर्ने प्रत्येक कार्यक्रमहरुमा बालबालिकाको भूमिका उल्लेख्य रुपमा हुनु जरुरी छ जस्ले बालबालिकलाई कार्यक्रामले आकर्षण गर्न सकोस् । त्यसले बालबालिकालाई कालन्तरसम्म पनि मेरो पनि संलग्नता हुनु पर्दछ भन्ने पर्दछ । यसो गर्दा कालन्तरसम्म हामीले सोचेको र दिन खोजेको संस्कृति जीबन्त रहन्छ ।

 

निर्मला शर्मा, मेलबर्न

भाषा नै संस्कृतिको प्रवर्धन तथा विकासको मुख्य माध्यम हो । भाषाको अभावमा संस्कृति परम्परा विस्तारै हराउँदै, लोप हुँदै जाने सम्भावना हुन्छ । संस्कृति सिक्नको लागि भाषाको ज्ञान हुनु जरुरी छ । नेपालमा जस्तो बाहिरी समुदायबाट भाषा संस्कृति सिक्ने सम्भावना रहँदैन तसर्थ सर्वप्रथम परिवारले नै आफ्ना बालबच्चालाई शुरुदेखि नै नेपाली भाषा सिकाउनु पर्दछ । भाषा के हो र किन जरुरी छ भन्ने कुराको ख्याल गरी नेपाली भाषा सिकाउनु परिवारको प्रमुख दायित्व हो ।

बच्चाहरुको लागि पहिलो पाठशाला परिवार हो यसर्थ घर परिवार र नेपाली समुदाय बीचमा बोलिचालिको भाषा नेपाली नै बनाउनु पर्ने । नेपाली सांस्कृतिक रहनसहन, पर्वहरु, घर तथा समुदाय भित्र मनाउने सबै बालबच्चाहरुलाई यस्ता पर्वहरुमा सहभागी गराउने यस्ता संस्कृति पर्वहरुको महत्व र किन जगेर्ना गर्नु पर्दछ भन्ने सन्दर्भमा सिकाउनु पर्ने तथा स–साना प्रवचन कार्यक्रमहरु गर्ने । जस्तै : गाइजात्रा, देउसी भैलो, नयाँ वर्ष, माघे सक्रान्ति, जनै पूर्णिमा, माघी, ल्होसार, गौरा पर्व, छटजस्ता चाडपर्वको ऐतिहासिक पृष्ठभूमि महत्व बारेमा बच्चाहरुलाई नै लक्षित गरेर गर्ने, बुभाउने तथा यस्ता पर्वहरु मनाउने र आफ्नो बालबच्चाहरुलाई सहभागी गराउने जस्ता कामहरु अभिभावकहरुले गर्नुपर्दछ ।

सामाजिक संस्थाको दायित्व अन्तर्गत भाषा, रहनसहन र संस्कृति जिवन्त राख्न यस्ता कार्यक्रमहरुलाई नै लक्षित गरी संचालन गर्ने । नेपाली भाषा लागायत अरु मातृभाषाका पाठशाला विभिन्न ठाउँ र उपयुक्त समयमा चलाउने । धर्म संस्कृति सम्बन्धी विद्धानहरुलाई समय समयमा बोलाई प्रवचन तथा प्रशिक्षण गराउने । बादविवाद, निबन्ध जस्ता प्रतियोगिता चलाउने जस्ता कामहरु गर्नु पर्दछ ।

 

बिष्णु सापकोटा पोख्रेल, सिड्नी

हामीले यसलाई एक महत्वपूर्ण जिम्मेबारीको रुपमा अभिभाबकको नाताले लिनु जरुरी छ । आफ्नो भाषा संस्कृति जीवन्त राख्न क्रमिक रुपमा पुस्ताहरुमा सार्दै जानु पर्ने हुन्छ । यो काम यस दक्षिणी गोलाद्धमा बसाईसराई गरेर आएकालाई अलिकति कठिन हुन निश्चय नै स्वाभाविक हो । तापनि हामीले जे गर्यो हाम्रा नानीबाबुहरुले त्यहि सिक्छन् । त्यहि कारणले सकेसम्म उनीहरुसँग आफ्नो भाषा रहनसहन र संस्कृति झल्कने तरिकाले प्रस्तुत हुनु एकदमै महत्वपूर्ण हुन्छ जस्तो मलाई लाग्दछ । आफ्नो संस्कृति र नित्य कर्म जे जस्तो छ उनीहरुको अगाडि प्रयोगमा ल्याउँदा बाबुनानीहरुलाई यसको छाप राम्रो र छिटोसंग पर्दछ । सामाजिक संस्थाहरुले गर्ने बिभिन्न कार्यक्रमहरुमा आफ्नो रहन सहन कला संस्कृतिका लागि महत्वपूर्ण भागमा प्रयोग गर्ने आदि धेरै कुराहरु यहि जन्मे हुर्केका बाबुनानीहरुलाई हाम्रा संस्कृति, रहनसहन, रितिरिवाज जीवन्त राख्न गर्नुपर्ने महत्वपूर्ण कुरा हुन जस्तो मलाई लाग्दछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार